‘कुनै पनि कुरा, सजिलो हुनुअघि गाह्रो हुँदो रहेछ।’
- मदन पुरस्कार विजेता एकजना श्रद्धेय लेखक
डाक्टर आफैं बिरामी पर्दा ऊ डाक्टर नै रहन्छ या बिरामीमा परिणत भइसक्छ वा बेड नम्बरमा गनिन्छ छेउमा अक्सिजनको ठूलो धरहरा गुड्काउँदै ल्याएका दाइसँगै त्यो अक्सिजनलाई उसको नाकको बाटोसम्म पुर्याउने मसिनो पाइप जोड्न आएकी ती नर्सिंङ स्टाफलाई दुविधा भयो।
ऊ त्यही छेउको बेडमा लडिरहेको थियो। उसलाई भने ती सबै कुराहरू क्षणभंगुर लागिसकेको थियो, न नाम ठूलो, न काम ठूलो, न उसले पाएका कुनै इनाम ठूलो। बस् सास फेर्न पाए त्यही ठूलो, फेर्न परिजाओस्, लिन मात्र पुगे त्यही ठूलो। अरू संसारका सबै कुरा सानो।
अन्तरिक्ष सानो, रकेट सानो, डोनाल्ड ट्रम्प सानो, बिल गेट्स सानो, रसिया सानो, सूर्य सानो, चन्द्रमा सानो, आकास सानो, जमिन सानो, महासागर सानो, उपलब्धि सानो, उपहास सानो, दु:ख सानो, सुख सानो।
बस्, सास ठूलो, अक्सिजन ठूलो, छेउमा उभिएको त्यही सिलिन्डर ठूलो।
उसलाई संसारमा यत्तिका धेरै मानिसहरू भएकोमा गुनासो भयो, आफ्नो भागको अक्सिजन खै भनेर। आफ्नो भाग पाएको भए त्यो अक्सिजन नाप्ने यन्त्रले रातोमा इंगित गर्नुपर्थेन होला।
उसलाई स्कुल छँदा विज्ञानमा पढेको रुख-बिरूवाले फोटोसिन्थेसिसबाट अक्सिजन बनाउँछन् भन्ने कुरा समेत गलत लाग्यो, यदि बनाउँदा हुन् त ऊ किन त्यसरी छट्पटिनुपर्यो, जसरी पानी नहुँदा माछा छट्पटिन्छ!
उसलाई फोक्सो र मुटु ठूलै रेसमा भाग लिँदैछन् जस्तो लाग्यो। मानौं उसेन बोल्टसँगै कुद्नुछ जो यिनलाई। टि-ट्वान्टी क्रिकेटको ठूलै टार्गेट चेज गर्नुछ भन्नेगरी। फोक्सोलाई ६ बलमा ६ छक्का लगाउनुछ अनि मुटुलाई क्रिस् गेलको स्ट्राइक रेटनै भेट्नुछ जसरी, आफ्नो गति बढाउँदै लगे। केही दिनदेखि यो उसको नियमित कर्मजस्तै भइरहेको थियो।
एउटा यस्तो कर्म जुन नचाहेर पनि गर्नुछ, जसमा थाक्न पाइँदैन, रोक्न पाइँदैन, हार्न पाइँदैन अनि हरेक चिया पसल र चोकहरूमा भेटिने तथा राजनीति गर्ने वैज्ञानिकहरूले यो केही हैन भने जसरी टार्न पाइँदैन।
दुई-तीन दिनदेखि उसलाई बेलाबेलामा ज्वरो आउने र शरीर गलेजस्तो हुने समस्या सुरू भएको थियो, त्यसमा हिजोदेखि केही हिँड्दा समेत सास फुलेर आउने हुन थाल्यो। त्यसपछि बस्दा समेत सो समस्या बढ्न थाल्यो, जसरी बेलाबखतमा हुने रूघाखोकी हुन्छ यसपालि यो अलि भिन्न हो भन्ने उसलाई महशुस भइसकेको थियो।
अरूको यस्तो भोगाइ नजिकबाट देखेको उसले भने पहिलोचोटि आफैं महशुस गर्दैथ्यो यो सब। सास नपुग्दा कसरी मान्छे छटपटिन्छ भन्ने प्रयोगात्मक अनुसन्धानमा जुटेथ्यो उसको शरीर। अब आफ्नो सानोतिनो काम गर्न समेत गाह्रो हुने स्थिति आउन थाल्यो।
त्यस्तै किसिमका बिरामी तथा संक्रमितको नजिकमा रहेर काम गर्नुपर्ने उसलाई यो के भएको होला भनेर अड्कल गर्न त्यत्ति मुश्किल परेन।
