कविता
महाकवि,
शब्दकोषका फुलबारीमा चहार्दै
प्रशंसाका थुंगाहरू बटुल्दै छु
तिम्रो जन्म जयन्तीका दिनमा
एउटा प्रशंसाको माला उन्नु छ
कहाँ छोड्नु यो सुनौलो मौका
ठूलै कवि बन्ने दौडमा छु म!
महाकवि,
के देखेउ, के भोगेउ, के लेखेउ
समयको आँधी झैं बनेका
कालजयी कृति कति कति
कति लेखेउ, संख्याको हेका त के
एउटा रचना पूरा नछिचोल्ने
कविको लाइनमा बस्ने कठै म!
महाकवि,
सोसल मिडिया महात्माको भरमा
कलम नचलाउन कतै संकेत हो कि
मेरो निब बांगियो र मसी सुक्यो
तिम्रो सम्मानमा कलम चलाउन
मेरो ल्यागत छैन, कलमले थाहा दियो
माफ गर है, कतै अपमान गर्दै छु कि म!
महाकवि,
समयसँगै तिम्रो ज्योतिको उज्यालोमा
लस्कर लाग्दै श्रद्धा सुमनका शब्द सुन्दा
कर्मकाण्डमा कहिल्यै विश्वास नगर्ने
तिमीलाई लाग्दो हो, वाहियात कर्मकाण्डी!
बन्द गर यी कर्मकाण्डका नाटकहरू
माफ गर, तिम्रो आभामा रमाउँछु है म !