'सामाजिक संजालमा तिम्रो कुनै गतिबिधि देखिन्न वर्षौँदेखि, पार्टी भोजमा आउँदैन तिमी, हुदाँ-हुदाँ यारदोस्तका बीच पनि तिमी उपस्थित हुँदैनौ आजकाल। हामीबाट कुनै गल्ती भयो कि अन्जानमा, चित्त दुखायौँ कि तिम्रो?' मैले सोधेँ।
उसले आफ्नो चारित्रिक गुरुगम्भीर शैलीमा नै जवाफ दिन सुरु गर्यो।
'तिमीलाई थाहा नै छ, म कुनै असामाजिक तत्व होइन। म मानिसहरुलाई प्रेम गर्दछु। म उनीहरुको जीवनमा चासो राख्दछु। सामाजिक संजालसँगको मेरो अनुभव फेसबुकभन्दा अघिदेखिको हो, हाइभाइफ पालाको।
यो भर्चुअल दुनियाँमा मैले केही नयाँ मित्रहरु पनि बनाएँ र केही सामान्य परिचितहरुसँग दोस्ती झाँगिन पनि गयो। फेसबुक सुरुआती वर्षहरुमा मेरो लागि मित्र चौतारी थियो। कालान्तरमा यो बजार भयो। मलाई भर्चुअल वा भौतिक बजारहरुमा खासै रुची छैन। त्यसैले फेसबकमा मेरो बास छैन।
अनि तिमीले देखेकै छौ मेरा वषौँ, दशकौँ पुराना ल्याङ्फ्याङ्गे कपडाहरु। म भुइमा सुत्ने गरेको। यो सहरका गल्लीहरु हिँडेरे धाउने गरेको, मसँग कुनै सवारीधनी प्रमाणपत्र नरहेको। मेरो फुटेको फोन। मेरो घरको टिभी रहित भित्ताहरु। सुख्खारोटी र तरकारीको मेरो खाजा।
म मांसहार गर्दिनँ, शूराशून्य जस्तै छ मेरो जीवन। अलंकार मलाई बोझ लाग्दछ, बोल्नमा पनि, शरीरमा भिर्नमा पनि। सरस्वतीको साधना मैले गरेँ, लक्ष्मीले मलाई साथ दिइनन् भन्दा हुन्छ। मौनतामा होला तर दरिद्रतामा अल्झेको पनि मेरो जीवन होइन।
ज्ञान-पुस्तक, अध्यात्म र संगीतप्रति मेरो गहिरो अनुराग छ। यी चीजहरु अचेल लगभग निशुल्क पाइन्छन् इन्टरनेटमा र मैले यिनीहरुको लागि बजार धाउन पनि पर्दैन। अब तिमी नै भन, के म कारोबारी सहर बजारको लागि काम लाग्ने मानिस हुँ?
मित्र तिमी पार्टी भोजको कुरा गर्दै थियो। म सारा प्राणी जगतको हित चाहन्छु। सर्वजन सुखाय, सर्वजन हिताय, मेरो मूल मन्त्र हो। मलाई आफन्त, साथीभाइले बोलाउँदा, सम्झिँदा अवश्य खुसी लाग्छ। तर तिमीलाई थाहा नै छ, म झुन्ड मन पराउँदिनँ। मलाई नसोध किन? म यस्तै छु।
जाँघे र टिसर्ट लगाएर जान नपाइने, निस्सास्वाउने परिधान म लगाउन असर्मथ छु। अझ त्योभन्दा महत्वपूर्ण, मलाई आजभोलि झुन्डमा हुने गतिबिधि र गफहरुमा रमाइलो लाग्न छाडेको छ। उमेर, बैराग्य, वा यस्तै त रैछ नि भन्ने लागेर हो वा अरु केही दैव जानुन्, मलाई थाहा भएन।
र मेरा स्वजनहरु कुनै त्यस्तो समस्यामा छैनन् जहाँ मेरो उपस्थितिको खाँचो होस्। उनीहरु सबै ठिकठिकै सम्पन्न छन् अनि आफ्नो सुख, रमाइलोमा सामेल भइदेओस् भन्ने पनि चाहान्छन्। सुखमा त यसै पनि राम्रै छ त, दुखमा म देखिइन भने भन्नु, म भन्छु।
