कुरो आजभन्दा ७५ वर्ष अगाडिको हो। सम्पूर्ण पृथ्वीलोक धुवाँको मुस्लो र बमको गन्धले भरपुर थियो। देवलोकबाट विष्णुले नजर फिराएर हेर्दा धर्तीमा राता-राता टाटाहरु देखिन्थ्यो, जुन मानव रगतका भेल थिए।
एकदिन महादेवले हिरोसिमा भन्ने ठाउँबाट उठेको धुवाँको मुस्लो देखेर अचम्मित नै भएर भनेका थिए, 'अहो! धर्तीलोकको गाँजाको धुवाँ पनि कडा निस्कदो रैछ त।'
स्वर्गलोकबाट पाताललोक निहारिरहेका देवताहरुले यसभन्दा अघिल्लो पटक पनि यस्तै मनुवाहरुको दौडधुप र बमबारी देखेका थिए तर यसपटकको दोश्रो जुद्व चै अलिक रोचक नै थियो। कारण, दाहिने हातमा भागवत गीता लिने कृष्णभक्त हिटलरको मृत्यु।
त्यतिकैमा लक्ष्मीले प्रश्न गर्छिन् विष्णुलाई, 'हे इश्वर! के हिटलरको मृत्यु जायज थियो?'
विष्णु मुस्कुराउदै भन्दछन्, 'हे लक्ष्मी! के तिमीले शेक्सपियरको भनाइ सुनेकी छैनौ? एभ्रिथिङ इज फेयर इन लभ एन्ड वार अर्थात् प्रेम र युद्धमा जे पनि जायज हुन्छ। नाथे हिटलर त के नै हो र, विचरा झन् ऊ त एकातिर इभासँग प्रेममा पनि थियो भने अर्कोतिर युद्ध पनि लडिराखेको थियो।'
त्यतिकैमा लक्ष्मीले प्रतिप्रश्न गर्न खोज्दछिन् तर विष्णु भन्दछन्, 'भोलि यमराज सभामा हिटलरलाई उभ्याउने कुरो छ, भर्खरै यमराजको फोन आएको थियो। बिहान चाडै नै तयार भएर बस्नु, सँगे जान पर्छ। बाँकी कुरो उतै गरौँला।'
सामान्य स्विकारोत्ती जनाउदै लक्ष्मीले 'हवस्' भनिन्।
आज यमराज सभामा विशेष चहलपहल छ। विगत ६ वर्षदेखि युद्धमा मरेका सम्पूर्ण मानिसहरुको पाप-पुण्य लेखाजोखा गर्न चित्रगुप्तलाई भ्याइनभ्याई छ। बडेमानको सुनौलो गाताको किताब र क्याल्कुलेटर लिएर जोडघटाउ गर्न व्यस्त उनलाई सभामा को-को पाहुना आए-गए पत्तो छैन।
अतिथि स्वागत सत्कार गर्ने 'फ्याकल्टी' चै यमराजले लिएका थिए। गेटबाहिर भने धर्तीबाट सेकेन्ड सेकेन्डमा मानिसहरु माथि उक्लिरहेका थिए। उभिएर लाम बस्नेहरु 'खुट्टा दुख्यो!' भन्दै कराउँदै थिए। त्यो लामलाई व्यवस्थित गर्ने द्वारपालहरु पनि विगत ६ वर्षदेखि थकित छन्। विचरा एउटाले गुनासो गर्दै भन्छ, 'यो युद्ध भन्ने जात चै क्यार्न गर्दा रैछन् मनुवाहरु? यता हामीलाई बेकारमा दुख मात्र! हेर्नुहोला यो लाम अब एक्कैछिनमा भाडभैलो हुन्छ।'
अर्कोले थप्यो, 'क्यार्नु हुन्छ, मानव जाति जो परे!'
