चिसो बढ्दै थियो, ब्ल्यांकेट फ्याकिदिएँ, यद्यपि जाडोको मौसम थियो। निन्द्राले पनि छाड्दै गयो। मनमा अनेकौँ कुराहरू चल्दै थिए। उठेर म कोठाको ढोका खोलेर बाहिर निस्किएँ।
किचनमा पसेर कफी बनाएँ। घडी तिर पुलुक्क हरेको रातको २ बजेको रैछ। कफी प्रेमी र इन्सोमेनियाक थिएँ म। पोखरा फूलबारी बाटो बीचको चौतारीबाट दाहिनेपट्टिबाट पसेपछि दोस्रो घरको दोस्रो तलामा बस्थेँ म।
जागिरको क्रममा म अफिसले खोजेको कोठामा बस्थेँ। एक्लै बस्ने म पूरै फ्ल्याट नै थियो। किचन, दुई वटा सुत्ने कोठा र एउटा हल थियो अनि अगाडि पट्टि भर्याङ र बरन्डा। म कफीको कप लिएर बरन्डामा निस्किएर बस्थेँ। नयाँ ठाउँ एड्जस्ट गर्न गाह्रो भएर होला निन्द्रा नपारेको सोच्थेँ।
पोखराको एक छेउबाट अर्को छेउमा सरेको भए पनि बिहानको हिमालले मुड नै फ्रेस हुन्थ्यो। बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म अफिस हुन्थ्यो। वन कार्यालय कहिले मुद्दा हेर्नुपर्ने, कहिले कतै फिल्ड। महिनामा कयौँ दिन त कोठामा जानै पर्दैन थियो। जब जब म कोठामा जान्थेँ, सुरु सुरुमा त नयाँ मान्छे टोलमा आएछ गरी हेर्थे।
छतमा कपडा सुकाउदै गर्दा छिमेकी आन्टीले सोध्थिन्, 'बाबु हजुरलाई कहिल्यै देखेको थिइनँ, नयाँ हुनुहुन्छ?'
म बोल्नु अगावै घरबेटी आन्टीले थपिदिनु भयो, 'बाबु त वन अधिकृत, धेरैजसो बाहिर नै हुनुहुन्छ। कहिलेकाहीँ यता तिर कोठा सम्झेर आउनुहुन्छ।'
हाँसो गरेर दुई जना बोल्दै गर्दा म पनि ङिच्च दाँत देखाएर धेरैसम्म छाडेको कोठा सफा गर्नु छ भनेर हिँडिहालेँ। खानाको व्यवस्था आफैमा हुन्थ्यो, भात राइसकुकरमा, दाल कुकर तरकारी कम्पलसरी थिएन। अचार छुट्थेन। विस्तारै विस्तारै छरछिमेकमा अचम्मको नजरले हेर्ने हेराइ भिन्न हुँदै थियो।
अगाडिसम्मको नयाँ मान्छे बस्न आएछ भन्नेहरु के छ बाबु, कहिले आउन भयो भनेर सोधपुछ गर्न सुरु गरेका थिए। भित्र भित्रै गुम्सिएको म एक साँझको दृश्यले बिना पवनको फूलझै विस्तारै छतबाट कपडा लिएर कोठामा पस्दा सेतो कोट लगाएकी केटीलाई देखेर बर्सिन खोज्दै थिए।
त्यहाँ मैले देखेको कुनै नौलो अनुहार भने थिएन। भर्खर मात्र कक्षा बाह्रको जाँच सकेर इन्स्टिच्युटमा भर्ना भएको थिएँ। सानै उमेरदेखि डाक्टर बन्ने सपना थियो, यद्यपि पूरा हुन भने सकेन। पहिलो केही दिन त म आफ्नो कक्षा ईवान बिहानको क्लास खोज्नै गाह्रो, ज्ञान लिने हो जताबाट आए पनि के फरक भनेर अरू क्लास तिर गएँ।
