सोमबारको दिन, अरूको लागि सामान्य दिन भए पनि उनको लागि चाहिँ विशेष दिन।
दुई हप्ताको पट्यारलाग्दो कुराइपछि आएको अर्को सोमबार।
हरेक दुई हप्तापछि आउने सोमबारका दिनहरू उनका लागि विशेष हुने गर्थे किनभने ती सोमबारका दिनहरू उनको लागि आशा बनेर आउँथे।
मानिसहरू आशाले बाँचेका हुन्छन्।
कसैले ठूलो आशा राखेका हुन्छन्, कसैले सानो।
एउटै आशा पनि कसैको लागि ठूलो लाग्न सक्छ कसैको लागि सानो।
त्यो विशेष दिन खासै केही थिएन, तर उनको लागि ठूलो आशाको दिन थियो- उनको छोराको फोनको आशा।
उमेरसँगै उनका धेरै आशाहरू मरिसकेका थिए तर छोराको फोन आशा भने दिन प्रतिदिन तीव्र हुँदैथियो।
अरूको लागि सामान्य सुनिने फोनको त्यो आशा उनको लागि भने निकै ठूलो र मूल्यवान आशा थियो।
मानिसले सजिलै प्राप्त हुने वस्तुहरूको मूल्य चिन्दैनन् तर जब त्यही वस्तु सजिलै नपाइने बन्छ त्यो निकै मूल्यवान बन्न पुग्छ।
उनको लागि हरेक दुई हप्तामा मात्र आउने छोराको फोन पनि त्यस्तै मूल्यवान थियो।
छोरोको फोन आउने आशामा बिहानैदेखि उनको मन चङ्गा थियो। अरू दिन बिहान उठ्दा हुने निराशा त्यो दिन थिएन,
वातावरण पनि उल्लासमय लागेको थियो। मन खुसी भएपछि सबै चिज सुन्दर लाग्दो रहेछ।
उनको छोरो विदेशमा थियो।
नेपालको सोमबार बिहान उसको ठाउँमा आइतबारको साँझ हुन्थ्यो। आइतबार अरू दिन भन्दा अलि फुर्सद हुने हुनाले उसले दुई हप्तामा एक पटक आइतबार साँझ आमालाई फोन गर्ने गर्थ्यो।
त्यो उनीहरूको अघोषित नियम जस्तै भैसकेको थियो। त्यसैले दुई हप्तापछि आउने हरेक सोमबार बिहान उसको फोन कुरेर बस्ने गर्थिन्।
कहिलेकाहीँ कुनै कारणवश छोरोले फोन गरेन भने उनले आफैं छोरोलाई फोन गर्थिन्।
उनको छोरो विदेश गएको तेह्र वर्ष भएको थियो।
पहिले पढ्न भनेर गएको थियो, पछि उतै जागिर खायो र उतै बस्न थाल्यो। जागिर खान थालेपछि नेपाल आएर बिहे गर्यो अनि श्रीमती पनि उतै लिएर गयो।
छोरा, छोरी सहित उसका सबै परिवार उतै बसेका थिए। उतैको ग्रिन कार्ड पनि पाइसकेका थिए र एक दुई वर्षपछि नागरिक बन्ने प्रकृयामा थिए। कमाइ पनि राम्रो थियो। त्यसैले उनलाई छोरोको कुनै चिन्ता थिएन।
हुन त उनले आफ्ना छोरा बुहारी र नाति नातिनीहरू अर्को देशका नागरिक नहोऊन् भन्ने चाहन्थिन् तर उनले चाहेर केही हुनेवाला थिएन।
उनीहरूको जीवनमा आफूले भनेर केही हुने छैन भन्ने उनलाई पनि थाहा थियो त्यसैले केही भन्दिनथिन्। छोरा बुहारी आफूभन्दा पढेलेखेका छन्, राम्रै निर्णय गरेका होलान् भनेर चित्त बुझाएकी थिइन्।
