आकाश नाङ्गो छ, मोतिदानाको बिस्कुन सुकाएसरी उसको अनन्त आयतनमा ताराहरु असरल्ल फिजिएका छन्। त्यसै बीच शरीरको नाबी (नाइटो) जस्तो भागमा कतै जून बेहुली जसरी थपक्क बसेकी छे र एकतमासले मलाई हेरीरहेकी छे। चिसो बतास आफ्नै तालमा बगिरहेछ र बेलाबेला मेरो हात र घाँटी छोएर बग्दा म पुलकित भइरहेछु।
सुदूरपश्चिमको क्षितिज निष्पट्ट अँध्यारो छ, सुदूर उत्तरमा डाँडाहरु क्यान्भासमा कुँदिएका पहाड जसरी ठिंग उभिएका छन्। यसरी की मानौं जून सुटुक्क कसैले चोरिदेला की भनेर पहरेदार बनी उभिएका हुन्।
अलिक देब्रेपट्टिको डाँडाको घाँटीतिर झिलिमिलि बत्ती सुताएर राखे जसरी उज्यालो लमतन्न टाँगिएको छ। जून उसैगरी मुसुक्क हाँसेर बसेकी छे, बरु अहिले अलिक वर सरिछ। उसको दिव्य अनुहारमा लागेको दागले मलाई भूपी शेरचनको कविता 'ए जून' याद नइ रहनै सक्दैन।
अब होस्! जूनको कुरा कति गर्नु। ०७७ को दसैँलाई पनि बाई-बाई भनीसकियो। मनाउनेका दसैँ सकिएला तर हामीजस्ता सुतक परेर, जुठो परेर थुनिएकाको खै के दसैँ। परिवार घटेका कारण जुठोमा पूजा नगर्नु जायज हो तर सुतक त परिवार बढेको, यस्तो हर्षोल्लासको समयमा शोक जस्तो महशुस किन भएको होला?
किन पुँजा कार्य रोकिएको होला? यो कत्तिको जायज होला या यसका वैज्ञानिक कारण के छ, म जान्दिनँ। बस म यति जान्दछु, ७४ मा हजुरआमा बिते यता परिवारसँगै बसी टिका नलाएको ४ दसैँ भएछ। यस बीचमा छुटेका आफन्तहरुलाई मनमनै सम्झना छ।
खैर! यी फरक प्रसङ्ग हुन्। किनकी म आज अर्कै मुद्रामा उत्रिएको छु, यो स्वर्णीम जुनेली रातको मादकतामा म एउटा पेन्सिल र कापी लिएर अलिकति उत्तेजित र अलिकति छट्पटिएको अवस्थामा एउटा मुढामा टुसुक्क बसेको छु। यति हुँदै गर्दा म घरि नाङ्गो आकाशमा जूनको उज्यालो फैलिएको दृश्य हेरी सम्मोहित भइरहेछु र घरि कापीको नाङ्गो पानामा तेर्सिएको पेन्सिलको चुच्चोमा घोत्ली रहेछु।
र मलाई लेख्नु छ यो जून जस्तै आकर्षक लेख र बुझाउनु छ चित्त म भित्रको ईश्वरलाई। तर म के लेखूँ, लेख्छु भनेर लेखेका फुटकरहरु आधा अधुरोमै छोडिएका छन्। हिजै मात्र एउटा पात्र बिरालोसँग खेल्दै थिएँ, त्यो पनि त्यत्तिकै छ। न भोकै पो मरिसक्यो की!
