‘खासमा मैले त्यसो नभनेको भए हुन्थ्यो। सधैं मुड कहाँ एकै हुन्छ र ?’
‘ह्या ! तिमी पनि कति कुरा खेलाउन सकेको ? भैगो शान्त होऊ । आज आउँदाखेरी नै उनको अनुहारको भाव अर्को थियो।’
कमला दिदीले यति भनेपछि मेरो बोली त बन्द भयो। तर, नबोल्दैमा मन कहाँ शान्त बस्छ र ? म उनलाई वर्षौंदेखि चिन्दछु। हामीबीच प्रायः ख्यालठट्टा भैरहन्थ्यो।
कसैलाई केही भन्न पर्यो भने बाँकी राख्ने खालकी होइनन् उनी पनि।
ठट्टा गर्न त मैले पनि उनीबाटै सिकेकी हुँ।
आज पनि उनी केहीबेर बसेर र केही बोलेर गएकी भए मेरो मनमा यति धेरै छटपटी कहाँ हुन्थ्यो र?
किन गइहालिन् उनी ? के साँच्चै मसँग रिसाएकी हुन् त ? के मैले भनेको कुरा उनको चित्त दुखेको हो ? अथवा कसैले केही कुरा लगाएर पो हो कि ? सम्बन्धको दूरी बढाउन मलजल गर्ने मानिसको पनि कहाँ कमी छ र ? मेरो मनमा उथुलपुथुल मच्चिसक्यो।
पसलमा मानिसहरू आउने जाने भैरहेको छ। कमला दिदी पनि ग्राहकलाई कपडा देखाउन व्यस्त भइन्। छन त म कमला दिदीकै पसलभित्रै छु। तर मेरा आँखा यी शो-केसमा सजाएर राखेका रंगीन कपडाको छेवैमा एकछिन उभिएर गएकी उनलाई मात्र देखिरहेका छन्।
सायद उनी पसलको सानो गल्ली छिचोलेर हाइवे निस्किन्। त्यताबाट सरासर उत्तरतिर लागिन् र अलिक अगाडि पार्कको छेवैमा उभिइन्।
नो पार्किङ जोनमा पार्किङ गरिएको म्याजिकलाई सिटी बजाइन्। होइन, होइन आज त उनी युनिफर्ममा थिइनन्। आज उनी युनिफर्ममा भैदिएको भए!
यो कमला दिदीको पसलको विशेषता नै त हो। पसलमा आउनेहरु एकछिन बिसाइ फेरेरै जान्छन्। पहिलोपल्ट यही बिसौनीमा भेटेको हुँ मैले उनलाई। उनी अर्थात् रत्ना कुमारी स्याङताङ अर्थात् हवल्दार्नी दिदी।
गफिँदा गफिँदै हामी नजिक भएका थियौं। प्रायः भेट हुने बित्तिकै हँसिमजाकबाटै सुरू हुन्छ हामीबीचको कुराकानी।
उनी हाम्रो समूहमा सबैकी प्यारी छन्। उनीसँग भेट भएपछि नहाँसेर सुख छैन। अनेक किस्सा सुन्न पाइन्छ उनको मुखारबिन्दबाट। हवल्दारनी दिदी पेसाले ट्राफिक प्रहरी हुन्। तीन जना सन्तान छन्। जेठी छोरी १३ की, छोरा ११ को र कान्छी छोरी ७ वर्षकी।
उनी बेलाबेला दुखेसो पोख्छिन्, ‘जागिर खाँदै छोराछोरी हुर्काउनु सानो कुरा होइन। त्यो पनि न घरतिरको सहयोग, न माइतीको साथ। न त श्रीमानको आडभरोसा।’
फेरि आफैंले आफूलाई सान्त्वना दिँदै हामीलाई पनि हौसला दिन्छिन्, ‘भगवानले तँ आँट, म पुर्याउँछु भन्छन् भनेको सुनेकी थिएँ। हो रैछ। जति समस्यासँग जुधिन्छ त्यतिनै बलियो भइँदो रहेछ। त्यही भएर जिन्दगीमा चरेश खाऊ तर हरेश नखाऊ केटी हो।’