एकदिन राजेन्द्र सरले आफ्नो क्याबिनमा बोलाएर के कसो छ सोध्दै गर्दा आफैले नै म आफ्नै क्लासमा नगएको भनेको थिएँ। दुब्लो पातलो अनि दाह्री कपाल पाल्ने तर्क प्रष्ट हुन्थ्यो, सम्झाइ बुझाइ संस्थाको नीतिनियम सिकाइ भोलिदेखि आफ्नै क्लासमा बस्नु, मेरो भोलि त्यहाँ क्लास छ भनी निस्किएर गए।
म पनि पछि पछि निस्कि सिंहदरबार भद्रकालीपुल कठोर घाममा सुन्धारा गएर गाडी चढेर घर फर्किएको थिएँ। जेठको महिना थियो, बिहानै उठेर गाडी चढ्ने ठ्याक्कै १५ मिनेटमा सुन्धारा झारिदिन्थ्यो। आकाशे पुल एकदिन पनि प्रयोग गरिनँ।
सुन्धाराबाट २० मिनेट लाग्थ्यो। कहिले काहीँ ताहचलको बाटो हुँदै भिमसेनथानको उकालोबाट गल्ली छल्दै खिचापोखरी हुलाक-कार्यालय सुन्धारा भद्रकालीको बाटो हिडेर पनि जान्थेँ। नियमित हिँड्दै गर्दा आजसम्म कति हजार हैन, लाखौँको संख्यामा मान्छेहरू देखियो होला, ती अनुहार याद हुँदैन।
भिडबाट एउटा अनुहार भिन्न थियो, अलिकति ठूला आँखा, निधारपनि ठूलै थियो। ओठ पातलो, स्क्वाएर अल्लि थिएन फेस स्ट्रक्चर, सायद कद ५ फिट ३/४ इन्च थियो अनि गहुँगोरो छाला। भद्रकाली अगाडि पहिलो पटक देखेको। पहिलो दिन थियो ईवानमा स्कुल कलेजको ब्याकबेन्चर दोस्रो बेन्चमा थिएँ।
पहिलो खाली थियो, एकछिनमा दुई जनाले कब्जा गरिहाले। ती मध्ये एक त्यही भद्रकाली अगाडि देखेको थिएँ। मनसुनको घाम जस्तै थिइ, एकछिनमा बादलको हुलले छेकिहाल्ने। विस्तारै नाम पहिचान खोज्दै जाँदा घर गोर्खा, बसाइ पोखरा लगायत थाहा हुँदै गयो। इन्स्टाग्रामदेखि फेसबुक च्याट बाढीले प्रभावित हुँदै गयो।
रियालिटीमा भने केबल एकपटक पानी पास गर त भनेर मात्र, अन्य समय आँखा कि त मुसुक्क। च्याट बक्समा उसिनेको आलुको बोक्रा जस्ता भएका हामी बन्दाकोबीभन्दा अरू केही रहस्यमय छ भने क्वान्टम फिजिक्स त्यस्तै थियौँ हामी। भाषा मिल्ने दुवैको, मिलेन समयको बाटो। विस्तारै फराकिलो हुँदै जादा फलस्वरुप हामी दुई किनाराहरुमा छुट्टिएका थियौँ।
प्यारलल लाइन वैज्ञानिकहरु एक बिन्दुमा पुगेपछि टच गर्छन् भन्थे, सायद हाम्रो लाइन यसरी नजिकै होला भन्ने अनुमान भने मेरो थिएन। सेतो कोट र पहेलो कुर्था निधारमा रोतो टीका, आँखामा हल्का गाजल। हिजोअस्तिजस्तै उस्तै देख्छु छालाको रङ, उस्तै छ हातखुट्टा, नाकमुख हिँडाइ, बोलाइ, हँसाइ सबै उस्तै उस्तै।
सायद कुनै दिन बिछट्ट मनपराएको भएर होला, झनै राम्रो देखेको। एकटकले हेरिरहेको थिएँ। पोखरा चेरापुञ्जि अफ नेपाल, पानी पर्ने सहर। रित्तो आकाश एकैछिनमा कालोनिलो, र बर्सिन पनि सुरु गरी सकेको थियो। शरीरमा परेको पहिलो पानीको थोपा, झसंग हुँदा पानीमा दुइटा हात फिँजाएर आकाश तिर हेर्दै निथ्रुक्क झिज्दै थिइ दिव्या।