अस्पतालको कोभिड-क्लिनिकल कोअर्डिनेटर फ्याकल्टीलाई खबर गरेर स्वाब दिएपश्चात: बेडको हाहाकार सुरू भैसकेको देशकै राजधानीको एक सरकारी अस्पतालमा उसले भने अलि सहजताका साथ बेड पाउँछ।
बेड नम्बर ३२१।
सायद एउटा पुरानो सम्बन्ध थियो त्यो अस्पतालसँग उसको, त्यहाँका भित्ताहरूसँग, इट्टाहरूसँग, बाटोहरूसँग, माटोहरूसँग, बोटबिरूवाहरूसँग, मान्छेहरूसँग, मसिनहरूसँग, 'मान्छे'बाट 'बिरामी' भएकाहरूसँग, 'बिरामी'बाट 'मान्छे' भइरहेकाहरूसँग, 'फलानो'बाट लास बनेकाहरूसँग, छेउमै बसी आस गनेकाहरूसँग, हावासँग, माटोसँग, अनि अरू थुप्रैसँग। आफ्नो शरीरको आँखालाई फेससिल्डबाट देखाएर एस्ट्रोनटले स्पेससुट लगाएको जस्तो बाँकी शरीर निलो रंगको पिपिईमा बन्द भएका मानिसहरू उसको सेवामा निरन्तर लागि परे।
उसलाई ती निलो सुट लगाएका आइसोलेसन-यात्रीहरू आफ्नै लाग्यो, निलो सुटकालाई पनि ऊ आफ्नै लाग्यो।
उसको शरीरको अक्सिजन बिस्तारै ओरालो झर्दै थियो। उसको गन्तव्य आइसियूको हुन्छ कि वार्डसम्ममात्रै रहन्छ अझै यकिन भइसकेको थिएन।
अक्सिजन स्याचुरेसन घट्दै गएकोले उसलाई तुरून्त अक्सिजन सुरू गरिन्छ। शरीरभित्र साइटोकाइन भन्ने तत्वहरूले आँधिबेरी ल्याइरहेका थिए, शिवजीको ताण्डव भन्दा भयंकर।
यसले ल्याउने नतिजा के होला, घरपरिवारमा के होला, उदाउँदै गरेको सूर्यलाई दिनभर बादलले रोकेजस्तै ऊ फेरि प्रकाश छर्न सक्ने होला या नहोला, यस्तै-यस्तै मनमा चलेको ताण्डवले ल्याएको उकुसमुकुसको त कुनै लेखाजोखा नै थिएन।
एक्स-रेको रिपोर्ट आउँछ।
उसको फोक्सोहरूका आधिभन्दा बढी हावाका काला भागहरू हिउँजस्तै सेताम्य भइसकेका थिए। ठूलै मास्टर माइण्ड हुनुपर्छ यसको किटाणु, जति बाहिर देखाउँछ त्यो भन्दा ठूलो आक्रमणभित्र गरिसक्दोरहेछ, थाहा पाउनु अघि नै।
यस्तै सोच्दै एक जना रेजिडेन्ट डाक्टर साबले दिएको सल्लाहअनुसार अक्सिजन प्रवाह राम्रो बनाउन घोप्टो परेर ऊ बेडमा पल्टिन्छ।
बेलुकाको राउण्ड सुरू हुन्छ। एक जना डाक्टर राउण्ड सिस्टरलाई भन्दै थिए- 'सिस्टर बेड नम्बर ३२१ को स्याचुरेसन ड्रप भाको छ, चेस्ट एक्स-रेमा पनि दुवै साइड खराब छ, उहाँलाई कन्टिनियस् अक्सिजनमा राखौं, ९४ भन्दा ड्रप नहुने गरी, रेगुलर मोनीटरिंग गरौं, ब्लडको रिपोर्ट आइसक्यो, रिपोर्ट आउने बेलासम्म रेम्डेसिभिरलाई पहल गरौं, प्लाज्माको लागि पनि बुझ्दै गर्न भनौं अनि भेन्टिलेटर चाहिन सक्छ, आइसियूको ड्युटीलाई पनि खबर गरिराखौं, अरु मेडिसिनहरू कार्डेक्समा लेख्देको छु।'
अन्तरिक्ष यात्री ठूलो कि यो महामारीमा अग्रपंक्तिमा रहेर सेवा गरिरहेका यहाँका जस्तै आइसोलेसन यात्रीहरू ठूलो भन्ने प्रश्नले एकछिन उसलाई आतंकित बनाउँछ।
एउटाले मान्छे बचाउने काम गर्दैछन् अर्कोले मान्छेलाई अर्कै ग्रहमा पुर्याउने काम गर्दैछन्। सुन र चाँदी दाज्न मिल्ला, गुलाफ र सिउँडी दाज्न मिल्ला तर सुन र गुलाफ नि कहीँ दाज्न मिल्छ र?