यिनको जीवनमा किस्साहरूको कमी छैन। ती केवल किस्सा होइनन्, उनको भोगाइका अनेकन श्रृंखलाहरू हुन्। कहिलेकाहीँ ती किस्साहरू सुन्दा लाग्छ, उनी कुनै आख्यानकारले कल्पना गरेझैं लाग्ने विचित्रकी पात्र हुन्, जसको जीवनमा अनेक रंग पोतिएका छन्।
रंगमात्र हैन, हाँस्य, करूण, शान्त, श्रृंगार र विभत्स रसले पनि भरिपूर्ण। मैले जीवनमा निकै कम प्रेरक मानिसहरू भेटेकी छु। तीमध्ये एक हुन् उनी। उनीबाट धेरै प्रेरणा पाएकी छु। त्यसैले त उनी जति प्रिय छिन्, उति नै आदरणीय पनि छन्।
हवल्दार त उनका श्रीमान हुन्, जो सल्यानमा कार्यरत छन्। हवल्दारकी श्रीमती भएकाले उनलाई समाजले दिएको नाम हो। त्यो नाममा मैले पनि सहमति जनाएँ। केही वर्ष अघि उनले आफ्ना श्रीमान हवल्दारमा बढुवा भएकोमा हामी सबैलाई मिठाइ बाँडेकी थिइन्। त्यही मिठाइ हातमा परेपछि मैले भनिदिएँ, ‘लु रत्ना दिदी तिम्रो पनि प्रमोसन भयो। आजदेखि तिमी पनि हाम्री हवल्दार्नी दिदी भयौ।’
म कुर्ताको नाप दिन आएकी थिएँ।
म आएको केही छिनमै आइपुगिन् उनी। उनी औपचारिक पोशाकमा थिइनन्। निलो टप्स, सेतो सुरुवाल लगाएर कपाल खुला छाडेकी थिइन्। श्रृंगारको नाममा ओठमा हल्का लिपिस्टिक लगाएकी थिइन्। गहुँ गोरो वर्ण, हिस्सी परेको बाटुलो अनुहार भएकी उनलाई यदाकदा यस्तो अनौपचारिक हुलियामा देख्न पाइन्थ्यो।
शोकेसनिर उभिएर उनले हतारहतार भनिन्, ‘ए कमला बहिनी, यो छोरीको कपडा अलिकति खुकुलो बनाइदेऊ।’
उनले मलाई देखिनन् या नदेखेझैं गरिन्, थाहा भएन। तर, मैले भने उनलाई देख्नेबित्तिकै भनिदिएँ, ‘हवलदार्नी दिदी, डेटिङ जान आँट्यौ कि के हो ?’
‘के को डेटिङमात्रै नि। पोइलै पनि जान सकिन्छ ।’
अलिक झन्किँदै यत्ति बोलिन् र पसलबाट निस्किहालिन्।
भएको र बोलेको यति मात्र हो। तर मनमा एक तमासको छटपटी सुरू भो। यसअघि उनी कहिल्यै यसरी मसित झर्केर बोलेकी थिइनन्। आज के भयो उनलाई ? यसअघि कतिपटक उनीसित जिस्केर बोलिसकेकी छु। तर, उनले यस्तो प्रत्युत्तर कहिल्यै पनि दिएकी थिइनन्। मेरो मनमा अनेक संशय र प्रश्नहरू उठ्न थाले। तर, जवाफ कोसँग खोज्नु ?
म उठें। कमला दिदीले ग्राहकको अनुहारबाट नजर हटाएर मतिर हेरिन्। उनका आँखाले पनि सायद मेरो मनको अवस्था बुझिसकेका थिए। म त्यहाँबाट निस्किएँ।
कमला दिदीको पसल भएको यो साँघुरो गल्ली छिचोलेर हाइवेदेखि दक्षिणतिर पर्छ मेरो घर। हाइवेमा पुगें। के म घर जाऊँ ? यति गह्रुँगो मन बोकेर घर गएर त के गर्नु ? पक्कै केही समस्या त भएकै छ। कतै मेरो बोलीले हवल्दार्नी दिदीको चित्त त दुखेन ? तर, मैले चित्त नै दुख्ने कुरा के नै भनेकी थिएँ र ?