पानीमा तलदेखि माथिसम्म निथ्रुक्क त दिव्या भिजिरहेकि थिइ, शीलता भने मैले पाएको थिएँ। हामी बीच दूरी थियो त बस् बीस फुटे बाटो र केही दिवार, तर त्यो भन्दा गहिरो खाडल भने समयले पनि दिनानुदिन थपिदिएको थियो।
रातभर सुत्नै सकिनँ, निन्द्रा लाग्दै लागेन। खाना बिहानको बाँकी थियो, त्यही ओभनमा तताएर खाएको थिएँ। केही गर्दा पनि निन्द्राले जित्न नसकेपछि, बरन्डामा कुर्सी लिएर राति १२ बज्नै लागेको बेला निस्किएको थिएँ।
पुस महिनाको जाडोसँग जुद्धै गरेको निन्द्रा, विस्तारै म माथि हावी हुँदै थियो। एक्कासी ह्यापि बर्थ डे टु यू, ताली र हल्लाले झसंग भएछु। जुरुक्क उठेर यताउता हेर्दा बाटोपारिको घर दिव्याको घरमा बत्ती खुल्लै थियो, एकछिनमा मान्छेहरू हिडेको पनि देखियो।
वर्तमान भन्नु न के हो र, समयको सबैभन्दा सानो अंश न हो। एकछिनमै वर्तमान भुत बनिदिन्छ अनि तर्साउँछ र झस्काउँछ। मानसपटलको छानोमा सक्दो प्रेसर दिएँ, निस्कर्ष निस्कियो, आज २७ गते अर्थात् १२ बज्यो। २८ गते भयो बर्थ डे। जुन दिनको लागि केही वर्ष अगाडि लास्ट विस गर्न रातिसम्म कुरेर बस्थेँ।
वर्तमान अतिथि अर्थात् गोस्ट बनेर मलाई तर्साउन थालेको थियो। यादहरू सबै सर्वव्यापी रुपमै तँछाडमछाड गरिरहेका थिए। यी सबै कुरा मन मस्तिष्कमा नाच्दै गर्दा पुस महिनाको जाडो आफै समर्पण गरेको जस्तो देखिन्थ्यो। म तात्दै थिएँ, काम छुट्ने गरी तातेछु।
आफैमा आफ्नो होस गुमाएको मलाई, घरबेटी अंकलले कोठामा लगी सिरक ब्यांकेट ओढाई हिँडेछन्। बरन्डाबाट कोठासम्म र खाटसम्म कसरी आएको घरबेटी आन्टीले बताइन। शरीरमा रत्तिभर तागत थिएन। उठ्न खोज्दै थिएँ, रातिको खाना खाएको पनि थिइनँ।
म उठ्न खोजेको देख्दै 'डाक्टर आउदै छिन्, एकछिन एकछिन नउठ्नु बाबु' भन्दै एक गिलास मनतातो पानी टेबलमा राखेर बाहिर निस्किइन आन्टी। एकैछिन आँखा चिम्लिएर अफिसका काम सम्झिएँ। फिल्डको कामको लागि जानुपर्ने सम्झिएँ, काम धेरै बाँकी थिए। तर जाँगर भने अलिकति पनि थिएन।
मेरो अल्छीपन झल्काउन टेबलमा असरल्ल फिँजारिएका कागजात, किताब नै काफी थिएँ। अझ किचनमा जाने हो भने दुई दिनदेखि भिजाएको चामल थियो, पकाउन राखेको। एकछिनमा मेरो कोठा उज्यालो भयो, उठेर हेर्दा पर्दा खोलिएको रहेछ। कोठामा को पसिसकेको थियो, थाहा पनि पाइनँ।
'एक्सक्युज मी, को होला?'
