‘प्लिज सर! म पनि कुलमान घिसिङको फ्यान हुँ। एउटा तस्बिर मेरो लागि पनि अर्डर गरिदिनुहोला,’ मेसेन्जरमा सुमित्राको मेसेज आयो।
‘ओके, स्योर,’ मैले लेखी पठाएँ।
मजस्तै कुलमानका फ्यानहरू कत्ति कत्ति। दैनिक १८ घण्टाको लोडसेडिङ हटाएर उज्यालो नेपालका सफल र कुशल व्यवस्थापक हुन कुलमान घिसिङ।
उनको कार्यकाल थपिएको हेर्ने जनताको चाहना त पूरा हुन पाएन तर उनले लगाएको गुन भने अजम्बरी छ। यो उज्यालोमा बसेर हामी कुलमानलाई कसरी बिर्सन सकौंला ?
एउटा फोटो कुलमानको भित्तामा सजाउने रहर थियो। त्यो रहर पूरा गर्न सूर्यविनायक चोकमा एउटा फोटो स्टुडियोमा फ्रेम छनोट गरेर अर्डर दिएँ। फोटो तयार हुन केही समय पर्खनुपर्ने भयो त्यही पर्खाइमा हो उनको मेसेज पाएको।
उनको मेसेज पाएपछि पर्समा हेरें। अर्को फोटोको लागि पर्याप्त रकम थिएन।
उनले पैसा तिर्छिन् कि तिर्दिनन् ? मनमा केही समय दोहोरी चल्यो।
उति सारो चिनजानकी पनि त होइनन् उनी।
धेरै भएकै छैन सुमित्रालाई फेसबुकमा चिनेको। प्रत्यक्ष भेट त भएकै हैन। फेसबुकमा भने मज्जाले बोल्ने साथी हुन् उनी।
यो फेसबुकको भेटघाट पनि मेरो साहित्यिक यात्राले नै गराएको हो।
मेरा केही कथा पढेर निकै प्रभावित भएकी थिइन उनी। पटक-पटक नयाँ कथाको लागि अफर गरिरहन्थिन्। तर यसपटक भने उनको अफर फेरिएको थियो।
अब मलाई जस्तै उनलाई पनि फोटो सजाउने रहर थियो।
सायद मेरै सिको गर्दै थिइन् उनी।
मलाई मनपर्ने सबै अब उनलाई पनि मन पर्न थालिसकेको थियो। खै कुन्नि मेरा जीवनका केही कथाहरूले उनलाई कसरी परिवर्तन गर्यो म सोच्नै सकिरहेको थिइनँ।
***
झण्डै एक घण्टापछि एउटा स्कुटर फोटो स्टुडियो अघि आएर रोकियो। कालो चस्माबाट मलाई नै हेरेको हो भन्ने ठम्याउन मलाई गाह्रो भएन।
तै पनि नचिनेझैं बेवास्ता गरिरहें। स्कुटरबाट झर्दै गर्दा निकै आकर्षक देखिन्थिन् उनी। सर्लक्क परेको उनको हाइट, जिन्स पाइन्ट र टिसर्टमा सजिएकी कुनै मोडलभन्दा कम देखिन्नथिन् उनी। टाढैबाट मलाई ठम्याई सकेकी थिइन् उनले।
एक हातमा हेल्मेट समाएर अर्को हात हल्लाउँदै बोलिन् उनी।
‘हाई!’
