प्राग
म त्यस्तो रहिनँ जस्तो तिम्ले छोडेकी थियौ
त्यही ठाँउमा अहिले पिच सडक बनेको छ
सबै हरियो कालो भएको छ
लगातार लड्ने डरले मेरा जराहरु निस्केका छन्
तर अझै केही त्यस्ता चउरहरु छन्
जहाँ हामी भेट्ने गर्थ्यौं
जबजब राफिला दिनहरुमा त्यही बाटो जाने आउने गर्छु
बाडुल्की लाग्ने गर्छ
तिमी प्राग गएकी छौ कहिल्यै?
गयौ भने काफ्काको चिहानमा जरुर पुग्नु
र सुन्नु त्यो सान्नाटा
जब थाकेर लखतरान भएको बेला
गहिरो निद्रा पश्चात ओछ्यानको कुना-काप्चामा रहन्छ
त्यहाँ सपना छैन
चिसो मौन सान्नाटा मात्र छ
त्यहाँ केही छोडेर आउनु
सुनेको छु, छोडेका चिजहरुको जरा फेरि पलाउँछ।।
कहानी
जबजब कुनै कथा लेखी सिध्याउँछु
यस्तो लाग्छ मैले कसैलाई धोका दिएँ
मतलब यस्तो एउटा रहस्य
जसलाई मैले वर्षौवर्ष आफैसँग राखेको थिएँ
जस्तोकी एउटा असल साथी
मैले आज त्यो रहस्यलाई खोलीदिएँ
मैले त्यो सम्बन्धको फाइदा उठाएँ
तर यो त्यति ठूलो धोका होइन
ठूलो त खासमा
त्यो कथासँगै हुन्छ जसलाई मैले आज पूरा गरेँ
हामी एउटा अलग्गै दुनियाँमा सँगै बाच्यौँ वर्षौवर्ष
अचानक मैले त्यो कथाको अन्त्य खोजेँ
र टुङ्याइदिएँ
यो हिंसा हो
जसको ग्लानी वर्षौसम्म रहन्छ
र पछि एउटा दुख बाँकी रहन्छ
त्यो के हो भने अन्त्यमा सबै सामान्य बन्छ
होइन र?
डिसेम्बर
आज केही एकदम निरस छ
जस्तो की तिम्रो शरीरका ती बाह्र कोठीहरु
बाह्र कोठीहरु बाह्र महिना जस्ता हुन्
म सधैँ वर्षहरु बचाउन चाहन्थेँ
म मुठी कसेर बस्थेँ
तर हरेक महिना ऊ मेरा मुठीका काप्चाहरुबाट
हाँस्दै जाने गर्थ्यो हरेक पटक
वर्षको अन्तिममा म आफ्नो मुठी खोल्थेँ
एघार कोठीहरु गैसकेका हुन्थे
तर एउटा डिसेम्बर सधैँ रहन्थ्यो
मेरा हत्केलाका रेखाहरुमा कतै अल्झेर...
त्यो दिल्लीको डिसेम्बरको चिसो थियो
जब हामीले एक-अर्कालाई अंगालेर
अन्तिम बिदाइ गरेका थियौँ
त्यो तुसारोमा तिम्रो मफलरमा अल्झेको
तिम्रो घाँटीको त्यो डिसेम्बरको कोठी
तिमी गएपछि मसँगै थियो
वर्षले चाडै बिदा लिन्छ
तर डिसेम्बरले कहिल्यै साथ छोड्दैन
आज पनि।।