चुरोटको धुवाँको तुवाँलोमा आफ्नो मनलाई गुम्साउदै छु। यही तुवाँलोमा आफूलाई हराउन मन छ, भाग्न मन छ। म डराएको भने पटक्कै होइन, केबल भविष्यको नियतिलाई पहिलो पटक आज नियाल्न सकिरहेको छैन।
मनमा एक मात्र संकोच छ। मैले सही गरेँ कि गलत। गलतको आफ्नै परिभाषा छ, सहीको आफ्नै। यी दुई विपरीत ध्रुवमा अड्किएका छन् तर एक बिना अर्कोको कुनै अस्तित्व छैन। एक नहुने हो भने अर्कोको वजन कम हुन्छ।
गलतलाई सहीले आदेश दिएको छ त सहीलाई गलतले। किनकी तिम्रो सत्य मेरो गलत र मेरो सत्य तिम्रो गलत। यो सबैको केन्द्र आ-आफ्नो दृष्टिकोण र बुझाइमा रहेको छ।
हरेक समस्याको समाधान हुन्छ र त्यो समस्याको समाधान सहज ढंगले गर्नु नै बौद्धिकताको खेती हो जस्तो लाग्छ। तर के हरेक समस्याको समाधानका लागि हामी सधैं परिपक्व हुन्छौँ त? मैले आफ्नो तर्फबाट गर्नुपर्ने सबै समस्याको हल आफ्नो क्षमताले भ्याएसम्म गरेँ तर के ती सबै कार्य उचित बौद्धिकताका थिए त? सही थिएँ वा गलत?
यो सबै कौतुहलता भविष्यको समय चक्रले बताउँदै जानेछ। अहिले त म विगतलाई कोट्याउन चाहन्छु जसमा घाउहरू पनि त्यही छन् र ओखती पनि त्यही। मेरो भविष्यको नियतिलाई कुन गल्लीको गोरेटोमा दोहोर्याउने त यो कहाली लाग्दो विगतले देखाउनेछ, तर पनि के कसो हुने हो भनेर ठम्याउन भने सकिरहेको छैन।
चार महिना पहिले
क्वान्टम फिजिक्स्मा एमएससी गोल्डेन गेट कलेजबाट गर्नको लागि कलेज नजिक बस्नुपर्ने भयो। बिएससीमा होस्टेल बसेँ अनि अहिले होस्टेले मन पनि भरियो। अब कोठामा बस्नुको अनुभव समेट्न मन लाग्यो।
मैतीदेवी मन्दिर पछाडि साना गल्ली थुप्रै छन्। ती गल्लीको एक मिनेट हिँडाइपछि म बस्ने घर आउँछ। दुई तले त्यस घर पछाडि एक माध्यमिक तहको विद्यालय रहेको छ। माथिल्लो तलामा अर्धसरकारी कार्यालय अवस्थित छ भने भुइँ तलामा चार वटा कोठा रहेका छन्।
मुल ढैका छेउको दाहिने तर्फ मेरो कोठा छ जसमा एक भित्ता रंगिन छ, भान्साको धुवाँ र छिट्काले। मेरो कोठाको विपरीत दिशाको कोठा बन्द छ र सायद खाली पनि।
बीचमा सानो गल्ली छ। गल्लीको पारिपट्टिको बन्द कोठा पछाडिको अर्को कोठामा भने एक परिवारको भान्छा छ। मेरो कोठा पछाडि शौचालय रहेको छ। गल्लीको पुच्छरमा ती परिवार बस्ने अलिक ठूलो र फराकिलो कोठा अवस्थित छ। त्यो घर दुई ढुंगा बीचको तरुल जस्तै छ, दुई ठूला चार र पाँचतले घर बीचको एक पुरानो संरचना।
सरस्वती पूजाको दिन पारेर मैतीदेवीमा बस्न थालेँ। त्यही दिन साँझपख मेरो ढोका कसैले ढक्ढकायो। ढोका खोलेँ।
'नमस्ते अंकल' निकै मिठो आवाजमा एक बालकले मलाई सम्बोधन गरे।
'नमस्ते' भन्दै टुक्रुक्क बसेँ अनि ती बालकलाई काखमा राख्दै सोधेँ 'तिम्रो नाम के हो?'