तर अहिले म वर्तमानमा छु र मलाई पोखिनु छ खाली पानाहरुमा आफैलाई रित्याउदै। यो जे म लेखिरहेछु, न कथा जस्तो न निबन्ध जस्तो, जो दैनिकी लेखनभन्दा फरक छ। यसलाई डायरी नै भन्दा न्याय होला। मेरो डायरीको एकल प्रमुख पात्र हुन् मेरी आमा जसले मलाई २ दशक अघि यो सृष्टिमा मानव स्वरूपको अस्तित्व दिइन् र स्वयंको अस्तित्वको ख्याल नगरी वेपर्वाह प्रेम गरिन्। म सदैव ऋणी छु।
यो ६ महिनाभन्दा लामो लकडाउनले यदि मलाई केही राम्रो गर्यो। अझ भनौँ सिकायो भने त्यो हो स्वयमलाई नजिकबाट नियाल्ने मौका र म आफ्ना आफन्तजन वा मित्रहरुमा कोसँग कति नजिक रहेछु भन्ने भान हो। आज मातातिर्थ औँसी पनि हैन, न मेरी आमाको जन्मदिन हो। तर पनि मातृ स्नेहको बोधले मलाई 'आमा' शब्दको महिमाको गुणगान गाउन उत्प्रेरित गरिरहेछ।
ठ्याक्कै यस्तै चेतनाको जागरण हरेकको जीवनमा हुन्छ, तर समय र परिपेक्ष फरक हुन सक्लान्।
एउटा परिपेक्ष कोट्याई हालौं जुन तपाईसँग पनि मिल्न सक्ला। हाम्रो चार जनाको परिवार छ। बिहान बेलुका खाना खान लाग्दा, आमा पहिले तीन वटा थालमा खाना पस्किनु हुन्छ अनि पुग अपुग थोरै खाना आफ्नो भागमा राखी अझ केही भाग थप्नको लागि उभार्नु हुन्छ।
अनि सबै मिलेर खान लाग्छौँ, बीचमा कसैलाई खाना थप्न परे आमातिर इशारा गर्छौं। आमा जो आफैको पनि खाना खाँदा दाहिने हात जुठो हुन्छ, आफ्नो देब्रे हातले पन्युँ अठ्याउँदै हामीलाई दाल भात थपिदिनुहुन्छ। जबकी हाम्रो दाहिने हात जुठो भएपनि देब्रे उत्तिकै सग्लो हुन्छ।
त्यतिबेला आमाले पन्युँ पक्रेको देब्रे हातले मलाई व्यङ्ग्य गर्छन्, म लज्जित हुन पुग्छु। किन हामी आफै थप्न नसकेका? अझ भनौँ, किन हामीलाई आमाकै मुख ताक्नु पर्ने ज्ञान आयो। के यो सामाजिक बनोटकै बाइ-प्रोडक्ट हो?
अझ आमा नहुनुको पीडा त बेग्लै प्रकारको रहेछ। मैले खुद केही मित्रहरूबाट पनि यो बुझ्ने मौका पाएको छु। मेरो एकजना सहपाठीको आमा केही वर्ष अघि मात्र सडक दुर्घटनामा परी बित्नु भएको रहेछ। एकदिन यसरी नै गफ गर्दै जाँदा उसले भन्यो 'मेरो लाइफको डिक्सनेरीबाट 'आमा' शब्द नै हरायो यार, अब कहिले फर्केर आउँदैन।' उसले भनेको यो कुरा अझै पनि मेरो स्मृतिमा घुमिरहन्छ र बेलाबेलामा झस्काइरहन्छ।
केही पिता विहीन घरहरू पनि देखेँ जहाँ माताले नै जिम्मेवारीको छाता भएर आफ्नो परिवारलाई ओत दिएकी हुन्छिन्। मेरै छिमेकमा यस्तै एउटा अपूर्ण परिवार छ। हामी उहाँलाई 'कमला आन्टी' भनि बोलाउछौँ। तर उहाँ आन्टी अंकल सबैको भागको काम आफै गरेर आफ्ना सन्तानको पालन पोषण गर्दै आइरहनु भएको छ। 'घाँस दाउरा गर्ने, खसी, कुखुरा र जोडी सुँगुरका पाठाको पनि पालनपोषण गर्ने र बिहानै रक्सी पारेर बेच्ने उहाँको दैनिकी हो।' उहाँ प्रति मेरो नमन!
