हामीले आफ्नो बारीको हिरालाई ढुङ्गा सम्झेर मिल्काइरहेका छौँ। नेपाल अत्यन्तै सुन्दर छ। यहाँको पर्यटनको प्रवर्द्धन हामी आफैबाट सुरु गर्नु पर्छ। हाम्रो जस्तो सुन्दर भूमिमा कुल ग्राहस्थ उत्पादनमा पर्यटनको हिस्सा धेरै हुनु पर्नेमा, बिडम्बना त्यसो हुन सकेको छैन।
कोभिडले लथालिंग पर्यटन क्षेत्र अब उठ्नु पर्छ। हामी आफैले यसको प्रवर्द्धनमा सहयोग गर्नु पर्छ। कोभिडको बन्दाबन्दी साध्य होइन, सुरक्षित उपाय अपनाउँदै सबै क्षेत्र खुल्नु पर्छ, देशको अवस्था सामान्य हुनुपर्छ भन्ने लाग्छ।
सरकारी कर्मचारी भएकोले आफूले चाहेको समयमा बिदा नमिल्नाले आफ्नो लागि घुमफिर, अवलोकनको समय मिलाउन अत्यन्तै कठिन। त्यसै सन्दर्भमा यसपालिको दसैँ र तिहारको बिदा आफ्नो लागि दिने निर्णयका साथ काठमाडौँबाट तनहुँ, कास्की, पर्वत, बागलुङ र म्याग्दीसम्म सुरक्षित हुँदै घुम्न जाने भन्ने साथीसँग सल्लाह भयो।
जानुभन्दा पहिले कोभिड-१९ टेस्ट गरियो। नतिजा नेगेटिभ आएपछि गन्तव्यको बाटो तताइयो र मुख्य उदेश्य कास्की पुगेर प्याराग्लाइडिङको अनुभव लिने र कुश्मामा भर्खरै निर्मित विश्वकै दोस्रो अग्लो बन्जी जम्पको अनुभव लिने थियो। त्यसै क्रममा पोखराको प्याराग्लाइडिङको बुक गरी तयारी साथ सराङकोट लागियो।
उड्नै भनेर हिँडेको म, सराङकोटबाट करिब ९ बजे टेकअफ गरी आकाश-गगन चुमौला जस्तै गरी उडिरहेँ। पाइलट मज्जाका थिए, पोखराको सेरोफेरो लगायत माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमाल र पोखरा उपत्यकाको घनिष्ठता र फेवा तालसँगको संसर्ग युक्त मिलनको दृश्य हेर्दै, धित मरुन्जेल अवलोकन गर्दै उडी रह्यौँ।
हामी सबैभन्दा माथि थियौँ अरु प्यारासुटभन्दा, चिच्याउँदै कुरलिदै विस्तारै विस्तारै आफ्नै रमाइलो संसारमा डुब्दै, दुःख आँसु सबै बिर्सेर रम्दै, खुला पंख फिजाइ आकाशमा उडेको चरी झैँ रम्दै थियौँ। म सुन्दरतामा उड्न पाउँदा हौसिएको थिएँ, पाइलटले पनि मेरो खुसीमा खुसी थप्न प्यारासुटको अल्टिच्युड झन् बढाए।
हामी अरु प्यारासुटभन्दा निकै माथि पुग्यौँ, अक्सिजनको कमी जस्तो लाग्दै थियो तर मेरा दुई नयन सुन्दरता र मनोरम दृश्यमा भुलेर होला अरु बिर्सियो। त्यतिकैमा उडान भरेको करिब पन्ध्र मिनेटपछि भोको पेट हो वा हाइ-अल्टिच्युट खै के कारणले मेरो पेट बाटारिन लाग्यो।
२०७२ सालको भुइँचालो तीन तलामाथिबाट अनुभव गरेको मैले, त्यस्तै घुमाए झैँ अनुभूति हुन थाल्यो। पाइलटले जानकारी पाउँदा वित्तिकै जसरी भएनी रोक्नुहोस्। अरुलाई बोमिट पर्न सक्छ, त्यो भयो भने हामीलाई गाह्रो पार्छन्, गाली खानु पर्छ, जरिवाना तिर्नु पर्छ भन्दै रफ्तारमा ल्यान्डिङको तर्खर गर्न लागे।