अस्ति मात्रै २८ अप्रिलको दिनमा हिटलरको एकदम निकट मित्रराष्ट्र इटालीको फासिवादी तानाशाह मुसोलोनी पनि सभामा उक्लिएको थियो। 'पार्सियनहरुले मलाई सिध्याए नि' भन्दै सभामा दुखेसो पोखेको थियो। सुन्नमा आएथ्यो, उसले आँसु पुछ्न मात्रै १७ बन्डल टिस्यु पेपर भ्याएको थियो रे।
हुन त उहाँ पुगेपछि गुनासो गर्नुबाहेक अरु केही काम पनि त हुँदैन। त्यहाँ प्रत्येकका कथा हुन्छन्, उपकथा हुन्छन् र मर्नुपर्ने कारण हुन्छन्। सबैको अनुहारमा 'स्वर्ग गइने हो या नर्क' भन्ने बडो दोसाँधको डर प्रष्टसँग देखिन्छ।
त्यतिकैमा भगवान विष्णु र लक्ष्मी 'मर्सिडिज कारमा' भर्खरै आइपुग्छन् र यमराज हातमा छाता लिइ स्वागत गर्न पुग्दछन्। दुवैलाई प्रमुख अतिथिको रूपमा आसनग्रहण गराइ आफू साविककै स्थानमा बस्दछन्। र कार्यक्रम सुरु हुन्छ ठिक १० बजेपछि, ठ्याक्कै नेपालमा झैँ।
तर बहस सुरु हुनुभन्दा अघि हिटलर भन्दछन् 'मलाई एउटा टेबुल र आधा दर्जन फाउन्टेन पेनको व्यवस्था गरियोस्। मेरो टेबल ठट्याएर र फाउन्टेन कुच्च्याएर बोल्ने बानी छ।'
यमराजले हात उठाएर मुन्टो हल्लाउँदै स्वीकारोत्ती दिएसँगै उसको माग पूरा गरिन्छ र औपचारिक रुपमा प्रश्नोत्तर शृङ्खला सुरु हुन्छ:
प्रश्न: तिमी को हौ?
उत्तर: म त्यो होइन जुन सारा संसारले ठान्दछ, मेरो परिचय केबल मलाई मात्र थाहा छ। मैले जीवनमा कति संघर्ष गरेँ, त्यसको गणित म आफैले मात्र गर्न सक्दछु। युद्ध भनेको अभाव र अवसर बीचको प्रतिद्वन्द हो। हो, म त्यही प्रतिद्वन्दको पक्षधर हुँ।
हिजो म बेरोजगार हुँदा प्रथम युद्ध लडनुपर्ने मेरो बाध्यता थियो तर जब त्यस युद्धको कारक सिर्फ २० लाख जर्मनहरुलाई मात्र ठहर्याएर अपमानको कालो मोसो दलियो, तब मेरो असह्य अन्तरआत्माले राजनैतिक युद्ध लड्न भन्यो। यसकारण, म एउटा विभेदपूर्ण परिस्थितिको उपज हुँ। मलाई एक अस्थिर जर्मनले जन्म दियो।
प्रश्न: संघर्ष! कस्तो संघर्ष? जसले निहत्था ६० लाख यहुदीहरुको नृशंस हत्या गर्यो? जसको कारण द्वितिय युद्धमा विश्व रोयो। के अझै पनि तिमीले गरेको त्यो नरहत्या र अपराध प्रति संवेदना छैन?
उत्तर: मैले प्राय: दाहिने हातमा लिने गीताको आधारमा भन्दछु, म अर्जुन हुँ र गीता मेरो कृष्ण। मैले जे गरेँ गीताकै आज्ञा र अनुशरणमा गरेँ। कृष्ण भन्नुहुन्छ, 'धर्मक्षेत्रमा भएको युद्धमा मृत्यु पनि प्रिय हुन्छ। युद्ध जित्यौँ भने पृथ्वीसुख, वीरगति पाए स्वर्गसुख।' अरु क्यै होइन, मैले उनीहरुलाई आफ्नो प्रिय मृत्यु दिलाएको हु, त्यत्ति हो।
प्रश्न: हा हा! हैन, तिमी हो चाहिँ को? अन्य मानवलाई मृत्यु दिलाए भन्ने! कुनै कल्की अवतार?
