बुढा नेताबाट बडो दिक्क भएका युवा नेताहरुले आवश्यक सरसल्लाह गर्ने उद्देश्यले बैठक राखे। युवा नेता मात्र उपस्थित भएको भेलामा धेरै समयसम्म छलफल भयो।
‘बुढाहरू जे पायो त्यही बोल्न थाले। यी होस हराएका बुढाहरूले हामीलाई त बिगारे बिगारे, देशै समेत बिगार्ने हुन् कि भन्ने डर लाग्न थाल्यो। अब त केही न केही गर्नै पर्ने भयो। हामी सबै आँटिलो हुनुपर्छ।’
सबैले आ-आफ्नो अभिमत राखे। सबैको समवेशी दुखेसो थियो 'यिनीहरुको झोला बोक्दा बोक्दै आफै बुढो हुन थालियो।'
एकजना धेरै झोला फटाएका पाका युवकले भने, 'म त झुत्रो भइसकेँ। तपाईहरुसँग कुनै उपाय छ भने निकाल्नुहोस्। म साथ दिनेछु।' सबैले मुखामुख मात्र गरिरहे। गुनासो सबैसँग थियो, तर उपाय कसैसँग थिएन।
कोही नबोलेपछि तिनै ‘जीर्ण युवा नेता’ ले भने 'भित्री भेलामा जति फुर्नु छ फुर्नुहोस्। जति गुनासो गर्नु छ गर्नुहोस्। किन्तु चीलले छोपेर राखेको सुँगाले केही गर्न सक्दैन। चील शान्त नभइ सुँगा आफ्नो बोली बोल्दैन। चील शान्त हुन तयार छैन।
यो राजनीति हो साथी! कसैको प्रिय छु भनेर विश्वस्त हुनुको पनि प्रयोजन छैन। रातभरी उज्यालो दिने दियोलाई बिहान सूर्योदय हुनासाथ निभाए जस्तो निभाइदिन्छन् यहाँ। हाम्रो यो मिटिङ केवल ‘खिसियानी बिल्ली थमरा नोचे’ भने जस्तो मात्र हो।
यहाँ युवा नेताप्रति कुनै उच्चपदस्थ नेता भगवान कृष्ण जस्तो 'अकारण करुण' हुनेवाला छैन। करुणाले अभिभूत हुन कारण चाहिन्छ। त्यो कारणबारे यहाँहरु अवगत नै हुनुहुन्छ।'
राणा शासनको समयमा पार्टी गठन गर्नेहरु सबै युवावस्थामा थिए। उनीहरुमा नेतृत्व गर्ने आँट र खतरा मोल्ने हिम्मत थियो। पञ्चायती व्यवस्थाको विरुद्धमा लाग्ने युवाहरु जेल परे। तत्कालीन सन्दर्भमा जेल पर्नु नै ठूलो नेता हुनुको योग्यता थियो। एउटै मामिलामा जेल पर्नेहरु कोही भाग्यमानी निस्के भने कोही अभागी। कोही इतिहासको निर्मम गर्तमा विलिन भए भने कतिले अझै त्यही योग्यताको साँवा-ब्याज असूल गरिरहेका छन्।
पञ्चायत व्यवस्थाभित्र रहेर राजनीति गर्ने युवाको प्रमुख योग्यता हुन्थ्यो व्यवस्था विरोधीको प्रखर प्रतिकार गर्नु र सातो लिनु। राजाको अनुग्रहले पञ्चायती नेता बनेका ‘चनाखा’ हरुले पञ्चायतका पद खाए र पञ्चायत समाप्त पार्ने कारक समेत बने। ती चलाख मध्येका केहीले बहुदलीय पद पनि खाए। एकाधले अझै खाँदै छन्।