जे सुकै होस् बोझ बोकेर बस्नुहुँदैन। सम्बन्ध जोगाउने उपाय भनेकै संवाद हो। मनले यति संकल्प गरेपछि म आफ्नो घरतिर नलागेर हाइवेबाट उत्तरतिर लागें।
उनी हाइवे नजिकैको काठको घरको माथिल्लो तलामा बस्छिन्।
‘१५ वर्ष भयो यहाँ बसेको। यतिका वर्ष बसेपछि त पैसा तिर्ने बेलामा मात्र भाडामा बसेजस्तो लाग्दोरहेछ।’
अघिल्लोपटक यही भनेकी थिइन् उनले। यही सम्झिँदै म उनको घरको गेटभित्र पसें। उनकी ठूली छोरी आँगन छेउको कलमा भाँडा धुदै थिई। मलाई देखेपछि बलजफ्ती मुस्कुराई।
‘नानी, आज स्कुल गइनस् ?’
मेरो प्रश्नमा उसले टाउकोमात्र हल्लाई ।
मैले सोधें, ‘ममी खोई ?’
उसले कोठातिर इसारा गरी। मनभरी प्रश्न बोकेर काठको भर्याङ उक्लिएँ। ढोकामा टाँगिएको बैजनी रंगको पर्दा हावाले हल्काहल्का हल्लाइरहेको थियो। मैले बिस्तारै पर्दा हटाएँ। मसिनो स्वरमा बोलाएँ, ‘हवलदार्नी दिदी!’
कोठाको उत्तरतर्फको झ्याल नजिकैको खाटमा ढल्किरहेकी रहिछन्। जुरूक्क उठिन्।
‘सुनिता बैनी, मैले घर आउने बित्तिकै तिम्रो मोबाइलमा फोन हानेथें । उठेन। आऊ न भित्र।’
मेरो मनले राहतको सास फेर्यो।
‘मेरो मोबाइल त घरमै छुटेछ।’ लगत्तै प्रसंग बदलिएर मैले सोधें, ‘बिरामी छ्यौ कि के हो ?’
मेरो आवाज सुनेर घरबेटी आमै पनि टुप्लुक्क देखापरिन्। भित्रभित्रै आमैको आगमन पटक्कै मन परेन। मलाई यतिखेर हवल्दार्नी दिदीसित एक्लै कुरा गर्न मन लागेको थियो। तर, आमै आएर मेरै आडमा ढसमस्स बसिन्।
मलाई लागेको थियो, घरबेटी आमैका अगाडि उनले आफ्ना कुराहरू खोल्ने छैनन्। तर, त्यसो भएन। उनले भन्न थालिन्, ‘बहिनी, म त हिजोसम्म बिरामी थिएँ। रातिदेखि निको भएँ। खिल बनेर गाढिएको काँडा निकालेजस्तै वर्षौँपछि आज हलुका महशुस गरेकी छु।’
मैले उनको कुराको छेउपुच्छर समात्न सकिनँ। त्यसैले हतारहतार सोधें, ‘यो त अलिक नबुझिने साहित्यजस्तो भयो दिदी। अलिक बुझिने गरी भनन।’
यसैबीच आमैले कुरा थपिन्, ‘ए नानी ! तँ किन यति उग्र भएकी ? कहाँ गए हवलदार बाबु ? जे भए पनि लोग्ने भन्या लोग्ने नै हो। त्यति साह्रो गर्न हुन्थेन नानी। लोग्नेमान्छेको जातै इखालु भन्छन्।’
आमैका कुरा सुनेपछि मलाई दिदीले बुढाको रिस मसँग पोखिन् भन्ने लागिहाल्यो। तर, यतिन्जेल मभित्र थप प्रश्नहरू जन्मिइसकेका थिए। सोधें, ‘के भयो दिदी ? के गरे दाइले ? के गर्यौ तिमीले ?’
