कविता
झोल्लिएनन् त्यसै, चाउरिएर ती गालाहरू,
जिन्दगीका भोगाइ र सिकाइ भारी भएथे,
भासिएनन् त्यसै ती आँखाहरू,
तलाउ मार्दा मार्दै थकित भएथे,
थकान बिसाउने
चौतारी नभेट्दै,
बोझबाट मुक्त महशुस गर्न नपाउँदै,
भोगाइहरू अलमलमै,
छोडी गएको, मेरी आमा,
मात्र सम्झनामै रहेको पनि, आज वर्षौं भएछ
धेरै धेरै सपनाहरू देख्न खोजेथ्यौं,
शायद निदाउनै दिएनन् कि सपनाहरूले,
कोपिला भित्रको त्यो तिम्रो भागको खुसी पनि,
फुलेको हेर्न नपाउँदै,
रोकिएनन् शायद तिम्रा यौवन, एउटै बसन्त पनि नभोग्दै,
थकान बिसाउने
चौतारी नभेट्दै,
बोझबाट मुक्त महशुस गर्न नपाउँदै,
भोगाइहरू अलमलमै,
छोडी गएको, मेरी आमा,
मात्र सम्झनामै रहेको पनि, आज वर्षौं भएछ
मेरो भोग टार्न अभावलाई कतै व्रतको नाम दिई, छाक टारेथ्यौं कि,
मेरा रहरसँगै इच्छा र आकांक्षालाई मारेथ्यौं कि,
सुसुले धोतीका मुजा भिजिदिँदा, कतै सरमलाई,
मुजा बनाई छोपेथ्यौं कि,
थकान बिसाउने चौतारी नभेट्दै,
बोझबाट मुक्त महशुस गर्न नपाउँदै,
भोगाइहरू अलमलमै,
छोडी गएको, मेरी आमा,
मात्र सम्झनामै रहेको पनि, आज वर्षौं भएछ
सुखको मुहान, ल्याएथ्यौं कि चोरी सागरबाट,
शितलताको छहारी, खोसी ल्याएथ्यौं कि आकाशको गहिराइबाट,
प्रत्येक बिहानी जस्तै, लुुकाई राख्थ्यौं अल्छी र उदासी,
थकान बिसाउने चौतारी नभेट्दै,
बोझबाट मुक्त महशुस गर्न नपाउँदै,
भोगाइहरू अलमलमै,
छोडी गएको, मेरी आमा,
मात्र सम्झनामै रहेको पनि, आज वर्षौं भएछ
कुन उपमा दिएर नापुँ तिम्रो विशालतालाई,
के संज्ञा दिएर सम्हालुँ, तिम्रो त्याग र समर्पणलाई,
कहाँ खोजुँ तिमिलाई पाउँदिन अब यस जुनीमा,
न्यास्रोले न्यानो अंगालोमा बेरिन मन लागेको छ,
लेखुँ के तिम्रो कहानीलाई,
धर्ती आकाश गुन्जिने गरी, आमा भनेर बोलाउन मन लागेको छ,
बोल्दिनौ शायद, मूर्ति झैं छौं मन्दिरमा,
थकान बिसाउने चौतारी नभेट्दै,
बोझबाट मुक्त महशुस गर्न नपाउँदै,
भोगाइहरू अलमलमै,
छोडी गएको, मेरी आमा,
मात्र सम्झनामै रहेको पनि, आज वर्षौं भएछ