तैपनि मैले सकेसम्म रोक्ने प्रयास गरे तर सकिनँ। पेटबाट मुखमा आइपुग्यो तर सोचेँ, मभन्दा तल अरु उडिरहेका छन्। तल बजार छ, मैले बाहिर निकाल्नु हुँदै भन्दै पुनः पेटमै रिटर्न गराएँ, यी प्रक्रिया तीन/चार चोटि चल्यो।
करिब पाच मिनेटमा प्यारासुट फेवातालको किनारमा ल्यान्डिङ भयो। पाइलटले मेरो बडी हुक खोलिदिएर प्यारासुट प्याकिङ गर्न थाले। मलाई फनफनी घुमाइरहेको थियो। बोमिट आउन खोजिरहेको थियो। अलि साइडमा गएर बोमिट गरिरहेको थिएँ (हुनत गाडीको यात्रामा बोमिट हुने समस्या पुरानै थियो।)
त्यसै क्रममा एउटा आवाज नजिकैबाट कानमा गुन्जियो, 'ओ माइ गड, ह्वाट ह्यापन्ड? कसरी यस्तो भयो?' स्वर छोरीमान्छेको थियो तर पेटमा दश रेक्टरको भुइँचालोले मुखबाट ज्वालामुखि विस्फोट भइ लाभा र म्याग्मा निस्किरहेको म उनलाई रेस्पोन्स गर्न असमर्थ थिएँ, र गर्न सकिनँ पनि।
त्यतिकैमा पाइलटले जवाफ फर्कायो 'प्याराग्लाइडिङ गर्दा अल्टिच्युड सिकनेस भएर हो' भन्यो। तपाईलाई धेरै गाह्रो भएजस्तो छ, खोइ यो चस्मा निकाल्नुहोस् भनी मेरो लगाएको चस्मा निकालिदिइ र दुवै हातको कमोल स्पर्शको अनुभूति मेरो निधार र टाउकोले गर्न थाल्यो।
जहाँ उनले मेरो टाउकोमा ती कमोल हत्केलाले सुम्सुमाउदै रहिछिन्, आलो घाउमा मलम-पट्टी लगाए जस्तै सञ्चो महशुस गरिरहेको थिएँ। तर मलाई कता कता अप्ठ्यारो जस्तै, भित्र भित्रबाट लाज लागे जस्तो भइरहेको थियो। किनकी अरु मान्छेहरु अलि परबाट घटनाक्रम नियालिरहेका थिए। तर दु:ख र अपतको बेला लाज मानेर काज चल्दैन।
उसले बीच-बीचमा सोधिरहन्थी 'अहिले कस्तो फिल भैराछ?' मेरो बक्की फुकेको थिएन, इशारा गर्थेँ, थम अप गरेर, मेरो बोमिटिङ रोकियो। अनि एकैछिनमा 'तपाई यहाँ बस्दै गर्नु, म पानी लिएर आउँछु' भनी। मैले टाउको हल्लाएँ।
केहीछिनमा एउटा मिनरल वाटर र सानो कोकको बोटल लिएर आइ र मुख कुल्ला गर्नु त भनी। मैले उसले भने जसरी गरेँ। उसले पानी पिउन अनुरोध गरी, मैले पिएँ। बाँकी रहेको पानीले अलिकति टाउको तल पार्नुहोस् त भन्दै टाउकोमा पानी हाल्दै हत्केलाले छप्छपाउदै थिइ र भन्दै थिइ 'बोमिटिङपछि यसरी टाउकोमा पानी हालियो भने टाउको दुख्न र घुमाउन छोड्छ' भनेर।
मलाई आरामको अनुभव भैरहेको थियो। लाग्दैथ्यो, उसको उपचारले काम गर्दै थियो। उसको प्राथमिक उपचारको अब्बलताले देखेर ऊ पक्कै स्वास्थ्य क्षेत्रसँग सम्बन्धित जनशक्ति हुनुपर्छ भन्ने अनुमान मनमनै लगाएँ। उसको अगाडि म दूधे बालक जस्तै थिएँ, मन यसै यसै नाबालक भए जस्तो लाग्थ्यो।
