म जीवनको त्यो मोडमा थिएँ जब मलाई दुई काम एकैचोटि गर्नु थियोः बच्चाहरु पढाउने र सहरमा घर बनाउने। जहाँ मेरो भविष्य सुनिष्चित होस्। मेरो बच्चाहरुको भविष्य सुनिष्चित होस्।
म गाउँ छोडेर सहरमा सुन्दर सपनाको परिकल्पना पूरा गर्न आएको अर्को एक युवक। ‘सपना देख्न जति गाह्रो छ, त्यति गाह्रो छ पूरा गर्न।’ ७० वर्ष झरीमा छाता ओडिसकेको वृद्धले यति नजाने, जीवनबाट यति पाठ नसिके, के सिकेको हुन्छ र?
खैर, अब त गालामा छालहरु पनि बग्न छोडिसकेका छन्। जति आए स्थिर भएर बसेका छन्। अब आउछ भन्ने आशा त केवल एकको मात्र छ- काल। ऊ यतै कतै समयको मोडमा कुरेर बसेको छ। म उसको नजिकिदै छु। ऊ तर्फ लामा लामा पाइलाहरु लिएर दौडदै छु।
त्यो समय खुल्यो र पाठ पढाएर गयो। त्यो पनि एक किताब न हो। जाँच पनि भयो। प्रस्ट नतिजा दियो। म पास भएँ। छोरो पास भएछ। कक्षा आठको जिल्लास्तरिय परीक्षा। ऊ प्रथम श्रेणीमा पास भएको रहेछ।
पचासौँ दशकको उत्तरार्धको समय थियो त्यो। नयाँ युग थालनी भयो भन्दै घर आँगन रन्कन्थ्यो। रेडियो नेपाल शक्तिशाली थियो। नेपाल टिभीले आशा देखाउथ्यो। म पनि त्यही सुन्दै रमाउथेँ, डेराको सानो कोठामा।
शिक्षकको पेशामा इज्जत थियो। कमसेकम मेरा विद्यार्थीको माझ जसलाई म पढाउथेँ। जसले एसएलसी पास नगरेका हुन्। जब उनीहरु एसएलसी पास गर्थे, म पनि पास हुन्थेँ। छात्राहरु शिर निहुराएर पास हुन्थे। छात्रहरु देखेको नदेखै गरेर।
समय बलवान् रहेछ। पछि उनीहरुले नमस्कार गर्न थाले। सायद जीवनले उनीहरुलाई पनि पाठ पढाएछ। आजकाल उनीहरुले गरेको उन्नती देख्दा सुन्दा मन खुसीले गद्गद् हुन्छ। आफू उनीहरुको जीवनको एक सानो हिस्सा भएको आभास पाउदा लाग्छ- यो सानो निमेसको खुसीले जीवन सार्थक बनाइदिएकोछ।
कुरा तिनै ताकाको हो। छोरो आठ पाससँगै मेरो घरको नक्सा पनि पास भएको थियो। कान्छी छोरी मेरो कोठा यस्तो हुनपर्छ, उस्तो हुनपर्छ भनेर फर्माइस गर्दै थिइ। उसले भनेको मानेको भए पूरा घर गुलाबी रंगको हुने थियो। उसले भनेको पुगेन। उसले आफ्नो कोठा मात्र गुलाबी भएको पाइ।
घर बनाउदा म चार किलो घटेको थिएँ। हुन त म पहिला कौनसा मोटो थिएँ र? पातलो शरीरमा चार किलो घट्दा म कस्तो देखिएको हुँला? त्यो अहिले म प्रष्ट देखिरहेको छु। त्यो बेलाको फोटो मेरो अहिलेको स्थिति देखेर मैदेखि हाँसीरहेको छ।
म अवाक् छु। त्यो म नै हो। म आफैमाथि हाँसीरहेको छु। त्यो बेला लाग्थेन म यो स्थितिमा आइपुग्छु। अहिले लाग्दैन म फेरि त्यो समयमा पुगे, त्यो दुख गर्न सक्छु।
सानो छोरो दुखी थियो। उसले माथिको तलाको सानो कोठा पाएको थियो। दाइ झनै दुखी थियो। उसले भाइसँग कोठा बाढ्न पर्ने थियो। जवान भइरहेको उसलाई अब आफ्नो स्पेस चाहिने भएको थियो। उसले दुई खाट बीचमा प्रस्ट रेखा कोर्यो। ‘त्यता तेरो, यता मेरो।’
म खुसी थिएँ। बुढी खुसी थिइ। घर बनेको थियो। स्वभाविक छ, म त्यो कोठामा थिएँ जति मेरो हैसियत त्यो परिवारमा थियो। सबसे ठूलो। दुखी पनि थिएँ। एक ट्रक बालुवा र साढे सात बोरा सिमेन्ट खेर गएको थियो। त्यो जमेको फाल्न नसकेर चार आना जग्गाको एक कुनामा बर्सौ मिल्कीरह्यो। पछि उसलाई घामले छोयो, पानीले छोयो, हुरीले छोयो। केही बाँकी रहेको छोराले फालेछ। उसको माटरसाइकलको ठाउँ ओगटेको थियो।