उत्तर: म त सिर्फ एउटा कारक वा निमित्त मात्र न हुँ। म भएपनि, नभएपनि युद्ध त हुनु नै थियो। तपाई स्वयंलाई थाहा छ 'अन्याय सहनु पाप हो'। म त सिर्फ वर्षौदेखि जर्मनहरुलाई यहुदी र पश्चिमाहरुले गरेको अन्यायको विरुद्धमा खडा भएको न हुँ।
प्रश्न: के त्यसको निमित्त युद्ध र विनाश आवश्यक नै छ र?
उत्तर: म भन्दछु, विनाश नै निर्माणको मेरुदण्ड हो, आधारशिला हो। विनाश हुन जरुरी पनि छ, एक सुन्दर बिहानीको उदयको निम्ति। र त्यस नवनिर्माणको यज्ञमा आहुति आवश्यक रहन्छ। सम्झनुस, यहुदीहरुले एक विभेदरहित र समानतामुलक समाज निर्माणका खातिर त्याग गरे।
प्रश्न: खैर, तिमी त 'आत्महत्या' अर्थात सुसाइड गरेको मान्छे। तिम्रो बर्बरताको पतन अन्त्यमा 'एक गोली र साइनाइडको क्याप्सुल' सँगै समाप्त भयो। के लाग्छ, त्यो बाटोबाट समस्याको समाधान हुँदो रैछ त?
उत्तर: पहिलो त यसलाई आत्महत्या भनेर कसले भन्दिएछ? आत्मा पनि कहिल्यै मर्दछ र? यो त स्वैच्छिक देहत्याग पो हुनु पर्थ्यो। अब तपाईको प्रश्नमा आउदा अनुभवशास्त्रीको आधारमा म भन्दछु, आत्महत्या स्थायी समस्याको अस्थायी समाधान मात्रै हो। या भनौँ, कायरहरुले गर्ने बहादुरीपूर्ण काम।
किनकी मात्र आफ्नो इहलीला समाप्त पार्न पनि आँट आवश्यक पर्दछ तर त्यो आँट नकारात्मक उर्जाले दिन्छ। उसमा तमोगुण हावी हुन्छ र ऊ आफूलाई विस्टाको किरा जति पनि मूल्यवान ठान्दैन।
त्यसपछि ऊ सोच्दछ, मसँग जिउनुको कुनै कारण नै छैन र अन्ततः सकिन्छ। तर जब अकालमा ऊ मर्न आटेको हुन्छ, तब कालगतिले मर्दा जति करोडौँ बिच्छीले डसे समान पीडा हुन्छ, त्योभन्दा बढी उसले भोग्दछ किनकी ऊ सजिलै मर्न चाहदैन।
प्रश्न: अनि मर्नु पर्ने कारण?
उत्तर: कारण खुलस्त छ, मैले अन्त्यमा युद्ध [सापेक्षतावादको सिद्धान्त] ले पृथ्वी विनाशको संघारतर्फ गैरहेको देखिरहेको थिएँ, जुन थप युद्ध गराउन म चहान्नथेँ। जब पृथ्वी नै रहन्न थियो त मैले कसरी पृथ्वीलाई आफूले चाहेजस्तो बनाउन सक्थेँ? र यदि मैले थप युद्ध गरेका भए अन्तिममा म मात्र बाँकी रहन्थेँ।
प्रश्न: कुनै क्लोजिङ स्टेटमेन्ट?
