ल्याब अटेण्डेण्ट भाइले आएर मलाई 'नयन सर यो रगत जाँच एकदम इमर्जेन्सी छ अरे, डेलिभरी गराउनको लागि' भनेर स्यामपल छाडेर गयो। अरु बेला जस्तो मैले स्यामपल लिएँ, रगत समूह छनौट गर्नु पर्ने रहेछ।
बिरामीको नाम हेरेँ- स्मृती गुरुङ, उमेर ३०। झसंग भएँ बिरामीको नाम देखेर। अरु बेला पनि यो नाम भएको बिरामीको रगत संकलन र जाँच नगरेको होइन तर ती बिरामीहरु कोही स्मृती लिम्बु थिए त कोही स्मृती खड्का।
स्मृतीको नाम पढ्दा मेरो शरीरमा करेन्ट लागेजस्तै भयो। हात खुट्टा गलेर आयो। मेरो अनुहारको रुप रंग नै बदलियो। म वासरुम गएँ। अनुहारमा पानीले छम्केँ। अलिकति फ्रेस भएको जस्तो भएर रगत जाँच गर्न सुरु गरेँ।
रिपोर्ट आयो, स्मृती गुरुङ्, उमेर ३० अनि रगत समूह ए पोजिटिभ। मलाई बिरामी हेर्न मन लाग्यो। गाइनो वार्डमा फोन लगाएँ अनि सिस्टरलाई सोधेँ 'स्मृती गुरुङ कति वार्डमा हुनुहुन्छ?'
सिस्टरले बेड नम्बर ७ भन्ने जवाफ दिनु भयो। लन्च टाइम भयो, म कसैलाई केही नभनी सिधैँ हस्पिटलको गाइनो वार्डमा गएँ। सिस्टरहरुसँग कुरा गर्न थालेँ तर मेरो नजर बेड नम्बर ७ मा नै थियो। अबको अपरेशन बेड नम्बर ७ को बिरामीको थियो।
सिस्टरहरु बिरामीको छेउमा गएर अपेरशन थिएटरमा लाउने गाउन दिनु भयो, कसो कसो गर्दा मैले बिरामीको अनुहार देखेँ। मेरो शंका सही निस्कियो, उनी उही स्मृती गुरुङ थिइन्, पोखराकी। १२ वर्षपछि मैले मलाई छाडेर जाने मेरी प्रेमिकालाई देखेँ। विश्वास नै गर्न सकिरहेको थिइनँ। म गाइनो वार्डबाट ल्याबसम्म कसरी आइपुगेँ थाहा नै पाइनँ।
सन् २००८ मा हाम्रो बिछोड भएको थियो। मलाई नेपाली सालभन्दा पनि अंग्रेजी साल धेरै नै याद आउछ। सन् २००८ को नयाँ वर्ष हामीले सँगै मनाएका थियौँ। एड्ज ब्यान्डको कन्सर्ट थियो वसन्तपुरमा, स्मृती र मैले आधा मात्र हेरेर फर्कियौँ। न्युरोडमा मोःमो अनि ससेज खायौँ।
उसले मलाई गणेश भगवानको की-चेन दिएकी थिइन्। मैले उसलाई सानो टेडी बियरमा 'आइ लभ यू' लेखेको टाँसेर दिएको थिएँ। मेरो बाइक थिएन त्यो बेला, हामी हिड्दै हिड्दै अनामनगरसम्म आयौँ।
'नयन' २/३ चोटि बोलाईसकेछ मेरो साथीले, म झसंग भएँ। 'के भयो आज तिमीलाई? कोहीसँग बोल्दा पनि बोल्दैनौ, नास्ता गर्ने समयमा पनि कहाँ गएका थियौ फोन यही चार्जमा राखेर?' मलाई बोल्न नै मन लागेको थिएन, अलिकति काम थियो भनेर उसको प्रश्नलाई टारिदिएँ।
फेरि उसले जिस्कायो, 'भाउजूसँग झागडा पर्यो कि के हो?' म यसै मुस्कुराएँ मात्र।
५ बजेछ, ड्युटी सकियो। थम्ब प्रिन्ट लगाएर सिधैँ कोठामा गएँ। कोठामा बस्न मन नै लागेन। बाइक स्टार्ट गरेँ र लागेँ पशुपति तिर। मेरो बाइकको चाबीमा उहीँ गणेश भागवानको की-चेन थियो। म त्यही ठाउँमा बसेँ जहाँ स्मृती र म घण्टौँ घण्टा गफ गरेर बस्थ्यौँ।
