जब तिहार आउँछ। यो पर्वले धेरै थोक बोकेर ल्याउँछ। रंगीन झिलिमिली बत्तीहरू बल्छन्। मखमली र सयपत्री फूलहरूको माला उनिन्छन्। सँगसँगै देउसी-भैलो गीतका भाकाहरू पनि गुञ्जिन्छन्।
सदाझैं यो वर्ष पनि तिहार आयो। तर घर आँगनमा देउसीभैलो आएन। यो वर्षको देउसीभैलो कोरोना भाइरसले खेल्ने भयो!
तिहारको रौनक कोरोनाले खोसेपछि मलाई सानो छँदाको तिहारमा फर्किन मन लाग्यो। देउसीभैलोको भाका सम्झिन मन लाग्यो। भैलो गीत सम्झिरहँदा –
हे औंसी बार !
भैंसी तिहार !!
भाका गाउने पात्रको सधैं याद आउँछ।
तपाईंहरूले भन्नु होला–
‘कहीँ नभएको भैंसी तिहार कहाँबाट आयो ?’
तपाईंहरूको प्रश्न पनि जायज हो। यस प्रश्नमा अल्झियो भने अनेकौं तर्क वितर्कहरू आउलान्। त्यसैले माथिको प्रश्नमा बहस गर्न मन लागेन।
पाँच शब्दले बनेको यो भैलो भाका गाउने पात्रको बारेमा लेख्न उचित ठानें।
हे औंसी बार !
भैंसी तिहार!!
भाका गाउने एक अबोध बालक थिए। उनले यो गीत आफैंले गाएका होइनन्। उनीभन्दा ठूलाहरूले सिकाउँथे, उनले धोद्रो स्वरमा गाउँथे। घरको आँगनमा भैलो खेल्दा गाउनु पर्ने गीत, उनले गोठालो जाँदा गोठालेहरूको बीचमा गाउँथे। सुन्ने गोठालेहरू गलल हाँस्थे। कोहीले ठूलो स्वरमा फेरि गाउन भन्थे। उनले चर्को स्वरमा फेरि गाउँथे।
‘भैंसी तिहार !’ भन्दै उनीहरू पेट मिची मिची हाँस्थे।
ढाई तीन वर्षे बालकले गीत गाउन जान्दथ्यो। गीतको अर्थ जान्दैनथ्यो। गीतको अर्थ बुझ्ने उमेर भइसकेको थिएन।
अलि ठूलो भए पछि उसले थाहा पायो–
काग तिहार हुन्छ। कुकुर तिहार हुन्छ। गाई तिहार हुन्छ। गोरु तिहार पनि हुन्छ। तर भैंसी तिहार हुँदैन। उसलाई यो गीत गाउन लगाउनेहरूको उद्देश्य भने धेरै पछि थाहा पायो।
तिहारको गीत गाउने पात्रसँग मिल्दोजुल्दो अर्को पात्र पनि थिए। फिल्मका पात्र ‘जमाल मलिक’।
सन् २००८ मा ओस्कार अवार्ड जितेको फिल्म ‘स्लमडग मिलिनियर’ का प्रमुख पात्र हुन्, जमाल मलिक। सानो छँदा उनलाई पनि एउटा भजन गाउन लगाइन्थ्यो –
दर्शन दो घनश्याम नाथ !
मोरी अँखिया प्यासी रे !!
दर्शन दो घनश्याम नाथ !
स्वर मिलाएर जमालले भजन गाउँथे। उनलाई पनि यो गीतको अर्थ थाहा थिएन।
अनाथलयका मालिक ‘मनन’ ले उनलाई यो भजन गाउन लगाउँथे। उनलाई यो भजनको अर्थ बुझ्न १८ वर्ष लाग्यो।
ब्रिटिस नागरिकद्वारा निर्देशित यो फिल्मले मुम्बईको सुकुम्बासी (झुपडपट्टि / स्लम) को कथा बोकेको छ।
फिल्मलाई भारतीय लोकप्रिय कार्यक्रम ‘कौन बनेगा करोडपति’को माध्यमबाट आकर्षित बनाइएको छ। सुकुम्बासी बस्तीमा हुर्केको सामान्य पात्र ‘जमाल’ ले कसरी प्रश्नहरूको सही उत्तर दियो, फिल्म हेर्दै जाँदा थाहा हुन्छ।
झुपडपट्टिको ‘चाय वाला’ जमाल मलिकलाई चिटिङ गर्यो कि भनेर प्रहरी हिरासतमा राखिन्छ। अनि प्रश्नको उत्तरहरू खोतलिन्छ।
‘कौन बनेगा करोडपति’ को हट सिटमा बसिरहँदा कार्यक्रम होस्ट अनिल कपुरले अमिताभ बच्चनको पारामा एउटा प्रश्न सोध्छन्–
चर्चित भजन ‘दर्शन दो घनश्याम’ का रचनाकार कौन भारतीय कवि हैं ? अप्सन–
(ए) सुरदास
(बी) तुलसीदास
(सी) मिरा वाई
(डी) कबीर
‘सुरदास’।
जमालले निर्भीकताका साथ उत्तर दिन्छन्।
‘फाइनल आन्सर जमाल ?’