उनीहरुको दुखमा म सामेल भएकै छु जस्तो मलाई लाग्दछ। मेरा यार दोस्तहरु एकदम थोरै छन् तर मेरा लागी धेरै नै प्रिय छन्। तर पनि अपिरग्रह मेरो हालको मनस्थिति हो, वियोग जीवनको यर्थाथता हो। त्यसैले, म मित्रहरु जम्मा गर्दै पनि हिँड्दिनँ र जो मेरो जीवनबाट गुमे, उनीहरुलाई लिएर म खास दुखी पनि छैन।'
'मैले पुराना दिनहरुमा तिमी पुस्तकालय निकै धाएको, किताबहरु मागेर पढेको, मोबाइल, कम्प्युटरमा रातरात भर बसेर पढ्दा आँखा बिगारेको पनि सत्य हो। तर तिमी केही लेख्दैनौँ, बोल्दैनौँ, किन? केही त देखिनुपर्ने हो, सुनिनु पर्ने हो, चर्चा हुनु पर्ने हो नि होइन र! कि मैले गलत प्रश्न सोधेँ?'
'तिमीले यो प्रश्न सोधेर कति गुन लाउँदैछौ, सायद तिमीलाई थाहा पनि छैन। मलाई कसैले यति चासो र चिन्ताको साथ यसरी कहिले सोधेको थिएन।
हो, साहित्य, दर्शन, समाजशास्त्र, विज्ञान, मनोविज्ञान, संगीत, इतिहास, राजनीति, धर्मशास्त्रको र जीवनको थोर बहुत अध्धयन मैले जरुर गरेको छु। सानै उमेरमा, मैले मार्क्सवादको गहिरो अध्धयन गरेको थिएँ। मार्क्सवादको पण्डित पो हुँन्थे कि वा कमरेड चे।
तर सोचेँ जस्तो हुन्न जीवन भने जस्तै, समयक्रममा, मार्क्सवाद पनि मेरो प्राथमिकतामा पर्न छाड्यो। मै परिवर्तन भएँ कि, मार्क्सवाद नै असान्दर्भिक भयो, मलाई थाहा छैन। त्यसै पनि अब कुनै खास वादको समय रहेन। जे वादले जगतको भलो हुन्छ अब म त्यही वादी। सायद शास्त्रीय मतधारीहरुको अगाडि अब म अवसरवादी।
कुनैबेला मलाई सबैकुरा जानेको छु जस्तो लाग्थ्यो, त्यसपछि धेरै समय मलाई केही पनि थाहा छैन जस्तो लागीरह्यो। हिजोआज केही कुराको बारेमा केही थाहा जस्तो लाग्छ तर म यी विषयहरुको विज्ञ होइन। त्यसैले, मैले नलेखेकै राम्रो, मानिसहरुले मलाई नपढेकै राम्रो। म नबोलेकै राम्रो, मानिसहरुले मलाई नसुनेकै राम्रो।
तिमीलाई थाहा नै छ, म धुरन्धर साहित्य अनुरागी थिएँ। ठाकुर, गोर्की, टोल्सटोय, चेखोब, देवकोटा, शेक्सपियर, बोर्डसओर्थ, आदि सबै मैले पढेको छु। साहित्यले मलाई भिन्न भिन्न समय, समाज, संकथन, र पात्र, कुपात्रहरु संग परिचित गरायो। मलाई म बाँचेको परिवेशको बोध पनि राम्रोसँग गरायो।
कतै बीचमा, सबै साहित्य प्रेम, यौन र दुखान्तको नालीबेली मात्रै रहेछ भन्ने महशुस भयो। आफूलाई एक हदसम्म बुझ्न र असल मान्छे बनाउन त सहयोग भयो तर यसमा जीवनका उच्चतम प्रश्नहरुको उत्तर छैन रहेछ भन्ने लाग्यो। दिनमा तीन वटासम्म हेर्थेँ तर फिल्मसँग पनि मेरो यस्तै अनुभव रह्यो। साहित्य र चलचित्रसँग मेरो यसरी अलगाव भयो।
