कविता
जिन्दगीका भोगाइहरूमा
इच्छा र आवश्यकता
बीचको तादम्यता,
चाहना र सपनाहरूको
गोरेटो पछ्याउँदा
कल्पना र यथार्थ
बीचको सामिप्यता।
उ.....पर! आकाशमा
टलपल गरिरहेका
तारा हेर्दै
जब आकांक्षाहरूले
आफ्नो पङ्ख फरफराउँछन्,
म देख्दछु वरिपरि
मेरा कर्तव्यका डोरीहरू
मेरा दायित्वका बेडीहरू
सँगै
दैनिकी घिस्रीरहेछन् ,
अनि म एकान्तमा सोच्दछु
यो घिस्रनु र फक्रनुबीच
साँच्चै के फरक छ?
एक निमेषपछि यो विचार्छु
बोटलाई सिंची मलजल गर्दा
मात्र फूल फक्रन्छ,
उसको कर्तव्य फक्रनुमा थियो र
फूलले त्यही गर्दछ,
मानव चरित्रले घिस्रनुमा
अस्तित्व खोज्नु पर्ने रहेछ।
खरायो र कछुवाको कथा सम्झी
कछुवा चालमा यात्रा सहज हुने
बुझ्नु पर्ने रहेछ
तरबारलाई जति आरनमा पिट्यो
त्यो त्यति नै शानदार !
मानवरूपी बोटमा जति फल फली झुक्यो
उ त्यति नै वजनदार।
सक्छस् भने हे दैव !
मलाई अझ घिसार
मेरो जीवनलाई निमोठ-नामोठ पार्
लछार-पछार,
तर
म हार मान्दिनँ
ऐंया पनि भन्दिनँ
बरु
सम्झनेछु सिसिपसलाई
सुनौलो बनाउनेछु जीवनलाई
हो, त्यस्तो जीवन
जहाँ आफ्नाको मुस्कान हेरी छाती ढक्क फुल्छ
र
जीवनको उत्तरार्धमा ‘बुझ्यौ म यस्तो थिएँ’
अनि ‘तिमीहरू यस्तो बन्नु’ भनि
सन्ततीसँग जीवनगाथा गाइन्छ।
सन्ततीसँग जीवनगाथा गाइन्छ।।