कविता
हिजो म अपमानको घुट्को पिएर बाँचेकै हूँ
मेरा पूर्खा तिम्रा जंगे दासत्वलाई
चुपचाप स्वीकार्न बाध्य बनेकै हो
मेरा पुस्ता दर पुस्ताका आँखामा तिमीले
कर्म र भाग्यको मन्द विष पिलाउँदै
तिम्रो शासन, कासन र आसनका लागि बफदार बनाएकै हौ
आज पर्यन्त तिमी
त्यसैगरी हुकुमत चलाइरहेकै छौ
फरक मात्र यति हो-
हिजो तिमीले नै परिभाषित गरेको ‘स्वेत आतंक’मा
हामी मृत्युवरण गर्न बाध्य थियौँ
आज तिमी र मैले मिलेरै ठड्याएको ‘लालसत्ता’मा
नवराज विक र शम्भु सदाहरु मृत्युवरण गर्न बाध्य छन्
दिन दहाडै कलिला सम्झना विकहरु बलात्कृत भइरहेकै छन्
तिम्रा घरको आँगनीदेखि सिंहदरबारको पटागिंनीसम्म
कखरा सिक्ने पाठशालादेखि प्राथना गर्ने मठशालासम्म
कहीँ कतै बाँकी छैन तिम्रो विभेदभित्र जीउन
तिमीले कोरलेको विभेदमुक्त हुने सपनामा
पसिना र रगतले सिंचिएर ल्याएको गणतन्त्रमा
जब तिम्रा कानुनका ढड्डामा
मेरा केही मुक्तिका हरफ लेख्न खोजेँ
हजारौँ षडेन्त्र र जालझेलभित्र
तिमीले जबर्जस्त थांग्नोमा पल्टाइदिएको कुरा
तिम्रो जात–व्यवस्थालाई अकण्टक राखिराख्न
पाइलैपिच्छे विभेद थोपरिरहेको कुरा
म पनि बुझ्ने भएको छु अब
तिमीले सिकाएको ‘लाल र निपूर्ण’ बन्ने पाठ
आज पुनर्समीक्षा गरिरहेको छु मैले
लोभ, भ्रम र दबाबबाट भुत्ते बनेको
तिम्रा हरेक षडेन्त्रलाई पहिचान गर्ने चेतमा साँध लगाउँदैछु
किनकी,
म एक्काइसौँ शदीको एउटा सचेत मान्छे हूँ
मलाई तिम्रा कुनै पनि विभेद स्वीकार्य छैन
अपमानित जीन्दगी बाँच्नुको कुनै सार छैन
अब आफ्नो मुक्ति खोज्नुको कुनै विकल्प छैन।