उसको दिमागको एक भागले यस्तै भन्छ।
दिमागको अर्को भागले भन्छ-अर्को ग्रहमा जानलाई पहिला मान्छे त रहनुपर्यो, मान्छे नै रहेन भने यही पृथ्वीको पनि के अर्थ!
धेरै चिज बदलिए, धेरैले आफ्नो धर्म छाडे, धेरैले यसो गर्छु र उसो गर्छु भने, गरेनन्, यिनीहरूले बिगारे खत्तमै गरे भन्नेले पनि त्योबाहेक केही गरेनन्, सिस्टम बदलियो होला तर संस्कार उस्तै। धेरै चिज फेरबदल भयो तर यिनीहरू बदलिएनन्, हिजोजस्तो सेवाभाव थियो आज पनि उस्तै छ, फगत कपडाको रंग बदलियो होला।
हिजो सेतो लगाउने यी अस्पताल-यात्रीहरू आज नीलोमा देखिए होलान् तर हिजो तपाईं-हाम्रालाई बचाउन आउने यिनीहरू आज अरूले झैं आफ्नो धर्म बिर्सिएर मार्न पक्कै आउँदैनन्!
त्यसो हुँदाहुँदै, बेलाबेला हुने दुर्व्यवहार, हुलदंगा अनि ढुंगामुडाले कहीँकतै यो धर्म छाडेर टाढा हुने स्थिति नआउला भनेर भन्न सकिएला? अनि उनीहरूले साँच्चिकै आफ्नो धर्म बिर्सिए भने चाहिँ के होला!
उसको एक मनले सोध्छ- धर्म नबिर्सेको कसरी विश्वास गर्ने ?
ऊ झस्यांग हुन्छ। ओरालो लागेको अक्सिजन स्याचुरेसन उकालो चढ्न थालेको देख्छ, उसलाई विश्वास गर्न दोस्रो प्रमाणको जरूरत पर्दैन।
भोक पनि नलाग्ने, प्यास पनि नलाग्ने, पिसाब पनि नलाग्ने, थकाइ पनि नलाग्ने, निन्द्रा पनि नलाग्ने, घरपरिवारलाई भेट्नु पनि नपर्ने कस्ता अचम्मका जन्तु हुँदो हुन् है यिनीहरू।
एउटा मनले यस्तै हाइपोथेसिस दिन्छ ऊ।
फेरि तपाईं हाम्रोजस्तो भाग्य तिनको कहाँ? एउटा मास्क केही बेरको लागि मुखमा राख्न तपाईं हामीलाई तेत्रो गाह्रो हुँदा, ती विचराहरू त्यो पिपिई पहिरनमा गुम्सेर तपाईं हामी आफ्नो परिवारसँग बसेर चाडपर्व मनाइरहँदा पनि कसैको सेवामा दिनरात नभनी खटिने तिनै अचम्मका यात्रीहरूलाई देख्दा कलियुगमा पनि देवता रैछन् भन्ने चेतनाको प्रवाह उसमा हुन्छ।
तपाईं हामी कसैको सबथोक ठिक पार्न उनीहरूले आफ्नो सबथोक गुमाएका हुन्छन्!