म जिस्काउदै भन्थेँ- स्मृती तिमी पूर्वेली जस्तै बोलन, पूर्वको बोल्ने शैली कति राम्रो हुन्छ। अनि ऊ रिसाउदै- खुबै होला, हामी पश्चिमीहरु त बोल्न जान्दैनौँ क्यारे।
अनि म फकाउथेँ- नरिसाउन सानु, आखिरीमा म तिम्रो भविष्यको श्रीमान हूँ क्यारे। ऊ बेस्सरी हास्थी, हाँस्दा कति राम्री देख्थिन् मेरी स्मृती।
'नयन मलाई चियाबारी त घुमाउछौ नि?' इलाम मेरो घर, पूर्व पहाडकी रानी, अनि म भन्थेँ- 'तिमीलाई चियाबारी मात्र होइन, मकैबारी, कोदोबारी सबै घुमाउला।' स्मृती मेरो कुरा सुनेर मज्जाले हाँस्थी।
'दाइ, अलि कति सर्नु न।' झसंग भएँ म। घडी हेरेँ, ७ बजेको रहेछ। चुरोट सल्काए, फेरि ती दिनका यादहरु आउन थाल्यो।
उसको र मेरो भेट अनामनगरमा सब्जी किन्दा भएको थियो। साँझको बेला मानिसहरुको भिड धेरै थियो। उनी हतारमा थिइन। १ पावा भिण्डी र आधा केजी टमाटर किनिन्। मैले पनि त्यस्तै किनेँ। त्यो पहिलो भेटमा नै मलाई उनी कत्ति राम्री लागेको थियो।
फेरि भोलिपल्ट कलेज जाने समयमा अनामनगरमा उसलाई देखेँ, टेम्पो पर्खी रहेकी थिइन्। कलेज छुट्टै भए पनि कलेज जाने समय हाम्रो एउटै थियो। एकदिन मैले नै साहस बटुलेर उसलाई उसको नाम सोधेको थिएँ। उसले लजाउदै 'स्मृती गुरुङ' भनेकी थिइन्।
यसरी नै मैले उसलाई अर्को दिन फोन नम्बर मागेको थिएँ। त्यसपछि हामी कलेजबाट सँगै आउन जान थाल्यौँ। साँझपख हावा खान निस्किन्थ्यौँ, 'तिम्री नाम उल्टोबाट बोलाउदा पनि नयन, सुल्टोबाट बोलाउदा पनि नयन।'
अनि म उसलाई भन्थेँ- 'म मान्छे नै युनिक।' ऊ मुसुक्क हाँस्थी। मेरो पहिलो प्रेम थिइन् उनी। उसँग माया बसेपछि हरेक कुरा नौलो र प्यारो लाग्न थालेको थियो। उसको कोठामा ग्याँस सकिदा मलाई बोलाउथी। म उसको कोठामा ग्याँस लगिदिन्थेँ।
कोही कोही बेला बत्ती बिग्रिन्थ्यो, त्यो पनि बनाइदिन्थेँ। उसको मोबाइल बिग्रिन्थ्यो, त्यो पनि बनाइदिन्थेँ। उसको मायामा म कामदारको सबै रुप भैसकेको थिएँ, मलाई रमाइलो पनि लाग्थ्यो।
'स्मृती भोलि हामी घुम्न जाउँ न है।' उसले भन्थी- 'हुन्छ क्यार।'
कलेज बंक गरेर कहिले हामी पशुपति जान्थ्यौँ, कहिले स्वयम्भू त कहिले बसन्तपुर, न्युरोड जान्थ्यौँ। अनि धेरै जस्तो सुन्धारा। फेरि कोठामा आएर पनि घण्टौ मोबाइलमा कुरा गर्थ्यौँ। 'स्मृती, म तिमीलाई परी भन्छु है, तिमी मेरो जिन्दगीको परी हौ।'
स्मृतीले लजाउदै हस् भन्थिन्। 'नयन मलाई त पछि माइत जान पनि २ दिन लाग्छ होला, इलामदेखि पोखरासम्म।' अनि म पनि जिस्काउदै भन्थेँ- मेरा पनि ससुराली जाँदा जुत्ता नै फाट्छ होला।
रमाइलो कुराकानी हुँदाहुँदै सिरियस कुराकानी पनि हुन्थ्यो। उसले मलाई भन्थिन्- 'नयन, तिम्रो घर इलाम अनि तिमी क्षेत्री। मेरो घर पोखरा, म गुरुङ्। के हाम्रो विवाह सम्भव छ र?'