'आरोहण, बुबाले हजुरलाई मिठाइ दिन भन्नु भयो।'
'मिठाइ दिएको चाहिँ खोइ त!' अर्को कोठाको ढोकामा उभिरहेका व्यक्तिको आवाज सुनेपछि म बालकलाई बोकेर उभिएँ।
'खोइ त?' मैले पनि ऊ माथि प्रश्न गरेँ।
'त्यो त मैले खाइसकेँ' मिठो स्वरमा बालकबाट जवाफ आयो।
'फटाहा' भन्दै उसलाई जमिनमा राखेँ।
'बाबु चंडाल रैछन्।'
मुस्कुराउँदै उसको बुवाले भने, 'कोठा कस्तो लाग्यो त? पहिला कता बस्थौ?'
वर्तमान
हातमा सुटकेस बोकेर गोकर्णको जंगलमा उकालो चडिरहेको छु। हल्का फराकिलो ठाउँ देखेर रोकिएँ। वरपर कतै कसैले नदेख्ने ठाउँमा छु जस्तो लाग्यो। सुकेका पातलाई जम्मा पारेर थुप्रो बनाएँ। सुटकेसबाट एक जोर आफ्ना कपडा, आदि बोतल पेट्रोल र सलाई निकालेँ।
लगाइरहेका सबै कपडा फुकालेर पातको थुप्रो माथि राखेँ। सुटकेसबाट झिकेको कपडा लगाएँ र खाली सुटकेस पनि त्यही थुप्रोमा फ्याकेँ। सुटकेस, सुकेका पात र कपडामा पेट्रोल खनाएँ। लामो सास लिएर सलाईको काँटी खोलमा रगडे तर बल्न सकेन।
अर्को काँटीले प्रयास गरे भएन। आत्तिदै पटक पटक रगडिरहेँ तर ओसिला ती काँटीमा कुनै उत्साह भेटिएन। खोलमा हेरेँ, जम्मा तीन वटा काँटी बाँकी रहेछ।
ती काँटी खोलबाट झिकी खल्तीमा राखेँ र काँटीलाई शरीरको न्यानोपनको ताप दिन खोजेँ। केही क्षणपछि फेरि बाल्ने प्रयास गरेँ तर सफल हुन सकिनँ। अब त जम्मा दुई काँटी बाँकी छन्।
मनलाई शान्त बनाएर बाँकी रहेको जम्मा दुई सलाई निधारसँग जोडेँ। फेरि प्रयास गरेँ काँटीबाट आगोको झिल्का निकाल्न र यसपटक सफल पनि भएँ। बलिरहेको काँटीलाई पेट्रोलले भिजेको पातमा राखेँ। एकैछिनमा आगोले भयानक रुप लियो।
बलिरहेको आगोले शरीर बेसरी तताइरह्यो। तर विगतको त्यो समयमा भएका घटना सम्झने हो भने मनमा ज्वारभाटा उठेर आउँछ। मस्तिष्क खप्पर फुटाल्ने गरी रन्कन्छ र घाँटीमा ठूलो बल परेर आउँछ।
मलाई चिच्याउन मन छ, नमज्जासँग कराएर आफ्ना मन मष्तिष्कको रोदनलाई फाल्न मन छ। तर बितेका घाउ धेरै सम्झन चाहन्न, धेरै कोट्याउन चाहन्न। घाउको आधा मल्हम त मैले गरिसकेँ। अब बाँकी छ पूरा मल्हम लगाउन अनि ठूलो डर छ सायद सत-प्रतिशत यो घाउ ठिक नहुने होकी भनेर।
विगत
पहिलो दिन नै त्यो परिवारसँग मेरो चिनाजानी भयो। दाइ निकै ठट्यौलो र रमाइलो पाराको पाएँ भने भाउजू मिजासिलो स्वभावको हुनु हुन्थ्यो। दाइ सिद्धार्थ बैँकमा जागिरे र भाउजू भने माथिल्लो तलामा रहेको अर्धसरकारी कार्यालयमा लाग्नु भएको थियो।
पहिलो भेटमा नै मलाई ती दुईको जोडी निकै सुहाएको जस्तो लाग्यो। म उहाँहरूबीच निकै चाँडो घुलमिल भएँ। दाइ हुँदा उहाँहरूको कोठामा जाने अनि टिभीमा आइपिएल हेर्ने गर्न थालेँ।
करिब तीन हप्तापछि राति एक बजे मूल ढोकामा कसैले हानेको जस्तो आवाजले म बिउझिएँ। आफ्नो ढोका खोलेर मूल ढोका हेर्दा ढोका खुला देखेँ। ढोका बन्दा गरेँ अनि शौचालय गएँ। शौचालयबाट बाहिर निस्कदा दाइभाउजूको कोठाबाट भाउजूको सुँक्क सुँक्क गरेर रोहेको आवाज सुनेँ। रातिको एक बजे के कसो भएको रहेछ भनेर जिज्ञासा उठ्यो तर सोध्ने हिम्मत भने आएन।
