कति डर नि, हिँड्दा पनि,
मनै थरररर हुने अझैँ,
बाटो त हो तिनीको,
हिँडी राख्ने सधैँ।
सुनसान बाटो होस् या उज्यालो गोरेटो,
चेलीको घाँटी सधैँ नरभक्षले रेटो।
हुन्छन् कति, ती कुरेर बसेका,
मौका पाईसक्दा छन् कतिलाई डसेका।
सबै भन्छन्, सुनाउँछन्,
रावण, दुर्योधन, दुशासन,
कुन्नि को-को दानव उहिले,
मरीसके अरे,
कति पुस्ता गईसके अरे।
तर म त दिनै यस्ता दानव,
देखीराख्छु, पढीराख्छु, सुनीराख्छु।
लु अब सुन्नु त,
पाँच सालकी नानीको बलात्कार भयो अरे।
काका-मामाले, पढाउने निहुँले, खेलाउने निहुँले,
आश्रय दिने निहुँले, शोषण गरे अरे।
लोग्नेले कुटी-कुटी स्वास्नी मारे अरे।
छिमेकीले जागिर दिलाउने निहुँले,
कोनी कुन्नि देशको लागि यति भाउमा,
आफै लुटेर बेचिदियो अरे।
केटी नमान्दा,
केटाले एसिड छर्कियो अरे।
छोरालाई पढाउनु छ भनी,
कति बाउ-आमा छोरी पढाउन
तर्किए अरे।
चार-पाँच साल, माया गरेर,
नानी हुनेवाला छ जान्दा,
फलना केटाले छोडीदियो अरे।
दश सालकी घरमा काम गर्ने केटी,
साउनीले उपचार नगरेर मरी अरे।
फलानासँग प्रेम प्रसंग बुझ्दा,
बाउले कुटी-कुटी छोरी मारे अरे।
दाइँजो बुहारीले नलिइ आइ भनेर,
सासुले बुहारीलाई आगो लगाइदिइ अरे।
कहिले त यो पनि सुनिन्छ,
मन पनि सुन्दा खिन्न भइदिन्छ।
बुहारीको चालले सासुलाई,
रूलाई-रूलाई वृद्धा आश्रममा,
सधैँको लागि पुराइदिइ अरे।
भन्दा पनि मन नै काम्ने,
छोराको चाहनामा,
पेटको छोरी गर्भपात गराइदिइ अरे।
सानो जातको केटीसँग माया गर्यो भनेर,
केटाको परिवाले, केटी मराइदिए अरे।
भर्खरै मरेको लाग्नेको वियोगदेखि,
तरिन, केटा साथीसँग हाँसी-हाँसी गफ गर्दा,
ससुरालले समाजमा मिटिङ जुराइदिए अरे।
केटी माग्न आएका कुटुम्बले
सहरमा जागिर गरेकी हो भनी बुझ्दा,
चरित्रहीन सोची
दिएको सगुन पनि फर्काइदिए अरे।
अरू त कति लेखु,
यस्तो अरे, उस्तो अरे,
भगवानको सबैभन्दा सुन्दर कृति, मानव
यिनीहरूको मति यतिसम्म तल झरे,
म त सोची-सोची छक्क परे।
फेरि पनि,
म त दिनै सुन्छु
र मन-मनै कुरा बुन्छु।
किन? टेक्नोलोजीले, शिक्षाले
दीक्षाले, विकासले, उन्नतिले
सजेको मानव समाजमा,
कुप्रवृति जस्ताको त्यस्तै।
कति रक्षक आउदा पनि,
महिला सशक्तिकरण हुँदा पनि,
‘यत्र नारीयस्तु पूज्यन्ते, रमन्ते तत्र देवताः’
भन्ने समाजमा पनि,
हातमा डिग्री, घाँटीमा सिक्री,
कुन्नी! जीवनको मूल ज्ञान चाहि
कता भयो बिक्री।
समाजमा कहिले समानता आउला?
कति छोरी, महिला सोच्दै होलान्,
कहिले हामी पनि न्याय पाउँला?
तर के गर्नै,
यहाँ मानव छन् यस्ता
तर तिमी,
हार नमान, दुर्बल नमान,
नारीको नारित्व बोक्ने,
अब मनमा गहिरो गरी छान।
हामी वीरभूमिका निवासी हौँ,
रानी लक्ष्मीको तलवार चलेको रजवासी हौँ,
पद्मिनीको, जौहरको गौरव याद गर,
हाडीकी रानीले टाउको काटी,
युद्धमा पठाउने नारीको रगत याद गर।
गर याद सीतालाई, दुर्गालाई,
खोपडीको माला लगाउले कालीलाई,
अहिल्या साथै रानी गाईडिल्यूलाई याद गर।
याद गर्ने त धैरे छन्,
आफ्नो मन सशक्त हुने उदाहरणलाई याद गर,
छैन आवश्यकता वर्तमानमा रगत बगाउन,
युद्ध गरेर, लासको मैदान सजाउन।
उनीहरूको याद गरी मनमा साहस बनाऊ,
जहाँ कष्ट लाग्छ, त्यहाँ आवाज उठाऊ।
अझै पनि सबैले तिमीलाई बनाए पर...,
यस्ता कुविचारे मान्छेसँग,
स्वाभिमानको लागि लड्दा लड्दै,
समाजलाई एक थप्पड मज्जाले हानेर मर।