कविता
म साधारण छु
मेरो व्यक्तित्व असाधारण लाग्छ भने, माफी!
म हाँस्छु पनि
मेरो रोदन अनावश्यक लाग्छ भने, माफी!
म भद्र छु,
म सालिन छु,
तर मेरा दैनिकीले अवाक् बनाउछ भने, माफी!
म निष्पक्ष छु,
मेरो हृदय अपवित्र लाग्छ भने, माफी!
म बोल्छु पनि,
मेरो बोली आधारहीन लाग्छ भने, माफी!
म कुरुप छु,
म कल्पित छु,
तर मेरा आँखाले सुन्दर चित्र कोर्छ भने, माफी!
म निडर छु,
मेरो उपस्थितिले डर फैलाउँछ भने, माफी!
म फल्छु पनि,
मेरो जड खराब लाग्छ भने माफी!
म सीमित छु
म शान्त छु
तर मेरो अनगिन्ती लक्ष्यले पिरोल्छ भने माफी!
म स्थिर छु
मेरो पाइलाले गन्तव्य समाउँछ भने माफी!
म लड्छु पनि
मेरो अस्तित्व घृणित लाग्छ भने माफी!
म लिप्त छु
म तृप्त छु
तर मेरो दूरदर्शीताले त्रास फैलाउँछ भने माफी!
म अटल छु
मेरो उचाइले छाया पर्छ भने माफी!
म सभ्य पनि छु
मेरो व्यवहारले असभ्यता देखाउँछ भने माफी!
म अनेक अजजग
म सत्य छु
तर मेरा रुपहरुले त्रसित बनाउँछ भने माफी!
म सुन्दर छु कुरुप पनि
म डरलाग्दो छु प्यारो पनि
म शुद्ध छु
विशुद्ध पनि
म अमृतसरी हुँ
विशालु पनि
ममा कर्तव्यबोध छ
म निरंकुश छु
दयालु पनि
म इर्ष्यालु छु
म ‘म’ छु
म अनेक छु
एक पनि
ममा पाप छ
ममा श्राप छ
ममा प्रेम छ
ममा कर्तुत पनि
म साधारण छु
मेरो व्यक्तित्व असाधारण लाग्छ भने, माफी!