म उसलाई सम्झाउथेँ- 'परी, मन हुनुपर्छ। सबैभन्दा ठूलो त मन हो अनि विश्वास हो।'
घडी हेरेँ, रातको ९ बजीसकेछ। तर काठमाडौँमा त ९ बज्दा पनि भर्खर ५ बजे जस्तो लाग्छ। मोबाइल हेरेँ, ४ मिसकल आको रछ। सुमीले गरेकी रहिछिन्। सुमी मेरो मंगेत्तर हो। उसको र मेरो विवाह अब आउने मंसिरमा हुँदैछ।
म मन्दिरबाट निस्केँ, होटेल पसेँ, १ पेग भोड्का मगाएँ। जति पिउछु भोड्का, त्यती नै धेरै परी मेरो आँखा वरिपरि छाउछे। ३ पेग भोड्का पिएर मैले साथीलाई बोलाएँ अनि मेरो कोठामा छाड्न लगाएँ। म विस्तारामा लडेँ, निदाउन खोजेँ तर निन्द्रा त मेरो स्मृतीले लगेकी थिइन्, कहाँ निन्द्रा आउछ र!
सन् २००८ सालको प्रेम दिवस नै हाम्रो अन्तिम भेट रहेछ। मैले उसको लागि पर्स किनिदेको थिएँ। प्रेम दिवसको दिन हामी भक्तपुर जाने भनेर सल्लाह गर्यौं। उसले मलाई मफ्लर र पर्स गिफ्ट गरिन्।
'नयन म पर्सी घर जाँदै छु। घरबाट बोलाउनु भयो। तर म २ हप्ता बसेर आइहाल्छु।' उसले घर जान्छु भन्दा मन सिरिङ्ग भयो। भेटेदेखि हामी कहिले छुटेका थिएनौँ। मन सम्हाल्दै मैले उसलाई सोधेको थिएँ- 'आउन त आउछौ नि परी?'
'उम् आउछु नि, मेरो कलेज नै सकिएको छैन। त्यही पनि म बिहे गर्न जान लागेको हो र?' उसले भनी 'फोनमा कुरा भैहाल्छ नि, तिमी मलाई पर्खेर बस्नु है।'
मैले टाउको मात्र हल्लाएँ। भक्तपुरदेखि कोठा फर्कियौँ। अबेर रातिसम्म कुरा गर्यौँ। भोलि उसको दाइ आउने दिन थियो। भोलिपल्ट मैले उसलाई फोन गरेँ। उसले अलि अप्ठ्यारो मान्दै दाइसँग खाना खान लागेको भनी।
त्यो दिनभर मलाई परीले फोन नै गरिनन्। राति दाइ साथीकोमा जानु भाको रहेछ, त्यती बेला मलाई फोन गरी। भोलिपल्ट बिहानै उनी पोखरा गइन्। उसले पुगेपछि फोन गरिन्। ऊ पोखरामा हुँदा फोनमा कुरा भैराख्थ्यो। तर पनि एक्लोपन महशुस हुन्थो मलाई।
सधैँ साथमा हुने उनी टाढा थिन्। एकदिन साँझपख म साथीहरुसँग गफ गरिरहेको थिएँ, मेरो मोबाइलमा लामो म्यासेज आयो- 'नयन आइ एम सरी, घरमा मैले तिम्रो जति कुरा गरे पनि स्वीकार गर्नु भएन। तिमी पूर्वको अनि तिम्रो ठाउँ कति टाढा छ। त्यही पनि तिमी क्षेत्री म गुरुङ, जात नै मिल्दैन भन्नुभयो। अबदेखि मलाई फोन नगर्नु है।'