केही दिन छिमेकीसँग त्यति राम्रो घुलमिल हुन सकिनँ। दाइ त ठिकै देखिन्थे तर भाउजू भने हल्का नरमाइलो र उदासीन देखिनु हुन्थ्यो। सायद पारिवारिक अनमेल भएको होकी जस्तो लग्यो। त्यसैले उहाँहरूको कोठामा म त्यति जान रुचाउन छोडेँ।
फेरि लगभग दश दिनपछि सबै कुरा पहिले जस्तै रमाइलो हुन पुग्यो। धेरै बेर रातिसम्म पढ्छु भन्ने हिम्मत बनाएर पढिरहँदा अल्छी लाग्यो। त्यसैले मोबाइलमा स्ट्यान्ड अप कमेडी हेर्न थालेँ। पिसाब थामेर राखेको आधा घण्टा भैसकेकोले आत्तिदै हतारमा शौचालय पसेँ।
पन्ध्र सेकेन्डको आनन्दले शरीरमा नयाँ उर्जा थपिए जस्तो लग्यो। शौचालयबाट बाहिर निस्कदा दाइभाउजूको कोठाबाट केही आवाज सुनेँ। अवाजमा केही शंका लग्यो। ढोका तर्फ अलिक नजिक गएँ। आफ्ना कान ढोका नजिक राखेँ। केही क्षण त्यो आवाजको मर्मलाई सहेर बसेँ। सहन नसक्ने भएपछि अफ्नो कोठामा फर्किएँ।
दिमाग रिसले जुर्मुरायो। के गरूँ, कसो गरूँ भयो। मेरो मनले शान्त बस अनि सोच, यस्तो कुरामा संयम र विचार पुर्याएर अघि बढ्नुपर्छ भन्यो। खाटमा बसेर लामो सास फेर्दै एक हातले अर्को हातलाई मुसार्दै मुठी पारेँ। खाटमा पल्टिएर आँखा चिम्म गरेँ। अनि यो समस्याको समाधानका लागि उपाय सोचिरहेँ।
झस्किदै भोलिपल्ट बिउझेँ। आफ्नो खाटमा जसरी पल्टिएको थिएँ, त्यसरी नै उठेको पाएँ। राति निदाउनु अघि बुनेका केही उपायहरू अपनाउनु पर्छ भन्ने सोच राखेँ अनि नित्य कर्म गर्न तर्फ लागेँ।
सोही दिन दश बजे बिहान दाइ काममा लागेपछि उनीहरूको कोठा तर्फ लागेँ। ढोका ढक ढक गरेँ, भाउजूले ढोका खोल्नु भोयो।
'भित्र आउँ, भाउजू?' भनेँ।
'आऊ न आऊ' भन्नु भोयो।
कुनामा राखिएको कुर्सीमा गएर बसेँ।
वर्तमान
गोकर्णको डाँडामा बलिरहेको आगोलाई छोडी तल झरेँ। फेदी झरेपछि घरहरू बीचको गल्ली हुँदै नेपाल मेडिकल कलेजमा पुगेँ। एकटकले घोरिएर आकस्मिक कक्षको बाहिरी बेन्चमा बसेँ। मनमा एकतर्फ भाउजूको अवस्था के कस्तो होला भनेर चिन्ता लागेको छ त अर्कोतर्फ अब भोलि के हुने हो भनेर निकै डर लागेको छ।
अहिले डरलाई मनको कुनामा थिचेर राख्नु छ किनकी आउदो समय निकै चुनौतीपूण हुने वाला छ। जसमा मलाई साहस, आँट र विवेकको ठूलो खाँचो छ। म चाहन्न की मेरो अग्रगामी सोचलाई मेरै मनको डरले जितोस्। डरले जितेमा मेरो सत्य अरूका लागि झुट हुनेछ र मैले डरलाई जितेमा मेरो झुट अरूका लागि सत्य हुनेछ। तर यसमा अनौठो कुरा जित जोसुकैको होस् तर हार भने सधैँ सत्यकै हुनेछ।
विगत
भाउजू आफ्नो काममा व्यस्त रहनु भयो। कुर्सीमा बसेर उहाँलाई राम्ररी नियालेँ। निधारको देब्रेपट्टी निलो छाप बसेको देखेँ। चुप लागेर टेबलमा राखिएको रिमोट समातेँ अनि टिभी खोलेँ। एकपछि अर्को गरी टिभीका च्यानलहरू बदलेँ।
निकै बेरसम्म भाउजू यता र उता काम मात्रै गरेको देखेर भनेँ, 'भाउजू एकछिन बस्नु न।'
'निकै काम छ बाबु, बास्न भ्याउदिनँ' भन्नुभयो।
'मलाई थाह छ भाउजू, हिजो राति के कसो भो। हजुर किन सहनु हुन्छ यस्तो।'
'तिमीलाई केही थाह छैन बाबु, समस्या र परिस्थिति नै यस्तै बनेको छ।'
'भाउजू पहिला एक ठाउँमा बस्नु न'
भाउजू खाटमा बसेर दाइको कपडा मिलाउदै भन्नुभयो, 'ल भन्नु।'
'तपाई आफू सक्षम हुनुहुन्छ, छोड्नु न दाइलाई। तपाईलाई दाइको सहारा चाहिदैन त किन बस्नु हुन्छ उहाँसँग?'