‘आमाले त आधाउधी देखिहाल्नुभयो के के गरें। तिमी पनि सुन सुनिता बहिनी ! मैले यही खाटबाट उसलाई एक लात हानेर भुइँमा झारें। पिठ्यूँमा पनि लात हिर्काएँ। कठालो समातेर भर्याङबाट तल झारें।
गेटबाट बाहिर निकालेर अब आइन्दा तेरो मुखमात्र देखा तँलाई चटचट काटेर दुई चाना बनाइन भने म पनि भोटेकी छोरी होइन भनें। गेट लगाएर थपक्क रूँदै गरेका छोराछोरी समातेर सुतें।’
यसो भनिरहँदा उनको अनुहारमा डर र पश्चाताप कुनै भाव नै थिएन। मेरो भने हात खुट्टामा काँडा उम्रिसकेका थिए।
सोचें, कतै यी दिदीको मानसिक सन्तुलन त बिग्रिएन ? मनमा अनेक तर्कना उठे। के बोलूँ ,के नबोलूँ भयो। लामो मौनता छायो कोठाभरि।
घरबेटी आमैले मौनता चिर्दै दिदीसित भनिन्, ‘नानी १५ वर्ष भयो तँ यहाँ बसेकी। तेरो दुखसुख, तेरो भोगाइ त देखेकी छु। तर के भो ? तँ किन बौलाएकी यसरी ? हवलदार बाबु त सज्जन जस्तो लाग्थ्यो तँ त्यसरी बौलाउँदा पनि हात उठाएनन्। चुपचाप रुझेको बिरालोझैं निस्केर गए। बिचरा ! कहाँ बसे होलान् ? फोन गरिस् त ? झोंकैझोंकमा केही गरे भने ? हे भगवान् ! केही नहोस् उनलाई।’
‘आमा ! त्यस्ताको सधुवा भएर बस्नुभन्दा त बरू बिधुवा नै ठिक। एउटै शोक त हुन्छ।’
उनको यो वाक्य मलाई सह्य भएन।
‘ए दिदी लडाइँ र झगडाले त समस्याको हल हुन्न नि त। जेजस्तो भए पनि आपसमा बसेर राम्ररी कुरा गरेको भए हुन्थ्यो’, मैले सम्झाएँ।
‘हुन त के हुन्थ्यो के हुँदैनथ्यो ? रिस उठेपछि कसले वेद पढ्छ ? देश र जनताको सुरक्षा गर्ने कसम खाएर हिँडेको मानिसको व्यवहार यति घटिया हुन्छ भने मैले चाहिँ के गर्न हुन्छ, के गर्न हुन्न कसरी सोच्नु ? किन सोच्नु ?’
उनको स्वरमा आवेश थियो। उनी फत्फताइरहिन्, ‘सानैमा आमा मरिन्। सौतेनी आमाले माया गर्न त खोज्थिन्। तर, मैले कहिल्यै उनको माया स्वीकारिनँ। उनीसँग टाढिएपछि बाउसँग के राम्रो हुन्थ्यो। १७ वर्षमा यो हवल्दारसँग भेट भो।
गाउँको चौकीमा भर्खर पोष्टिङ भएर आएको थियो। खै के देखेर मन परायो मलाई। मायाको अभावैअभावमा हुर्केकोले हो कि उमेरै त्यस्तो भएर हो, मलाई त्यतिबेला यो भन्दा असल मान्छे अरू कोही भेटिँदैन जस्तो लाग्यो। क्षेत्रीको छोरा त्यो पनि नौडाँडा पारीको भनेर बाउले सधैं गुनासो गरे।
म भने उसको मायामा अन्धी भैसकेकी थिएँ। प्रहरी हुने मलाई पनि रहर थियो। उसले सहयोग गर्यो। घरमा कसैलाई थाहै नदिई भर्ती भएँ। बिहे पनि गरें। मन त उसका बाआमालाई पनि परेको थिएन। भान्सामा अहिलेसम्म छिराएका छैनन्।
यता पोष्टिङ भएपछि छोरी जन्मी। उसले पनि काज मिलायो। छोरा जन्मेपछि त मेरो नाति भन्दै उसकी आमा पनि आइन्। हातहातै हुर्के दुबै।
कान्छी छोरी झुक्केर बसी। मैले औषधि खान्छु भन्दा रोक्यो। तीन महिनापछि गर्भ परीक्षण गरेर छोरी छ भन्ने थाहा पाएपछि फालौं भन्यो। मैले मानिनँ। उसले निकै बल गर्यो। मैले उसलाई स्पष्ट भनिदिएँ, म यस्तो पाप गर्दिनँ। हामीले रोकेको बाटोलाई चुनौती दिएर आएकी छे मभित्र। म कसरी यसको हत्या गर्न सक्छु!
