टिरिर्र घण्टी बजेसँगै चक, डस्टर र किताब उठाएर कक्षाकोठाबाट अफिसतिर जाँदै थिएँ।
'सर, सर!' पछाडिबाट कसैले आवाज दिएजस्तो लाग्यो। पछाडि हेरेँ। स्याँस्याँ र फ्याँफ्याँ गर्दै फुलेको सास मिसिएको स्वरमा रोचक चिच्याउँदै म छेउ आउँदै थियो। ऊ टक्क अडियो।
निहुँरिदै दुवै हातले घुँडा समाएर लामो सास फेर्यो र अक्मकाउँदै भन्यो, 'सर! हजुरलाई हाम्रो मम्मीले बोलाउनुभएको छ। हाम्रो घरमा हिँड्नु रे! भरे मसँग जाने है सर।'
'किन?'
'जिन भएन नि,' उसले कारण खुलाएन।
'हुन्छ,' मैले केही नसोची त्यो निम्तो स्वीकारेँ।
चार बजेपछि ट्युसन सकाएर म रोचकको घर गएँ। उसको मम्मीसँग भेट भयो। रोचकको मम्मी साह्रै लजालु रहिछन्। बोल्दा नि कम बोल्ने।
केही छिन छाएको मौनता चिर्ने बाहनामा म बोलेँ, 'के कति कामले बोलाउनुभएको थियो मलाई?'
'सर हजुरसँग एउटा सल्लाह गरौं भनेर। बाबु घरमा किताबै हेर्दैन। हजुरलाई फुर्सद भए यसो एक दुई-घण्टा घरमै आएर यसलाई हेरिदिनुहुन्थ्यो कि भनेर!'
रोचक अलि बेग्लै खालको विद्यार्थी थियो। कक्षामा अरू साथीको दाँजोमा उसले सिक्न सक्दैनथ्यो। हलमा नारेको गोरूमा एउटा बुढो अर्को भर्खरको बहरजस्तो कक्षामा उसको स्तर मिल्थेन अरू साथीसँग। रोचकलाई मैले केही समय दिन सकेँ र उसमा बदलाव आयो भने त मलाई नि फाइदा हुने हो। यो सोचेर मैले 'हुन्छ' भनिदिएँ।
हुन्छ त भनेँ। पछि पो याद भो समय नमिल्ने रहेछ। बिहान क्याम्पसलगत्तै स्कुल अनि बेलुका ४ बजेदेखि ६ बजेसम्म स्कुलमै ट्युसन। त्यसपछिमात्र मैले रोचकलाई समय दिन पाउने भएँ।
त्यस क्षण मैले रोचकको अनुहारमा असिम खुसी पोतिएको देखेँ। निम्तो स्वीकारेर मैले उसको घरको आँगन टेकेकाले होला ऊ त्यति विधि खुसी भएको। उसले मलाई कोठामा लग्यो। कोठाको भित्तामा झुण्डिएको एउटा तस्वीरमा मेरो आँखा पुग्यो।
कन्भोकेसन गाउनमा सजिएको मान्छे हातमा सर्टिफिकेट लिएर मुस्कुराएको। मैले सोधेँ, 'ऊ को त नि ?'
'मेरो बाबा।'
'अनि अहिले कता हुनुहुन्छ त?' यहिबेला उताबाट उसकी मम्मी आइन्।
रोचक भन्दै थियो, 'बाबा त अहिले विदेश हुनुहुन्छ। बुवाको पनि हजुरको जस्तै अफिस थियो। एकदिन...।'
'बोल्छस् ? कत्ति न जान्ने भई टोपलेको। गाला फुट्नेगरी चट्कन भेट्छ र ! अनि थाहा पाउछ गधाले,' आमाले हकारेपछि उसले जिब्राको टुप्पोमा ल्याइसकेको कुरा निक्लन दिएन।
मनमनै सोचेँ- यहाँ केही न केही गडबढ हुनुपर्छ।
म एकछिन घोरिएँ। अर्को मनले फेरि भन्यो, 'ह्या जे सुकै होस् मलाई के मतलब? मेरो काम पढाउने हो। खुरुखुरु पढाउँछु।'
आफ्नै मनलाई सान्त्वना दिने चेष्टा गरेँ मैले। अब आइसकेपछि आजैबाट पढाउन सुरू गर्छु भन्ने सोचेर रोचकलाई केही बेर पढाएँ।
रोचकको घरबाट निस्कदा साँझ छिप्पिइसकेको थियो। गेटबाट भित्र छिर्दा मलाई देखेर घरबेटी बाले अनौठो भावमा ओठ लेप्र्याउँदै परेला उचालेर बुढीतिर पुलुक्क हेरे। घरबेटी बा अति शंकालु। घर भाडामा बस्ने बेलामा पनि मेरो तीनपुस्ते उतार्न लगाएका थिए।
'यो मान्छे कहाँ गएर आउँदो हो यस्तो राती,' भर्याङ उक्लनै लाग्दा घरबेटी आमाले फुस्फुसाएको सुनेँ।