उनको श्रीमान बितेको आठ वर्ष भएको थियो।
बाबु बितेको बेला छोरो विदेश मै थियो। काजकिरिया गर्न चार दिनपछि मात्र घर आइपुगेको थियो। त्यसपछि बिहे गर्ने बेला अर्को एक पटक नेपाल आयो।
तेह्र वर्षमा ऊ नेपाल आएको भनेको त्यही दुई पटक मात्र थियो। छोरोको बिहे भएको तीन वर्ष पछि बुहारी पहिलो पटक सुत्केरी भएर नातिनी जन्मिँदा उनी बुहारी स्याहार्न विदेश गएकी थिइन्।
पहिलो पटक विदेश जाँदा, प्लेन चढ्दा उनलाई निकै रमाइलो भएको थियो।
आफ्नो छोरोप्रति उनले गर्व गरेकी थिइन्।
पछिल्लो पटक छोरोलाई आफ्नै आँखा अगाडि देखेको त्यही बेला नै थियो। त्यसपछि आमा छोराको भेट भएको थिएन।
आज भोलि इन्टरनेटले गर्दा भिडिओमा कुरा गर्न पाइन्छ अनि आफ्नै अगाडि बसेर कुरा गरे जस्तो हुन्छ, तर उनलाई भिडिओमा कुरा गर्न आउँदैनथ्यो, सिकेकी पनि थिइनन्।
त्यसैले छोरोसँग सम्पर्क गर्ने भनेको दुई हप्तामा एक पटक आउने त्यही फोनको माध्यम मात्र थियो। त्यही बीचमा उनको नाति पनि जन्मियो तर उनले प्रत्यक्षरूपमा नाति देख्न पाएकी छैनन्।
छोरा बुहारी दुवै काम गर्ने अनि कामको चाप पनि बढी नै हुने हुनाले उनीहरूको फुर्सद हुँदैन र उनीहरूलाई नेपाल आउने समय नै मिल्दैन।
उनलाई फेरि एकपटक विदेश गएर कमसेकम नातिको अनुहार हेर्न मन थियो, उसलाई काखामा ल्याएर म्वाइ खाने मन थियो तर छोरा बुहारीले बोलाएका थिएनन्। मनको इच्छा मनमै बाँधेर कुनै दिन बोलाऊलान् भन्ने आशामा बसेकी थिइन्।
उनलाई लाग्थ्यो उनको छोरो दुवै निकै जाति छ, आमालाई निकै माया गर्छ। त्यसैले त उसले दुई हप्तामा एक पटक भए पनि नछुटाई फोन गर्ने गरेको छ।
उनले घरको पहिलो तल्ला पूरै भाडामा दिएकी थिइन्। त्यसैबाट आउने घरभाडाबाट उनले आफ्नो दैनिक खर्च चलाउँने गर्थिन्। त्यसको अतिरिक्त लोग्नेको पेन्सन पनि अलि अलि आउँथ्यो। पैसाको खासै समस्या थिएन। तर धेरै भैसकेको थियो उनलाई अलि छटपटी बढेको।
जीउ पनि बुढो हुन थालेकोले होला। राति त्यति राम्ररी निद्रा पनि लाग्न छोडेको थियो। खाना पनि त्यति रुच्दैनथ्यो। लोग्नेले बनाएको तीनतले त्यो घरमा उनी एक्लै बस्थिन्।
पहिलो तलामा भाडामा बस्नेहरूले पसल गर्थे त्यसैले बिहानै काममा निस्कन्थे अनि राति अबेर मात्र फर्कन्थे। त्यत्रो घरमा एक्लै बस्दा कहिलेकाहीँ त उनलाई डर पनि लाग्थ्यो।
बुढो शरीर, राति अचानक केही भयो भने के गर्ने, कस्लाई बोलाउने भनेर चिन्ता गर्थिन्।
