कविता
एक मानव,
अतृप्त चाहनाको भारी बोकी
थोरै उमंग अनि धैरै उत्साह सहित
मरुभूमिको सुख्खा हावामा रापिँदै
अनिश्चित यात्रामा पाइला चाल्दै छ।
मनमा अनेकन ताना बुन्दै
थोरै रहर अनि धेरै बाध्यताको पहाड बोकी
गन्तव्यहीन यात्रामा बेलगाम हिँड्ने हुलको पिछा गर्दै
गति लिन नसकेको मिलनको बाटोमा
जबर्जस्त अघि बढ्दैछ।
कहिले पातलिएर निलो गगनको सुन्दरता उजिल्याउने त
कहिले बाक्लिएर आकाशलाई घनघोर बनाउने
बेपर्वाह बादलको अर्थहीन साक्षी बसी
चारैतिर नयन घुमाउँदै,
अप्राकृतिक झैं देखिने घाम र पानीको दुर्लभ मिलनमा
स्यालको बिहेको काल्पनिक समारोह खोज्दै छ।
उत्सुकताले भरिएका उसका अविराम आँखाहरू
घरि बगरमा त घरी सगरमा डुल्दा,
एक अकल्पित दृश्य उसको सामु देखा पर्छ,
छरपस्टिएको बादल मडारिँदै एउटै गुजुल्टोमा परिणत हुन्छ,
अनि करेन्ट लागेको आभाष हुने गरी
तीव्र गतिमा चम्केको बिजुलीले उसलाई झस्काइदिन्छ ।
मनको उभारले बेचैनी बढाइरहँदा
क्षणभरमै बदलिएको मौसमले
उसका पाइलाहरू नियन्त्रित गराउँछन्,
यो परिदृश्य केवल उसैलाई तर्साउन हो या
प्राकृतिक सन्तुलनको नियमित प्रक्रिया हो ?
ऊ गम्भीर मुद्रामा सोच्न थाल्छ।
एकाएक त्यो कहालीलाग्दो दृश्य बदलिन्छ,
क्षितिजपारी डुब्न लागेको सूर्य हेरी टोलाउँछ,
सूर्यास्तका तेजहीन किरणले
छरपस्टिएका बादलका गुजुल्टाहरूलाई रङ्गाउँदा
ऊ पुलकित हुन्छ ।
रंगीन गुजुल्टालाई सप्तरङ्गी इन्द्रेणीसँग दाँज्दै,
आफ्नो प्रिय रंग खोज्न प्यासी नयन चारैतिर घुमाउँछ,
तर बिडम्वना ! उसको रंग त्यहाँ भेटिँदैन,
अनि खिन्न हुँदै लोलाएका नजर बगरतिर गिराउँछ ।
कल्पनाको चित्र धुमिल हुँदै गएको अनुभूत गर्छ,
विगतमा हराउँदै वर्तमानमा रमाउने उसको चाहनामा
बज्रपात भएको महशुस गर्छ,
गन्तव्यको खोजीमा घरी उत्तेजित त घरी शिथिल हुने
मनको बेपर्वाह वेगलाई
अदृश्य शक्तिले पछाडिबाट बेस्सरी तानेको महशुस गर्छ।
उसको मस्तिष्कमा तुफान चल्छ,
बेचैनी अझै बढ्छ,
वर्षौंदेखिको द्वन्द्व छिट्टै अन्त्य हुने
उसको अपेक्षामा तुषारापात भएको महशुस गर्छ ।
तर पनि उसको मनले हरेश खाँदैन,
प्यासी नयन ढाक्ने भारी परेला हठात् उघार्दै
मनमा आशाका किरण जगाउँदै
कलेटी परेको ओठमा मुस्कान भर्दै
धिमे गतिमा बलेको दीयोमा तेल थप्दै,
शान्तिका खातिर चालेका कदम गन्तव्यमा पुर्याउन
निरन्तर कदम अघि बढाउँछ।