पञ्चायती नेता बन्न दरबारको अनुकम्पा आवश्यक पर्दथ्यो। लोकतान्त्रिक नेता बन्न नेताको अनुकम्पा चाहिन्छ। अनुकम्पा हासिल गर्न नसक्ने युवा जतिसुकै योग्य भएता पनि भीडमा हराउँछ। परिणामत: राजनीतिक युवा कुनै न कुनै गुटको नेताको फेरो समात्न अभिशप्त हुन्छ। यस अवस्थामा उसको मौलिक सोच, योग्यता, क्षेमता र हिम्मत त्यही नेतारुपी समुद्रमा लीन हुन पुग्दछ। उसको अस्तित्व नेताको अस्तित्वमा विलय हुन्छ।
राजनीतिक धूर्तहरु अरुले रोपेको वृक्षको फल खान निकै सिपालु हुन्छन्। बताउन सक्ने बनाउन नसक्ने नेताहरुको अनुगमन गर्न बाध्य गणतान्त्रिक युवा नेता देखेर जनतामा झनै ठगिएको महशुस भएको छ। आफ्नो वर्चस्व रहेको राजनीतिक कार्यक्रममा ‘असल राजनीतिज्ञले मात्र असल समाज निर्माण गर्न सक्दछ’ भनेर ताली खाने युवा नेता ठूलो नेता उपस्थित कार्यक्रममा भाषण गर्दा गाली खाने डरले उसैको प्रशंसा गरेर धन्य हुन्छ।
प्रमादरुपी मदिराले लठ्ठ मालिकले जेसुकै भनेता पनि बचाउ र प्रशंसा गर्न निपूर्ण समर्थकहरुले मालिकलाई झनै लठ्याइदिन्छन्। भनिन्छ, फ्रान्समा लुई सोह्रौँको समयमा एकजना गभर्नरले भोका जनतालाई 'खेतमा लहलह घाँस पलाएको छ, त्यहीं गएर मजाले चर्नु' भनेको सुनेर उसका निकटस्थहरु खुब खुसी भएका थिए।
सायद त्यो खुसीमा डर पनि मिसिएको थियो। अरस्तुले भनेका छन्, ‘कसैले पनि त्यो व्यक्तिलाई प्रेम गर्दैन, जोसँग ऊ आफै डराउछ।’ हाम्रा युवा नेताको नेताप्रेम र भक्तिमा डरको अंश कति छ देख्न नसके पनि बुझ्न सकिन्छ।
अमेरिकी राष्ट्रपति हार्बर्ट हुबरले भनेका छन्, 'वरिष्ठले युद्धको घोषणा मात्र गर्दछ। लड्ने र मर्ने त युवा नै हो।' राजनीतिको मैदान पनि युद्धमैदानभन्दा कम छैन। झण्डा उचाल्ने, डण्डा चलाउने, नारा लगाउने, पुत्ला जलाउने, ढुङ्गा हान्ने र बारबन्देज भाच्ने कामको जिम्मा युवाको काँधमा रहने गर्दछ।
यतिका कर्मको नेतृत्व गरेर ‘ठूलो’ नेताको सामुन्ने पुगेको युवानेताको हालत दक्ष प्रजापतिको महायज्ञ विध्वंश गरेर फर्केका वीरभद्र प्रभृति महादेवका अनुचरहरुको जस्तो हुन पुग्दछ।
शासकवर्ग चाहे सरकारी होस् या दलीय नै किन नहोस्, उसमा अनिवार्य रुपमा सत्तारुढ चरित्र हुन्छ। सत्तारुढ चरित्रले भौतिक वस्तु मात्र नभइ बुद्धिमाथि समेत शासन गर्दछ। यहाँ प्रश्न उमेरको होइन। प्रश्नको सत्तामा छ या को पार्टीको नेतृत्वमा छ भन्ने पनि होइन। प्रश्न प्रवृत्ति, सोच र चिन्तनको हो। प्रश्न कहिल्यै नमेटिने सत्ता र शक्तिको आकांक्षा एवं कहिल्यै शान्त नहुने भोकको हो।