दोस्रो तल्लामा बैठक कोठा, भान्छा कोठा, आफ्नो सुत्ने कोठा थियो। तेस्रो तल्लामा छोराको कोठा थियो। उनीहरू आउँदा सुत्नुपर्छ भनेर तेस्रो तलाका कोठाहरू उनले जस्ताको तस्तै राखिदिएकी थिइन्।
छोराको मायाले सताएपछि तिनै कोठामा गएर भित्तामा टाँसिएका उसका तस्विरहरू हेर्ने गर्थिन्, उसले सानो हुँदा लगाएका लुगाहरू स्पर्श गर्थिन्, सुँघ्थिन्। तर छोरो र उसका परिवार कहिले आउने हुन् थाहा थिएन।
उनको भर्खर बिहे भएको बेला आर्थिक स्थिति त्यति राम्रो थिएन। सानो घरमा बसेर अधिकांश समय बिताएकी उनलाई ठूलो घरमा बस्ने रहर थियो। लोग्नेले दुःख सुख गरेर ठूलो घर बनाएर उनको सपना पूरा त गरिदिए तर उनको निधनपछि त्यो घर सुनसान भएको थियो।
बरण्डामा एक्लै टोलाएर बस्दा भर्याङमा छोरो दौड्दै तलमाथि गरेको दृष्य उनको मानसपटलमा घुमिरहन्थ्यो।
उनी त्यसरी नै नाति नातिनिहरू एक दिन त्यो भर्याङमा दौडिएको हेर्न चाहन्थिन् तर त्यो कुरा चाहनामै सीमित भएको थियो।
एक ताका पारिवारको हाँसोले गुन्जायमान हुने त्यो घर एक्लै बस्न डर लाग्ने भएको थियो। घर फोहोरमात्र हैन लथालिङ्ग पनि भएको थियो। लोग्नेले त्यति मेहेनत गरेर बनाएको घरको त्यो हालत देख्दा उनका आँखा रसाउँथे।
त्यही घर र त्यो सँगको जमिनको मूल्य नै अहिले करोडौं भैसकेको थियो। त्यही घर र बाबुले जम्मा गरिदिएका अरु जग्गा र घडेरी राम्ररी स्याहारेर सामान्य जागिर खाने हो भने नेपालमा पनि सुखी र इज्जतकै जीवन जिउन सकिन्थ्यो तर छोरोलाई विदेशमै दिनरात घोटिन रमाइलो लाग्छ।
आफ्नो शेषपछि आफ्नो लोग्नेको त्यो नासोको के होला भनेर सम्झँदा उनको गला अवरूद्ध हुन्थ्यो। तर उनको कुरा सुन्न चाहने र बुझ्न सक्ने कोही थिएन।
एक्लोपनले गर्दा उनलाई बेचैनी बढ्न थालेको धेरै भैसकेको थियो। छोराले फोन गरेको दिन भने उनको मन अलि प्रफुल्ल हुन्थ्यो। छिमेकमा वरपर पनि कुरा गर्ने, मनको बह पोख्ने उनको उमेरका कोही थिएनन्। भए पनि सबै आफ्नै घरमै बस्थे बाहिर निस्कदैनथे। दिनभर घरमा एक्लै टोलाएर बस्नुबाहेक उनको अर्को विकल्प थिएन।
शरीरले साथ दिँदा हरेक दिन मन्दिर जाने गर्थिन्। उनको बिहानको धेरै समय त्यहीं बित्थ्यो तर जिउ बुढो भएपछि त्यो पनि रोकिएको थियो।
हुन त छोराले फोन गर्दा खासै कुरो गर्ने केही कुरो नै हुँदैनथ्यो तर उनीहरूको आवाजमात्र सुन्न पाए पनि उनलाई असिम सन्तोष हुन्थ्यो। छोरा बुहारीको सोचाइ चाहिँ अर्कै छ, उनीहरू सोच्छन् फोन गरेर पनि के कुरा गर्ने? हाल खबर सोध्यो राख्यो। मुश्किलले एक मिनेट भन्दा बढी कुरा गर्ने विषय नै हुँदैन।
