मेरो चस्मा व्यक्तिगत प्रयोजनका
लागि मात्र भएको छ,
मज्जैले छेक्छ-
घामका किरणहरु,
धुलाका कणहरु,
हावाका वेगहरु
र आफ्नै आँखाका समुन्द्रहरु
तर पनि छेक्न सक्दैन-
राष्ट्रिय भावले भरिएको यो मेरो मन
र त धिर्काछ हेर्नुपर्दा,
टेबलमुनिका क्रियाकलापहरु
भ्रष्टाचारका किराहरु,
अतः देशनाशाका कुकर्महरु
पछिल्लो समयमा देशको सिमाना
बढेको देख्न पायो मेरो चस्माले
तर देशमा भइैरहेको प्रदेश राजधानीको खिचातानी
देख्न नपरे पनि हुने,
मेरो चस्मा पारदर्शी छ,
हिमालको जाडो, तराईको हुरी
सबै देख्छ यसले,
पहाडका बस्ती बस्तीका भोकमरी र विकराल अभाव
नियाल्न सकिन्छ यसबाट,
खाइलाग्दा युवा साथी अन्तर्राष्ट्रिय विमानस्थलमा
पसिनाको भारीसँग डलर साट्न जाँदै गरेको दृष्य
देख्न सक्छ मेरो चस्माले।
प्रत्येक वर्ष आउने भिषण बाढी
उर्लदै गरेको नदीको बहाव
आँसु खसाल्दै टुलुटुलु लाचार मात्र
भएर हेर्न बाध्य हुन्छ मेरो चस्माले
चस्मामा पावर भएका तर मेरो जस्तो चस्माको दृष्टि नभएका
माननीय, सम्माननीय लगायत धेरैलाई
राष्ट्रिय दिवशका दिन एक-एक वटा चस्मा उपहार दिने मन छ।