उसको र मेरो यहीँनेर कुरा मिलेन। त्यसपछि सुरू भयो मेरो संघर्ष।
संयोग नै त होला म सुत्केरी नहुँदै सरूवा भयो। सुत्केरी भएको खबर थाहा त पायो उसले। तर बिदा मिलेन भनेर आएन।
मन नमिलेपछि सबै चिज मिल्न छाड्ने रहेछ। उसकी आमा बिरामी पर्न थालिन्। अब सधैं ऊ समस्यामा पर्न थाल्यो। छोरी जन्मेको छ महिनामा आयो। ठूली छोरी र छोरालाई कपडा ल्याएको थियो।
तर, भर्खर जन्मेकी छोरीलाई अहँ केही थिएन। सानी छोरीलाई ज्वरो आयो रातभरि। ऊ रोइरही। वेपर्वाह ऊ भने मेरो शरीरसँग खेलिरह्यो। त्यो रात पहिलोपटक मलाई उसले छोएको मन परेन। किन किन घिन लागेर आयो। उसले भने भर्खर आहारा भेटेको सिंहझैं झम्टिरह्यो। बिहान ऊ सुतेकै थियो। म छोरी बोकेर क्लिनिक पुगें। फर्केर आउँदा ऊ गैसकेको थियो केटाकेटीको हातमा ५०० को नोट थमाएर। सोचें, कुनै दिन पक्कै रिस मर्ला।
आफ्नो सन्तानको माया नलागेर कसको माया लाग्ला र ? यही सोचेर अनेक प्रयास गरें।
छोरीले पहिलोपटक बाबा शब्द उच्चारण गरेको सुन्ने बित्तिकै मैले उसलाई फोन गरेर सुनाएँ। तर, ऊ खुसी भएन। उल्टो छोरीको अनुहार त तिम्रो अघिल्लो हाकिमको जस्तो छ पो भन्यो। यो कस्तो मजाक हो ? उसले कसरी यसो भन्ने आँट गर्यो।
भुइँचालोले पनि त्यसरी कहाँ हल्लाएको थियो र जसरी उसको कुराले मेरो मुटु हल्लिएको थियो। मैले टेकेको जमिन भास्सियो। चिटचिट पसिना आयो। केही बोल्न सकिनँ। फोन काटें। जोडजोडले रोएँ। धिक्कारें। त्यसपछि त्यस्तै त भयो। जसोतसो छोरी हुर्की। तर, हामी बीचको दूरी पनि त्यही अनुपातमा बढ्दै गयो।
पछिल्लो सात वर्षमा छ पटक आयो। मन लाग्दा शरीर खेलाएर गयो। उसका अनेक आरोप, थप्पड ,लात्ती के सहिन मैले ? उसले मनलाग्दी गर्दा म मूर्तिझैं बनिरहें। ड्युटीको थकान। हाकिमको बचन र उसको क्रूरता। सबै सहेर ती मुश्किल दिनहरू त पार गरें। ६ वर्ष भयो न कमाइ देखाउँछ न खर्च बताउँछ। मैले पनि खोजी गरिनँ। आश पनि गरिनँ। जसोतसो गुजारा चलाएकी छु। अब त जेठी छोरी र छोरा साथी जस्ता भैसके। छोरी बुझ्ने भएकी छे।
ऊ बोल्छे बाबासँग। खोजी गर्छे। कहिले आउनु हुन्छ भनेर सोध्छे। उसले भने अनेक बहाना गरेर टारिरहन्छ। बिस्तारै उसले पनि बाउको उपेक्षा बुझ्दै गई। अस्ति भर्खर उसले मसित भनी, “आमा, बाबासँग डिर्भोस माग। ऊ भने रोमान्स गरी हिँड्ने। हामी चाहिँ मासु खान पनि तिम्रो अफिसको भोज कुर्नुपर्ने!’