खाली औपचारिकता निभाएको जस्तो हुन्छ हरेक पटकको कुरा। उनीहरूको आफ्नै संसार छ, आफ्नै समस्याहरू छन्। त्यसैले आफ्नो समस्या देखाएर उनीहरूलाई झन् चिन्तित पार्ने कुरा पनि भएन। बरु आफ्ना समस्याहरू आफैं सहेर, मनभित्र गुम्साएर बस्नु नै ठिक भनेर उनले आफ्ना समस्या उनीहरूलाई सुनाउँदैनथिन्।
एक पटक असह्य हुने गरी उनको दाँत दुखेको थियो र दाँत दुखेको छ भनेर छोरोलाई फोनमा सुनाएकी थिइन्, छोरोले ‘काठमाडौं गएर जचाउनू’ भन्यो। तर उनलाई एक्लै काठमाडौं जान हिम्मत थिएन।
बाटोमा के हुने हो, कतै भुलिने हो कि भनेर डराइन्। कहाँ जानू? कस्को घरमा शरणार्थी जस्तो भएर बस्नू? कस्लाई अस्पताल पुर्याउन भन्नू? तर उनले कसरी भनुन् ‘म काठमाडौं जान्नँ’ भनेर? अनि ‘एक दुई दिनमा निको भैहाल्छ’ भनेर कुरो मोड्न खोजिन्।
छोरोले उल्टै थर्कायो- “सधैं रोग पालेर बसेर हुन्छ? हजुरलाई पनि दुःख हामीलाई पनि दुःख। पैसा चाहिएको छ भने भन्नुस् म पठाइदिउँला, तुरुन्तै काठमाडौं गएर उपचार गरिहाल्नुस्।”
तर उसलाई के थाहा उनलाई पैसा चाहिएको हैन, उनलाई छोरो चाहिएको हो, आफूलाई काठमाडौं लाने छोरो चाहिएको हो, आफूलाई अस्पताल लाने छोरो चाहिएको हो। त्यति मात्र हैन उनलाई आफ्नो वरपर खेल्ने, आफूसँग जिस्कने, आफ्नो हात समातेर बाहिर टुकु टुकु हिँडने नाति नातिनीहरू चाहिएको हो।
तर छोरोले बुझेन या बुझेर पनि बुझ्न चाहेन। त्यसपछि उनले आफ्नो दुख छोरासँग देखाउन छोडिन्, दाँतको कुरो पनि त्यत्तिकै सेलायो। न छोरोले फेरि ‘दाँत कस्तो छ?’ भनेर सोध्यो, न उनले बताउने आवश्यकता ठानिन्।
नाति नातिनीहरूसँग खेल्न कुरा गर्न उनका उमेरकाहरूका लागि सबभन्दा मन पर्ने कुरा हो। उनको लागि नाति नातिनीहरूसँग सँगै खेल्ने कुरा त संभव भएन तर कुरा गरौं भन्दा पनि उनीहरू फोनमा बोल्ने मन गर्दैनन्थे। चिने पो गरुन् विचराहरू? नातिनीले त भर्खर जन्मेको बेला एक पटक देखेकी हो, नातिले त झन् एक पटक पनि देखेकै छैन, कसरी माया पलाओस्? के मायाले कुरा गरुन्? त्यसमाथि उनीहरू दुवैलाई नेपाली बोल्न पनि त्यति आउँदैनथ्यो। कहिलेकाहीँ फोनमा ‘नमस्ते’ सम्म भन्थे त्यसपछि भागिहाल्थे।
अन्य दुई हप्ता पछिको सोमबार जस्तै त्यो पनि दिन बिहानै उठेर चिया बनाएर चियाको कप समातेर उनी दोश्रो तल्लाको बरण्डामा निस्किन् र हातमा फोन समातेर बरण्डामा राखेको प्लास्टिकको रातो कुर्सीमा बसिन्।