४० वर्षदेखि राजनीतिक परिदृश्यमा अविरल सक्रिय रहेका अनुर्वर पात्रहरु कोही व्यक्त र कोही सांकेतिक रुपमा भनिरहेछन् ‘म यस्तै रहनेछु र मेरो शीलस्वभाव यस्तै रहनेछ।’ उनीहरु ‘म म हुँ, म परिवर्तन हुन चाहन्न’ भनेर प्रष्ट रुपमा अभिव्यक्त भइरहेका छन्। आफूलाई परिवर्तनगामी ठान्ने यो देशका युवा नेताले अब के गर्लान्? हेर्नु छ।
एउटा भनाइ छ- ‘बिरालाको घाँटीमा घन्टी बाध्ने कसले?’ यो त भयो मुसा र बिरालाको कथा। तर जब बिरालो जब्बर हुन्छ, अरु अनेक बिराला मिलेर पनि घन्टी बाध्न नसक्ने रहेछन्। आफ्नो अतीतलाई याद गर्न नचाहने, अतीतसँग घृणा गर्ने र हिजोको औकात बिर्सनेसँग कसको के लाग्छ? म्याद सकिएको पार्टी कमिटीमा मनोनयन पाउँदा उत्फुल्ल हुँदै सामाजिक सन्जालमा फोटा सजाएर हार्दिक बधाइको आशा गर्ने ‘युवानेता’ सँग त त्यही घन्टी पनि छैन।
आन्दोलन गर्दा मानिसको मथिंगल हल्लाउने गरी भाषण गर्ने र ‘यसले केही गर्छ’ भनेर भरोसा दिलाउने युवक अहिले विवश छ। ऊ जान्दछ, तर ‘जान्ने’ भइने डर छ। उसलाई थाहा छ, धेरै जान्ने हुन थालियो भने थन्किनु पर्नेछ। उसलाई यो पनि थाहा छ, कसैगरी उसको थान्को लाग्यो भने उसको ठाउँमा आएर नेहोरा गर्न तम्तयार अर्को जमात लाइनमा खडा छ। सौ(दु)भाग्यवश अहिले ‘आयाराम गयाराम’ गर्न पनि सहज छैन। असक्षम वृद्धभन्दा आजको अकर्मण्य युवक भविष्यको लागि खतरनाक हुनेछ।
राजनीति शक्तिको लागि संघर्ष हो। जतिसुकै आदर्शका कुरा गरे तापनि राजनीतिमा सहभागी हुने भनेको सत्ता प्राप्तिकै लागि हो। सबैले राजनीति गर्दैनन्। राजनीति नगर्ने समेत सबैलाई आफ्नो विचारमा ढालेर आफ्नो अनुयायी बनाउन सक्ने युवा नै सफल हुन्छ। राजनीतिज्ञले समाजमा छरिएर रहेका विविध विचाहरुलाई आफ्नो विचारमा समेटेर एकाकार बनाउन सफल भयो भने समाज स्थिर हुन्छ। तर अहिले हाम्रो समाजमा त्यस्तो राजनीति गर्ने युवा नेतृत्व छैन।
मूलधारमा आबद्ध युवा नेताहरु कोही अमुक ‘दाइ’ र कोही अमुक कमरेडको छात्रछायामा टाक्सिएका छन्। युवा नेताको हालत सानो खोलामा पौडी खेल्दा बग्दै बग्दै ठूलो नदीमा पुगेको सानो माछाको जस्तो छ। ठूलो नदीमा अन्य खोलाबाट बगेर आएका ससाना माछा पनि देख्छ उसले।
त्यहाँ कुन बेला कसले निल्ने हो भनेर त्रसित हुन्छ ऊ। मन्त्री नहुँदासम्म केकेन गर्ला भनेर अपेक्षा गरिएको युवा नेता जब मन्त्री बन्दछ, जागिर जोगाउनै गाह्रो! के बोल्न हुने र के बोल्न नहुने हो कुनै मेसो छैन। सुरुमा आक्रामक, बीचमा रक्षात्मक र अन्त्यमा भ्रमात्मक हुन अभिशप्त बबुराहरु!