'म दिव्या, हजुर बिरामी हुनुहुन्छ रे। आन्टीले बोलाउनु भएको, म डाक्टर।'
'हजुर!' अवाक्… केही बेरको सुनसानपछि जुरुक्क उठ्न खोजेको सकिनँ। अँध्यारोमा नचिनिएको म, उज्यालोमा मेरो अनुहार प्रष्ट देखियो। जुन सक मलाई लागेको थियो पहिलो पटक देख्दा, दिव्यामा त्यो केही देखिएन।
हिजो पानीमा रुझेको रातभर पुसको महिना बाहिर बसेको। दिव्याले शान्त रुपमा नजिकै आएर नाडी जाँचेर 'त्यही हो औषधी केही खानुपर्दैन, तातोपानी प्रशस्त अनि शरीरलाई न्यानो राखेर घरमै रेस्ट गर्नु, चाडै सन्चो हुन्छ।'
यति भन्दै गर्दा घरबेटी आन्टीको इन्ट्री भयो, ७ वर्षपछि सँगै थियौँ एकछिनको लागि। मेरो हातले सात वर्षपछि स्पर्श पाएका थिए।
'हस आन्टी म जान्छु, केही पर्यो भने बोलाउनु।'
दिव्या जाँदै थिइ, मेरा अनेकौँ प्रश्न मेरै मनमा जमाएर। उसलाई यहीँ बसन भन्न मेरा ओठ काप्दै थिए, गएको हेर्दा आँखा टिलपिल गर्दै थिए। एउटा कागज टेबलमा थियो, केही लेखिएको जस्तो लाग्यो। त्यति बेलासम्म घरबेटी आन्टीको एग्जिस्ट भैसकेको थियो।
कागज पल्टाएँ, स्माइली थियो। तलपट्टि दश वटा नम्बर लेखिएको थियो। 'फोन गर, कुरा गर्नुछ।'
उकुसमुकुस भएँ, एक्साइटेट थिएँ। एड्रिनालिन रस भएको जस्तो भएको थियो। फोनको घण्टी बज्यो, हेर्दा घरबाट थियो।
'बाबु सञ्चै छस्? सपना नराम्रो देखेको थिएँ' आमाको बोली थियो।
म पोखरामा बिरामी भएको भन्ने खबर हावाको बहावले पहिल्यै सपनामा पुर्याइ सकेछ। टेन्सन के दिनु भनेर 'छैन केही पनि भएको, ठिकै छु। अल्छी लाग्ने लक्षण चाहिँ देखा परेको छ।'
दुई वर्ष यता नियमित एउटै कुरा थियो 'बिहे गर!' सजिलोसँग भनिदिनु हुन्थ्यो। 'सँगै हुर्केको अनिलले छोरो स्कुल जाने भैसक्यो, प्रशन्नको छोरो हेर अहिले सात कक्षामा पुगेछ। आमाको चौरासी गर्ने बेला हुन लाग्यो' यस्तै कुराहरू साथीहरू पनि झिक्थे।
सनिस ब्याच्लर पढ्दाको रुम पार्टनर। बर्थ डे थियो, म पनि सँगै थिएँ। सानो जमघटमा सेलिब्रेसन थियो। सनिसकी श्रीमती र उसका साथीहरू थिए। बिरौटाको पिय्मे रेस्टुरेन्टको माथिल्लो तलाको भर्याङबाट दाहिनेपट्टिको देब्रे कुर्सीमा थिएँ। निरन्तर जिस्क्याउँथे पाँचै जना मिलेर 'अब त बिहे गर'।
सबै साथीहरू घरजम गरेर बसिसकेका थिए। एक दिन 'कस्लाई कुर्दै छस्? त्यही हो?' भनेर सोधेको थियो सनिसले।
'लास्ट टाइम कहिले देखेको रे?'