'तिमीले सोचे जस्तो होइन बाबु, एकदिनको न कुरा हो, फेरि चाँडै उताबाट एउटा सरी आउँछ अनि कुरा सकिन्छ।'
'कति दिनको लागि सकिन्छ भाउजू कुरा? मात्र कति दिनको लागि?'
'बाबु, यहाँ कुरा मेरो मात्र होइन, आरोहण पनि त छ नि। उसलाई मैले उसको बुबाको मायाबाट कसरी खोस्न सक्छु। जति मेरो हक छ आरोहणमा उत्तिकै त उसको पनि छ। अनि आरोहणसँग उसको व्यवहार पनि त राम्रो छ।'
मन्द आवाजमा बोलिराखेको टिभीलाई अफ गरेँ र भनेँ, 'तपाई माथि जे जस्तो गरिरहेको छ नि भाउजू उसले, कुनै हक छैन आरोहण प्रति उसको। जसले तपाईलाई इज्जत गर्न सक्दैन, त्यस्तो मान्छेबाट तपाईको छोराले के सिक्ला? अनि भोलि उसको व्यवहार आरोहण प्रति परिवर्तन भयो भने के गर्नुहुन्छ? बाहिरी रवाफ फ्याक्ने मान्छे हो ऊ, जसलाई बुझ्न मलाई धेरै समय लाग्यो।'
भाउजू एकछिन् चुप बस्नु भयो अनि भन्नु भयो, 'मेरो बाहिर निस्किने समय भयो। बाबु यो कुरा छोडिदिनुस्, समयसँगै सबै कुरामा परिवर्तन आउला की!'
म पनि निन्याउरो अनुहार बनाएर उहाँको कोठाबाट बाहिर निस्केँ। त्यसदिन भाउजूसँग गरेको कुराले मलाई एउटा कुरा प्रष्ट भैसकेको थियो। भाउजूले हार खाइसक्नु भएको थियो। दाइको व्यवहार उहाँले पचाइसक्नु भयो। छोरा र समाजको आड लिएर भाउजू एक निर्जीवको जिन्दगी जिउदै हुनु हुन्थ्यो।
जिन्दगीले उहाँलाई अब केही देला भनेर आश मारिसक्नु भयो। उहाँलाई बस् एउटा कुराको ध्यान थियो 'आरोहण'। एक चार वर्षको बालकको जिन्दगीमा बाबुको छाया नपर्ने डरमा भाउजू आफ्नो जीन्दगीको बलिदान गर्दै हुनु हुन्थ्यो। यो बलिदान गर्नुमा उहाँको ठूलो शोख थियो, उहाँको ठूलो इच्छा थियो।
खासमा दाइको परिधिले उहाँलाई बाँधेको थिएन। आफूद्वारा बनाइएको आफ्नै परिधिमा उहाँ हुनुहुन्थ्यो जहाँबाट निस्किन उहाँ चाहनु हुन्नथ्यो। मलाई थाह थियो, त्यस समय भाउजूलाई उहाँको परिधिभित्रबाट पहिला बाहिर निकाल्नुपर्छ अनि मात्र समस्याको समाधानले आफ्नो गोरेटो पाउँछ।
