हत्केलामा उठेको छ
इतिहासले कोरेको असन्तुष्टिका ठेला
म डराएको छु- छुन माटो
मेरा हात कापेको छ- उधिन्न कलको धागो
आरनमा सुकेको छ- पूर्खाको पसिना
हात काम्दैछ- मैले नै सिएको, छुन देशको झण्डा
थाहा छ,
कुनैपनि बेला फुट्न सक्छ
वर्षौदेखिको विभेदको फोको
हरदिन भत्-भत् पोल्ने उत्पीडनको रन्को
यसले दुखाउन सक्छ
कुनैदिन शासकको टाउको
यसले पिरोल्न सक्छ
कुनैदिन देशको सत्ता
मैले बाँचेको भूगोल
मेरै पैतलाले खिपेको गोरेटोभन्दा कति टाढा छ?
मेरा रहर डुलेका खोल्छी, गह्रा, पाँखा र पँधेरा
बगैँचामा निस्फिक्री डुल्ने पुतलीभन्दा कति स्वतन्त्र छ?
र, सत्ताको दापमा खुम्चिएको
मेरो रैथाने जीवनको मूल्य
देशको परिवर्तनको लागि कति छ?
केन्द्रदेखि निकै टाढा
सुदूर टाढा जहाँ भएपनि
म सँगै छ, आफैलाई मात्र जलाउने एक थान सूर्य
घरकै गौडामा फर्केर आउन जानेको बतास, मैसँग छ
मेरै शीरमाथि छ, सगरमाथा ढाक्ने चराको देश
मेरै नशामा बग्दैछ, परिवर्तनको गीत बोकी ओर्लने नदी
हेर्नुस् त! कसरी विद्रोह गर्दैछ- चुपचाप उभिएर पहाड
र, मेरै पसिना खोज्दैछ अझै, यी बाँझा जमिन
मलाई थाहा छ
नामेट हुनसक्छ मेरो अस्तित्व यहाँबाट
मलाई यो पनि थाहा छ
देशकै माटो बन्नेछ, कुनै दिन मेरो शरीर
मैले फेर्ने प्रत्येक श्वास, बन्नेछ बतास
सायद, मेरै रगत फाँटेर बन्नेछ पानी
ए! शासक, खबरदार
नबिर्स, मान्छे स्वयं एक देश हो।