म भर्खर पन्ध वर्षको थिएँ। हाम्रो गाउँ साह्रै रमाइलो थियो, अनि सबै कुराले सम्पन्न पनि। गाउँको अलि तलपट्टि अर्को सानो बस्ती पनि थियो। त्यो बस्ती भने सुनसान देखिन्थ्यो।
बस्तीमा हाम्रो गाउँका मान्छे कमै जाने गर्दथे। यो कुराले मलाई सताउने गर्दथ्यो। 'किन यस्तो?' म आफैलाई सोध्न बाध्य थिएँ।
काम पर्यो भने मात्र उनीहरूलाई बोलाउने गरिन्थ्यो। उनीहरू आएर आँगनको डिलमा बस्न्ने गर्दथे। म उनीहरूलाई खुब हेर्थेँ आँगनको डिलमा बसेर अनि पूरा शरीरमा आँखा घुमाउँथेँ। उनीहरूको कपडा प्राय: ठाँउ/ठाउँमा च्यातिएका हुन्थे। ठाडो शिर गरेर हेर्ने हिम्मत थिएन उनीहरूमा।
मैले म एकोहोरो हेरेको देखेपछि आमाले मलाई तानेर भित्र लानुभयो।
'के भो आमा?' प्रश्न गरेँ आमासँग।
'त्यो डिलमा बसेकी तल्लो गाउँबाट आएकी केटीलाई किन हेरेको? किन आमा, हेर्नु हुन्न र?'
'विस्तारै बुझ्छस्, भित्र बस् बाहिर आउन पर्दैन' भन्दै आफू बाहिर जानु भयो।
आमा बाहिर गएपछि मेरो मनमा झन खुल्दुली भयो। आखिर किन आमाले मलाई यस्तो भन्नु भयो भनी।
यसो झ्यालबाट चियाएर हेर्न थालेँ। बाबासँग नाक कोट्याउँदै बसेकी उनको उमेर करिब बाह्र वर्ष जति थियो होला। उनको अनुहार एकदम मैलो र कपाल हेर्दा गुजुल्टा परेका थिए। म हेर्दै थिएँ।
आमाले उनीहरूलाई अलिकति धान दिनु भयो। सायद ती नानीलाई तिर्खा लागेको थियो। उनले बाबालाई कोट्याउदै केही भनेकी थिइन्। आमाले गिलासमा पानी लगेर आँगनमा राखीदिनु भयो।
ती नानीले हातले सिँगान पुछ्दै, पानी पिएर बाबा तिर हेरिन्। अनि बाबाको इशारापछि अलि परको धारामा गएर गिलास सफा गरी आँगनको डिलमा घोप्ट्याइन्।
मेरो मनमा प्रश्न माथि प्रश्न दौडिएका छन्। यो के हो? हेर्दा एउटै रूप, भेष सबथोक मिल्ने अनि किन यस्तो? म सोच्दै थिएँ, आमाले दिएको धान लिएर बाबुछोरी आफ्नो गाउँतिर लागे। म बाहिर निस्किएर आँगनबाट उनीहरूलाई हेरीरहेँ।
आमा भन्दै हुनुहुन्थ्यो 'गिलास छोलास्, सुकेको छैन।'
यो दिनको घटनाले मेरो मस्तिष्कमा एउटा नयाँ प्रश्न उब्जाएको थियो। दुई/चार महिना यसरी नै बित्यो। दसैँदेखि तिहारसम्म मेरो बिदाको समय हुने हुँदा मसँग समय थियो। यो खाली समयमा मलाई त्यो गाउँको बारेमा बुझ्न मन थियो।
सानोदेखि नै मलाई यस्ता कुरामा बढी रुचि थियो। एकदिन म खाना खाएपछि आमालाई खेल्न जान्छु भनी तल्लो गाँउ तिर हिडेँ। बाटोमा मुखिया बाले भेट्नु भएको थियो।
'कता हिडेको एक्लै?'
'मुखिया बा, नमस्कार! यसो खेल्न हिडेको' भन्दै अगाडि आफ्नो गन्तव्य तिर लागेँ।
जब म त्यो तल्लो गाउँमा पुगेँ, मेरो मनमा खिन्नताको आधी आयो। अहो! यो कस्तो दुःख हो? साना/साना खरले छाएका झुपडी, जता जाउँ फोहोर पनि। प्राय: बच्चाबच्चीको शरीरमा आधा मात्र लुगा थिए। म त्यस गाउँको अवस्थाले अति दुःखी भएँ।
हाम्रा घर आउने गरेका बुढा मन्छेले मलाई हेर्दै भने, 'किन यहाँ आउनु भाको, माथिकाले देखे भने वित्यास हुन्छ। तपाई गइहाल्नु त।'
'किन मलाई हजुरले तपाई भन्नु हुन्छ? सानो छु हजुरभन्दा।'
'यो सब पहेली बुझ्नु हुन्न' भन्दै मलाई छिटो फर्कन आग्रह गर्नु भयो।
बुढोपाकाले भनेको कुरालाई नकार्न पनि सकिनँ। अनि फेरि एकपल्ट राम्रोसँग त्यो बस्ती हेरी उकालो लागेँ। बाटोमा आउदै थिएँ, एकजना तल्लो गाउँका दाइले बारीमा जोत्दै हुनुहुँदो रहेछ। म दगुर्दै उहाँ भएको ठाउँमा गएँ।
सायद उहाँ पानी पिउन गोरु उभ्याउनु भएको थियो होला। म गएर हलो समाएँ।
'ए ए! के गर्नु भाको, बाहुन भएर हलो समाउन हुन्न' भन्दै मलाई ताने।
कताबाट मुखिया बा पनि त्यही बाटोमा आउनु भयो।
'ए गधा! बाहुन भएर हलो समाउँछस्' भन्दै मलाई आफ्नो लौरीले हान्नु भयो। म दगुर्दै घरतिर भागेँ।
आत्तिदै आएर म पिँडीमा बसेँ। आमा भित्रबाट आउँदै हुनुहुन्थ्यो।
'के भो? किन आत्तिएको?'