मलाई आजसम्म आमाले दिने केयरपछि अरु कसैले गर्न खोजेको भए ऊ नै थिइ। उसले पुनः सोधी 'अहिले कस्तो फिल भइरहेको छ?' अब लाग्यो छोरो मान्छेको पुरुषत्वको अभिमानको चुनौती सम्झेर गाह्रो हुँदा हुँदै पनि 'अहिले ठिक छ, आराम भइसक्यो' भनेँ।
अनि 'रुमाल छ?' भनेर सोधी। मैले पछाडि छ भन्ने इशारा गर्दै निकाल्न खोज्दै थिएँ। उसले रोकेर भनी 'म निकाल्दिन्छु, तपाई बस्नुस्।' रुमाल पछाडिको पकेटमा थियो, उसले निकाल्न खोजी तर जिन्स पाइन्ट अलि टाइट थियो क्यार निस्किएन।
म उठ्न खोजेँ, उसले नउठ्ने इशारा गरी र आफ्नो ब्यागबाट फेस वाइप्स निकालेर मुख पुछिदिइ। मलाई पहिलेभन्दा धेरै आराम भैरहेको थियो। जीवित प्राणीले ज्यान सबल र स्वस्थ भएपछि मात्र अन्य सुखको खोजी गर्न खोज्दो रहेछ।
मेरो मनमा कौतुहलता हुन थाल्यो, को होली? कस्ति होली? यसरी मेरो केयर गरी, किन गरी? उसलाई राम्रोसँग नियाल्न खोज्दै थिएँ। यतिकैमा गाडीको हर्न बजेको तिखो आवाज हामी दुवैको कानमा ठोक्कियो, उसले अब म जाने बेला भए जस्तो छ भन्दै थिइ।
मेरो मन चसक्क भयो, भित्र-भित्र मुटु चिसो भएर आयो। म अनुत्तरित थिएँ, नजाऊ भनेर रोक्न सक्ने मेरो कुनै कारण र अधिकार थिएन। पुनः गाडीको हर्न एकोहोरो लगातार बज्न थाल्यो।
'ढिलो भए जस्तो छ, साथीहरुले कराउँछन् अब म जानु पर्छ। ल यो लिनुहोस्, कागती खोजेको भेटिएन, यसले अलि हल्का बनाउँछ पेट' भनी कोक मेरो हातमा जबर्जस्त थामाइदिई।
मेरा हातका औँला लगलग कापिरहेका थिए, मन गह्रौ भएको थियो। लाग्छ, मेरो मनले उसलाई नजाऊ भनिरहेको थियो होला। त्यसैक्रममा आफूले जतन साथ राखेको मेरो चस्मा आफ्नो ज्याकेटबाट झिकेर मलाई लगाइदिइ र उसको दुवै हातको हत्केला मेरो हातको हत्केलामा राखेर औँलाले बेस्मारी कसेर उठ्न इशारा गर्दै सपोर्ट गरी।
म बसिरहेको ठाउँबाट उभिएँ र उसले भन्न थाली 'अब तपाई धेरै ठिक हुनुभयो, मलाई धेरै लेट भए जस्तो छ। अब म जान्छु, यु विल बि अलराइट भेरी सुन, डन्ट वरी चस्मिस्। टेक सम रेस्ट एन्ड केयर अल्सो' भन्दै छुट्टिने अनुमति माग्दै थिइ। म वाक्क न बक्क थिएँ, केही बोली फुटेकै थिएन।
समुन्द्रमा छाल सरी मेरा नयन टिलपिल टिलपिल गर्दै थिएँ, तर पुरुषार्थ उसको अगाडी देखाउन चाहन्थेँ। त्यसैले मेरा आँखाबाट सुनामी नछचल्कियोस् भन्ने कुरामा संयम हुने प्रयास गर्दै थिएँ। मधुर मधुर बतास चलिरहेको थियो, उसको सुगन्धित केशले मेरो मुहार सपसप्काई रहेको थियो, मेरो अनुहार जमिन तिर घोप्टो थियो, सन्नाटा उत्पन्न भयो।
