पिम्पल? पिम्पल??
ऐनाअघि म आफैंलाई देखेर छक्क परेँ।
झन्डै चालीस पुगेको अनुहारमा के खान आए होला यो! एक्लै फिस्स हाँसे। ऐना पनि हाँस्यो।
धेरैपछि आएको पिम्पललाई लिएर म भावुक भएछु। जवानीमा आउने पिम्पल अधवैंसमा किन आयो?
मख्ख परूँ कि नपरूँ?
ऐनामा मेरो अनुहार हेर्न लायक भएको थियो। म झन्डै लजाएँ।
'हिजो रातभर सुतेको थिइनँ, त्यसैले होला,' मैले आफ्नै मन सम्झाउन खोजेँ। के सम्झिन्थ्यो, रातभरी आँखामा झिलमिलाएकी अपरिचितको सम्झनाले फेरि भुतुक्क भयो।
हिजैमात्र हो उसलाई किँरातेश्वरमा देखेको थिएँ। सधैं झैं म घाम डुब्दै गरेको बेला त्यहाँ पुगेको थिएँ।
के थाहा र, मेरो मनमा एउटा सुकोमल घाम झुल्किने छ भन्ने।
किरातेँश्वर चिया पसल पछाडिको खाली ठाउँमा कुर्चि रहेछ। तानेर बसेँ। थोरै होचो ठाउँमा चिया सुर्क्याउँदै एक्लै बसेकी केटीलाई मैले देखिहालेँ।
तर उसले मलाई ध्यानै दिइन। मैले उसको पूरै अनुहार देखिरहेको थिएँ, जसरी पूर्णिमाको चन्द्रमा देखिन्छ। उसको अनुहारमा भने कुनै दाग थिएन।
ऊ एक्लै पारि कैलाश डाँडातिर हेर्दै मुस्काइरहेकी थिई। रातको बर्खे झरी थामिएपछि बिहान पाखाभरी जसरी नाचिरहेको हुन्छ उज्यालो, त्यस्तै।
उसको अनुहार बिहानी घामको किरणले पहिलो पटक रंगाएको निख्खर पहाड झैं देखिएको थियो। त्यही उज्यालोले मलाई पहिलो नजरमै छोयो।
म पनि एक्लै थिएँ। तर कहाँ मुस्काएको थिएँ र त्यसरी?
मैले मगाएको चिया आइपुगेको थिएन। मेरो नजर उसका ती सुन्तला केस्रे ओठमा अल्झिरह्यो। जसले मोहनी लगाउने फुस्फुसे मुस्कान खेलाइरहेका थिए।
कस्तो पासो थाप्ने मुस्कान!
'मैले चोर नजरले हेरेको देखेर ऊ मुस्कुराएकी होस्,' यस्तो कल्पना मनमा आइहाल्यो। र पनि म मुस्कुराइनँ। मेरा ओठ उल्टै अप्ठ्यारो गरी खुम्चिए।
म कति खुम्चिएर बाँचेको छु भन्ने मलाई थाहा छ। त्यसैले म ऐनाअघि उभिन पनि सक्दिनँ। कुन्नि, किन हो मलाई आफू निकै नराम्रो लाग्छ।
'तिमी राम्रो लाग्छौ मलाई, तर मनभरि अँध्यारो लिएर हिँड्छौं,' मेरी प्रेमिका भन्थी। खैर, अब ऊ मेरी प्रेमिका रहिन। उसलाई प्रेम म अझै गर्छु। तर जसको भागमा अँध्यारो छ, ऊ प्रेमको लायक हुन्न भन्ने मलाई थाहा छ। म आफैंलाई पनि प्रेम गर्दिनँ, के लाग्छ र?
उसले उज्यालो खोजेकी थिई। उज्यालो कसलाई मन पर्दैन र? मलाई लाग्थ्यो, ऊ जुन उज्यालोको योग्य थिई, मसँग त्यो थिएन।
उसले जे गर्थी, मलाई त्यो असाध्यै मन पर्थ्यो। उसले छाडेर जाँदा पनि मन पर्यो।
चित्त दुख्नु के ठूलो कुरा हो र?
म अझै पनि सम्झिन्छु त्यो अन्तिम भेट। उसका आँखाभरि रिसको आगो र आँसु दुवै थिए। रिस मैले आँट गर्न नसकेकोमा थियो। आँसु मलाई छाडेर जानुपरेकाले थियो। नबुझेको त मैले पनि कहाँ हो र?