'केही होइन आमा' म कुरा लुकाउन खोज्दै थिएँ। मुखिया बा नि हाम्रो घरमा जो आउनु भयो। आमालाई झपार्दै भोलि बिहान छोरो लिएर कचहरी हुने ठाउँमा आउन भन्नु भयो। आमाले 'के भो र?' भन्नु भयो। भोलि थाहा हुन्छ भन्दै मुखिया बा आफ्नो घर तिर लाग्नु भयो।
आमालाई मैले आफ्नो कुरा बताएँ। आमाले पनि पानीमा सुन डुबाउनु भयो अनि जौ, तिल बनाएर मलाई पानीले छ्याप्नु भयो। म हेरी मात्र रहेँ।
बिहान बाबा, आमा दाइ र म एक साथमा थियौँ। दाइ सहर बस्नु हुन्छ, छुट्टीमा आउनु भएको थियो। बाबा-आमाबाट साथ नपाए पनि मौन रुपमा दाइले मलाई साथ दिनु भएको थियो।
बाबा भन्दै हुनुहुन्थ्यो 'कचहरी हुँदा धेरै बोल्ने होइन नि।' म भने चुप लागेर बसेको थिएँ।
बिहान कचहरी सुरु भयो। गाउँका सबैजसो मानिस आएका थिए। ठूलो चौपारीमा सबै मलाई हेर्दै थिए। मुखिया बाको लागि बीचमा काठको कुर्ची थियो। आसेपासेलाई बेन्च पनि।
मुखिया बाले बाबालाई इशारा गर्दै भन्नुभयो 'तेरो छोरो हिजो तल्लो गाउँमा गएको रहेछ। अनि बाटोमा आउँदा हलो समाउँदै थियो, मेरो आँखाले जो देख्न पर्यो। यसरी त भएन नि?'
बाबाले हात जोड्दै भन्नु भयो 'गल्ती भयो, क्षमा गर्नुस् एकपल्टलाई।'
मुखिया बाले सबलाई चेतावनी दिँदै हुनुहुन्थ्यो। म सानो भएपनि मेरो बोली रोक्न सकिनँ।
'मुखिया बा, यसमा मेरो बाबाको केही गल्ती छैन, जे भन्नु छ मलाई भन्नु।'
सबै गाउँलेहरू मलाई हेर्न थाले। म बोल्दै गएँ 'के तिनीहरू मानिस होइनन्। के तिनीहरूका चार वटा खुट्टा छन्। के तिनीहरू घाँस खान्छन्। दुःखी भए नि उनीहरूको मन सफा छ। हजुरहरू जस्तो अरूलाई घृणा गर्दैनन्। हजुर को? भगवान हो जे पायो त्यही गर्ने मानिसलाई?' म बोल्दै थिएँ, दाइले मलाई रोक्नु भयो, नबोल कान्छा भन्दै।
मुखिया बाका आँखा राता भए, मलाई त्यही चौतारीमा पाता कस्नु हुन्छ कि जसरी हेर्नु भयो।
आपसमा छलफल भयो। मुखिया बा जुरुक्क कुर्चीबाट उठेर आफ्नो फर्मान जारी गर्नु भयो। 'आजबाट यो परिवार हाम्रो गाउँमा बस्ने छैन। तल्लो गाउँमा बस्नु पर्नेछ। यिनीहरू आजबाट तल्लो जाति भए। कसैलाई केही भन्नु छ?' यत्रो गाउँमा पनि एकजनाको आवाज आएन। सबै चुपचाप हेरी मात्र रहे।
आमाले मुखिया बालाई एकपटकलाई माफ गर्न अनुरोध गर्नु भयो। मुखिया बा झन् रिसाउनु भयो।
मेरो मुखबाट फेरि आवाज निस्कियो 'मुखिया बा, आजबाट मेरो विद्रोह सुरु भयो। एकदिन यो तलमाथि भन्ने शब्द हट्नेछ। त्यसको लागि म पूरा जिन्दगी लगाउने छु। यो मेरो सोँचले, विस्तारै सबैको सोचमा परिवर्तन ल्याउन सफल हुनेछ।'
म बोल्दै थिएँ, मेरो कुरा सुन्न कोही तयार थिएनन्। 'अब हामी तल्लो गाउँ जाने अवस्था आयो' भन्दै हुनुहुन्थ्यो बाबा। आमाले किन यस्तो आपत पर्यो भन्दै मलाई गाली गर्नु भयो। दाइ मौन हुनुहुन्थ्यो। म भने खुसी थिएँ।
क्रमशः