उत्तर: मलाई इतिहासले कुन नजरले हेर्ला, त्यो मलाई थाहा छैन तर मैले जे गरेँ सिर्फ मुलुककै लागि गरेँ। यदि कसैले पनि आफूमाथि भएको हिंसा र दमनमाथि संघर्षको आवाज उठाउन सक्दैन भने उसको अस्तित्व नै लोप हुन सक्छ। मेरो आवाज जर्मनहरुमाथि यहुदी र पश्चिमाले गरेको दमन विरुद्ध उभिएको हो र त्यो नै लुकेको सत्य र शाश्वत हो।
घन्टौँ लामो यमराज-हिटलर बहसले अन्तत: थकाइ मार्छ र फैसलाको घडी आइपुग्छ। यमराज आफ्नै आसनमा बसेर चिउडोमा हात राखेर गमेर सोच्न थाल्दछन्। र चित्रगुप्तलाई लेखाउन अह्राउदै भन्दछन्, 'यो कुर्सीमा बसेर मैले फैसला गरेको हजारौँ वर्ष भयो। त्यसक्रममा मैले नामुद मानवहरुको पनि स्वर्ग-नर्क फैसला गर्न भ्याएँ तर आजको इजलासले भने पहिलो पटक मलाई दोधारमा ल्याएर उभ्याइ दिएको छ।
हिटलरलाई निर्दोष करार गरी स्वर्गको फैसला गरौँ भने उसैको आदेशले मारिएका लाखौँ निहत्था र निर्दोष मानवहरुको रगतमाथि अन्याय हुन जान्छ। र यदि दोषी करार गरी नर्कको फैसला गरौँ भने पनि राष्ट्रप्रेम र अन्याय विरुद्ध उठेको आवाजले न्याय पाउदैन।
यसर्थ, म तिमीलाई न त स्वर्ग पठाउँन सक्छु न त नर्क नै। तर यस राजसभाको इतिहासमा पहिलो पटक एउटा विशेष अवस्था सहितको फैसला गर्न सक्दछु। अब उप्रान्त पृथ्वीमा जब-जब राजनीतिक अस्थिरता र अधिनायकवादले मुलुकलाई अन्धकार तर्फ डोर्याउन थाल्दछ, तब तिम्रो पुनर्जन्म हुनेछ।
तिम्रो जन्मले विनाशकै बाटोबाट पृथ्वीलोकलाई पाठ पढाउने छ। याद राख्नु, जर्मनीमा तिम्रो उदय कुनै 'कू' अथवा कुनै असंबैधानिक तवरबाट भएको थिएन। तिमी संविधानलाई टेकेर नै गभर्नरको पद हुँदै अन्त्यमा तानाशाह बनेका हौ।
मेरो विवेकले भन्दछ, अबको ७५ वर्षपछि हिमवत्खण्डमा पनि यस्तै किसिमको अवस्था सिर्जना हुन सक्दछ। भलै त्यो कथित प्रजातान्त्रिक पद्धतिबाट चुनिएको सरकार भएतापनि त्यो सरकार र त्यसको बागडोरवादीले संविधानलाई नै टेकेर अधिनायकवाद लाद्न खोज्दछन्।
उसले आफ्ना वरपर सिर्फ आफ्नै स्तुतिगान गर्नेलाई मात्र राख्दछ र जनप्रतिनिधि सभालाई भारदारी सभा बनाउँछ। उसले तिमीले झैँ आफूलाई 'सोसलिस्ट' त बताउँछ, तर व्यवहार भने पुँजीवादी गर्दछ। तिमीले 'नश्लिय राजनीति' गरेझैँ उसले पनि कताकता धर्मको आडमा राजनीति गर्न खोज्दछ। तुलना गर्दा, यी सबै गुणहरु तिमीसँग मेल खान जानेछन् र तिम्रो पुर्नजन्म हुनेछ, बाम संस्करण हिटलरको रुपमा।
भोलिको त्यो पुँजीवादले म्युनिखको डचाउ ग्याँस चेम्बरमा बितेको अधिनायकवादी इतिहास बेचेर र चिहान देखाएर 'युरो' कमाउने छ। इतिहास र इतिहासकारहरुले तिमीलाई सिर्फ हत्यारा र तानाशाहको नजरबाट मात्र पढाउनेछन् र तिमीलाई इतिहासको खलनायकको रुपमा देखाइनेछ, ताकी फेरि इतिहासमा अर्को हिटलर पैदा नहोस्।
तर इतिहास कसैले इच्छाउदैमा र नहोस् भन्दैमा नदोहोरिने भने होइन। इतिहासले तिमीलाई एउटा पाठ पढाउनलाई जन्म दिएको हो र त्यो पाठ यदि युग र भविष्यले बुझ्न सकेन भने, भोलि फेरि त्यै इतिहासले तिमीलाई पुर्नजन्म दिनेछ।'