गर्भमै तुहिनबाट बचेको त्यो दिन ऊ कति खुसी थिइ होलि, कति हर्षित थिइ होलि। उसको सिवाय खुसी हुने अरु कोही पनि थिएनन्। न उसका बा-आमा न त आफन्त। गर्भमै तुहाउन सक्दो कोशिश नगरेका पनि होइनन्। यसमा न त डाक्टरले नै सहयोग गर्यो न त भाग्यले नै।
छोरा बनाउने आशामा जन्माएको त्यो सातौँ सन्तान पनि छोरीको जन्म भयो। कोमल पैतालाले धर्तीमा पाइला टेकेपछि उसका आँखाले पहिलो चोटि उसका बा र आमालाई देखेका थिए। जसिता उसको न्वारनमा राखिएको नाम थियो। ऊ अब जसिताको नामले चिनिने भइ।
महिनौँ बितिसके पनि बाका हातले उसलाई छोएका समेत छैनन्। बेलुन जस्तै फुल्लिएका स्तनसँग उसका ओठले चुम्बन गर्दा ती कोमल ओठ र भोकाएको पेटले जति आनन्द दिन्थ्यो, आकाश जस्तोदेखिने ती आमाको आँखामा लेखिएको कथा पढ्दा पनि उसलाई त्यति नै आनन्द आउथ्यो।
एउटा आँखामा घाम लागेको बेला अर्कोमा बादल लागेको हुन्थ्यो। एउटामा पानी परेको बेला अर्कोमा इन्द्रेणी लागेको हुन्थ्यो। तर, उ अच्च्मित कहिले भइन। उसले बुझेको यही हो, आकाश पनि एउटा मात्र छैन र ती सबको मेलमिलाप कहिले भएन।
होइन भने एकै समयमा ओल्लो गाउँमा पानी पर्दा पाल्लो गाउँमा घाम कसरी लाग्छ? एक ठाउँमा प्रचण्ड घाम लाग्दा अर्को ठाउँमा छेपारोले आफ्नो रंग बदले जस्तै बादलले पनि क्षण क्षणमा किन आफ्नो आकृति बदल्छ? र हुरी बताससँगै आएको झरी र बाढीले साराको सपना कहिले नफर्किने गरी समुन्द्रको बालुवामा लगेर अस्तित्व नै मेटाइदिन्छ? यस्ता अनेकौं प्रश्नले तछाड मछाड गर्थे।
आमाको आँखामा घाम लाग्दा ऊ घामको न्यानोले आनन्दित हुन्थी। तर जब जब बादल लागेर आँखाहरुले गड्याङ्गगुडुङ्ग गर्न सुरु गर्थे, उसलाई डर लाग्थ्यो। डर बादलको होइन, झरीको हो। आफू जन्मिनुको पीडा थाकिसकेका बा र आमाको आँखाबाट झरीजस्तै उम्लिएको ऊ आफैले हेर्न सक्ने थिइन।
गाउँ समाजसँगै आफन्तले पनि उसलाई हेर्ने नजर फरक थियो। किनकी ऊ छोराको आशमा जन्माएकी छोरी थिइ। आफन्त हुनुको अर्थ उसले कहिले बुझ्न पाइन। बा-आमाको माया र ममता कहिले महशुश गर्न पाइन। एक्लो हुनुको अर्थ र अस्तित्व माथि सधैँ प्रश्न गरी रहन्थी।
एक दिन उसको जिन्दगीमा यस्तो घटना घट्यो जुन दिनदेखि ऊ हिजोको जसिता रहिन। अब ऊ एक सातौँ छोरी मात्र भनेर हेपिनु परेन। बा-आमाले दया गर्नुको कुनै अर्थ रहेन। ऊ भन्थी- माया, ममता, दया र सहानुभूति छुट्टै कुरा हो मेरा लागि, अब म बाच्नुको पनि कुनै अर्थ छैन।
ऊ एकदम कमजोर भएकी थिइ। उसले जिन्दगीदेखि नै हारिसकेकी थिइ। उसका बा-आमाले सकेसम्म घटना लुकाउन नखोजेका पनि होइनन् तर त्यो सब सम्भव भएन। त्यति सानो उमेरमा जुन घटना उसको जिन्दगीमा घट्यो, उसले गर्न सक्ने के नै थियो र?