राता आँखा लिएर ऊ उज्यालो भविष्यतिर गए झैं मानेर एकपल म खुसी पनि भएको थिएँ। तर ऊ जानु भनेको मेरो जिन्दगी र मन दुवैमा बाँकी उज्यालो पनि त हराउनु थियो।
त्यो भेट सम्झिएर म पलापला खुम्चिन्छु। मैले उसलाई रोक्न सक्थेँ। रोकिनँ।
के ठान्थेँ भने, म उसको लायक छैन। जसले यस्तो ठान्छ, त्यो कसरी लायक हुन्छ? उसले असाध्यै माया गर्दा पनि मलाई यस्तो लागिरह्यो। ऊ निकै चम्किली थिई। मेहनती, आफ्नोबारे आफैं सोच्न सक्ने, पढाइमा अब्बल, लवाइ-खवाइमा पनि अब्बल।
यी कुरा मसँग थिएनन्। सायद म उसलाई र आफूलाई तुलना गर्थेँ। सायद मसँग ऊभन्दा कमजोर हुनुको हिनभावना थियो। र सायद पुरूष हुनुको अहमले उसको काबिलियतलाई आत्मसात गर्न सकिनँ। अझै पनि म उसलाई सम्झेपछि आफूलाई सामना गर्नै सक्दिनँ।
खै के-के सोचेँ कुन्नि! यतिका वर्ष बित्यो तर मभित्रको त्यही अँध्यारो गएन। मभित्र ऊप्रति जुर्मुराएको प्रेम पनि मरेन। आफ्नो कमजोरी सम्झेर भने म झन्झन् खुम्चिँदै गएँ।
चिया आउनुअघि मैले चुरोट सल्काएँ। यो केटी अझै कैलाश डाँडातिर हेरेर मुस्कुराइरहेकी छे। यो केटी सुरूमा भन्दा जति हेर्यो उति राम्री!
साधारण पहिरन। कालो र सुन्तला रङ मिसिएको स्कार्फ उसको घाँटीमा बेरिएको, खुब सुहाएको थियो।
छोरा मान्छेको आँखाले किन पहिले राम्री र नराम्रीमा ज्यादा ध्यान दिन्छ? राम्रीलाई हेर्नुपर्छ भनेर मेरा आँखाले कहिलेदेखि जाने, हेक्का छैन मलाई। धेरै केटाहरूलाई छैन होला!
म धेरैबेर उसलाई नै हेरेर बस्न सकिनँ। देखी भने के सोच्ली भन्ठानेर त्यहाँबाट छड्किएँ।
दस मिनेट त्यहाँ बस्दा उसले मलाई एकपटक मात्रै हो पुलुक्क हेरेको। त्यही एक पलले मेरो काण्ड पुग्यो।
'यो पिम्पल-सिम्पल त्यसैको नतिजा होला,' भन्ने सम्झेर अहिले यो ऐनाअघि म ढुक्क भएँ। ऐनासँग म मुस्कुराएँ।
अफिसका लागि हतार भइसकेछ। ऐनाअघि घन्टौं बरालिने उमेर कटिसक्यो बाबै!
साँझमा म फेरि त्यही ठाउँ पुगेँ, किँरातेश्वर। एक कप चिया र एक खिल्ली चुरोटका लागि। आज यहाँबाट एक धर्सो चन्द्रमा देखिनेछ। द्वितीयाको जून हेर्दै चियाको चुस्कीमा म आज रंगिनेछु फेरि! मनमा थोरै खलबली लिएर!
मन यसरी नखलबलिएको धेरै भइसकेको थियो। एउटा अपरिचित मुस्कानलाई लिएर मन त्यसै चञ्चल छ हिजोदेखि। कतिविधि फेरिन सकेको हुँला म एउटै मुस्कानले?