होस्टले पुनः प्रश्न दोहोर्याउछन् ।
‘अप्सन (ए) सुरदास’।
‘फाइनल आन्सर’ ।
आत्मविश्वासको साथमा उनले पनि उत्तर दोहोर्याउँछन्।
‘कम्प्यूटर जी, अप्सन (ए) को लक किया जाय।’ कार्यक्रममा एकछिन सन्नाटा छाउँछ। कम्प्युटरको स्क्रिनमा हरियो संकेत आउँछ।
‘करेक्ट आन्सर ।’
अनिल कपुर उत्साहित हुँदै ताली ठोक्छन्।
प्रहरी हिरासतमा भने कवि ‘सुरदास’ नै किन ? भनी इरफान खानले स्पष्टिकरण सोध्छन्।
जमालले भने अनुसार उनलाई सोधेका हरेक प्रश्नहरू कहीँ न कहीँ उनको जीवनसँग जोडिएका थिए। यसैलाई क्लू बनाउँदा उत्तरहरू सही भएका थिए।
यो प्रश्नको क्लू उनले यसरी भने–
‘उनके इरादें कुछ और थे।’
अर्थात् भजन गाउन लगाउने मान्छेको उद्देश्य फरक थियो। उनले भने अनुसार, कवि सुरदास दृष्टिविहीन थिए। यो भजनमा दृष्टिविहीनहरूको आन्तरिक आवाज मिसिएको छ। जमाललाई पनि सधैंका लागि दृष्टिविहीन बनाउने र सधैंको लागि भीख माग्ने भाँडो बनाउने योजना अनाथलयको मालिकलाई हुन्छ।
भाग्यबस यो कुरा उनका दाजु ‘सलीम’ ले थाहा पाउँछन् र जमाल दृष्टिविहीन बन्नबाट जोगिन्छन्। यसरी भजनको रहस्य हट सिटमा बसेर उनले थाहा पाउँछन्।
यता तिहारका पात्रले पनि गीतको उद्देश्य र रहस्य थाहा पाउँछन्। अरूलाई जिस्क्याएर आफू रमाउनु त्यस गीतको उद्देश्य रहेछ। सोझालाई हेला गर्नु गीतको रहस्य रहेछ। अरूलाई उल्टोसुल्टो भनाएर आफू हाँस्ने प्रमुख उद्देश्य रहेछ। उनले थाहा पाए।
आफैं हाँस्नु स्वास्थ्यको लागि लाभदायक छ। अरूलाई खिसी गरेर हाँस्नु पक्कै पनि लाभदायक छैन। हाँस्नुको फाइदा डा. जे. आस्थानाले ‘मुन्ना भाइ एमबिबिएस’ मा ‘लाफ्टर थेरापी’ दिएर आफैं हाँसेका छन्।
आफैं हाँस्न नसके बाबा रामदेवले पतञ्जली योगमा जबरजस्ती हँसाएकै छन्। कुनै ताका म पनि कीर्तिपुरको गान्धी भवनमा झिसमिसे बिहानीमा हाँसेको छु। हाँसोको अर्थ बुझ्दै छु।
स्लमडग मिलिनियरका पात्र ‘जमाल’ र यस कथाका पात्रबीच केही समानता थियो। दुबै पात्रहरूको मुख्य अभिभावक थिएनन्। दुवै पात्रहरू टुहुरा थिए। फिल्मको पात्र मुम्वईमा हुर्किए।
यस कथाको पात्र धनगढीमा हुर्कियो।
हुर्केको ठाउँ फरक थियो तर बाल्यकालको खेलाई उस्तै-उस्तै थियो।
उताको पात्र जुहुको गल्ली गल्लीमा दगुर्थ्यो।
यताको पात्र शिव मन्दिरको गल्ली गल्लीमा चंगाको पछाडि दगुर्थ्यो।
उताको पात्र धोबीघाटको फोहोर ढल पानीमा पौडी खेल्थ्यो।
यताको पात्र कैलाली नालाको फोहोर पानीमा डुबुल्की लाउथ्यो।
उताको पात्र भजन गाउँदा पचास रुपैयाँ माग्थ्यो । यताको पात्र भैलो गीत गाएवापत् पचास पैसा पाउथ्यो।
समय बित्दै गयो।
उताको पात्र फिल्मको हिरो बन्यो र अहिले हलिउडमा आफ्नो पहिचान खोज्दैछ।
यताको पात्र फरेन्सिक साइन्टिस्ट बन्यो र अहिले विधि विज्ञान क्षेत्रमा आफ्नो पहिचान खोज्दैछ।
उताको पात्रको वास्तविक नाम देव पटेल हो।
यताको वास्तविक पात्रको नाम ••••मलाई भन्न मन लागेन। बरु एउटा क्लु दिन्छु। पात्रको नाम आफैं सोच्नुहोला। यस कथामा 'भैंसी तिहार 'भन्ने पात्र लेखक स्वयम् म आफैं हो।
(यस लेखमा कथाको पात्रलाई ब्रिटिस कलाकार देव पटेलसँग तुलना गर्न पक्कै पनि खोजिएको होइन। एउटा घटनालाई फिल्मको पात्रसँग तुलना गरिएको मात्रै हो ।)