आजभोलि म राग, भजनहरु सुनीरहेको छु। पहिला बिटल्स, लेड जेप्पेलिन, पिङ्क फ्लोइड, एसी डिसी, नेपाली रक र सबै खालका हिन्दी, नेपाली गीत सुनेकै हो। नाना प्रकारका १३,००० गानहरुको मेरो निजी संग्रह थियो। रक स्टार पो बन्नु पर्छ कि जस्तो पनि लागेकै हो।
तिमीले देखेकै थियो म संगीत शिक्षालय जाने गरेको, पहिले नै मैले जानेको गितार बादन शिल्प बढाउन। नोटेशन अलिअलि जान्दै थिएँ। भगवानको अरु नै इच्छा रहेछ, संगीतसाधना पनि अशृंखल भयो। क्रमिक रुपमा संगीतमा मेरा स्वादहरु परिवर्तन भए। यसरी मूलधार संगीतमा पनि म सुकुम्बासी भएँ।
ऋषी बाल्मिकीलाई कसैले सोध्यो रे रामायण किन लेख्नु भयो भनेर। उनले जवाफमा भने 'स्वान्त सुखाय' अर्थात् आफ्नै आनन्दका लागि। ज्ञान आर्जन मेरो अस्तित्वको प्रमुख ध्यये हो जस्तो लाग्छ। यसमा मलाई बहुत आनन्द पनि मिल्दछ र म पढ्छु पनि अल ज्यादा नै।
तर धेरै पढ्नेले लेख्नु पर्छ भन्ने पनि छैन। महत्वपूर्ण कुरा, बुद्ध, रमणको अगाडि मेरो के नूतन सन्देश हुन सक्छ। वेदान्तको सामु मेरो के नयाँ ज्ञान हुन सक्छ। त्यसैले म पढ्छु, प्रसार–सञ्चार गर्नमा मलाई रुची छैन।'
'त्यसो भए, अब तिमीलाई हामीले कसरी बुझ्ने? तिमीलाई हामी पूरै नयाँ रुपमा पो देख्न पाउँने हौँ कि?'
'मेरो आग्रह यो छ कि तिमी मलाई बुझ्ने कोशिश नगर। मैले आफैलाई बुझेको छैन, तिमी मलाई कसरी बुझौला। मेरो त रंग पानीको, मेरो त बाटो नदीको। म भोलि कुनै नयाँ रंगमा मिलूँला, म भोलि कतै भट्की हिँडुला। अथवा म पोखरी जस्तै जमूँला। आत्मजीविहरुको के भर हुन्छ?
तरपनि म तिमीलाई यति अहिले नै भन्दिन सक्छु, ममा एकान्तबासको तीव्र इच्छा जागृत भैरहेको छ। कुनै बन, अरण्यकमा ध्यानस्थ जीवन बिताउँ, योग, परमार्थ ज्ञानको साधना गरौँ। महापुरुषको जीवनवृति अपनाउँ। अन्तरआत्माको र्तीथाटनमा निस्किउँ। आत्मासाक्षात्कार गरुँ, अमृत पान गरुँ। सद्गुरुको समीपमा बसूँ। चरम शान्तिको आस्वादन गरुँ। यस्ता भावनाहरु प्रबल भैरहेको छन्।
लिलै छ जीवन। यति धेरै बन्धनहरु छन्। पूरा गरिनु पर्ने दायित्वहरु छन्। लौकिक–अलौकिक शक्तिहरु हाबी छन्। भोलि के हुन्छ, म कसरी भन्न सक्छु र! न त आज म जे छु, त्यो सबै मैले गरेर, मैले चाहेर मात्रै भएको पनि होइन। आज म जे होस भन्ने चाहन्छु, त्यो साकार हुन्छ भन्ने पनि छैन, हुनु पर्छ भन्ने पनि छैन।
आगे, भगवानको जो इच्छा।'