'सात वर्ष अगाडि मणिपाल हस्पिटल चौथो तलाबाट, बाटोमा हिँडिरहेकी थिइ' मैले भनेँ।
'भेट भएको थियो?' सनिसले थप्यो।
'थिएन।'
'फेसबुकमा केही?'
म केही बोलिनँ। कागजको टुक्रा हातमा थियो, पढ्दै गर्दा यी सबै कुरा ढ्याङ्ग्रो ठट्याउँदै मनमस्तिष्कमा नाच्दै थिएँ जसरी मयुर नाच्छ पंख फिँजाएर। फोन गरेँ, 'तपाईले सम्पर्क गर्न खोज्नु भएको मोबाइल व्यस्त छ' फुल पैतालिस सेकेन्ड घण्टी बजिसकेपछि लय मिलाएर टेलिकम दिदी बोलिन्।
एकैछिनपछि फोन बज्यो, उठाएँ।
'हेल्लो! कहिलेदेखि यहाँ बस्न थालेको? मलाई देखेको थिएनौँ?'
जवाफ 'ह्याप्पि बर्थ डे!' थियो मेरो।
एकछिन मौनता छायो जसरी सुनामी आउनु अगाडिको शान्तिपूर्ण वातावरण थियो। 'थ्यान्क यू!' दिव्याले भनी।
'मिस्टर मेरो जवाफ कहिलेसम्म दिन्छौ? यहाँ? यो ठाउँ? यही घर? कसरी? केही झुट चल्दैन' कठघरामा उभ्याइ र म माथि प्रश्नैप्रश्न गरी।
'ओके आइ विल बि अनेस्ट! एन्सर सुन चित्तबुझ्दो लाग्छ भने मैले के पाउँछु? एक कप कफी र आधा कप समय?'
एकैछिनपछि जवाफ आयो 'सोँचौला। म बरन्डामा निस्किँदै छु, फेस टु फेस हुन्छ, हुन्न?' न्यानो कपडा लगाएर बल्ल, अलिकति मायाको भाव र चिन्ता आवाजमा सुनिन्थ्यो।
लामो सास फेरेर बाहिर निस्किएँ, दिव्या पहिलेदेखि नै बरन्डामा थिइ। कानमा कालो इयरफोन, हातमा मोबाइल, रातो हाइनेक, कुमभन्दा अल्लि तलसम्म कैलो कैलो कपाल, गुलाबी ओठ अनि त्यसमाथि मन्ध मुस्कान। कालो सेतो पान्डा जस्तो ट्राउजर लगाएकी थिइ।
एक्कासी खोकेछु, 'के भयो?' फोनमै सोधेकी थिइ।
'घाँटी खस्खसायो। अफिसले खोजिदिएको कोठा हो या भनुम् क्वाटर नै हो। दुई महिना भयो' म दिव्या सामु अन्तर्वार्ता दिँदै थिएँ, पछाडिबाट एकजना महिला बरन्डामा आएको देखेर 'ममी!' भनेर अडिएको थिएँ।
'हजुर?' नबुझेको भावमा सानो स्वरमा भनी।
'पछाडि फर्क त एक पटक' मैले भनेको थिएँ। केटीहरूले ममी आउनुभयो भनेर काट्छन्, मतलब बुझे हुन्छ तिमी के हौ भनेर।'
गहुँगोरो अनुहार रातो भयो. फोन काटिएको थिएन। झसंग भएर ममी हजुर?' म सबै कुरा फोनमा सुनेर हाँस्दै थिएँ। एकछिनमा फेरि पहिले कै इन्टेरोगेसनको सिलसिला सुरु भयो।
'किन हाँसेको?' अलिकति रिसाउँदै कड्किदै सोध्दै थिइ। म भने बिना तयारी एग्जाम हालमा बसेको विद्यार्थी जस्तै थिएँ, न त हातमा कलम, थियो त मात्र प्रवेश पत्र मोबाइलको रुपमा।
'मलाई तिमी फेरि पनि मन पर्यो, त्यही भएर हाँसेको।'
