कविता
तिमीले हिँड्ने हरेक पथमा
गन्तव्यको कामना म गर्छु,
तिमीले भिड्ने हरेक युद्धमा
धारिला चोटको सामना म गर्छु,
यति भन्नु छ
फर्केर आऊ
तिम्रो पर्खाइमा म छु।
हावासँगै बग्छु तिम्रो छेउ
एकान्तमा तिम्रो मित्र म बन्छु,
स्पर्श गर मेरो साथ
ढुकढुकी भित्र म हुन्छु,
यति भन्नु छ
मलाई समाऊ
तिम्रो पर्खाइमा म छु।
बिहानीको सुनौलो किरण जस्तै
तिम्रो मायाको न्यानो अनुभव,
बेरंग निर्दोष पानी जस्तै
पारदर्शी तटस्थ तिम्रो स्वभाव,
यति भन्नु छ
जिन्दगीमा रमाऊ
जिन्दगी तिमीलाई पर्खिरहेछ
र...
तिम्रो पर्खाइमा म छु।