यो म्यासेज पढ्दा मलाई सास नै निसासिएको जस्तो भयो। आँखाबाट आँसु आयो, पूर्वेली छोरो आजसम्म रोएको थिएन, त्यो दिन मन थाम्न सकिनँ। साथीहरुले सम्झाएँ, एउटा जान्छ अर्को आउछ टेन्सन नली भन्न थाले।
स्मृतीलाई कति धेरै फोन गरेँ। मेरो फोन उसले कहिल्यै उठाइनन्। ऊ यसरी बद्लिन्छे भनेर मैले सपनामा पनि सोचेको थिइनँ। आखिर मलाई कुरी राख्नु है भनेर किन मलाई छाडेर गइ? त्यो रात मैले मेरो हातले कहिल्यै नसमाएको चुरोट समाएँ, बियर पिएँ।
यति धेरै पिएँ की मलाई साथीहरुले कोठासम्म पुर्याएको यादसम्म छैन। मलाई त्यो बेला मात्र थाहा भयो, छोरा मान्छेले गर्ने प्रेम र छोरी मान्छेले गर्ने प्रेममा आकाश पातलको फरक रहेछ। जब छोरा मान्छेले प्रेम गर्छ, उसले माया मात्र देख्छ।
स्मृती तिमी गुरुङ त के, अरु जुनै जात भए पनि पूर्वको नै भए पनि, पश्चिमको नै भए पनि या सुदूरपश्चिमको नै भए पनि, म मात्र तिमीलाई चाहन्थेँ। सबैभन्दा ठूलो मन हो भन्छन्, तर मनभन्दा ठूलो भाग्य हुनु पर्ने रहेछ। म तिम्रो भाग्यमा नै रहेनछु।
स्मृतीसँग टाढिएको दिनदेखि मलाई उसको यादले मात्र सताउथ्यो। काठमाडौँको प्रायः हरेक गल्लीहरुमा स्मृतीको यादले पछ्याइरहेको हुन्थ्यो। उसँग भेट हुन्छ की भनेर अनामनगरको बाटो कति हिडेँ, पशुपति मन्दिर कति धाएँ,तर कहीँ भेटिनँ।
सामाजिक संजालभरी खोजेँ, तर कहीँ कतै भेटिनँ। पातलो शरीर भएको अनि लामो केश भएकी केटी देखे भने पनि स्मृतीको नै याद आउथ्यो। निभियाको क्रीम कसैले लगाको छ भने पनि मलाई उसकै याद आउथ्यो।
स्मृतीलाई सम्झदा सम्झदै बिहान भैसकेछ। चिया खाएर नुहाइ धुवाइ गरी हस्पिटल तिर लागेँ। जे-जस्तो भए पनि एक चोटि मेरो हुन नसकेकी मेरी परीसँग भेट्छु भनेर सोच बनाएँ। सिस्टरलाई फोन गरेर स्मृतीको खबर सोधेँ। स्मृती अहिले पोस्ट अपमा हुनुहुन्छ भनेर सिस्टरले भन्नु भयो।
पोस्ट अपमा जो कोहीलाई जान दिँदैन, तर म त हस्पिटलको स्टाफ थिएँ। पोस्ट अप गएँ। स्मृतीलाई देखेँ, वरिपरि कोही थिएन। उसको नजिक गएँ। डरको महशुस भैरहेको थियो। 'स्मृती' मैले बोलाएँ। एकदमै आश्चर्य भइ। उसको मुहारले नै बताउथ्यो।
'नयन तिमी?'
'उम्' मैले भनेँ र सोधेँ 'मलाई चिन्यौ तिमीले?'