जवाफमा उसैगरी हात हल्लाएँ मैले।
‘चिन्नलाई गाह्रो भएन र ?’ मैले सोधें।
‘तपाईंलाई जहाँ भेटे पनि चिन्ने रहेछु। यो त झन् तोकिएको स्थान नचिन्ने कुरै भएन।’ नजिकै टेबलमा हेल्मेट राखेर कुर्सीमा बसिन् उनी।
सायद मैले मास्क खोलेर नबसेको भए उनी दोधारमा पर्ने थिइन्। तर उनलाई भने मैले उनको शारीरिक बनावटको आधारमा पहिचान गरिसकेको थिएँ।
भर्खरै मात्र उनको प्रोफाइल तस्वीर राम्रै अध्ययन गरिसकेको थिएँ।
‘अनि आजभोलि नयाँ कथा लेख्नु भाको छैन? तपाईंको कथाको व्यग्र प्रतीक्षामा छु।’ मास्क खोलेर मसक्क मुस्कानसहित बोल्न सुरू गरिन् उनी।
‘एउटा कथा चाहिँ तिम्रो मुस्कान कै हुने रहेछ,’ यतिबेला उनको अनुहारको हाउभाउ देखेर हाँसें म।
उनी पनि उस्तै गरी हाँसिन मज्जाले।
उनका टम्म मिलेका दाँतहरू निकै आकर्षक लाग्थे। त्यसो त उनको प्रोफाइलले बताइसकेको थियो उनी निकै सम्पन्न परिवारकी थिइन्।
आफ्नो शरीरको निकै केयर गर्थिन् उनी। उनको बुट्टेदार लामा लामा नङहरू उत्तिकै आकर्षक थिए।
‘मेरो मुस्कानको कथा हैन सर, मुस्कान भित्रको वेदनाको कथा लेखिदिनु होला। ताकी जीवनलाई नयाँ ढंगले वेदनामुक्त भएर खुला उन्मुक्त मुस्कान मेरो मुहारमा फर्कियोस्।’ एकाएक निकै गम्भीर देखिइन् उनी।
यति मीठो मुस्कानभित्र पनि वेदनाका कथाहरू हुन्छन् जस्तो लाग्दैनथ्यो मलाई।
साँच्चै मानिसहरू कति आफ्ना वेदनाहरू लुकाएर बाहिर बनावटी हाँसो देखाउन सक्छन्!
आफू भित्रभित्रै जलेर अरूलाई मुस्कान बाँड्न सक्छन्। यति सुन्दर यो श्रृष्टिको फूलमा पनि कसरी जरैबाट रोग लागेछ। उस्तै गम्भीर भएँ म।
‘मैले लेख्दै तिम्रा वेदनाहरू टाढा हुने भए किन नलेख्नु ? म तिम्रो अनुहारमा उस्तै उन्मुक्त मुस्कान चाहन्छु। जुन हृदयदेखि नै प्रफुल्लित होस्,’ मैले भनें।
दुइटा फोटो फ्रेममा तयार भइसकेको थियो।
कुलमान घिसिङको आकर्षक फोटो फ्रेममा देखेर फेरि उनको मुहारमा उस्तै मुस्कान फैलियो।
झट्टपट्ट पर्सबाट पैसा निकालेर दुबै फोटोको उनैले तिरिन्। केही फिर्ता रकम पनि उनले लिन इन्कार गरिन्। म केवल टुलुटुलु हेरी मात्र रहें।
खै कस्ती केटी हुन् उनी। उनलाई पैसाको कुनै मूल्य थिएन। उनले शरीरमा लगाएको कुनै चिज त्यस्ता थिएनन् जो साधारण मूल्यका होऊन्। यति सम्पन्न परिवारकी छोरी भएर पनि साँच्चै उनी भित्र कस्तो वेदना होला ? निक्कै खुल्दुली लागिरह्यो।