एक वर्षपछि ऊ हिजो यहाँ आयो। आइसक्रिम खुवाउन लगेछ नानीहरूलाई। बाटोमा कसैले भनिदिएछ, कान्छी छोरी काटीकुटी हजुरजस्तै भनेर। ठूलीले मलाई सुनाइ यो कुरा। मलाई कता कता खुसी पनि लाग्यो। छोरीले भाइबहिनी पल्लो कोठामा लगेर सुताई। ऊ मेरो खाटमा आयो र भन्यो, ‘के हो, झन्झन् तरुनी भैछेस् त ?’
कम्तिमा यसपटक हात उठाउँदैन होला भन्ने सोचें। तर, म केही बोलिनँ। उसले मोबाइल निकाल्यो र भन्यो, ‘म तँलाई भिडिओ देखाउँछु।’
मोबाइल मेरो आँखाअगाडि ल्यायो। त्यसले जुन भिडिओ देखायो। त्यो भिडिओ मात्र थिएन । मेरो स्वाभिमान माथिको प्रहार थियो।
कुनै युवतीसँगको त्यस्तो दृश्य ! म कुन आँखाले हेरौं ? त्यसले के सोचेर देखायो ? मैले अहिलेसम्म कहाँ गइस्, किन गइस्, कोसँग हिँडिस् भनेर कहिल्यै केही सोधिनँ। बदलामा त्यसले के पुरूषार्थ देखाएको मलाई ? मेरो प्रेमको, त्यागको सम्मान नगरे पनि यति धेरै अपमान मलाई सह्य भएन। खोई के जाग्यो मभित्र ? दायाँबायाँ केही सोच्नै सकिनँ। उसको हातबाट मोबाइल खोसेर फालिदिएँ र लात लगाएर झारिदिएँ उसलाई खाटबाट।
म अब उसलाई श्रीमान स्वीकार गर्न सक्दिनँ। मैले सदाका लागि उसको अस्तित्वलाई अब अस्वीकार गरिसकें।’
यति लामो कुरा गरेर उनी केहीबेर चुप लागिन्। मौनताको बाक्लो कुहिरोले हामीलाई सर्लक्क निल्यो। एकछिन त मेरा आँखा पनि धमिला भए।
उनले निकैबेरपछि भनिन्, ‘सुनिता बहिनी, जसले रक्सीको मातमा मात्र मेरो हात समात्यो र होसमा जहिले पनि अप्ठयारोमा छोडेर हिँडयो, त्यससित थोरै भए पनि रिस फेर्न सकें। बारबारका साना ठूला हन्डरसँग जुध्दाजुध्दै त्यति हिम्मत त जागेको रहेछ मभित्र। उसले मेरो दुखमा साथ दिनुपर्ने बेलामा अनेक तनाव दियो। अझ उल्टो अनेक चर्तिकला देखाउँदै छ।
यो सबै सहेर मलाई नाममात्रको घर र नाममात्रको सम्बन्ध जोगाउनु छैन। त्यसलाई मैले गर्न सक्ने गरें। अब भने कानुनी बाटो समात्छु र यो सम्बन्धलाई सधैंको लागि समाप्त गरिदिन्छु। अब यो मेरालागि सम्बन्ध रहेन, बोझमात्र रह्यो। मलाई जीवनभरि यो बोझ बोकेर हिँड्नु छैन।’
घरबेटी आमाले खुइय… लामो सास फेरिन्।
म भने भित्रभित्र काँपिरहेकी थिएँ। दिदीकी जेठी छोरीले मेरो हातमा चिया थमाउँदै भनी, ‘आन्टी कानुनले बराबरीको हक दिएको छ। आमाकै एक्लो प्रयासमा हाम्रो पढाइ र घर चलेको छ अब पनि आमाले किन हिंसा सहनु ? ’
मैले आमा छोरीका अनुहार हेरें। अनुहारको उज्यालो र आँखाको चमकले मेरो मनको संकोच क्षणमै गायब भयो।
‘लु है रत्ना दिदी ! यो चियाभन्दा अझै मीठो होओस् तिमीहरूको जीवन।’
चिया पिउँदै मैले झ्यालबाहिर पात नै बाँकी नराखी फुलेको बेगन बेलीतिर हेरें। यस्तो लागिरहेछ, फूल होस् या जीवन, काँडैकाँडाबीच मुस्कुराउनेहरूको चमक भिन्दै हुँदोरहेछ।