यो मातृ गीत गाउँदै गर्दा यतिबेला मेरी आमा आफ्नो कोठामा पेट दुख्यो भनेर सुतिरहनु भएको छ, जसलाई असलमा आम बोलीचालीको भाषामा 'छुइ भएको' छ। यो महिनावारी प्रक्रिया हो र महिनावारी पीडा पनि जसलाई म मेरो फोनमा लोकदोहोरी र अन्य कार्यक्रम लगाइदिएर पीडा बिर्साउने कोशिश गरेको छु, जुन केही हदको उपाय होला तर पूर्ण रूपमा अन्याय हो।
यी बाहेक कालान्तरमा विभिन्न शारीरिक र भावनात्मक पीडाहरू पनि उनले भोगिन् तर कहिल्यै बिसाउन पाइनन्। मैले कति दुःख दिए त्यसको लेखाजोखा गर्न मलाई हिम्मत पनि छैन। म रिसाएर झर्कीरहन्थेँ। उनी 'रिसाउने मान्छेको मुख कालो' भन्दै व्यङ्ग्य गर्थिन्।
उनले आफैलाई मेटाएर दाइ र मलाई निस्वार्थ प्रेम गरिन्, हामीले खाएका प्रथम गाँसहरुमा आफू तृप्त भइराखिन्। देवकोटाको एउटा पंक्ति छ नि 'खोज्छन् सब सुख भनी सुख त्यो कहाँ छ? आफू मिटाई अरूलाई दिनु जहाँ छ!' सायद सन्तान सुख यस्तै केही होला। आजको मितिमा आइपुग्दा मेरो २० वर्षे मगजले ढिलै भएपनि यति जानेको छ।
विगत परिवर्तन गर्न सकिन्न तर वर्तमान र भविष्य त फरक र मृदुल बनाउन सकिन्छ। त्यसैलाई अब उनलाई गर्नु छ निस्वार्थ प्रेम एउटा दूधे बालकलाई जस्तो, कृष्णको भक्ति योग जस्तो। हेरेर आँखामा र वरिपरि पर्न थालेको चाउरी मुजाहरुमा प्रकृतिको अनुपम उमेरको गति देखेर छक्क पर्नु छ एकचोटि।
आज मेरी आमा जो डायरीको प्रमुख पात्र बनेकी छिन्, उनको बृहत स्वरूप कथाकी पात्र या औपन्यासिक पात्रमा पनि समेट्न नपुग्ला तर म पूर्ण विश्वस्त छु, उनी मेरो जीवनको पृष्ठभूमिमा पहिलो र प्रमुख पात्र रहिछन्। एकपल्ट आँखा चिम्लेर गहन विचार गर्दा 'भगवान् आफू सबैतिर एकैचोटि पुग्न नसकेर आमा बनायो' भन्ने लोक उक्ति पूर्ण सत्य लाग्छ कमसेकम मेरो लागि। बाँकी त्यही अज्ञेय शक्तिले जानोस्।
पूर्णिमाको रातमा जूनको सामु मेरो मातृशक्ति प्रतिको मनोभाव खाली पानामा यसरी उतार्न पुगेँ। अलि बढी भावुक भएँ होला, अलि बढी औपचारिक भए होला। र आजलाई डायरी यही बिन्दुमा बन्द गर्नुपर्ला। बतास झन् चिसो हुँदैछ। जून अझ नजिक सरिछ। उसको दाग हेर्दा मलाई फेरि फेरि भूपी शेरचनको कविता याद आइहाल्छ।
'मेरो जस्तै ए जून!
झुटो छ तिम्रो हाँसो पनि
...
फरक यति मात्र छ हामी दुईको कहानीमा
की तिमी रुन्छौ र तिम्रो आँसु शीत बन्छ
म रुन्छु र मेरो आँसु गीत बन्छ!'
फेरि भेटौला!!