‘आज तपाईंलाई पनि नास्ता बनाउन लगाएकी छु मेरो घरमा। मैले ममीलाई भनेर आएकी छु मेरो एक जना सर आउनुहुन्छ भनेर,’ कति सजिलै उनले भनेकी थिइन्।
निकै चिरपरिचितझैं गरी।
सुरूमा त इन्कार गरें मैले तर उनको निस्वार्थ अनुरोध अघि मेरो केही लागेन। त्यसदिन मोटरसाइकल पनि घरमै छाडेको थिएँ। उनको स्कुटरमा पछि बसेर जान अप्ठ्यारो महशुस गरिरहेको थिएँ।
‘जीवनमा कहिल्यै केटी मान्छेले चलाएको स्कुटरमा पछि बसेको छैन,’ मैले भनें।
‘ए उसो भए ठिकै छ हजुर चलाउनु म पछि बस्छु नि त,’ जवाफ फर्काइन्।
‘ठिकै छ तिम्रो स्कुटर तिमी नै चलाऊ म पछि नै बस्छु,’ मैले भनें।
कालो चश्मा, मास्क र हेलमेट लगाएर उनी तयार भइन्।
दुइटा फोटो बोकेर म उनको पछाडि बसें। उनको शरीरबाट अत्तरको बासना बेस्सरी आइरहेको थियो।
बेला बेला उनी सिसाबाट मेरो अनुहारमा नियालिरहन्थिन्। अनि प्रश्न गर्थिन् कस्तो अनुभूति गरिरहनुभएको छ भनेर ।
सूर्यविनायक चोकबाट केही किलोमिटरमात्र टाढा उनको घर पुग्न समय नै लागेन।
ठूलो कम्पाउन्ड सहितको उनको घर मेरो लागि अलिसान निकै भव्य महल नै थियो। त्यो भव्य महलको आँगन वरपर फुलेका रंगीविरंगी फूलहरू, चारैतर्फ सुन्दर बगैंचा सहितको उनको त्यो घर मैले सोचेभन्दा निकै फरक थियो।
उनको कम्पाउन्डभित्र छिरेपछि लाग्थ्यो यो नेपाल होइन कुनै विकसित देश हो। त्यो कम्पाउन्ड भित्रका हरेक चिज उत्तिकै बहुमूल्य लाग्दथे।
बजारमा आफूलाई निकै सुकिलो मुकिलो ठान्ने म अब आफैंलाई झुम्रेजस्तै महशुस हुँदै थियो। बगैंचामा फुलेका केही नीला फूलहरूले मलाई गिज्याइरहेझैं लाग्थ्यो। उनी भने मलाई असहज नहोस् भनेर निकै सचेत थिइन्।
स्कुटर तल्लो तलामा पार्किङ गरेपछि म उनको पछिपछि माथिल्लो तलामा पुगें।
एउटा राम्रो सजिएको बैठक कोठामा बस्न अनुरोध गरिन् उनले।
लगत्तै कुलमान घिसिङको त्यो फोटो बैठक कोठाको भित्तामा सजाइन्।
भित्तामा अरु पनि केही तस्बिर थिए। ती अपरिचित तस्वीरहरूप्रति मैले कुनै जिज्ञासा राखिनँ। केवल म उनको त्यो भव्य महल अघि शब्दहीन भएको थिएँ।
अनि मनमनै कल्पना गरिरहेको थिएँ यति भव्य दरबारमा पनि यी राजकुमारीलाई के को वेदना होला त्यस्तो ? जसले उनको मुहारमा उन्मुक्त हाँसो दिन सक्दैन।
कृत्रिम मुस्कानको लेपन लगाइएको उनको वेदनाको कथा बुझ्न मलाई कति समय लाग्ने होला ?