केही दिनपछि फेरि त्यही घटना दोहोरीयो। मनमा रिसको ज्वाला उठ्यो र पनि आफूलाई सम्हालेँ। दाइलाई मुक्कै मुक्का हान्न नसक्ने म पक्कै होइन। तर त्यो कुराले कुनै परिवर्तन ल्याउँदैनथ्यो। न भाउजूको आत्मविश्वास बड्ने न त दाइको चरित्र ठिक हुने।
र रह्यो अर्को कुरा, प्रहरीलाई खबर गर्ने। भोलिपल्ट भाउजूले नै छुटाएर ल्याउने अनि त्यही प्रहरीको रिस फेरि भाउजू माथि खनिने काम पनि मबाट भएन।
भोलिपल्ट पहिले जस्तै म भाउजूको कोठामा गएँ। 'भाउजू बस्नु न' भनेँ।
यस पटक भाउजू थपक्क बस्नु भयो।
'भाउजू म यहाँ हजुरलाई फेरि त्यहीँ कुरा दोहोर्याउनको लागि आएको होइन। मेरो एउटा कुरा सुनिदिनु एकपटक आज।'
म तिर हेरेर उहाँले भन्ने संकेत दिनु भयो।
'मेरो दिदी जो मेरो साथी जस्तै थिइन्, उसलाई निकै माया गर्छु म। मेरी दिदी निकै मिजासिली स्वभावकी थिइन्, हजुर जस्तै। ऊ मभन्दा दश वर्षले जेठी थिइन्। पारिवारिक अवस्था कमजोर अनि रुढीवादी समाज भएकाले उसलाई एघार पढ्दै गर्दा विवाह गरिदिए।
म सानो थिएँ त्यो समायमा। विवाह गरेको करिब एक वर्षपछि मात्र ऊ घर फर्की। म निकै खुसी भएको थिएँ त्यो दिन। निकै रमाइलो लागेको थियो। उसको एक बच्चा पनि भएको थियो। सानो, निकै मायालु भान्जा पाएको थिएँ।
तर मेरो दिदी भने निकै परिवर्तन भइसकेकी थिइन्। घर बस्दा उसको र बुबाआमाको केही विषयमा चर्काचर्की भएको थियो। तर के कस्तो झगडा भनेर मलाई थाह भएन। त्यसपछि ऊ आफ्नै घर फर्की। सायद उसलाई जान मन थिएन होला।'
यति कुरा मात्र भएको थियो की मूल ढोकाबाट कोही छिरेको आवाज आयो। मैले रिमोट समातेर टिभी खोलेँ भने भाउजू आफ्नो काममा लाग्नु भयो। सोही दिन केही काम विशेषले बानेश्वर आएको थिएँ। एक साथीको कोठामा बसिराखेको समयमा करिब सात बजे फोन बज्यो। भाउजूको फोन आएको रहेछ।
'अनि अहिले कहाँ हुनुहुन्छ तिम्रो दिदी?'
एकछिन मौन बसेँ। फेरि आवाज आयो 'कहाँ हुनुहुन्छ तिम्रो दिदी?'
मैले भनेँ, 'घरबाट जानु भएको भएको तीन हप्तापछि दिदीको निधन भएको खबर आयो। आत्महत्या गर्नुभएको भन्ने सुन्नमा आएको थियो।
'अनि बाबु कहाँ छन् अहिले?'