मेरो प्रति उत्तर प्रश्नसँग मेल खायो/खाएन, पास भएँ? वा फेल? मेरो उत्तरले मौनता मात्र सिर्जना गर्यो। मौनताको बाँध, जति बढ्दै गयो त्यत्ति नै भूक्ष्यको खतरा। मनमा आउने बाढी पहिरोको लेखाजोखा गरिने वा नाप्ने कुनै यन्त्र किन विकास नगरिएको होला? यदि हुन्थ्यो त मेरो मनमा आएको क्षयक्षत विक्षत सपनाका अवयवहरूमा अन्तरहृदयका अक्षत भित्ताहरूमा कति गहिरो थियो भन्ने।
लामो सास तान्दै भन्न लागि 'आशिष! हामी पहिले अल्लारे अवस्थामा थियौँ, हामीलाई थाहै थिएन हामी छुट्टिन्छौ र फेरि केही वर्षपछि यसरी आमनेसामने भेट हुन्छौँ। सरकारी जागिर, वेल सेटल्ड पनि छौ, मलाई अझ पढ्नु छ। भेटेर भन्नु धेरै छ, आज साँझ साथीहरू बर्थ डे सेलिब्रेसन गर्नु पर्छ भन्दैछन् साँझ रेडि भएर बस।'
मनमनै गदगद थिएँ, एकदम नर्मल राख्दै आफूलाई 'तिम्रो साथीहरूसँग?'
'के हुन्छ त, खाईदिन्न' जवाफ थियो मेरो सवालको।
'ओके देन आइ विल बि रेडी अन टाइम।'
फोन डिस्कनेक्ट भयो। के गरौँ कसो गरौँ, एकपटक हाँसे मज्जाले, फेरि कसैले सुन्लान कि भनेर पनि रोकेँ। आफैले दोहर्याइरहेँ 'धैर्य… धैर्य.. धैर्य।'
फोनको घण्टी बज्यो, अफिसबाट रैछ। पहिलो शब्द 'सर अफिस…' वाक्यांश पूरा हुनु अगावै भनेँ 'अलिअलि बिरामी छु, आज आउँदिनँ, रेस्ट गर्छु दाइ।'
हँसिला मिजासका थिए सरेस दाइ, पदले रेन्जर थिएँ। निकै सहयोगी भावना थियो। यो कोठामा मेरो सरुवा हुनु अगाडि सबै बन्दोबस्त गरेको चिया गफमा भन्थे। फोन काटेर खाना बनाउन लागेको थिएँ, शरीरमा जोस विस्तारै पलाउदै थियो। सायद निम्तोले होला, फेरि एकपटक आफै मुस्कुराउँदै किचन तिर गएँ।
तीन दिनदेखि भिजाएर राखेको चामल राइसकुकरमा राखिदिएँ, तरकारी गुन्द्रुक र दालको सट्टा गुन्द्रुककै झोल। एघार नाघिसकेको थियो घडीमा। एकपटक सुत्ने कोठामा कुचो लगाएँ। धेरैपछि सरसफाइमा दिन बिताएँ। फोहर निकाल्दै बाहिर निस्कदा तनक्क तन्किदै थिएँ, पारि घरबाट दिव्याले हेरिरहेकी थिइ। म सम्हालिएँ र हेर्दा छ्या भावना अनुहारमा देखाइ हाँसेर आफ्नै कोठातिर गइ।
ममीको दिन कसरी बित्दो रैछ घरकै काममा, विस्तारै थाहा पाउदै थिएँ। फोनको घण्टी बज्यो, उठाएँ। दिव्याको थियो 'कति फोहोर हो? कहिले थियो अन्तिम पटक सफा गरेको? छ्या' यस्तै प्रश्नैप्रश्नको थुप्रो म माथि थुपारेर रेडी भएर बस भनेर वाकी-ट्याकी बनाइ मोबाइललाई डिस्कनेक्ट गरि।
एकपटक कट्किएर 'के फोहोर छ? अरूहरूको कम्प्यारिजनमा सफा छ' भन्न मन थियो। दिव्यासँग एक्लै जानुपर्ने थियो त, म चप्पलमा मात्र हिँड्दा पनि फरक पर्ने थिएन। एकपटक फर्मल ड्रेसअप गर्ने की कस्तो भनेर सोध्नलाई फोनै गरेँ।