किँरातेश्वर त गइरहन्छु। त्यहाँ संगीत साधना गर्नेहरूले बजाउने बाँसुरीको धून सुन्न गएको होइन। धूनकै कुरा गर्ने हो भने बाँसुरीको धून र गाडीको आवाज मेरा लागि हल्ला मात्र हुन्। मान्छेहरू कतिसम्म कलाविहीन हुन सक्छन् भनेर मलाई हेरे पुग्छ। यस्तो सोच्नासाथ म पटकपटक खिस्स हाँस्थेँ।
तर आज मैले बाँसुरीको धून अर्कै सुनेँ। आजको धूनले मेरो मनको कुनै तारलाई हल्लाइरह्यो। र त्यो कम्पनमा उज्यालो अनुहारको एउटा मुस्कान नाचिरह्यो।
अँह ऊ आइन। खासमा मैले ऊ आउँछे भनेर थोडी आश गरेको थिएँ? आफैंलाई ढाँट्न खोजेँ, सकिनँ।
तर आज कुन्नि किन आफ्नो असमर्थतामा मैले मन खुम्चिएको अनुभव गरिनँ।
यसरी कहिले किँरातेश्वरमा लहराउने बाँसुरीको धून त कहिले आफैंले उडाएको चुरोटको धुँवामा अल्झिएर मेरा कैयौं दिन बिते।
एकदिन अचानक मुस्कानवाला केटीलाई मैले दरबारमार्गको केएफसीअगाडि देखेँ। मेरो मुटु फुल्यो। धेरै वर्षपछि मैले आफ्नै मुटु फुलेको चाल पाएँ। म आफैंसँग एक सर्को लजाएँ।
म फर्किँदै थिएँ, ऊभित्र पस्दै थिई। आत्तिएँ। तै पनि यस्तो विपरित दिशा जान भएको भेट यसपालि मलाई मन्जुर थिएन।
उसलाई त्यो दस मिनेट याद पनि छैन होला जसले मेरो जिन्दगीको रङ नै बदलिदिएको छ। नभन्दै ऊ मलाई देखेर पनि नहेरी गई। मेरो मन पनि स्वाट्टै ऊसँगै केएफसी छिर्यो।
मन नै गइसकेपछि मैले जिद्दी गर्नुको के अर्थ? म फर्किएँ। रेस्टुरेन्टमा खानेकुरा माग गर्नेको लाइन थियो। ऊ अघि थिई, म पछि। पछिबाट उसको कालो कपाल सहितको टाउको मैले धित मरून्जेल हेरेँ। आँखा जुधाउनुपरेको भए म निकै लजाउँदो हुँ।
'दाइ के लिनुहुन्छ?' काउन्टरमा बस्नेले सोध्यो। मेरो ध्यान त ऊ खाना लिएर कता पट्टीको टेबलमा बस्ली भन्नेतिरै थियो।
म एकछिन अल्मलिएँ। वेटर मेरो अनुहारमा ट्वाल्ल परिरह्यो। हतार हतार मैले भनेँ, 'पिज्जा'।
ऊ हाँस्यो।
'हैन, हैन। चिकेन रोस्ट,' मैले भनेँ।
के मेरो अनुहार जोकरको जस्तो भएको थियो?
मनपरेको एउटा मुहारमा अल्झिएर मैले आफूलाई के बनाइरहेको छु?
मैले कुनाको टेबुल रोजेँ। ऊ अर्कै कुनामा थिई। यो दुरीमा भरिएको थियो मेरो भावना।
उसलाई लिएर मैले धेरै कल्पनाका तान बुनिसकेको छैन। बस त्यही एउटा उज्यालो चेहरामा खेलिरहेको मुस्कान लिएर ऊ मेरो मनभरि भरिएकी छे।
मजस्तो एकलकाटे र निरश जिन्दगी बाँच्दै आएको मान्छेको सोचाइको संसारमा ऊ एउटा अनौठो रङ बनेर आएकी थिई। संयोगमा उनिएर फेरि भएको यो भेटलाई मैले अब निकै अर्थ लगाउन सक्ने छु। म किन भर्खर किशोरवयमा उक्लेको ठिटो जस्तो गरी सोचिरहेको छु, थाहा छैन।
मैले खाइसक्नुअघि नै ऊ निस्की। उसको पछिपछि लाग्न खोजेको मनलाई मैले बेस्मारी सम्हालेँ। उमेरले मर्यादाका सीमा कोरेको छ भन्ठानेर मैले आफूलाई रोकेको हुँ। त्यसमाथि मजस्तो आफ्नै सोचाइका बन्धनमा बाँधिएको मान्छे! मर्यादा र नैतिकताका पाठले थिचिन बानी परेको मान्छे। म आज आफ्नै स्वभावमा 'नोट अफ डिसेन्ट' लेख्नेछु। र, अनेक प्रश्न पनि गर्नेछु समयलाई, संयोगलाई र त्यो रहस्यमयी भावनालाई।
के यसरी नै अचानक भेट भइरहला?
के ऊ यसरी नै नबोली नबोली मैले मेरो सोचाइ र भावनाका सिमाना भत्काउन मेरो जिन्दगीमा आएकी हो?
अर्को दिन ऊसँग कहाँ भेट हुनेछ, नबोली नबोली?
पल्लो घरको झ्यालमा?
यस्तो फिल्मी कामना मान्छे प्रेममा परेपछिको कल्पनामा आइरहन्छन् भन्ने सबैलाई थाहा भएकै हो। त्यस्तो कामना जिन्दगीमा पूरा नहुने के छ र?