भन्न धेरै कुरा खोजी रहेकी थिइ तर हेरी मात्र। मैले सोधेँ 'बाबु भयो कि नानी?' मुस्कुराउदै बाबु भयो भनी।
'नयन तिम्रो नानी बाबु कति जना छन?'
मैले भनेँ- 'बिहे गरेको नै छैन।' ऊ छक्क परी।
'अनि तिम्रो श्रीमान खै?'
स्मृती- 'भर्खर जानु भयो, अब एकछिनमा आउनु हुन्छ। के गर्दै छौ आजकल?'
मैले भनेँ- 'यही हस्पिटलमा ल्याबमा काम गर्छु।'
उसले आफै भनी- 'रिसाए पनि बोल्न त बोल्छौ नि अबदेखि?'
मैले फेरि भनेँ- 'तिमीसँग रिसाउन त म सोच्न पनि सक्दिनँ। तिम्रो फेसबुक आइडी के छ?'
उसले मलाई उसको फेसबुक आइडी भनी। 'म भरै आउछु ल' भनेर म ल्याब रुम तिर लागेँ। उसको प्रोफाइल खोलेँ। उसको ५ वर्षकी छोरी पनि रहिछ। ऊ जस्तै राम्री, नाम परिधी राखिदिएको रहेछ। १२ वर्षपछि उसँग भेटेर बोल्दा सपना जस्तो लागीरहेको थियो।
मेरो नास्ताको समयमा म फेरि पोस्ट अप गएँ। सिस्टरहरु यताउता हतारमा कुदी रहेका थिए। स्मृतीलाई रगत चढाइदै थियो। उसको श्रीमानलाई मैले उसको प्रोफाइल हेरेर चिनेको थिएँ। उसको श्रीमान पनि आत्तिराको थियो।
स्मृतीको आँखा मलिन थियो। शरीर पहलो हुँदै थियो। एक्कासी स्मृतीको सास रोकिन थाल्यो। मलिन आँखाले उसले पोस्ट अपको ढोका हेरी रहेकी थिइन्। मैले अनुमान लगाएँ, सायद उसले छोरी र उसको बुवालाई हेरेकी हुन्।
स्मृतीले हेर्दा हेर्दै संसारबाट बिदा लिइन्। डाक्टरको अनुसार उसलाई ‘पोस्टपार्टम इक्लेम्पसिया’ भएको रहेछ। हस्पिटलमा रुवाबासी चल्यो, उसको श्रीमान् उसको छेउमा बसेर धेरैबेरसम्म रोइरह्यो।
उसको छोरीलाई देखेर अङ्गालो हाल्न मन लाग्यो, भर्खर जन्मिएको बाबुलाई हातमा लिएर सुम्सुमाउन मन लाग्यो, तर सकिनँ। वासरुम गएँ, मेरी परी सम्झेर धेरैबेरसम्म रोएँ। स्मृतीको परिवारले स्मृतीलाई सिधैँ पशुपति आर्यघाट लाने फैसला गरे। उहाँहरुको सरसल्लाह छेउमै बसेर सुनी रहेको थिएँ।
म पनि आर्यघाट गएँ, एउटा भारी मन लिएर। म त्यही ठाउँमा बसेँ जहाँ परी र म बसेर जिन्दगीका सपनाहरु बुन्थ्यौँ। मेरी परी साँच्चै मेरो जिवनमा परी नै बनिन्। दोस्रो पटक परीले मलाई रुवाइन्। पहिलो पटक रुवाउदा, अरुको घर बसाउन रुवाइन्।
मनमनै सोच्थेँ, जहाँ भए पनि जता भए पनि मेरी परी खुसी रहोस्, सुखी रहोस्। आज फेरि म त्यही सोच्दै छु, मेरी परी जहाँ भए पनि खुसी रहोस्, सुखी रहोस्। अन्तिम पटक उसको जलेको शरीर हेरीरहेँ, मात्र हेरीरहेँ एउटा रित्तो मन लिएर।
के हो र आखिर जिन्दगी
आज छ भोलि छैन
छन् सपना हजार
हुँदैन साकार
छोडी जाने त गयौ
बाच्नेलाई भार
उपहार स्वरुप दिएर गयौ
अनगिन्ती तिम्रा याद।।