उसको केश फर्फराएर मेरो ज्ञानेन्द्रिय स्पर्शबाट छुटिएको अनुभूति भयो। जमिनबाट आँखा ऊ उभिएतिर डुलाएँ, उ थिइन। मन गरुङ्गो भयो। हर्न बजिरहेको दिशा तिर टाउको घुमाएँ, हाइस (माइक्रो बस) थियो।
गाडीको दिशातिर हिँड्दै थिइ, मैले हेरिरहेँ। सर्लक्क परेको ज्यान, कालो लामो कपाल, तेजोमय शरीर, शंख घाँटी, हरिणका जस्ता खुट्टा, लाग्थ्यो बत्तीस लक्षणयुक्त थिइ होला। मजाले नियालेर हेरेँ, सायद प्रेम हुँदै थियो मलाई। गाडी नेर पुगेपछि फर्केर बाईबाई गर्दै हात हल्लाइ र गाडी भित्र छिरी।
गाडीको झ्यालबाट पनि बाईबाई गर्दै थिइ। मेरो दाइने हात उठ्यो मात्र तर बाईबाई चाल आएन। हात उठाइ रहेँ। प्रिय उनको गाडी गुडिरह्यो, देखुन्जेल हेरिरहेँ, हात उठाइ रहेँ।
त्यतिकैमा 'के भयो कसलाई, थ्यांक यू?' भन्ने आवाज आयो। आवाज पहिचान गर्न गाह्रो भएन। मेरोभन्दा पैतालिस मिनेट ढिलो फ्लाइट तय भएको मेरो साथी बामदेव पनि ल्यान्डिङ गरेर आइसकेछ। मैले हात उठाएर एकोहोरो थ्यांक यू भनिरहेको रहेछु।
प्रेमिल पन्छी जोडीमा एउटालाई बाजले लगि अर्को वियोगमा परे जस्तै मन पोलिरह्यो। कैयौँ प्रेम जोडीले वर्षौँसम्म अनुभूति दिलाउन नसक्ने प्रेम र केयर उस्ले तीस मिनेटमै देखाएर गएकी थिइ। साथीको पुनः चर्को स्वर आयो, 'आज कुश्मा पुग्नु छ, तेरो के चाला हो, पागल भैस कि क्या हो? कुश्मा जाने मन छैन कि क्या हो?' भन्दै अगाडि हिड्यो।
म प्रिय उनीलाई सम्झिदै लुसुलुसु साथीलाई पछ्याइरहेँ। मैले उनलाई प्रत्यक्ष थ्यांक यू भन्न पनि बिर्सिएछु, पानी र कोकलाई परेको पैसा दिन पनि बिर्सिएछु। त्यति मात्र होइन, उनी को थिइन्? नाम के थियो? घर कहाँ थियो? जम्मै सोध्न बिर्सिएछु।
कति स्वार्थी भएछु म भन्दै मनमनै सोचेँ। पश्चतापको ठूलो ऋणको भारी बोकेँ भनेर। र मनमनै प्रतिप्रश्न गरेँ, अपरिचित उनीले मलाई किन यति धेरै माया र केयर देखाएकी होलिन्? त्यहाँ अरु पनि थिए तर कसैले केही वास्ता गरेका थिएनन्। उनले किन त्यति धेरै माया गरेकी?
वर्षौं सम्बन्ध बस्नेहरुको भन्दा बढी माया मात्र तीस मिनेटमा देखाएर गइन्। प्रिय उनी मेरो मन मुटुमा बसेर गइन्। त्यतिकैमा पर्वत जाने हाम्रो गाडी आयो, गाडीमा बसेँ। गाडी आफ्नो गन्तव्यको बाटो लाग्यो, म झ्याल तिरको सिटमा बसेर प्रिय अपरिचित उनीलाई सम्झिरहेँ। मात्र उनीलाई, मात्र प्रिय उनीलाई!
(लेखक राप्ती नगरपालिका, चितवनमा कार्यरत छन्।)