एकदिन अचानक उसलाई मैले आफ्नै टोलको चिया पसलमा खुट्टामाथि खुट्टा चढाएर बसेको देखेँ।
चियाको चुस्की लगाउँदै पत्रिका पढिरहेकी ऊ हाफ प्यान्टमा मस्त थिई। मलाई भने अप्ठ्यारो लाग्यो। आफूभित्र यो समाजको लोग्नेमान्छे गजधम्म परेर बसेको देखेर मलाई घरिघरि लाज हुन्छ। त्यही पनि मैले उसका खुट्टालाई दुईपटक हेरेँ। ऊ एक्लै थिई।
'तपाईंलाई एक्लै देखेर मलाई खुसी लाग्यो,' झन्डै मैले मुखै फोरेर भनेको।
यसपालि म उसको सम्मुखैको कुर्चिमा बसेँ। उसले पत्रिकाबाट नजर हटाएर मलाई किन हेर्थी र!
मैले चिया मगाएँ, 'चिनी कम हाल्नु है!'
मेरो चिया आउँदा पढेर भ्याइसकेको हुनुपर्छ, उसले पत्रिकाबाट आँखा उठाउँदा मेरो अनुहारमा ठोक्किए। म यही पलका लागि यहाँ बसेको थिएँ। ऊ मुसुक्क हाँसी। म त ऊ हाँस्नुअघि नै फुलेल थिएँ।
चियाको पैसा तिरेर ऊ गई।
हुन त जमाना निकै फेरिएको छ, म छैन नि। त्यसैले मलाई टोलको चिया पसलमा एक्लै चिया खान आएर पत्रिका पढ्ने केटी खुब 'बोल्ड' लाग्छ। मलाई बोल्ड केटीसँग आकर्षण र डर दुवै छ।
जमाना फेरिए पनि मैले यसअघि त्यस्ती केटी देखेको थिइनँ।
त्यो दिन ऊ मर्निङवाकबाट फर्केको अनुमान मैले दुई दिनपछि लगाएँ। म बिहानभरि सुत्न मनपर्ने मान्छे!
तपाईंले अनुमान लगाइसक्नुभयो होला, भोलिपल्ट म अँध्यारैमा ब्युझिएँ।
दुई-तीन दिनसम्म पनि ऊ भेटिइन। अनि मर्निङवाक जानै छाडेँ।
त्यही शनिबारको कुरा हो। बिहानै उठेर म पत्रिका किन्न गएँ। पारिको चियापसलमा एक नजर लगाएँ। आएर सिनित्त कोठा साफ गरेँ। मनजस्तै कोठा पनि बन्द गरेर राख्ने मेरो आदतै हो। आज भने मलाई कोठा वरिपरिका झ्याल खोल्न मन लाग्यो। वर्षौंपछि यी झ्याल पनि मुस्कुराउने छन्, मलाई देखेर।
जिन्दगी के संयोगको माला हो? पल्लो घरको बरन्डामा ऊ किताब पढेर बसिरहेकी थिई, उही मुस्कानवाली!
म चकित परेँ। के म अब ब्युँझिने छु? मैले आफैंलाई चिमोटेँ, दुख्यो हौ।
कुन्नि किन, आज भने ऊ अरू बेलाजस्तो शान्त थिइन। किताबमा उसको पटक्कै ध्यान नभएको मैले चाल पाएँ।
वर्षौंपछि आज म निकै खुसी भएँ। सायद मेरो अनुहारबाट त्यो स्थायी अँध्यारो उम्कियो। ऐनाअघि जाऊँ? होस्।
मैले पनि पत्रिका पढ्नुछ। वा पढे झैं गर्नुछ।
पर्दा लगाऊँ कि नलगाऊँ भएका बेला ऊसँग आँखा जुध्यो। ऊ यसपालि पनि मुस्कुराई। उसका आँखामा 'ए तिमी यहाँ बस्छौ?' भन्ने भाव थियो।
मैले पनि 'हो' भन्ने भावमा मुस्कान दिएँ। नबोली नबोली अर्काले भन्ने खोजेको थाहा पाउनु पनि मलाई निकै डर लाग्दो कुरा लाग्छ।
अब पहिले चिया बनाउँछु। सुर्की लगाउँदै पत्रिका पढ्नुको मज्जै बेग्लै हुनेछ।
जेल संसारबाट फर्किएकी सम्झना!
यो शीर्षकले मलाई चक्कर आउने बनायो, शीर्षकमुनि उसैको फोटो छ।
मैले झ्यालबाट पल्लो घरको बरन्डामा हेरेँ। किताब मात्रै देखेँ।
उसको कोठाबाट आनी छोइङको आवाज आइरहेको थियो- फूलको आँखामा फूलै संसार...