घरमा सामान भित्र्याएर बुढी चिया बनाउदै थिइ। उसले भनी- ‘बुढा, घर एउटा छ छोरा दुइटा।’ म खिस्स हाँसेँ। चिया मिठो हुन पर्ने थियो। मिठै थियो। मिठो हुन सकेन।
घर सुन्दर हुँदै थियो। फूलबारी रंगीन थालेका थिए। घिराम्लो र स्कुसका झाडी उसको समयमा बाक्लिन्थे अनि हाम्रा स्वादलाई बेस्वाद बनाएर जान्थे। धन्न अलिअलि जग्गाले हाम्रो अर्गानिक खाने रहर तृप्त बनाएका थिए। मखमली फुल्थे। हरेक वर्ष फोटो खिचिन्थे। उनीहरु मेरा छोराछोरीको गलामा हुन्थे। अनि अझ सुन्दर देखिन्थे।
जेठो ठूलो भएछ। ऊ देश छोड्न लाग्यो। म हाइस्कुल छोडेर प्लस-टु पढाउन थालेको थिएँ। म बढ्दै गएँ। परिवार बढ्न लाग्यो। अब त शरीर मात्र होइन, संख्या पनि। छोरी बिदाइ भएर गइ। ऊ पनि विदेश लागि। पछि उतै साथी भेटाइछ। ऊसँग लागि।
खै, संख्या बढ्यो भनौँ कि घट्यो! हामी घरमा एक्लै हुन लागिरहेका थियौँ। कान्छो पढ्न घर बाहिर बस्न थालेको थियो। तल्लो तलामा भाडामा बस्नेहरु पनि आ-आफ्नो व्यवस्था गरेर आफ्नो बाटो लागेका थिए। उनीहरुको उन्नतीले पनि मलाई मेरा विद्यार्थीहरको उन्नतीले दिने तृप्तता दिन्थ्यो।
कोही घर छोडेर जाँदा बुढी रुन्थी, कोही घर छिरेको भोलिपल्ट घर छोडिदिए हुन्थ्यो भनेर कचकच गर्न लाग्थी। डेरावाला र घरबेटीको सम्बन्ध प्रायः चिसो हुँदो रहेछ। दिनेलाई लाग्छ सस्तोमा दिइरहेको छु, लिनेलाई सधैँ लाग्छ महङ्गोमा बसिएको छ। महङ्गाइ कहिले घट्छ र?
कोहीले एक अङ्खरा पानी प्रयोग गर्थे, कोही एक गाग्री प्रयोग गर्थे। पानीको अनिकालको राजधानीमा अङ्खरा प्रयोग गरिदिने प्यारो लाग्छ। म भन्थेँ- ‘आइमाइ धेरै भएको घरमा पानी नरित्तिए के रित्तिन्छ?’
फेरि बुढी भन्थी- ‘पुरुष मात्र भएको घर फोहोर हुन्छ।’ अनि म कलेज गएर पानी र सफा हुनुको पाठ पढाएर आउथेँ। नेपाली शिक्षक थिएँ।
जेठोलाई राम्रो नेपाली सिकाएको थिएँ। तर ऊ अंग्रेजीको ठाउँमा जान मन गर्यो। ऊ खुसी हुँदै परदेश गएको थियो। ऊ नेपालीमा खुब राम्रो कविता लेख्थ्यो। आजकाल उसका छोरीहरुलाई नेपाली आउदैन।
त्यो दिन मेरो बिदाइको क्षण थियो। खै उमेरले कहिले नेटो काटेछ, मेरा सेतो दाह्री र खुइलिएको कपाल प्रष्ट देखिन थालेछन्। तर लाग्थ्यो, ममा स्फूर्तीको केही कमी भएको छैन। म अझै बिहानीको कलेज भ्याएर दिउसोको कलेज खोज्दै थिएँ। उनीहरु मेरो साटो अरु कोही खोजिरहेका रहेछन्।
म त्यो दिन भावुक थिएँ। लाग्यो, आफ्नै केही हुनुपर्दो रहेछ। त्यो मेरो आफ्नो स्कूल भइदिएको भए मलाई निकाल्न सक्थे यिनीहरुले? खैर म विवश थिएँ। लाचार थिएँ। लुरुलुरु घर फर्केँ। अर्को दिन म कतै गइनँ। त्यसका पछिका धेरै दिन म कतै गइनँ।
घरको त्यो कोठा कयौँ वर्ष उत्तिकै रहिरहेको थियो। सुरुमा ठूलो थियो। सामान थोरै थिए। बीचमा सानो भयो। सामान धेरै भयो। तर त्योपछि वर्षौ उत्तिकै रह्यो। म सानो भइसकेको रहेछु। बुढी पनि सानो हुँदै थिइ। ऊ अर्को कोठामा नातिसँग रमाउथी। कान्छो छोराको छोरो भइसकेको थियो।
आजकाल नाति मेरो विद्यालय भएको छ। म उसलाई पढाउदै छु। ऊ सिक्दै छ। तर बुझ्ने उमेर उसको भइसकेको छैन। उसको बुबा खै कहिले बुझ्ने भइसकेछ। ऊ भन्दै थियो- ‘बुबा हामीलाई गाह्रो हुन लाग्यो। कोठा सानो भयो, तपाईहरु त्यो सानो कोठामा बसिदिनुहोस् न।’
त्यो छलफल थिएन। ऊ निर्णय सुनाउदै थियो। अनि मेरो हाँसेको फोटो यो कोठामा आएर हाँस्न थाल्यो। आजकाल यो कोठा ठूलो लाग्छ मलाई।