यो अवस्थामा विचारधारा एक भ्रमपूर्ण चेतनामा परिणत हुन पुग्दछ। सत्तारुपी महासमुद्रमा प्रवेश गरेपछि ऊ पनि त्यहाँका अन्य पात्रको सगोत्री हुन पुग्दछ। अन्य स-साना दलमा समाहित भएका र असंगठित समूहका युवा ‘नेता’ हरु विद्यमान परिस्थितिको निन्दामा सीमित छन्। निन्दा गर्दा ताली त प्रशस्त पाइन्छ, तर त्यसले विचारको निर्माण गर्न सक्दैन भन्ने कुरा बुझेका छैनन्।
तीस/चालीस वर्षसम्म अविरल पार्टीका सभापति भएका, चार पटक प्रधानमन्त्री भएका र वर्षौंअघि पार्टी र सरकारको मुखिया भइसकेका महशयहरुको तृष्णा र आसक्ति देख्दा सबैले आश्चर्य मान्दछन्। परन्तु ती पात्रलाई अझै पनि केही झरिहाल्छ कि भन्ने लालसाले छाडेको पाइदैन।
कुनै समयका मूर्धन्यहरु पाए सभापति नपाए निगाहपति भएर पनि टाँसो लागिरहनुमै आनन्द लिइरहेछन्। कदाचित यस्ता मानिसहरु शक्तिमा आउन सफल भए भने देश असफल हुनेछ। ‘राज्यलक्ष्मीको भोगको लालच कति बलवती हुने रहेछ भनेर बुझ्न मन लागे नेपाल जानू’ भन्ने उक्ति प्रचलित हुन मात्र बाँकी छ अब।
कतिपय नेपाली युवा राजनीतिज्ञहरुमा रोमान्टिक र जादुगरी परिवर्तनको विश्वास थियो। केहीमा अझै पनि ठूलाठूला तिलस्म खडा गर्ने स्कूलिङको प्रभाव छ। कुरा वायुपंखी र चाल चिप्लेकिरा जस्तो भएको छ हाम्रो राजनीति। जनविरोधी काम गरे तापनि अपार जनप्रियताको कामना गर्ने नेतृत्वको छात्रछायामा पालित पोषित युवाको मनस्थिति दिग्भ्रमित हुनु स्वाभाविकै हो।
नेपालको राजनीति यति अहंकारी, गफाडी र मर्यादाहीन कहिल्यै भएको थिएन। यस्तो दुर्लभ अवस्थाप्रति युवा राजनीतिज्ञहरुको उदासीनता र असंवेदनशीलता भविष्यका लागि खतरनाक छ। शक्तिको उन्मादमा मानिसले केही भन्न बाँकी राख्दैन। नेपोलियनले भनेका थिए 'यदि आकाशै खस्न खोज्यो भने पनि म भालाको नोकले रोक्नेछु।'
लुई चौधौंले उन्मादमा भनेका थिए, 'म जति ठूलो कोही छैन। म नै राज्य हुँ, म नै सबैथोक हुँ।' यस्तै कुरालाई लिएर नेपोलियनका सिपाहीले जस्तो ‘हो हो’ भनेर मग्न हुन थालियो भने के होला?
पुरानो ल्याटिन कहावत छ ‘परमात्मा जसलाई नष्ट गर्न चाहन्छ, सबैभन्दा पहिले उसको बुद्धि हरण गर्दछ।’ यसरी बुद्धि हरण भएको व्यक्तिले आफ्नो पतनको हरसम्भव उपाय आफै गर्दछ। अरुले कुनै पनि सहयोग गर्नु पर्दैन। तर विडम्बना! यसरी बुद्धि हरण हुने व्यक्ति देशको राजनीतिको केन्द्रबिन्दुमा रहेका पार्टीको हर्ताकर्ता या सरकारी उच्च ओहोदामा रहेछ भने देशले पनि दुष्परिणाम भोग्नु अवश्यम्भावी छ।
असंगठित, असहाय र कमजोर युवा राजनीतिकर्मी भएको देशको भविष्य भरोसालाग्दो हुँदैन। राजनीति नै जीवननिर्वाहको माध्यम बन्न गयो भने युवा नेतालाई चाहेर पनि चोखो बस्न कठिन हुन्छ। राजनीति गर्ने युवावर्ग विलासी र आडम्बरपूर्ण जीवनतर्फ आकर्षित हुन पुग्यो भने समाजमा नराम्रो प्रभाव पर्दछ।
राजनीति गर्नेले केही पनि गुमाउन तयार नहुने हो भने राष्ट्रलाई वित्यास पर्नु निश्चित छ। राजनीति खाइखेल्ने पेशा बन्न गयो भने भावी पुस्तामा राजनीति प्रति वितृष्णा पैदा हुनेछ। असल युवाहरु राजनीतिप्रति उदासीन हुनु भनेको खराब मानिसलाई मार्ग प्रशस्त गर्नु हो।
भोल्टेयरले चौरासी वर्षको उमेरमा निधन हुनुअघि भनेका थिए 'युवकहरु बडो भाग्यमानी छन्। उनीहरुले भविष्यमा धेरै ठूलाठूला घटना देख्न पाउनेछन्।' देख्न त धेरै नै पाइनेछ, तर कस्ता दिन देख्न पाइने होला?
असल नेता त्यो हो, जो नेतृत्व गर्न राजनीतिमा आउँछ। झोला बोक्न र अनुग्रहको फल खान आको नेता पदले ठूलै भए पनि दिल र दिमागले हुन्।
युवाहरुलाई- दाँत झरेर मात्र हैन, बुद्धि बिग्रो भने सिंह पनि घास चर्न जान्छ।