मन ठूलो भएर आउँछ। क्यानुला लगाएको एउटा हात ल्याएर ऊ अर्कोमा जोड्छ। टाउको थोरै तल आउँछ। आँखाबाट खसेका मोतीहरूले खस्नुमा कुनै गुनासो गर्दैनन्।
केहीबेर सबैले आ-आफ्नो धर्म बेजोडका साथ निभाउँछन्।
रिपोर्ट कुरुन्जेल र पोजेटिभ आएसी पनि उसलाई गर्नुपर्ने सबथोक गरिन्छ। उपचारको साम दाम दण्ड भेद कुनै कसर बाँकी रहँदैन। हप्ता-दस दिनका लागि अक्सिजनका सिलिन्डरहरू उसको साथी बन्छन्, सारथी बन्छन्, सास पनि बन्छन्, साहस पनि बन्छन्। स्टेरोइड, रेम्डेसिभिर र केही एन्टिबायोटिक्सहरू हतियार बन्छन्। इनोक्सा उसको कवच बन्छ। केही सिपाहीहरू उसका आफ्नै हुन्छन् अनि केही बाहिरबाट मगाइएका।
आफ्नाहरूको आशीर्वाद र मायाले उसको विजयपथ तय हुन्छ। केही दिन अघिका निराशाहरू बिस्तारै आशा बन्छन्। मधुरो भैसकेको दीयोमा कसैले तेल थपेझैं हुन्छ।
असल कर्म गर फलको आश नगर भन्छन्, फल यसरी नै मिल्दो हो। नदेखिने गरी, तर डेबिट र क्रेडिट मिल्ने गरी, भागमा लेखेको पाउने गरी। जीवन छ र त जगत छ, बाँकी सबै चिज फगत छ, यो सत्य बुझ्न धेरैबेर घोत्लिनु परेन उसलाई।
जन्मनुको अन्तिम र महासत्य मृत्यु बुझ्यो उसले। उसलाई हर मोह सानो लाग्यो, क्षणिक लाग्यो। उसलाई हिजो पनि सानो लाग्यो, भोलि पनि सानो लाग्यो।
उसलाई आज ठूलो लाग्यो, बाँचिरहेको अहिले ठूलो लाग्यो। आजलाई भुलेर भोलिका लागि जम्मा गर्न रेस लगाएकाहरू देखेर एकछिन ऊ भित्रभित्रै हाँस्यो।
कल्पनामा हुने यथार्थमा नहुने बिचरो त्यो भोलि कहाँबाट पो आओस्!
आफ्नो कामबाट अरूले नाम कमाएकाहरूलाई देखेर तिनको दया लागेर आउँछ उसलाई, कोही थियो र त सम्भव भयो। यो (कोरोना) केही हैन भनेर खुल्लम खुला हिँड्ने जनता देखेर बैराग मान्छ।
अस्पताल चहार्दाचहार्दै बेड नपाएर बिरामीको बाटैमा मृत्यु भन्ने खबर देखेर मर्माहित हुन्छ। यत्तिका समय पनि केही गर्न नसकेको सरकार देखेर विरक्त मान्छ। बेसार पानी भनेर हिँड्नेहरूको पनि माया लागेर आउँछ, केही नभइदियोस् तिनीहरूलाई। जसको दिमाग जत्रो छ उसले त्यत्ति नै त सोच्ने हो, गर्ने हो।
विचरा दिमागमा नै नभएको चिज कसले पो गर्न सक्छ र ! कहीँ पढेको कुरा उसले सम्झिन्छ-विकसित देशमा ठूलो पोष्टमा ठूलै मान्छे हुन्छन्, गरिब देशको ठूलो पोष्टमा सानो मान्छे हुन्छन् रे।
साइकल चलाउने क्षमताले प्लेन कसरी उडाउला ! अनि हामी उसै प्लेन उडेन भन्छौं।
केही समयपछि सबैथोक आफ्नो ठाउँमा आउन थाल्छ, हातखुट्टा चलाउन सक्ने तागत जम्मा हुन थाल्छ। उठेर हिँड्न सक्ने हुन थाल्छ। अक्सिजन घटाउँदै लग्ने हुन थाल्छ।
एकछिन लागेको बादल फेरि हट्छ। प्रकाश छर्नलाई सूर्य फेरि उत्तिकै बेचैन हुन्छ। उसले जीवन र मृत्युको कुरूक्षेत्र देख्छ। जिन्दगी सर्कसको एउटा डोरीजस्तो रहेछ भन्ने पनि देख्छ, जहाँ लड्ने सम्भावना हरेक बखत रहन्छ। दुखी हुने धेरै अवसरमा खुसी हुने सानो सानो बहाना खोज्न सिक्छ। सबैप्रति नतमस्तक हुन्छ। एक्लै त ऊ अस्तित्वहीन छ भन्ने बुझ्छ।
आफ्नो अस्तित्वको अर्थ अरूमा पाउँछ। आफू हुनुको सार पाउँछ।
