आँखाबाट फुत्किगएका केही दृष्टिहरू छन्
जो भन्न चाहदैन आफूलाई
गन्तव्य विहीन यात्री
आवाज विहीन गायक
कला विहीन कलाकार
यी फुत्किजाने रहरहरूको किन हुँदैन गन्तव्य?
किन हुँदैन समन्वय?
किन ठानी हिड्छन् आफूलाई एक बादशाह?
धेर थोर यो बाटो हिड्नेहरू
किन हुँदैनन् हँसिलो मुद्रामा?
कोही आउँछन् सुकिला मान्छे
जो पिच्च थुकेर हिड्छ मेरो आँगनमा
कोही आउँछन् विदेशी मान्छे
जो बाहिर देखिने कोसेलीभन्दा गह्रौ
पीडाको आक्रोश मनमा लुकाउँदै हिड्छ
मेरो बार्दलीबाट
कोही आउँछन्
मैला कपडा र नङका कापामा गोबर भरिएको औँला लिएर
जो आनन्दले निदाएर जान्छ मेरो काखमा
म छु एक
जस्लाई कसैले सम्झेन परदेश गएर
गाउँभरीकालाई मोबाइल र ब्लाङकेट पठाइदिँदा
केही न खोज्ने म मात्र हुँ
पिच्च थुकी हिड्ने सुग्घरीलाई
हँसिलो मुद्रामा शितलता दिने मनै हुँ
परिश्रमी ती हातहरू जो मैला देखिन्छन्
जस्को नङका कापमा गोबर अड्किएको छ
उस्लाई मिठो लोरी सुनाएर निदाउने मनै हुँ
बिर्सनेहरूले त गाउँ बिर्सी सके
बिर्सनेहरुले आमा बिर्सिए, बा बिर्सिए
बिर्सनेहरूले नै हो देश बिर्सेको पनि
बिर्सनेहरूले जे बिर्सेता पनि
मैले म उभिएको माटो बिर्सेको छैन
बिर्सनेहरूले जे बिर्सेता पनि
बिर्सनेहरूलाई राम्रो होस्, शान्ति होस् भनेर
बिर्सनेहरूका आमाहरूले
हरेक शनिबार मेरो पैतालामा जल चढाउँछन्
मनमा आस्था रहेतासम्म
गाँउमा आमा रहेतासम्म
म रहन्छु भन्ने आश छ मलाई
म बर-पिपलको एक चैतारी
मलाई कुनै लोभ छैन
र त मैले म उभिएको माटो छाडेको छैन।
तर
बेलाबेला डर लाग्छ मलाई यो विकाससँग
जो मेरो छातिमाथिबाट डोजर चलाउँछ
जो मेरो मुटुमाथिबाटै रोलर चलाउँछ।