चिया लिएर उनकी आमा बैठक रूममा छिरेपछि मैले दर्शन गरें।
सुमित्राले मेरो परिचय पहिले नै गराइसकेकी रहिछन्।
खै के भनेर गराइन् मैले भेउ पाइनँ। बरु भित्ताको कुलमानको तस्बिर देखाउँदै उनी व्याख्या गर्न थालिन्।
‘उज्यालो नेपालका हिरो हुन् कुलमान घिसिङ। उनले कुशलतापूर्वक व्यवस्थापन नगरेको भए आज पनि त्यो १८ घण्टाको कहालिलाग्दो लोडसेडिङसँगै अन्धकारमा बस्नु पथ्र्यो। अधिकार पाएको एउटा व्यक्तिले चाह्यो भने रातारात परिवर्तन सम्भव रहेछ। यसैको उदाहरण हो यो। उहाँको सम्मानको लागि यो तस्बिर बनाएपछि मनमा केही शान्ति मिलेको छ।
‘तिम्रो खुसीमा म कसरी बाधक बन्न सक्छु र ? तिमी आफैं बुझ्ने र निर्णय लिनसक्ने भइसकेकी छौ। म त केवल तिम्रो अनुहारमा सधैं खुसी देख्न चाहन्छु। आफ्ना सन्तानको खुसीभन्दा पर एउटी आमाको लागि कुन खुसी हुन सक्छ र अरु ?’, निकै नम्र स्वरमा आमा बोल्नुभयो।
उहाँको बोलीमा छोरीप्रतिको अगाध स्नेह प्रष्ट थियो।
एक्ली छोरी परिवारको मायामा कुनै कमी जस्तो लाग्दैनथ्यो। तै पनि उनी भित्र कस्तो वेदना होला ? खुल्दुली नहुने कुरा भएन।
उनले चिया लिन अनुरोध गरिन्। आमा नास्ता तयार गर्न जानुभयो। त्यही समयको सदुपयोग गर्दै मैले उनलाई सोधें।
‘यो घरमा तिमीलाई के को अभाव छ र ? कति भाग्यमानी छौ है तिमी। सायद अघिल्लो जन्ममा निकै तपस्या गरेकी रहिछौ। मैले छड्के आँखाले व्यंग्यात्मक हेरें।
‘सरी सर ! मैले पहिल्यै भनिसकें। म भित्रको वेदनालाई बुझ्ने कोशिस गर्नुहोला। सायद यो घरमा नजन्मिएर कुनै झुपडीमा जन्मिएको भए आज संसारको सबभन्दा भाग्यमानी ठान्ने थिएँ आफूलाई। पंक्षी जस्तै खुला आकाशमा स्वतन्त्र उड्ने थिएँ। तर बिडम्बना म यो घरमा जन्मिएँ,’ निकै भावुक भइन् उनी।
खै कस्तो घरमा पुगें म। त्यो घरमा जानु हुन्थ्यो कि हुन्थेन मैले केही सोच्नै सकिनँ। त्यसभन्दा अघि उनी केही बोलिनन्।
मैले उनको घरको सम्झनाका लागि कुलमान घिसिङको तस्बिर पछाडि आउने गरी मेरो फोटो खिच्न लगाएँ।
उनले मलाई हँसाइ हँसाइ निक्कै राम्रो फोटो खिचिदिइन्। नास्ता खाइसकेपछि फर्कने बेला आमाले मलाई छोड्न गाडी पठाउन खोज्नु भएको थियो तर सुमित्राले मानिनन्। उनी उसैगरी स्कुटरमा मेरो कोठा नजिकसम्म आइन्।
कुनै संकोच नभएकी, निकै फरासिली त्यति सम्पन्न परिवारकी छोरी यति धेरै दया र मायाकी खानी होलिन् भन्ने कुरा मेरो सोचाइभन्दा धेरै टाढाको कुरा थियो।
सायद मेरो कोठामा केहीछिन बस्न अनुरोध गरेको भए बिना संकोच उनी स्वीकार गर्ने थिइन्। तर मैले आफ्नो कोठा देखाउने हिम्मत नै गरिनँ।