'जस्तो ड्रेसअप गर्दा नि हुन्छ' हाँसेर म माथि कृतज्ञता देखाउदै 'अबाउट टु विडिएफओलाई म पढ्दै गरेको मान्छेले के सम्झाउनुपर्छ र' भन्दै म बिजी छु अहिले राखिदिन्छु भनेर मलाई कन्फ्युजनमा पारेर छाडिदिइ। केटीहरू यो मामिलामा साह्रै निर्दयी हुन्छन्। पसलमा केही किन्नुपर्दा टाइम उस्तै धेरै लगाउँछन्, र केही किनेपछि पनि भित्रैदेखि अझ खुसी हुँदैनन्।
पुसको जाडोले साँझ र रातमा अड्डा जमाएपनि घाममा भने गर्मी हुने गरी पसिना निकाली दिन्थ्यो। पाँच बज्नै लागेको थियो। फोन आयो 'बाइक स्टार्ट गरेर अलिकति घरबाट नदेखिने ठाउँमा बस, म हिडेर आउँछु।'
हुन्छको भावमा हस् हस् भन्दै बाइक स्टार्ट गरेर निस्किएँ। साविकको दूरीभन्दा अलिकति टाढा पुगेछु, म बाइक र दिव्य पैदल एकपटकसँगै निस्केका थियौँ। बाटोमा कुर्नु बाहेक विकल्प थिएन, लुकिङ ग्लासमा हेरेर बस्दै थिएँ। अब्जेट इन ग्लास लुक्स क्लोजर देन दे अपिएर, हामी नजिक भएर पनि टाढा थियौँ, केही वर्ष अगाडि नजिक भएका हामी समयको बाटोमा हिँड्दै गर्दा दुई किनार भएका हामी समयले फेरि एकै ठाउँमा राखिदिएको थियो।
वर्षौ अगाडि बुनेका सपना, कोरिएको गित सम्झिन मन थियो। यत्तिकैमा पछाडिबाट कति टाढा रोकेको भन्दा झसंग भएको थिएँ। 'कहाँ जाने हो?' मैले सोधेको थिएँ।
'स्टेशन, चिप्लेढुङ्गा' सर्ट एन्सर रिप्लाई।
'ओके' भनेर हुइक्याएँ।
१० मिनेटको बाटो ६० को रफ्तार, पछाडिबाट केही बोलेको सुनेको थिएँ, हुम्! उम्! हो र! ए! धन्न सबै सवालको उत्तर सुहाउँदो थियो। एक एक गर्दै सबैसँग परिचय गराइदिइ। अधिकांश भने केही वर्ष अगाडि सुनेका नाम, केही नयाँ। केक काट्ने बन्दोबस्त भयो, पहिलो केके सबैले मलाई खुवाउन जोड दिए। पब्लिक डिमान्ड अनुसार नै भयो कामहरू।
फोटो खिच्ने र खिचाउने, सँगैको साथीहरू हुन्थे त जिस्क्याउन बाँकी राख्दैनथे। तर पनि माहोल फरक थियो, दिव्या तिर हेर्दै हाँस्दै थिएँ। सायद मलाई पहिलेदेखि यी केटीहरुले चिनेका हुन्थे त के बाँकी राख्थे होलान् र। फर्कने बेला सबैसँग बाईबाई भन्दासम्म दिव्या यस्ति छ र त्यस्ति छ भन्दै मलाई भन्दै थिए।
छुटिएर हामी महेन्द्रपुल पुग्दा पछाडिबाट 'आशिष!' केही सेकेन्डको पजपछि 'सुनन, घुम्न जाम न' भनिन्।