आफूले गरेको काम सम्झिन्छ। केही दु:खमा परेकाको आराम बनेको सम्झिन्छ। दुखाइले छटपटिँदै गर्दा कसैको ट्याब्लेट बनेर पुगेको सम्झिन्छ।
उसैलाई देखाउने भनेर कहीँबाट स्क्रिनसट गरेर राखेको उसको फोटो लिएर ढोकामा उभिइरहेकोलाई सम्झिन्छ।
दुई जिल्ला पार गर्दै कहीँ बोकेर र कहीँ गाडीमा राखेर फोनमा अपडेट गराउँदै दुई दिन लगाएर आफ्नो बेहोस भएकी श्रीमती लिएर आएकोलाई सम्झिन्छ। प्रेसर र काप्ने समस्या (इक्ल्याम्प्सिया) पछि क्रानियोटोमी गरेर बच्चा झिकेसी बाँचेकी आमा सम्झिन्छ।
दमले छटपटिँदै आएकी गाला चाउरी परेकी बुढी आमै सम्झिन्छ। कसैकसैले निको हुँदा पठाउने गरेको कोसेली सम्झिन्छ।
रोग नफैलियोस् भनेर गरेको दौडधुप सम्झिन्छ। कति बर्खा अनि कति धूप सम्झिन्छ। मान्छेहरूका अनेकन रूप सम्झिन्छ। यस्तै यस्तै धेरै कुरा खुब सम्झिन्छ।
घरपरिवार सम्झिन्छ, बाहिरबाट सहयोग गर्ने साथीभाइ सम्झिन्छ, उपचारमा खटिएको टिम सम्झिन्छ, हेरचाह गर्ने सिस्टरहरू सम्झिन्छ, सफाइ गर्ने दिदीहरू सम्झिन्छ, अक्सिजन ल्याइदिने दाइ सम्झिन्छ, सबै व्यवस्था मिलाइदिने कोअर्डिनेटरलाई सम्झिन्छ, उसलाई कसो छ भनेर दिनकै हेर्न आउने भाइ सम्झिन्छ, हरक्षण उसको ख्याल गर्न भित्तामा टाँसिएर बसेकी बज्यै सम्झिन्छ।
सम्झिनेहरूलाई सम्झिन्छ, नसम्झनेहरूलाई पनि सम्झिन्छ। एक जना नजिकको सरले तपाईं छिटो निको हुनुस्, बिरामी हुने अधिकार तपाईंलाई छैन भनेको सम्झिन्छ।
भगवान सम्झेकाहरूलाई सम्झिन्छ, भगवानलाई सम्झिन्छ, आमालाई सम्झिन्छ।
२ हप्ता बित्छ। निको धेरै हुन्छ। कोरोनाले लगाएको माया-प्रेम थोरै बाँकी रहन्छ। दोस्रो रिपोर्ट नेगेटिभ आउँछ। बाहिर निस्कने दिन आउँछ। बिरामीले बेड नपाएर बाटोमै बस्ने स्थिति राजधानीको लागि अब नौलो नरहेको दिन आउँछ। झोला प्याक गर्छ।
भित्तामा झुन्डिएको फोटो अन्तिम पटक हेर्छ। डिस्चार्ज पेपर लिन्छ। नीलो कपडामा रहेका आइसोलेसन यात्रीहरूलाई शिर निहुँराएर नमन गर्छ। ३२१ सँग बिदा हुन्छ।
अस्पताल बाहिर पुग्छ। आफ्नो भागको हावा फोक्सोको भित्रैसम्म लिन्छ। सायद अहिले सजिलो हुनलाई उति बेला त्यति गाह्रो भएको हुँदो हो। सजिलो बनाइदिने मन्दिर अघि फेरि एक पटक झुक्छ। यो छोटो जिन्दगीमा एउटा फोटो खिचेर राख्छ। फोटोको एउटा कुनामा पाटन अस्पताल लेखेको पनि कैद भइदिन्छ।
'जीवन हो घाम छाया...' मोबाइलको रिङ टोन बज्छ।
ऊ झस्यांग बिउँझिन्छ।
'उफ् कस्तो सपना देखिएछ’' आइसोलेसनबाट रैछ फोन।
‘डाक्टर, आइसोलेसनको एउटा बिरामीलाई गाह्रो भाको छ। पखाला लाग्ने, भमिट हुने भाको छ, पेट दुख्यो नि भन्दै छ। एकफेर आइदिनुपर्यो।’
‘हस्।’ फोन राख्छ।
आँखा मिच्दै घडी हेर्छ, रातको साढे दुई बजेको रैछ। मास्क लगाउँछ, सेतो पारदर्शक प्लास्टिकलाई टाउकोमा अनुहार ढाक्नेगरी बेर्छ, सहयोगीलाई टेप वरिपरि लगाइदिन भन्छ अनि टर्च बाल्दै अलि पर रहेको आइसोलेसनको यात्रामा उडान भर्छ।
(सबै आइसोलेसन-यात्रीहरूप्रति समर्पित..)
- , मे.अ. (बाग्लुंग)