नसकिने!
मलाई दिग्दार लाग्यो। डर पनि लाग्यो। भावनामा फसेपछि यस्तै हुन्छ भनेर आफैंलाई खुच्चिङ गरेँ।
'बाध्यतामा पनि फसेकी होली नि!' अर्को मनले भन्यो।
यसरी मन दुई भागमा बाँडिएपछि मैले चुरोट सल्काएँ।
चुरोटको धुँवाले दिने शान्ति क्षणभरको भ्रम! मेरो अन्तिम प्रेम पनि भ्रम हुन्छ कि भनेर म बेस्मारी डराएँ। पल्लो घरबाट आइरहेको आनीको स्वर मलाई निकै दिक्क लाग्दो लाग्यो।
पत्रिका उठाएँ र उसको कथा पढ्न थालेँ।
'जेलबाट निस्केर सिधै कहाँ जानुभयो?'
'किँरातेश्वर।'
उसको उत्तर देखेर मलाई फेरि भाउन्न भयो। हाम्रो पहिलो भेट भएको दिन ऊ जेलबाट छुटेकी थिई?
म पनि उसलाई देखेर आफ्नो अतीतबाट छुटेको थिएँ।
अब म यसरी छुट्न चाहन्नथेँ। म निकै थाकिसकेको छु दुःखी हुँदाहुँदा। तर यो पत्रिका मेरा लागि कस्तो समाचार लिएर आएको छ, थाहा छैन।
'किन नि त्यहाँ?'
'किँरातेश्वरमा संगीत साधना हुन्छ। कलेज पढ्दाताका म त्यहाँ अक्सर जान्थेँ। त्यहाँ गुरूशिष्यले बजाउने धून सुनेर लठ्ठ पर्थेँ। जिन्दगीसँग भेट भएजस्तो हुन्थ्यो! जेलबाट छुटेर मलाई फेरि पुग्नु त आफ्नै जिन्दगीसम्म थियो नि। म जेलबाट मात्र मुक्त भएकी थिइनँ, एउटा निस्सासिँदो प्रेमबाट पनि मुक्त भएकी थिएँ।'
यो केटीको उत्तर देखेर म चकित परेँ। म त्यहाँ बज्ने बाँसुरीको धून सुन्न कहिल्यै जान्नथेँ।
किन जान्थेँ, मलाई थाहा भने छैन।
ऊ बाँसुरीको धून सुन्न जान्थी! जाबो बाँसुरीको धूनमा जिन्दगीको अर्थ भेट्ने कस्ती हुस्सु रहिछ!
मभन्दा यति अलग मान्छेसँग परेको पहिलो नजरको पिरती के जिन्दगीभरि रहला? प्रेमले आँट दिन्छ भन्छन्। मलाई भने डर मात्र दिन्छ। मेरी पहिली प्रेमिकासँग पनि डराएको थिएँ। तर पनि मलाई ऊ असाध्यै मनपरेकी थिई।
कथा अघि बढ्दै गयो।
...ऊ बालखैदेखि एकदमै चुलबुले थिई। फरासिली र खुसी उसको प्रकृति। उसकी आमा भन्थिन् रे- धेरै नहाँस्, पछि झन् धेरै रूनु पर्छ।
रूनुपर्छ भन्ने सम्झेर हाँस्न पनि को छोड्दो हो? आमा ज्यादा गनगन गर्छिन् भनेर ऊ एउटा कानले सुन्दै अर्को कानले उडाउँथी।
जिन्दगी हाँसो, खुसी, दु:ख र सुखको मायामै अल्झिँदै अल्झिँदै बग्छ भन्ने सायद आमाले आफ्नै अनुभवबाट सिकेकी होलान्।
अचेल उसलाई आमा र धेरै आमाहरूका जीवन कथाले तान्छ। उनीहरूका कथाको संसारले अभिलेख राख्दैन। चुपचाप उनीहरू बादल जस्तो जिन्दगी बाँच्छन्। बादलमाथिको आकाश नदेखी, बादलमुनिको संसार नबुझी। तै पनि बादलभित्रको उनीहरूको संसारको आफ्नै मूल्य छ जो यो संसारले ख्याल गरेको छैन।
छिट्टै ठूली हुन मन थियो। जब ठूली भई, उसलाई आफ्नो बाल्यकालको खुब रहर लाग्छ। बच्चाहरू, फूल र तारा, जून उसका फेवरेट हुन्। बच्चाले खुसी दिन्छन्, जिन्दगी सम्झाउँछन्, फूलले हाँसो, जूनले आनन्द र ताराले संसार!