फोन ‘साइलेन्स’मा त छैन भनेर एक पटक हेरिन् अनि चिया सुरुप्प पार्दै त्यहाँबाट क्षितिजमा देखिने नीला पगाडतिर नजर लगाइन्। उनका नयनहरू बाटोमा बच्चाहरू खेल्दै गरेका दृष्यमा गएर अडिए।
कुनै दिन आफ्नो छोरो पनि तिनै बच्चाहरू जस्तै त्यही बाटोको धुलोमा खेल्ने गर्थ्यो, त्यहीँ साइकल कुदाउँथ्यो, त्यहीँ भकुन्डो हिर्काउँथ्यो। ती बच्चाहरू खेलेको हेर्दै छोरोलाई सम्झेर मनमनै मुस्कुराउँदै उनले चिया पिएर सकाइन्।
सामान्यतया त्यो समयमा छोरोको फोन आउनुपर्ने थियो तर त्यो दिन फोन आएको थिएन।
कतै फोन आएको आफूले थाहा नपाएर हो कि भनेर एक पटक फेरि फोन हेरिन् तर फोन आएको थिएन।
कतै फोन त बिग्रेन भनेर बन्द गरेर खोलिन् तर पनि फोन आएन।
केहीबेर फेरि त्यही कुर्सीमा टोलाएर बसिरहिन्। धेरैबेर कुर्दा पनि फोन नबजेपछि चिया पिएको कप समातेर भान्छा कोठामा गइन्।
बिहानको नौ बजिसकेको थियो।
कतै व्यस्त भएर फोन नगरेको होला पछि गर्ला भनेर चित्त बुझाइन् र खाना पकाउनतिर लागिन्।
एक जनाको खाना के नै हुन्थ्यो र? सानो ‘राइस कुकुर’मा एक मुठी चामल राखेर बसालिन् अनि ‘प्रेसर कुकर’मा थोरै दाल। त्यसपछि तरकारी केलाउन लागिन्।
तर उनको मन र नजर चाहिँ त्यही फोन मै थियो। एकछिन पछि ‘प्रेसर कुकर’ले सिट्टी बजाउन थालेपछि फोनको घन्टी नसुनिएला भनेर आफूले देख्ने गरी झोलीबाट निकालेर तरकारी केलाइरहेको टेबलमा फोन राखिन्।
दाल पाक्यो, भात पाक्यो, तरकारी पनि पाक्यो तर उनले पर्खेको फोन आएन।
आइतबार भएकोले कतै घुम्न गएका होलान्, अलि पछि गर्लान् भनेर चित्त बुझाइन् अनि खाना खाइन्।
खाना खान पनि त्यति मन लागेन। जसोतसो पानीले दुई चार गास निलिन् र चुठेर फेरि बरण्डामा निस्किन्।
भाँडा माझ्न पनि मन लागेन साँझ माझ्नुपर्ला भनेर छोडिन्।
सधैं झैं फेरि दिनभरि त्यही बरण्डामा उनको दिन बित्ने थियो। उनलाई न त टिभी हेर्न मन लाग्थ्यो न त अरु कुनै मनोरन्जनका उपाय थिए। उनको एक्लो निरस जीवन यसै गरी बितिरहेको थियो।
धेरैबेर कुर्दा पनि फोनको घन्टी बजेन। फेरि मोबाइल हेरिन्। बिहानको साढे एघार बजेको थियो। फोन नआएकोले छोरो बिरामी पो पर्यो कि भनेर उनलाई चिन्ता लाग्न थाल्यो। अथवा घुम्न गएको बेला कतै दुर्घटना पो भयो कि? भन्ने सोचिन्।
