प्रकृतिको एउटा सुन्दर अवतार म,
बाबा! म हजुरको छोरा हैन, छोरी हुँ र छोरी नै बन्न चाहन्छु,
हो, म केही बन्न चाहन्छु।
म एउटा प्रहरी बन्न चाहन्छु
हत्या हिंसा र बलात्कारको घटना नसुनेको दिनै हुँदैन
त्यस्तो घटना सुन्दा म प्रहरी बन्न चाहन्छु।
प्रहरी बनेर ती अपराधीहरुलाई त्यति नै कडा सजाय दिन चाहन्छु, जति कडा उनीहरुले एउटा अबोध बालकको सपना निचोडेका छन्
हो, म केही बन्न चाहन्छु।
म एउटा न्यायधिस बन्न चाहन्छु
रुपैयाँ र पैसामा बिक्ने न्यायको अन्त्य गर्न चाहन्छु
एउटा त्यस्तो न्याय जस्ले त्यो व्यक्तिको न्यायालय तर्फको विश्वासलाई अझ मजबूत गरोस्,
त्यस्तो न्याय निर्मलालाई दिन चाहन्छु, सम्झनालाई न्याय दिन चाहन्छु, रामराज थापालाई न्याय दिन चाहन्छु ,
ती हरेक नारी र पुरुषलाई न्याय दिन चाहन्छु, जो हाम्रो किताबी न्यायदेखि हार खाइरहेका छन्,
र भन्न चाहन्छु, न्याय जिउँदै छ, न्यायको आँखामा पट्टी भने पक्कै छ तर न्याय अझै जिउँदै छ
हो, म केही बन्न चाहन्छु।
म एउटा पहाड पर्वतारोही बन्न चाहन्छु
प्राकृतिक सुन्दरताले भरिपूर्ण मेरो देश, सगरमाथाको त्यो चुचुरोमा पुगि नेपालको झन्डा फर्फराउन चाहन्छु र
हिड्दै जाँदा कहिले कहिले दौडिन चाहन्छु, कहिले कुद्न चाहन्छु, कहिले ठक्कर खाएर लड्न पनि चाहन्छु
तर त्यो ठक्करदेखि रोक्न चाहन्न, अझै द्रुत गतिले अघि बड्न चाहन्छु र त्यो सगरमाथाको चिसोमा चियाको चुस्की मार्न चाहन्छु
हो, म केही बन्न चाहन्छु।
म एउटा पाठक बन्न चाहन्छु
म वेद पढ्न चाहन्छु , धर्म पढ्न चाहन्छु , संस्कृति पढ्न चाहन्छु
बाइबल पढ्न चाहन्छु , त्रिपिटक र कुरान पढ्न चाहन्छु
विज्ञान, समाजशास्त्र ,मानवशास्त्र पढ्न चाहन्छु
पितृसत्ता पढ्न चाहन्छु, अझ त्यसको उम्किनै नसकिने जड पढ्न चाहन्छु
र सबैभन्दा बढी त
आफ्नै आत्मा पढ्न चाहन्छु
हो, म केही बन्न चाहन्छु।
म एउटा राजनीतिज्ञ बन्न चाहन्छु
राजनीतिको जडसम्म पुग्न चाहन्छु र संबिधान के हो बुझ्न चाहन्छु
बुझेर राजनीतिलाई नराम्रो खेल बनाउने ती हरेकलाई कानुनको कठघरामा लतार्दै ल्याउन चाहन्छु
र जनताको अघि प्रश्न उठाउन चाहन्छु, आखिर प्रजातन्त्र प्रजाले नै किन पाएनन्?
हो, म केही बन्न चाहन्छु।
म एउटा लेखक बन्न चाहन्छु
समाजमा रहेका हरेक कुरीतिको बारेमा लेख्न चाहन्छु
आफ्नो हक र अधिकारको बारेमा लेख्न चाहन्छु
लेख्नको लागि लेख्न चाहन्न, पोख्नका लागि लेख्न चाहन्छु
हो, म केही बन्न चाहन्छु।
म एउटा समाजसेवी बन्न चाहन्छु
समाजमा रहेका व्यथा, मर्का सबै बुझ्न चाहन्छु
स्वास्थ्य सम्बन्धी बोल्न चाहन्छु, अझ बोल्नै हिच्किच्याने यौन तथा प्रजनन् स्वास्थ्यको बारेमा बोल्न चाहन्छु
वृहत यौनिक शिक्षाको बारेमा बोल्न र सिकाउन चाहन्छु
ताकी हरेक बालक र बालिकालाई आफूसँग के भइरहेको छ, त्यस्को पूरा ज्ञात होस् र गलत हुँदा आवाज दब्ने हैन उठ्ने होस्
हो, म केही बन्न चाहन्छु।
र, सर्वप्रथम त म एक व्यक्ति बन्न चाहन्छु
विवाद रहित व्यक्ति
जस्ले न धन हेरोस् न जात, न धर्म हेरोस् न संस्कृति,
न गोरो हेरोस् न कालो
हेरोस् त केवल एक समान व्यक्ति, सबै एकै समान
हो, म केही बन्न चाहन्छु।