जेलभित्र यी सब थिएनन्।
'तर जिन्दगी त्यहाँभित्र पनि थियो,' उसले भनी, 'जहाँ मानिस, त्यहाँ संसार रैछ। सुखदु:ख रैछ।'
जेलमा पनि सुख हुन्छ भन्ने कुरा पहिलोपटक आफ्नै आँखाले देख्दा ऊ छक्कै परेकी थिई।
ऊ जेल पुगेको झन्डै महिना दिनपछि एउटी नयाँ युवतीलाई पुलिसले लिएर आयो।
'लौ तँलाई यहीँको हावा चाहिएको हैन? बस्,' पुलिसले यसो भन्दा त्यो युवतीको अनुहारमा एकरती दु:ख थिएन। मानौं आत्मा नभएको होस्। आत्मसम्मानको पत्तै नहोस्।
पछि सम्झनाले सोधेकी थिई- तिमीलाई पुलिसले त्यसो भन्दा दु:ख लागेन?
'ए त्यसले? लागेन!,' केटीले सोधी, 'किन र मेडम?'
'मलाई मनपरेको थिएन उसले तिमीलाई त्यसरी भनेको, त्यसैले,' उसले भनिदिई।
'मेडम पुलिसले जे हो त्यही भनी। मलाई किन दु:ख लाग्नु? दु:ख तपाईंजस्ता ठूलो इज्जत भएकालाई लाग्छ। हाम्रो सानो-सानो इज्जत हो, त्यही पनि धेरै पटक गइसक्यो,' उसले हाँस्दै भनी।
सम्झना छक्क परी। उसले यस्तो डायलग भन्ली भनेर सोचेकै थिइन। त्यो युवती खासमा सानोतिनो चोरी मुद्दामा परेकी थिई। हातमुख जोर्न चोर्नुपर्ने। चोरी गर्न पाए आफ्नै झुपडीमा हातमुख जोरिन्थ्यो, पक्रिए जेलमा!
चोरी उसको कर्म थियो। जिन्दगीलाई जसरी पनि बिताउन मान्छे अभिषप्त भएपछि सबै कुरा सामान्य लाग्दा रहेछन्।
अर्की महिला थिई, मान्छे मारेको अभियोगमा परेकी।
सम्झना विस्तारै ऊसँग कुरा गर्न थाली, 'तपाईं किन जेल परेको?'
'मान्छे मारेर,' उसले सजिलै भनी।
'कसलाई?'
'जेठाजुलाई!'
'किन' भन्न नसकेर उसले 'ए' मात्र भनी।
त्यो बुझेर त्यो महिलाले नै भनी, 'मेरो श्रीमान पैसा कमाउन गएपछि जेठाजुले मलाई जबरजस्ती गर्न खोज्यो। एकदिन मैले उसलाई विष खुवाएर मारिदिएँ।'
'तपाईंलाई अहिले पछुतो लाग्दैन?'
'लाग्दैन।'
ऊ एकछिन टोलाई र थपी, 'म पक्राउ पर्दा श्रीमान आइपुगेको थियो। ऊ बेस्मारी रोयो। मलाई ऊ असाध्यै माया गर्थ्यो। त्यसैले मलाई मेरो शरीरमा उसको पनि हक छ जस्तो लाग्थ्यो। जेठाजुले मेरो शरीर छुन खोजेपछि मैले उसलाई मारिदिएकी थिएँ। यो कुरा मैले श्रीमानलाई भन्नै पाइनँ। पुलिसलाई भने भनिनँ। उसले सोध्न पनि आएको छैन। बरू अर्को बिहे गर्यो रे। मलाई पछुतो चाहिँ उसलाई माया गरेकोमा लाग्छ।'
एक अर्की महिला ठगी केसमा परेकी।
सम्झनाले एकदिन ठट्यौली गर्दै सोधी, 'कसलाई ठगी गर्नुभएको?'
'श्रीमानलाई।'
'कसरी नि?'