'ती शिशुको हत्या भएको थियो र हत्याको आरोपमा भिनाजु पक्राउ परेका थिए। निकै चाँडो जेलबाट छुटे भन्ने हल्ला आएको थियो।'
यति भनेसँगै भाउजू केही नबोली फोन राखीदिनु भयो।
आधा घण्टापछि भाउजूको फोन फेरि आयो।
भाउजू डराएको आवाजमा भन्दै हुनुहुन्थ्यो 'बाबु चाँडो आउनु न चाँडो आउनु।'
उहाँको आत्तियको आवाज सुनेर म डराएँ। साथीहरूलाई हतार छ भनेर बानेश्वरबाट मोटरसाइकलमा मैतीदेवी पुगेँ।
हतार गरेर भाउजूको कोठामा पुगेँ। सास एक्कासी फुलेर आयो, मुटुले ठाउँ छोडे जस्तो भयो। हात र शरीर सबै काम्न थाल्यो। आखा अघि कालो बादल छायो। के गर्नु र कसो गर्नु भयो। आत्तिदै गएर मूल ढोका बन्द गरेँ।
लडिरहेको दाइको शरीर नजिक गएँ। दाइको नाडी छामेँ। कान छातीमा लगेँ। दुवै ठाउँमा निष्कृय पाएँ। कुर्सीमा गएर बसेँ। भाउजू कुनामा बस्नु भएको थियो। एक हातमा मोबाइल र अर्को हातमा ठूलो प्रेसर कुकर थियो। दाइको अनुहारको दाहिने निधार भने नमज्जासँग कुच्चिएको थियो।
दश मिनेटपछि दिमागमा नयाँ रचना बुनियो। भाउजूलाई केही हुँदैन भनेर सहानुभूति दिएँ। तबसम्म रातिको साढे आठ बजेको थियो। आफ्नो कोठामा गएर ठूलो सुटकेस निकालेँ। सबै सुटकेसको सामान बाहिर मिलाएर राखेँ अनि खाली सुटकेस भाउजूको कोठामा लगेँ।
जबर्जस्ती दाइलाई सुटकेस भित्र राखेँ र आफ्नो एकजोर लुगा सुटकेसको बाहिरी भागमा राखेँ। बाहिर गएर बाइकबाट आदि बोतल पेट्रोल निकालेँ। त्यो पनि सुटकेस भित्र नै राखेँ। भाउजूलाई भनेर दाइको कपडा आफूले लगाएँ। भाउजूसँग सलाई पनि मागेर सुटकेस भित्रनै राखेँ। सुटकेस बल्लतल्ल गरेर दाइको स्कुटरमा राखेँ। स्कुटर लिएर निस्किएँ, मैतीदेवीको गल्लीबाट श्री बलराम केसी (दाइ) बनेर।
स्कुटरलाई गोकर्ण जंगलको बाटोमा लगेँ। सामय भने दश बजेको थियो। सुनसान ठाउँमा पुगेपछि स्कुटर रोकेँ। दाइलाई सुटकेसबाट निकालेँ अनि बल्लतल्ल उचालेर रुखमा लगेर दाइको टाउको दश/पन्ध्र पटक बजारेँ।
स्कुटरलाई पनि रुखसँग बजारे र स्कुटरबाट दाइ लढेको जस्तो बनाएर दाइको लासलाई त्यही छोडिदिएँ। स्कुटरबाट आफ्नो सबै निसान मेटाएँ र सुटकेस बोकेर अझैँ गोकर्णको उकालो चड्न थालेँ।
वर्तमान
बिहानको करिब पाँच बजे कलेजबाट मैतीदेवी जाने बस चढेँ। कोठामा पुगेर भाउजूलाई सबै कुरा सम्झाएँ। भाउजू सुरुमा आत्तिनु भयो। निकै बेर भाउजूलाई सम्झाएँ। अन्तिममा भाउजूलाई दाइको मृत्युको जिम्मा मैले नै लिन्छु भनेँ। यदि प्रहरीले दुर्घटना नभनी हत्याको छानबिन गरेर उहाँमाथि शंका देखाएमा म दाइको हत्यारा बन्छुसम्म भनेँ।
तर भाउजूसँग एउटा वचन लिएँ 'कहीँ कतै कुनै अवस्थामा पनि प्रहरीलाई हजुरले गर्नु भएको कुराको खुलासा नगर्नु होला। हजुर हिजो दाइ बिना यहाँ बस्नु भयो र हिजो दाइको गोकर्णमा दुर्घटना भयो भन्ने कुरा मात्र आफ्नो दिमागमा राख्नु होस्।'
भाउजूको कोठाबाट फर्कदा उहाँले भन्नु भयो 'बाबु मैले के गरेँ, यो सबै ठीक हो?'
'हजुरले जे गर्नु भयो, मेरो दिदी र भान्जाको जस्तो समस्या आउनुभन्दा अघि गर्नुभयो। त्यसैले न यसमा सही छ न गलत। बाँकी रह्यो दाइको कुरा, यसमा दाइले जे गर्नु भयो, त्यसको फल मिठो पाउनु भयो।'
अहिले मनमा ठूलो डर छ र साथै खुसीको छुट्टै अनुभूति पनि छ किनकी भाउजू आफ्नो परिधिबाट बाहिर निस्किनु भयो। आफ्नो अत्याचारलाई आफूले नै प्रतिशोध गर्नु भयो। यसरी नै लाखौँ घरेलु हिंसामा दबिएका भाउजूहरु प्रतिशोधको भावनाले अघि बढेको हेर्न चाहन्छु (तर हत्या उपाय होइन), यही खुसीमा रम्न चाहन्छु।