तपाईलाई के थाहा!
दमको उपचार गर्न दश दिन अस्पताल बस्नु भएपछि,
बाबाको डिस्चार्ज गरेर घर पुर्याउन नपाउदै
तपाईलाई भर्ना गर्नुपर्ने खबर मेरो कानसम्म पुग्ने बित्तिकै
म यहाँ हाजिर भएकी छु।
तपाईलाई के थाहा!
टाउको दुखेर
आज मेरा लागि चिया पकाइदिन नसकेकी
मेरी आमालाई
एक गिलास पानी ताताएर पनि नखुवाइकनै,
हजुरलाई औषधी खुवाउने समय भयो भनेर
म यहाँ हाजिर भएकी छु।
तपाईलाई के थाहा!
दाइको जन्मदिनको पार्टीमा
निभाउनका लागि बालिएको मैनबत्ती ननिभ्दै,
बाड्नका लागि काटेको केक बाडेर नसकिदै,
तपाईको बोतलको औषधी सकियो कि भनेर
म यहाँ हाजिर भएकी छु।
तपाईलाई के थाहा!
सानी बहिनीसँग जिस्किदै बसिरहँदा,
मैले चिमोटिदिएपछि रोएकी ऊ नफुल्लिइसक्दै,
तपाईलाई दोस्रो इन्जेक्सन लगाउने समय भयो कि भनेर
म यहाँ हाजिर भएकी छु।
तपाईलाई के थाहा!
कान्छो भाइ पढ्न भनेर विदेश जाने दिन,
एयरपोर्टबाट बिदाइको हात हल्लाइरहेकै बेला,
तपाईलाई डिस्चार्ज गर्ने समय भयो भन्ने सम्झेर,
म यहाँ हाजिर भएकी छु।
तपाई कति सजिलै भनिदिनुहुन्छ-
यी नर्सहरुको मन कति रुखो हुन्छ।
तर तपाई किन बुझ्नुहुन्न,
हेर्दा रुखो देखिने त्यै बालुवा हो,
तर सबैभन्दा धेरै पानी बालुवामै सोसिन्छ।