'पोइल गएर,' यति भन्दै त्यो महिला खितित्त हाँसी। सम्झनाको पनि हाँसो खुस्कियो।
जेलमा परेपछि हाँसेको पहिलो पटक थियो। उसलाई आफ्नो हाँसो खुब मनपर्यो।
एक वर्षअघि मात्र जेलमा एउटी किशोरी आएकी थिई। उसलाई आफ्नै बच्चा मारेको अभियोग थियो।
निकै डराएकी किशोरीको कुरा सुनेपछि सम्झनाले असल चालचलनमा छुट्ने दिन कुर्न थालेकी थिई। आफू छुटेर किशोरीलाई छुटाउनु थियो उसलाई। आधा सजाय काट्दासम्म जेलमा असल चालचलन गरेको छ भने सरकारले बाँकी सजायबाट मुक्त गरिदिन्छ। आजसम्म सम्झनालाई यो सुविधा नदिए पनि कुनै गुनासो थिएन। ऊ जेलमै रमाउन सकेकी थिई। बाहिर जाने रहर पनि थिएन। उसको जाने ठाउँ पनि थिएन, मायाका ढोकाहरू बन्द भइसकेका थिए।
जेलमा नपढेका महिलालाई पढाउने, कति महिलालाई सम्झाइबुझाइ गर्ने र वकिल नभएका महिलालाई कानुनी सल्लाह दिन्थी। आफ्नो मुद्दामा भने उसले वकिल समेत राखिन। सरकारी वकिलले जस्तो आरोप लगाएको थियो उसले स्वीकारी।
उसलाई आफूले गर्दा मान्छे मरेकोमा कुनै पछुतो पनि थिएन। बरू प्रेम गरेकोमा थियो।
चाहेको भए ऊ सजिलै छुट्थी वा कम सजाय पाउँथी।
तर मोहनको मोहनीबाट छुट्न उसले जेल रोजेकी थिई।
मोहनसँग ल-कलेज पढ्दैदेखि उसको पिरती बसेको थियो। उसको जिन्दगीमा माया-प्रेमको ठूलो अर्थ छ। प्रेममा पर्नुको अलौकिक दुनियाँका अघि संसारका सबै रङ फिक्का लाग्थे। उसको माया देखेर मोहनले पनि आफूलाई थाम्न सकेन। बाहुनकी छोरीको माया क्षत्रीको केटोसँग परेपछि सम्झनाका बाआमाले घर आउने बाटो बन्द गरिदिएका थिए।
मोहनको घरमा उसलाई सबैले खुसी भएर स्वागत गरे। दुवै जना वकिल थिए। उनीहरूको जिन्दगी धुमधाम चलिरहेको थियो। सम्झना बेलाबेला आत्तिन्थी। हाउस-वाइफ, बुहारी र वकिल हुन उसलाई मन थिएन। तर उसले विद्रोह गर्न आँट गरिन। मोहनसँगै हुँदा पाउने खुसीका अघि संस्कारका झमेला उसले सजिलै पचाएकी थिई। सासूससुराको इच्छा पुर्याइदिएकी थिई। मोहनले पनि उसलाई असाध्यै माया गर्थ्यो।
पेटमा बच्चा आएको थाहा भएको दिन सम्झना कहिल्यै बिर्सिन्न। सायद त्यही उसको जेलयात्राको पहिलो कदम थियो।
डाक्टरले उसको पेटमा बच्चा आएको भन्दै बधाईं दिएपछि ऊ दौडिँदै फर्म गएकी थिई, मोहनलाई सुनाई।
उसले आफ्ना क्लाइन्ट र स्टाफकै अघि सम्झनालाई फिल्मीशैलीमा उचालेर किस गर्यो। काखमा बोकेर घुमायो।
बेलुका दुवै जना सँगै घर गए। आमाबावुलाई सुनाए। त्यही बेला ससुराले भने, 'भाग्यमानी भए, नाति दिए।'
'नातिनी भए पनि म भाग्यमानी नै हुन्छु है बुवा,' उसले भनी।
'पहिलो नाति होस्, पछि जे भए पनि होस्,' सासूले भनिन्। मोहन केही बोलेन। सम्झना छक्क परी...
ऊ छक्क परेको पढ्दा म फिस्स हाँसे। हुस्सु केटी रहिछ। केटालाई माया गर्ने तर नचिन्ने। मोहन किन बोल्थ्यो र! पहिलो छोरै हुन पर्ने बाआमाको इच्छाले उसलाई कुनै असर गर्दैन। बरू उसको महत्व बढ्छ। यति कुरा म छोरा भएको नाताले थाहा पाउँछु। यसको पति आमाबाका अघि बोल्न पनि सक्थेन होला। नभन्दै हो रहेछ।
मोहन आफ्नो आमाबुवासँग केही बोल्न सक्दैनथ्यो। कहिले उनीहरूको जिद्दीमा हार्थ्यो, कहिले मायामा। मोहनको घरमा कतिपटक सम्झनाले अमपान खेप्नु पर्यो। त्यो बेला मोहन आमाबुवाको सोच त्यस्तै छ भनी उम्किन्थ्यो। कोठामा पुगेपछि फकाउँथ्यो, माया गर्थ्यो, अनि सम्झनाले बिर्सिन्थी।
आफूलाई त सम्झनाले बिर्सिएकी थिई तर बच्चाको जिन्दगीमा परेको विभेदको छायाले उसलाई बेस्मारी पोल्यो।
उसले मोहनलाई सोधी, 'तिमी के चाहन्छौ?'