आमाको मन न हो, के सोच्छ के सोच्छ? अब आफैं फोन गर्नु पर्यो भनेर मोबाइल उठाइन्। छोरोको नम्बर उनलाई थाहा थिएन। कसैले ‘स्पिड डायल’ बनाएर राखिदिएको थियो। फोनमा एकछिन् १ थिचे पछि छोरोलाई सोझै फोन लाग्थ्यो।
उनले त्यो फोन प्रयोग गर्न थालेको पनि आठ वर्ष भैसकेको थियो। पहिले लोग्नेले प्रयोग गर्थे, लोग्नेको निधनपछि उनले पनि त्यही फोन प्रयोग गर्न थालेकी थिइन्।
त्यो फोनसँग उनको भावनात्मक सम्बन्ध थियो। त्यसैले जति पुरानो भए पनि त्यही फोन प्रयोग गरिरहेकी थिइन्।
नयाँ फोन ल्याएर कसैले दिए पनि त्यसलाई चलाउन उनलाई ठूलै तालिम लिनुपर्थ्यो र त्यो फोनसँग बानी पनि परिसकेको त्यो फोन छोड्न सकेकी थिइनन्।
फोनको ‘स्पिड डायल’ थिचेर कानमा लगाइन्।
एकछिन पछि घन्टी बज्यो। तर धेरै बेर घन्टी बज्दा पनि फोन उठेन। त्यति धेरै बेर घन्टी बज्दा पनि फोन नउठेपछि छोरोलाई केही भयो कि भन्ने डर र शंका लाग्यो।
फोन नउठेपछि राख्ने विचार गरेर कान नेरबाट फोन निकाल्दै थिइन् उताबाट ‘हेलो’ भनेको सुनियो। छोरोको आवाज थियो, उनको खुसीको सीमा रहेन।
“हेलो बाबु” खुसी हुँदै फेरि फोन कानमा लगेर हँसिलो मुद्रामा भनिन्।
“ममी, दर्शन गरें” उताबाट छोरोले भर्खर निद्रा बिथोलिएको स्वरमा जाँगर नलगाएर भन्यो।
“भाग्यमानी भए। स्वर अर्कै छ त, सन्चो छैन?” उनले सोधिन्।
“हैन ममी, सुतिसकेको थिएँ त्यै भएर होला” उसले भन्यो।
“आज तिम्रो फोन आएन अनि किन आएन त के भयो भनेर फोन गरेकी हुँ” उनले भनिन्।
“नयाँ खबर केही हुँदैन ममी, त्यही भएर फोन नगर्या हुँ” उसले भन्यो।
“ए” उनले अलि नमिठो मान्दै भनिन्। उनको अनुहार मलिन भयो। तर त्यो मलिन अनुहार छोरोले न देख्न सक्यो न अनुभव नै गर्न सक्यो।
“हुन्छ ममी, यतातिर सबै ठिकै छ केटाकेटी पनि सुतिसक्या छन् उनीहरूलाई ‘डिस्टर्ब’ होला। अब हजुरले उताबाट फोन नगर्नुहोला, हजुरको पैसा पनि खर्च हुन्छ, काम पर्यो भने म आफैं यताबाट फोन गरूँला” भन्दै आमालाई कस्तो छ भनेर सोध्दा पनि नसोधी फोन राख्ने आशयमा उसले भन्यो।
उनले पनि के नै गर्न सक्थिन् र? छोरोको आशय बुझेर उनले फोन राखिन्।
त्यो दिन फोन राखेपछि एक महिना बितिसक्यो त्यसपछि उनको छोरोको फोन आएको छैन। आओस् पनि किन? उसले ‘काम भएमा आफैं फोन गर्छु’ भनिसकेको थियो। अनि बुढी आमासँग उसको के नै काम हुन्छ र? उसले ‘हजुरले उताबाट फोन नगर्नुहोला’ भनेकोले उनले छोरोलाई फोन गर्ने आँट पनि गर्न सकेकी छैनन्।
काम परेमा अवश्य फोन गर्ला भनेर उनी हरेक दिन छोरोको फोन कुरेर बसिरहेकी छन्।