घरबेटी आमा अलि फरक स्वाभावकी छिन्। मन मिल्ने मान्छे भेटिन् भने एउटै कुरा उक्काएर त्यसलाई तानतुन र जोडजाड पारी दिन बिताइदिन सक्छिन्। त्यो बेला मेरो मन एक अनौठो उकुसमुकुसमा गुम्सिएको थियो।
कोठाभित्र पसेँ। झ्यालको कापबाट छिरेको बरन्डाको बत्तीको धुमिल उज्यालोका सहारामा बत्तीको स्वीच अन गरेँ। आँखा घडी झुन्डिएको भित्तामा पुग्यो। घडीको सुइले रातको नौ बजेको संकेत गरेको थियो। नाक नै छेड्ने गरी आएको नमीठो ‘ह्वास्स’ गन्धले टाउको रिंगायो। ढोका नजिकै बाँटाभरी जुठा भाँडाको डंगुर। कति दिनदेखि नमाझेको।
थकाइ लागेको छ। न काम गर्ने जाँगर छ, न खाने। कोठाको अवस्था देख्दा अलिअलि बाँकी जाँगर पनि हरायो। पर्दा खोलेँ। लम्पसार सडकको छातीमाथि कुदेका गाडीको आवाजबाहेक केही थिएन। एकछिन खाटमा पल्टिएँ।
‘हुँदैन यस्तो चालाले,’ मैले आफ्नै मनसँग भलाकुसारी गरेँ। जुरुक्क उठेँ। खाटभरि छरपस्टै भएका किताब ततेरें। भोलि क्याम्पस जानुपर्ने। रुटिनको लहरोले आजको थकान चपक्कै बेर्यो। मेरा आँखा कतिबेला लोलाएछन्, पत्तै पाइनँ। भोलिपल्ट ब्युझँदा त छातीमाथि किताबको ठेली। हतार–हतार हान्निएँ क्याम्पसतिर।
बिहान क्याम्पस जाऊ, आऊ। फेरि स्कुल जाऊ, पढाऊ। यो दैनिकी मैले निरन्तर पछ्याइरहेको थिएँ। दिनसँग हप्ता महिना गासिँदै गए। कक्षामा पढाउँदा ध्यान नदिने रोचक म घरै गएर पढाउँदा भने निकै चाख दिएर पढ्न थाल्यो।
'तिमीलाई त एकचोटि भनिदिए पुग्ने रहेछ,' बेलाबेला उसलाई फुर्क्याइदिन्थे। रोचकको पढाइमा सुधारका संकेत देखिन थाले। प्रथम चौमासिक परीक्षाको नतिजा आयो। रोचक पुछारबाट उकासिएर तेस्रो स्थानमा आउन सफल भयो। एउटा शिक्षकलाई यो भन्दा ठूलो खुसी के हुन सक्छ र?
एकदिन मलाई उसको मनको कुरा जान्ने इच्छा जाग्यो। मैले सोधेँ, 'के बन्छौ बाबु तिमी पछि गएर?'
'म त शिक्षक बन्ने हो।'
'किन?'
'कसैलाई नि नभन्नु है! म हजुरलाई एउटा कुरा भन्छु,' रोचक चारैतिर नियाल्दै मेरो कानमा साउती गर्छ।
'के कुरा भन न। म कसैलाई नि भन्दिनँ।'
'प्रमिस?' ऊ रुद्रघण्टी समाउँदै वाचामा बाँध्न खोज्छ।
'ओके प्रमिस,' मैले पनि ऐजन गरिदिन्छु।
'मेरो बाबा सधैं अफिस जानुहुन्थ्यो। अफिसबाट फर्किँद सधैं केही न केही ल्याइदिनुहुन्थ्यो। मम्मीलाई चाहिँ कति धेरै पैसा राख्न दिनुहुन्थ्यो। सधैं बर्थडेमा सरप्राइज दिनुहुन्थ्यो। त्यही भएर त्यो वर्ष मैले धेरै दिन पहिलेदेखि मेरो बर्थडे कुरेर बसेको थिएँ। त्यो दिनको बर्थडे कति नरमाइलो भयो। मैले बाबाको बाटो हेरेर बसेँ। मम्मीले बाबालाई फोन गर्नुभयो। तर मोबाइल अफ थियो।
भोलिपल्ट म र मम्मी बाबालाई खोज्दै उहाँकै अफिस पुग्यौं। बाबा त्यहाँ पनि हुनुन्थेन। कुरो बुझ्दा बाबालाई त जेल हालिएको रहेछ। बाबाले घुस हो कि के हो खानुभाको रे, त्यही भएर जेल हालेको भन्दै हुनुहुन्थ्यो पल्लारे काकाले मलाई...।'
उसको बाल मस्तिष्कमा खोपिएर बसेको यो घटना सुनेर मेरो मुटु ढक्क फुल्यो। अचम्म त यसमा लागेको थियो, शिक्षकसँग उसले यो प्रसंग किन जोड्यो?