भाडामा लिएको कोठा राम्रोसँग सामान नि मिलाएर नराखेको त्यो साँघुरो स्थानमा उनलाई लैजाँदा कस्तो प्रभाव पर्ला भनेर मैले त्यो बाटो पहिल्यै बन्द गरिसकेको थिएँ। 'तिम्रो जस्तो घर सम्पत्ति मेरो छैन। अर्काको घरमा भाडामा अभाव नै अभावको जीवन बाँच्नुपर्छ, ' मैले भनेको थिएँ।
तर मेरो सोचाइविपरीत उनको जवाफ थियो।
‘ठूलो घरमा जन्मनेहरू निकै खुसी र सुखी हुन्छन् भन्ने तपाईंको सोचाइ निकै ठूलो भ्रम हो। एकदिन यस्तो कथा पनि लेख्नु होला कि धनी मानिसहरू पनि खुसीको लागि निकै गरिब हुन्छन्। तिनीहरू केही खुसी सम्पत्तिले किन्न सक्छन् तर केही यस्ता वेदनाहरू हुन्छन ती कहिल्यै सम्पत्तिद्वारा खुसीमा परिणत हुँदैनन्।’
‘खास तिम्रो वेदना चैं के हो ? जसलाई म कथामा लेख्न सकुँ। मैले निकै उत्सुक भएर भनें।
‘सर तपाईंलाई भेटेर जीवनमा केही आनन्दित महशुस गरेकी छु। तपाईंका संघर्षका केही कथाहरू पढेर समाजलाई हेर्ने र बुझ्ने मेरो दृष्टिकोणमा परिवर्तन आएको छ। फेरि पनि बाँच्ने रहर बढेको छ। यो अहिले भनेर सकिने मेरो मात्र वेदना हैन। बिस्तारै बुझ्दै जानुहुनेछ,’ उनले आफ्नो कुरा यतिमै बिट मारिन्।
सायद मेरो मनलाई जितेर होला फर्कने बेला मलाई अंगालेर एउटा मिठो मुस्कान छाडेर गइन् उनी।
कोठामा फर्किएपछि निकैबेरसम्म मलाई उनको अंगालो र त्यो मीठो मुस्कानले रोमाञ्चित बनाइरह्यो। मेरो टिसर्टमा उनको अत्तरको सुगन्ध गाढा नै थियो। फुकालेर दराजमा सुरक्षित राखें। उनको त्यो मुस्कान भित्रको वेदनाको कथाले भने कौतुहल बनाइरह्यो।
साँझ उनैले खिचिदिएको त्यो हँसिलो आफ्नै तस्बिर आफैंलाई अति मन परेर फेसबुकमा पोष्ट गरें।
आफ्नो फोटोसँगै पछाडि कुल्मान घिसिङको ठूलो फोटोले पोष्टलाई निकै शोभा दिएको थियो। कमेन्ट गर्नेलाई त्यही नै काफी थियो। नभन्दै केही मिनेटमै कुलमान घिसिङको त्यो फोटो अर्डर गर्नेहरू थपिँदै थिए। कतिले मेरो मुस्कानलाई आजसम्मकै बेस्ट मुस्कान भन्दैथिए। डाटा कम भएकोले बन्द गरेर म अरु काममा व्यस्त भएँ।
केही घण्टापछि डाटा अन गर्दा अप्रत्यासित रूपमा त्यो तस्बिर भाइरल भैसकेको थियो। कमेन्टहरूको बजार लागिसकेको थियो। तर यो सब मेरो मुस्कानले भने थिएन। एउटा चिरपरिचित साथीले सबैभन्दा माथि कमेन्ट गरेको थियो।
‘कुलमान जस्तो हिरोको तस्वीर भित्तामा सजाउनु भएकोमा स्यालुट छ। तर तपाईंजस्तो प्रगतिशील मानिसले कुलमानको हाराहारीमा त्यो भ्रष्टाचारीको तस्बिर राख्दा कुलमानको अपमान हुन्न र ?’
