उसले टुटिसकेको मनलाई फेरि जोड्ने प्रयास गरी, निकै गाह्रो भयो। जसोतसो मनलाई सम्हाली अनि सबैको अगाडि नर्मल देखाउन खोजी। हाँस्न खोजी तर सबै व्यर्थ भयो।
जति ऊ आफूलाई कन्ट्रोल गर्न खोज्थी, उति कमजोर हुँदै जान्थी। थाहै नपाइ कतिखेर उसको मनको बाँध टुटिसकेछ। आँखाबाट आँसुहरु बरर बरर झरिरहेका थिए। मौनतामा हराइरहेकी उसलाई कहाँ छु, के गर्दै छु भनेर पत्तो थिएन।
कसैले उसलाई बोलायो 'सबिना... सबिना!'
बल्ल ऊ झस्की। आँखाबाट आँसु अबिरल बगिरहेका थिए, बोल्न सकिन। जसोतसो सम्हालिन खोजी अनि बाहिर निस्की।
करिब चार वर्ष अगाडि ऊ निकै खुसी थिइ। उसको परिवारमा बुवा, आमा, दाजु अनि ऊ सुखी परिवार थियो। ऊ कलेज पढ्दै थिइ। उसको दाजु सुयोग इन्डियन आर्मीमा भर्ती भएको पनि पाँच वर्ष भैसकेको थियो।
बिदा हुँदा बेलाबेलामा घर जान्थी। दाजु पनि बिदामा घरमा आउदा निकै खुसी हुन्थे, सबैजना सँगसँगै हुन पाउँदा। समय यसरी नै चल्दै थियो। यसै वर्ष सुयोगको बिहे गर्ने पक्का पक्की जस्तै भैसकेको थियो। दाजु दसैँमा घर आउने कुरा थियो तर अफसोच बिदा मिलेन।
तिहारमा जसरी भए पनि आउनु पर्छ भनेर सबैले अनुरोध गरे। ऊ दसैँमा घर जान नपाए पनि तिहारमा जसरी भए पनि बिदा मिलाउछु भन्ने सोचेर काममा तल्लीन थियो।
वर्ष दिनमा आउने महान् चाड दसैँमा छोरा नआउदा बुवा-आमा, बहिनीलाई निकै नरमाइलो लाग्यो। दसैँ दसैँजस्तो लागेन, निरस र खल्लो लाग्यो। दसैँमा घरमा आउन नपाए पनि तिहारमा त छोरा, दाजु पक्कै आउछन् भनेर बुवा आमा र बहिनीले आशाको झिनो त्यान्द्रोमा आफूलाई बाधीरहे।
'त्यही आशा त हो मान्छेको सबैभन्दा ठूलो सहारा' मिल्ला नमिल्ला, भोलि आउला नआउला तर पनि मान्छेको जिजिविशालाई बचाइदिन्छ र जिउने सहारा दिन्छ। यस्तैमा दसैँ सकियो, तिहार पनि नजिक आउँदै थियो। जताततै फूलहरु फुलेर ढक्कमक्क भैसकेका थिए।
फूल पनि कति थरि, मखमली, हजारी, गुर्धौली, थुंगे यस्तै यस्तै निसंकोच फक्रिरहेका थिए। जताततै तिहारको माहोल छाइसकेको थियो। धेरैले भन्ने गर्छ्न्, दसैँभन्दा अझ तिहार रमाइलो हुन्छ भनेर। हुन पनि हो, तिहारको त्यो झिलीमिली देउसी, भैलो, दाजु, बहिनीको मिलन छुट्टै किसिमको आनन्द।
सबिना दाजु आउने प्रतिक्षामा दिनहरू गन्दै थिइ। बुवा-आमा पनि छोराकै प्रतिक्षामा थिए। यसपालि जसरी भएपनि बुहारी भित्राउने सपना देखिरहेका थिए। उता सुयोगको पनि त्यही सपना थियो, जसरी भए पनि पूरा गर्ने।
बुवा-आमाले छिटो छिटो छोराको बिहे गरि दिएर घरमा नाति-नातिनी खेलेको हेर्न चाहान्थे। आज तिहारको पहिलो दिन काग तिहार थियो, सबिना प्रफुल्ल थिइ। कागलाई भात दिदै दाजुलाई सम्झी। भाइटीकाको अघिल्लो दिन दाजु आउने कुरा थियो, अब तीन दिन बाँकी छ भनेर।
सबैको घरमा दाजु बहिनी जम्मा भैसकेका थिए। मिठा मिठा विभिन्न प्रकारका रोटीहरु पाकिरहेका थिए। देउसी भैलोले गाउँ नै गुन्जयमान भैसकेको थियो। यस्तैमा सुयोगलाई अकस्मात् लडाइमा जानु पर्ने भयो, जम्मु कश्मिरमा। जान्न भन्न मिल्दैनथ्यो सरकरको नुन पानी खाएपछि, जानै पर्ने बाध्यता हुन्थ्यो र ऊ पनि गयो।