'मलाई जे भए नि हुन्छ।'
'अनि?'
'आमाबुवाको सोच पुरानो जमानाको छ। उनीहरू त्यही जान्दछन्। सम्झाएर सम्झिन्नन्, तिमीले टेन्सन नलिनू,' उसले भन्यो।
सम्झनालाई उसको कुरा चित्तै बुझेन- मोहनले तत्कालै आमाबावुलाई यस्ता कुरा नगर्न भन्नुपर्थ्यो। उनीहरूलाई सम्झाउने उपाय खोज्नुपर्थ्यो। आमाबावुको सोच यस्तै हो भनेर छोड्न हुन्नथ्यो!
सम्झनालाई पहिलो पटक आफू एकदम एक्लै भएको महसुस भयो। आफ्नै छेउको मोहन उसलाई कति धेरै टाढाको मान्छे लाग्यो। चिन्दै नचिनेजस्तो।
'उसले मलाई प्रेम गर्थ्यो कि म भ्रममा थिएँ?' उसले आफैंलाई सोधिि। आफूले सबभन्दा अनमोल ठानेको मायामा प्रश्न गर्नुपर्ला भनेर उसले जिन्दगीमा सोचेकी थिइन।
भोलिपल्टदेखि घरमा नाति आगमनको कामना बिहान बेलुकै हुन थाल्यो। घरमा मात्र होइन, साथीभाइले पनि पहिले छोरा जन्माउन लागेछौ भनिहाल्थे। कतिले सुधार्थे, कतिले सुधार्थेनन्।
सम्झनाले ती कुरामा ध्यान दिन छोडेकी थिई। आफ्नो बच्चा जे भए पनि उसमाथि विभेद हुन नदिन लड्ने तयारी गर्न थाली। चुपचाप उसले आँट जुटाउँदै गई।
१२ हप्तापछि मोहन र ऊ दुवै बच्चाको सोनोग्राफ हेर्न गए। मोहन नर्भस थियो। उसको पनि मुटुको धड्कन बढेको थियो। डाक्टरले स्क्रिन अन गर्दा उसले मोहनको हात च्याप्प समातेकी थिई।
बच्चाको मुटुको धड्कन सुनेर खुसीले अत्तालिई। संसारमा आफ्नो बच्चाको पहिलो आवाज सुन्दा उसलाई आमा हुनुको खुसी, दबाव र डर एक्कैचोटि लागेको थियो। त्यो आवाजमा जिन्दगीको गीत थियो जसलाई उसले कहिल्यै बिर्सने छैन। आज दस वर्ष पुग्दा पनि त्यो आवाज उसले बिर्सेकी छैन।
त्यो दिन डाक्टरले आइरन चक्की र केही दबाइ लेखिदिएकी थिइन्।
भोलिपल्ट बिहान मोहनले उसलाई दबाइ खुवाएर फर्म गयो। दिउँसोदेखि सम्झनालाई चक्कर आउन सुरू भयो। पेट दुखाइ सहन नसकेपछि सासूससुराले अस्पताल लगे।
साँझ त उसको बच्चाले सदाका लागि बिदा लियो। उसको खुसीले पनि बिदा लिएजस्तै भयो।
भोलिपल्ट बिहान उसलाई डाक्टरले डिस्चार्ज गरिन्। जानेबेला उसले डाक्टरलाई आफ्नो बच्चा किन खेर गएको भनेर सोधी।
डाक्टरले भनिन्, 'तपाईंले बच्चा खेर फाल्ने दबाइ खानुभएको थियो।'
सम्झनाको कमजोर शरीरमा रिसको पारो निकै मजबुत भएर उठ्यो। त्यही बेला उसले ढोकाबाट माया भन्दै छिरेको मोहनलाई झम्टी। अनि टेबुलमा भएको डाक्टरको कैंची उसको पेट, घाँटी र छातीमा रोपिदिई।
डाक्टरले समेत उसलाई रोक्न सकिनन्। मोहन ढल्यो।
अनि सुरू भयो सम्झनाको जेलयात्रा...!
उसको कथा बल्लतल्ल पढेर सकेँ।
मेरो मुखबाट खुइय्य निस्कियो। पल्लो घरको बरन्डामा उसलाई देखेँ। उसका र मेरा आँखा जुधे।
तत्काल मैले थाहा पाएँ- मेरो आँतबाट त्यो कमजोर पुरूष पनि मरिसकेछ!