मैले केही नबोली पृथ्वीचोक तिर बाइक मोडेर हल्लन चोक तिरको बाटो तिर दिशा दिएँ। पुस महिनाको जाडोसँग जुधिरहेको लेकसाइडको रौनक भिन्न थियो, होटलहरू पसलहरू सबै खुल्लै थिए। बाइक पार्क गरेर हामी पामे जाने बाटो तिरको भिरालो भागमा गएर बसेका थियौँ।
दुबोको मुलायम गलैँचा अनि साथमा दिव्या, हामी मात्र थिएनौँ त्यहाँ, अरू पनि त्यसरी नै तालको सुन्दरता नियाल्दै थिए। हामीभन्दा अलिक छेवैमा रहेका विदेशी जोडी अल्लि रोमान्टिक हुँदै थिए। त्यति बेलासम्म दुवैजना एक शब्द पनि ननिकाली बसिरहेका थियौँ।
मधिराको मातमा ती अलिकति हिंस्रक प्रवृत्ति देखाई रहेका थिए। त्यो देखेर डराएकी दिव्या, टाँसिएर हात कस्सिएर समात्दै थिइ। एकैछिन त समयको फाइदा उठाउ न सोचेको थिएँ, झन्-झन् कस्सिएर नजिक नजिक हुँदै थिइ दिव्या।
'उठ, उता तिर जाम' हात नछोडी मसँगै उठी। १५ मिनेटको बसाइको पहिलो शब्द। हामी सँगै हिडेर तालबाराही जाने बाटो तिर तालको किनारैकिनार हिडेर पाटीमा बस्यौँ। सँगै हात समाइ केही हिडेपछि बल्ल हात हटाएकी थिइ। प्रति उत्तरमा जिस्क्याएर किन छुटाएको भनेर एउटा आँखा दिव्य तिर हेर्दै झिम्क्याइदिएँ।
'ए त्यसो?' भनेर झनै कस्सिएर देब्रे हात जानाजानी समातेर हिडेकी थिइ। नजिकै चटपटे बेच्दै गरेको देखेर चटपट खाउ है भनेर सँगै एउटै चम्चाले पालैपालो खाएका थियौँ। हामी निरन्तर रुपमा च्याट भिडियो कल गरिरहेका हुन्थ्यौँ। उसलाई कतै जानुपर्दा प्रायः मैले पुर्याइदिने गर्थेँ।
चैतको अन्तिम साता, इन्डिपेन्डेन्ट फिल्डमा अन्नपूर्ण सर्किट ट्रेक अध्ययनको लागि फिल्डमै जानुपर्ने थियो। शुक्रबारको दिन थियो, अलिअलि सामान किन्नु थियो। दिव्यालाई फोन गरेर 'पर्सीदेखि फिल्डमा जानुछ। १५ दिनपछि फर्किन्छु, केही किन्नु छ। तीन बजे चिप्लेढुङ्गा' भनेर फोन काटिदिएको थिएँ।
केही महिनादेखि हामी सँगै थियौँ। एक पटक बिहान उसलाई कतै जानु रैछ, शनिबारको दिन फोन नउठेपछि कसैले नदेख्ने गरी कोठा भित्रै छिरेकी थिइ। बाहिरबाट ढोका खोल्न मिल्ने थियो या भनौँ ट्रिक थियो जुन बारे मैले भनेको थिएँ।
रातका जुठा भाडा उठ्दा सफा र टेबलमा चिया रेडी थियो। अनि कुर्सीमा बसेर म सुतेको भिडिओ खिच्दै थिइ दिव्या। 'ह्या के गरेको यस्तो? बन्द गर' भन्दै थिएँ, ऊ भने रोकिएकै थिइन। एकछिनमा हातबाट मोबाइल खोसेर हात माथि तन्काइ राखेको थिएँ।
ऊ पनि प्रतिकार गर्नमा कम थिइन, झम्टि हालि। म ओछयानमा लडेँ, दिव्या म माथि। मेरो शरीर माथि उसको, हलिउड र बलिउडका ती कयौँ फिल्महरुका दृश्य र त्यो रियालिटी, फरक अनि भिन्न!