तिहारको तेस्रो दिन गाइ तिहार थियो, सुयोगले फोन गरेर टीकाको बिहानसम्म भए पनि आउछु भन्यो। घरमा दाजु आउनु हुन्छ भनेर बहिनी ढुक्क थिइ। चाडपर्वको पनि आ-आफ्नै महत्त्व छ, तिहार भनेको विशेष गरेर दाजु र दिदीबहिनी बीचको मिलन हो। दिदीबहिनीले दाजु भाइलाई टीका लगाएर जुगौ जुग जिउने आशीर्वाद दिन्छन्।
दाजुभाइ बिना दिदीबहिनीलाई तिहारको कुनै औचित्य हुँदैन। आज भाइटीकाको दिन थियो। दाजु आउने प्रतिक्षामा थिइ ऊ। फूलहरु टिपी, माला गाँसी सबै तयारी सकी। घर बाहिर बसेर टोलाईरहेकी थिइ, एक तमासले बाटो तिर हेरेर। टिनिनी फोनको घण्टी बज्यो, उ झस्किइ र हतार हतार गरेर फोन उठाउन दौडी।
'हेल्लो! हेल्लो को बोल्नु भएको?'
'म सुयोगको साथी, तपाई?'
'म बहिनी।'
ऊ बोल्न खोज्यो तर अक्मकाइ रह्यो। सबिना बोली 'के भयो दाजुलाई?'
उसले हडबडाउदै भन्यो, 'सुयोग जी लडाइँमा परेर वीर गति प्राप्त गर्नु भो, अब उहाँ यस दुनियाँमा रहनु भएन।'
सबिना चिच्याइ 'दाजु... दाजु... दाजु...'
बुवा-आमा दौडिदै आए, छोराको मृत्युको खबरले बेहोस भए। एकैछिनमा के-के भयो भयो। सुयोगले देशको लागि कलिलो उमेरमा ज्यान गुमाए, यो बाध्यता हो यसरी धेरै छोराहरुले लडाइँमा ज्यान गुमाएर धेरै बुवा-आमाका काख रित्तिएका छन्।
सबिना र उसको बुवा आमाको लागि आकाश खस्यो, धर्ती भासिएर आफू माथि आए जस्तो लाग्यो। खै कस्तो दिन आइपुग्यो, उनीहरुको लागि एकैछिनमा देखेका सपना सबै हुरीले उडाएर टाढा धेरै टाढा लगिदियो अब कहिले पनि पूरा नहुने गरेर...
विचरा ती बुवा-आमा एक्लो छोराले छोडेर गएपछि विक्षिप्त बनिरहे। सबिनालाई ठूलो बज्रपात पर्यो। तिहारको भाइटीकाको दिन आफ्नो दाजु सदा सदाको लागि गुमाउनु पर्दा कसलाई पीडा पर्दैन होला र! विचरा, सबिनाका सबै सपनाहरुमा एका एक तुशारापात भैदियो। त्यो खुसी र रमाउने तिहारको दिन उसको लागि कालो अनि अँध्यारो दिनमा बद्लियो, सदा सदाका लागि।
नसोचेको र नचाहेको मोडबाट गुज्रिएपछि जिन्दगीको परिभाषा नै हराउदो रहेछ। आज उसको दाजुले छाडेर गएको पनि चार वर्ष पुगेछ। तर सम्झना र दाजुका यादहरु सबिनासँगै छन्। यादहरु त रहेछन् जिन्दगीका बाच्ने आधारहरु, अरु के नै गर्न सक्छे र उसले।
लाग्छ अब सबिनालाई यो तिहार भन्ने दिन कहिले नआइदिए हुन्थ्यो। कास उसको बसमा भए सबै, यो समयको सुइ दबाएर त्यो 'तिहार 'भन्ने दिनलाई नै गायब बनाइदिन्थी। तर विवश छे ऊ, के गर्न सक्छे र? प्रत्येक वर्ष आइरहन्छ तिहार।
ऊ दाजुको तस्बिरसँगै रुन्छे, के के कुरा गर्छे, अनेकौं प्रश्न गर्छे, बर्बराउछे, सम्झिन्छे अरुको जस्तै आफ्नो दाजु पनि भैदिएको भए। बरर... आँसुहरु झर्छन्, मनको बाँध फेरि भत्किन्छ। अनि फेरि त्यही तिहारको दिनको याद उसको मानसपटलमा नाचिरहन्छ, चलचित्रको दृश्य जस्तै बनेर।