तिमीले सोचेजस्तो
भव्य छैन जिन्दगी
तिमीले दिनरात हेरिरहने
जुकरबर्गले देख्दैन
जीवनका खाल्डाखुल्डीहरु
तिमीले बेला मौकामा
निम्त्याउने पार्टीहरुमा
देखिने उज्यालो तनले
र तिमीसँगको छोटो मिठो कुराले
देखाउँदैन जिन्दगीको अप्ठ्यारो।
बेला मैकामा तिमी भन्छौ नि
अलि 'चलाख' बन न
नबनेको पनि होइन
इमानको साथ नछोडेसम्म
फुलेन कुनै समृद्धिको फूल
निमुखाको घाँटी नअठ्याएसम्म
फुटेन कतै सम्पन्नताको मूल
बेइमानी र कपट अंगालेर
'व्यालेन्स' मा केही शून्यहरु थप्न
इमान अनि स्वाभिमानले
मेरो मष्तिष्कलाई हप्काइरहे
मेरा हातहरुलाई अठ्याइरहे।
फलस्वरूप तिमी र म बीचको
समृद्धिको ग्राफ टाढिदै गयो
र त आजको दिनमा
तिमीलाई लाखौँले चिन्छन्
र मलाई केवल म आफूले
तर पनि लाग्छ तिमी र ममा
कुनै फरक नै छैन
छ भने फरक यत्ति हो
रातको बाह्र बजे
तिमी खुइँय सुस्केरा हाल्दै
टाउकोमा हात राखेर
विस्तरामा थचक्क बसिरहँदा
म भने इमान र स्वाभिमानले
दिएको अकुत ब्याज खाएर
सन्तोष र सन्तुष्टिले भरिएको
मस्त निद्रा निदाइरहेको हुन्छु।