यही कमेन्टबाट सुरू भएको कमेन्टको निरन्तरता चलिरहेकै थियो। त्यो तस्बिर मेरो घरको थिएन। सबैलाई भ्रम थियो तर त्यो भ्रष्टाचारी को थियो ? जो सुमित्राको बैठक कोठामा सजिएको थियो। जसलाई उतिसारो वास्ता गरेको थिइनँ मैले।
निकै जिज्ञासा पूर्वक कमेन्टहरू पढ्ने कोशिस गरें। केही कमेन्टहरू पढिसक्दा त्यो अपरिचित तस्वीर सुमित्राकै स्वर्गीय हजुरबुवाको थियो भनेर चिन्न गाह्रो भएन।
भूतपूर्व मन्त्री रहेका उनी पोहोर साल मात्र बितेका रहेछन्।
एक जना मित्रले लेख्नु भएको थियो, ‘भ्रष्टाचारीहरूलाई सामाजिक बहिस्कार गरौं। देश लुटेर जोडेको सम्पत्तिमा मोज गर्ने तिनका सन्तानलाई समेत सरकारी सेवामा अयोग्य घोषित गरौं।’ गालीगलौज यतिमा रोकिएन।
‘राज्यको एक पैसा पनि भ्रष्टाचार गर्नेहरू अपराधी हुन्। तसर्थ भ्रष्टाचारीका सात पुस्तासम्म पनि ठाडो शिरले हिँड्न नसकुन्। तिनका सन्तानले आफ्नै पुर्खाको नाम पनि उच्चारण गर्न नसकुन्।’ अर्को मित्रले लेख्नु भएको थियो।
छेउमै थियो कुलमान घिसिङको तस्बिर। भितामा राख्न बाँकी नै थियो। त्यो तस्बिर हेरिरहँदा कत्ति कुरा मनमा खेलिरहे। आफ्नो लागि देश लुट्नु र देशको लागि इमान्दार भएर काम गर्नुमा कति फरक रहेछ। समाज कति अघि बढिसकेको छ। यो विकसित समाजमा आजका भ्रष्टाचारीहरूका सन्तानको कुन गति हुने हो ? यी कमेन्टहरू ती भ्रष्टाचारीहरूले पढ्दै गर्दा आफ्ना सन्ततिको लागि एकपटक ठण्डा दिमागले नसोचलान र ?
एउटा समय यस्तो पनि थियो, सकेसम्म जनता र देशको दोहन गरे पनि जनता बोल्न सक्दैनथे। तर अबको समाजमा पनि भ्रष्टाचारीहरू कसरी ठाडो शिर गर्लान् ? एकपटक तिनको शिर पश्चातापले निहुँरिनै पर्नेछ।
सबै कमेन्टहरू पढेर साध्य नै थिएनन्। शायद यी कमेन्टहरू सुमित्राले पढिन् भने उनको मन कस्तो होला। अनलाइनमा थिइनन् उनी। फेरि कमेन्टहरू हेर्न थालें।
एउटा अपरिचित व्यक्तिको कमेन्ट भने फरक थियो।
‘पुर्खाले गरेको पापको भारी सन्तानलाई बोकाउनु कति उचित होला ? उनकी नातिनी सुमित्राले विभिन्न संघसंस्था र गरिबहरूलाई लाखौं लाख सहयोग गरी गरेको समाज सेवालाई पनि त सकारात्मक रूपमा हेर्नु पर्यो नि!’ उनको कमेन्टमा प्रतिक्रिया दिनेहरूको कुनै कमी थिएन।
‘हजुरबाउले जनता र राष्ट्र लुटेको अकुत सम्पत्तिको एउटा हिस्सा बाँड्न त्यसलाई के गारो ? त्यसले परिश्रमले कमाएको भए पो!’
‘भ्रष्टाचार गरेको सम्पत्तिले ऊ राम्रो स्कुलमा पढी। मोज मस्तीको जीवन बाँचिरहेकी छे। के त्यो पैसामा गरिबका थोपा थोपा आँसु र पसिनाहरू थिएनन् र ? अनि ऊ कसरी त्यो पापबाट मुक्त हुन सक्छे ?’