विद्रोह गर्न सक्ने अवस्थामा ऊ थिइन। सहनुको विकल्पमा थिइन्। ऊ चुपचाप सहेर बसी जसरी सर्पले मुखमा च्यापेको भ्यागुतो लाचार भएर बसिरहन्छ। हो! ऊ लाचार भ्यागुतो जस्तै भइ। आफू हुनुको अस्तित्व माथि झन् झन् प्रश्न गर्न थाली।
बिहे गरेको सोह्र वर्षपछि एक दिन उसको घरमा बन्द बाकस भित्र विदेश गएको श्रीमानको लास फर्किएको थियो। घरमा छरछिमेकी सबै जना जमघट भएका थिए।
'ज्योतिसले बिहे गरेको बाह्र वर्षपछि ठूलै घटना घट्न सक्छ भनेको थियो। त्यति बेला खुब डर लागेको थियो। अब दशा जति सबै टरेछ सोचेकी थिएँ। तर आज यो के भयो? मेरा आँखालेदेखिरहेको यो सब के सत्य हो?' ऊ रुदै कराउदै भन्दै थिइ।
'यी निर्दोष दुई छोराहरुको हेरचाह कसले गर्छ? विचरा टुहुरो हुने भए। बेसाहारा हुने भए।' छोरा मात्र टुहुरो भएनन्, ऊ पनि विधुवा भइ। हातका चुरा फुटेसँगै उसका सपना पनि चकनाचुर भए। सिउँदोको सिन्दुर पखालियो। बदलामा उसको नाममा एक थप उपनाम थपियो। ऊ महिला मात्र होइन, एक विधवा महिला भनेर चिनिने भइ।
जिन्दगीदेखि हार त उसले त्यति बेलानै खाईसकेकी थिइ जतिबेला ऊ बाह्र वर्षकी थिइ। अब ऊ आफ्नो जिन्दगीदेखि मात्र होइन, यो समाजदेखि पनि हार खाईसकेकी छे। यति लामो जिन्दगीमा साना-तिना घटना घट्नुभन्दा पनि उसलाई समाजले हेर्ने दृष्टिकोणबाट ऊ थकित थिइ।
उसका जिन्दगीमा घटेका घटना देख्ने र हेर्नेहरुका लागि साना थिए। तर त्यसको भोगाइ र घटनाको गहिराइ भोग्नेलाई मात्र थाहा हुन्छ जुन कुरा ऊ एक्लैले भोगेकी थिइ। उसको भाग्यसँग उसलाई कुनै गुनासो छैन। समयसँग कुनै गुनासो छैन।
बा-आमाको सातौँ छोरी भएर जन्मिएकोमा पनि कुनै गुनासो छैन। गुनासो छ त केबल त्यो समजासँग जसले साथ दिनु पर्ने बेला अवहेलना गर्यो। दया र मायाको भावनाले हेर्नु पर्ने बेला घृणा गर्ने उपनामहरु थप्दै गयो।
बाह्र वर्षको उमेरमा बलात्कृत भएपछि मलाई समाजले हेर्ने दृष्टिकोण पहिलेको जसितालाई हेर्ने जस्तो थिएन। आफ्नै जिन्दगीबाट जति हार खाए पनि फेरि नयाँ जिन्दगीको सुरुआत गर्न कोशिश गरेकी हुँ।
बिहेपछि अल्पायुमै श्रीमानको मृत्यु भयो। त्यसपछि म विधवा महिला मात्र होइन, एक अलच्छिना आइमाई भएँ। आज बुढेसकाल लागेसँगै गाउँ समाजमा मलाई वृद्धा भनेर कोही पनि चिन्दैनन्। बरु म हिँडेको बाटो मान्छेहरु हिड्दैनन्।
साना निर्दोष बालबालिका मलाई देख्ने बित्तिकै ऊ बोक्सी बुढी आइ, हेर हेर बोक्सी बुढी आइ भन्दै टाढा टाढा भाग्न खोज्छन्। सुरुसुरुमा सोध्ने गर्थेँ- बाबुनानी तिमीलाई यस्तो कुरा कसले भन्यो? उनीहरु जवाफ दिन्थे- मेरो आमाले भनेको, मेरो बाबाले भनेको हजुर बोक्सी बुढी हो रे।
छोराकै आशामा बाले आठौँ सन्तानको पनि गर्भ बसाए। बा-आमाले गर्भ तुहाउन खोजेर पनि होइन तर त्यसपछिका कुनै पनि गर्भ सफल भएनन्। म दाइभाइ बिनाकी छोरी थिएँ। हामी आफूलाई पनि पीडा हुन्छ। हुनु र नहुनुको अर्थले हामीलाई पनि फरक पार्छ।
जिन्दगीमा घटेका घटनाले हामी कति ककजोर हुन्छौँ होला? कहिले काहीँ सोच्छु, के यो सब म महिला हुनुको उपज हो? सोध्न मन लाग्छ:
छोरा पनि गर्भमै तुहाइन्छन्?
के पुरुष पनि बलात्कृत हुन्छन्?
के श्रीमतीको मृत्युपछि पुरुष पनि अलच्छिना हुन्छन्?
बुढेसकालमा एक्लो भएपछि महिला बोक्सी जस्तै पुरुष के हुन्छन्?