सुमित्राको समाजसेवाको कुराले झस्किएँ। अब उनको मुस्कान भित्रको वेदना खुल्दै थियो। शायद उनी समाज सेवाको बाटोबाट आफूलाई पखाल्न चाहन्थिन्। मेरा कथाहरूबाट उनी परिवर्तन हुनु उनीमा आएको सानोतिनो परिवर्तन हुँदै होइन।
अनि तिनै अपरिचित व्यक्ति जसले सुमित्राको सपोर्टमा कमेन्ट गरेको थियो। उनैलाई मैले सुमित्राको बारेमा सोधें। उनले मलाई इनबक्समा धेरैवटा मेसेजहरू लगातार पठाए।
‘सुमित्रा लामो समयदेखि डिप्रेसनको शिकार भएकी छे।’
‘पुर्खाको त्यही पापलाई मेटाउन त्यसले कति धेरै समाजसेवामा भाग लिइसकेकी छे।’
‘त्यसलाई आफ्ना स्वर्गीय बाजेले गरेको भ्रष्टाचारप्रति अपराधबोध छ ।’
‘मैले तपाईंलाई चिनेको त छैन तर तपाईंको पोष्टमा भएका कमेन्टले निश्चय नै उसलाई आघात पुर्याउने छ। म अनुरोध गर्छु तपाईंलाई त्यो पोष्ट हटाइदिनुस्।’ उनका मेसेजहरू हेरेर केही सोच्नै सकिनँ।
अब उनको वेदना प्रष्ट भइसकेको थियो। यदि उनले यी कमेन्टहरू पढिन् भने उनको वेदना थप चर्कने निश्चित थियो। मेरो सम्झनामा उनको मीठो मुस्कान अनि अत्तरको कडा सुगन्ध ताजै थियो।
वास्तवमै उनी हजुरबाउले गरेको त्यो पापबाट मुक्त भएर स्वतन्त्र जीवन बिताउन चाहन्थिन्। त्यसैले त उनले मजस्ता लेखकको साहरा लिएकी थिइन्।
अनि तुरुन्तै मैले त्यो पोस्टलाई डिलेट गरिदिएँ।
राति अबेरसम्म निन्द्रा लागेन। विभिन्न कमेन्टहरू सम्झेर अनेक कुराहरू मनमा खेलिरहे। राति अबेर सुतेकाले बिहान उठ्दा सात बजिसकेको थियो। हत्तपत्त डाटा अन गरें। राति दुई बजेतिर सुमित्राले गरेको मेसेज थियो।
‘भेरी भेरी सरी सर! अब म यो भन्दा बढी बाँच्न सकिनँ। यो घरमा जन्मनु नै मेरो अभिशाप भयो। कति पटक बद्लिएर बाँच्ने कोशिस गरें। तर समाजले त्यो छुट दिएन मलाई। तपाईंका कथाहरूको फ्यान हुँ म। एउटा मेरो वेदनाको कथा लेखिदिनु होला। ताकी मेरो जस्तो वेदना आउने पिंढीले भोग्न नपरोस्। निरन्तर चलिरहोस् तपाईंको कलम। अन्तिम बिदा। लभ यु सो मच।’
उनको अन्तिम म्यासेजले आँखाभरि आँशु आयो। सायद अव उनले आत्महत्या गरिँन । उनको घरसम्म जाने हिम्मत नै आएन । अनि तिनै कमेन्ट गर्ने अपरिचित मित्रसँग उनको बारे सोधेँ ।
‘राति नै सुमित्राले बैठक रूममा सुसाइड नोट लेखेर पङ्खामा झुण्डिएर आत्महत्या गरिछे।’ उनले तुरुन्तै मेसेज पठाए।
पत्याउनै गाह्रो भयो मलाई। त्यो तस्वीर पोष्ट गरेकोमा पश्चातापले बेस्सरी जलें म। त्यो पोष्ट नै उनको आत्महत्याको तत्कालीक कारक बन्यो।
‘के म त्यो सुसाइड नोट पढ्न सक्छु ?’ मैले भनें। तर उनले त्यो दिन इन्कार गरे। मेरो बारेमा निकै जान्न कोशिस गरे। ती व्यक्ति सुमित्राको परिवारको नजिकका आफन्त रहेछन्। मैले सुमित्राको म्यासेज पठाएपछि बल्ल उनले त्यो सुसाइड नोट पठाए।
‘यो के गर्नुभयो हजुरबा तपाईंले ? आफ्ना सन्तानको निम्ति भनेर गरेको कर्म नै आज हामीलाई अभिशाप भयो। खुसीले कहिल्यै मुख देखाएर ठाडो शिरले बाँच्न दिएन समाजले। टाढा कतै भागेर बाँच्न मनले दिएन। तपाईंको अपराधको भारी बोकेर यो भन्दा बढी बाँच्न सकिनँ। तपाईंले जोडेको यो अकुत सम्पत्ति फिर्ता गरेर स्वतन्त्र र वेदनामुक्त हुन मन थियो तर इज्जत र प्रतिष्ठा एकपटक गएपछि नफर्कने रहेछ।
भेरी भेरी सरी बाबा, ममी। तपाईंहरूको सपना पूरा गर्न सकिनँ। मेरो नामको सम्पत्ति अनाथहरूको पालनपोषण र शिक्षादिक्षामा खर्च गरिदिनु। तब मात्र मेरो आत्माले शान्ति पाउनेछ।’ सुसाइड नोटको एउटा अंश थियो यो।
यति ठूलो वेदना मनमा लुकाएर पनि उनी मलाई मुस्कान बाँडिरहेकी थिइन्। अब उनको मुस्कान भित्रको वेदनाको कथा लेखिनँ भने त मलाई उनको श्राप लाग्नेछ तर उनले भनेझैं उनको वेदनाको कथाले अब उनको जीवन वेदनामुक्त भएर उनको मुहारमा उन्मुक्त हाँसो भने कहिल्यै फर्कने छैन।
आफ्ना पुर्खाले गरेको भ्रष्टाचारमा अपराधबोध गर्दै, आफ्नो करोडौंको सम्पत्ति अनाथहरूलाई सुम्पदै जीवन त्याग गर्ने सुमित्राको त्याग पनि आजको समाजका लागि सानोतिनो त्याग थिएन। यो पिँढीलाई गतिलो शिक्षा दिएर गइन् उनी।
मैले तुरुन्तै सूर्यविनायक चोकको त्यही फोटो स्टुडियोमा उनको त्यो मीठो मुस्कान सहितको तस्वीर फ्रेममा राख्न अर्डर दिएँ। अनि मेरो कोठाको भित्तामा सजाएँ कुलमान घिसिङको हाराहारीमा।
त्यसै दिन मैले मेरो कोठामा सेल्फी खिचें पछाडि कुलमान घिसिङ र सुमित्राको तस्बिर आउने गरी।
साँझ उनको मुस्कान भित्रको वेदनाको कथासहित त्यो तस्वीरलाई फेसबुकमा पोस्ट गरिदिएँ। क्षणभरमै उनको कथा सामाजिक सञ्जालमा भाइरल भयो।
सुमित्रालाई स्यालुट गर्दै उनको तस्वीरमा श्रद्धाञ्जली दिनेहरूको भीड लाग्यो। यस अघिको माहोल एकाएक उल्टियो। अघिल्लो साँझ खोलेर फालेको टिसर्टलाई सुम्सुम्याएँ। त्यसमा अझै उनको अत्तरको सुगन्ध ताजै थियो। अनि एकपटक भित्ताको उनको तस्बिरलाई नियालें त्यो मीठो मुस्कान उनको अन्तर हृदयको जस्तो लाग्यो।