रोचकको नाक थोरै थेप्चाउँदै मैले भने, 'तिम्रो लक्ष्य राम्रो रहेछ बाबु। तिमी शिक्षक नैं बन्नु ल।'
'अनि हाम्रो बाबाको कहानी त हजुरले सुन्नुभयो। अब हजुरको सुनाउनु न. कसरी हजुर हामीलाई पढाउने टिचर बन्नुभयो?'
मैले आफ्नो कहानी बताएँ। त्यो कहानी सुन्दा कुनै अद्भूत परीकथा सुनेजस्तो आँखा झिमिक्कै नगरी सुनिरहेको थियो ऊ।
दिनहरू बित्दै गए। रोचकको पढाइमा सुधार हुँदै गएकामा उसकी आमा साह्रै खुसी थिइन्।
मलाई केही दिन स्कुलले काजमा सदरमुकाम खटायो। फर्केपछि स्कुलको ट्युसन सकाएर म रोचकको घर गएँ। रोचकलाई नभेटेको चार-पाँच दिन भइसकेको थियो। कति बेला भेटूँजस्तो भएको थियो मलाई।
हतार हतार गेटबाट छिरेँ। त्यहीबेलामा रोचकको घरमा चर्को आवाज सुनेँ। एउटा लोग्ने मान्छेको आवाज कोठाको भित्तो छेडेर बाहिरै आएको थियो।
ऊ भन्दै थियो,'...परिवार पाल्न नसकेर घर–घर ढुकुवा लाएर हिँड्छन्। छ्या यस्तो जागिर खाएर पनि बाँच्ने हो। यस्तो भन्दा त बरु बुचर बनेर बस्नु नि!'
यस्तो कुरा कानमा परेपछि म विक्षिप्त भएँ। मेरो पाइला त्यहाँबाट अघि बढ्नै मानेनन्। त्यो रात छटपटीमै बित्यो। जति पछि भयो त्यति त्यो आवाजले मलाई बिझाउन थाल्यो। ती शब्द मप्रति नै लक्षित थिए त?
मलाई विश्वास गर्नै कठिन भयो। मन यही कुरालाई लिएर एकतमासले हुँडलिन थालेको थियो। होइन, मलाई नै भनेको हो।
अन्तिममा मनले यही निर्णयलाई सदर गर्यो। मलाई अब त्यहाँ फर्केर जान मन भएन। त्यतिबेला दस दिन जति भएको थियो सायद म रोचकलाई पढाउन नगएको।
एकदिन रोचकले मलाई भेटेर भन्यो, 'सर ! हजुर आजकल पढाउन किन नआउनुभएको? बिजी भएर हो? हाम्रो त बाबा आउनुभाको छ। एक हप्ताभन्दा बढी भयो।'
अब भने पक्कापक्की भो त्यो झगडा मेरै कारण भएको रहेछ भन्ने कुरा।
'होइन बाबु। मलाई अलि सञ्चो छैन त्यही भएर,' मैले कुरा लुकाएँ।
'त्यसो भए म हजुरकै घर आउँछु है त पढ्न?'
'हुन्छ नि किन नहुनु,' उसको टाउको मुसार्दै मैले भनेँ।
महिना दिन जति भएको थियो रोचकलाई घरै बोलाएर पढाउन थालेको। एकदिन रोचक कसैलाई साथमा लिएर आयो।
उसले त्यो मान्छेतिर इशारा गर्दै भन्यो, 'उहाँ मेरो बाबा हजुरलाई भेट्न आउनुभएको !'
'सर नमस्कार,' मैले नमस्कार फर्काएँ।
'सर हजुर त म आएपछि आउनुभएन,' म झसंग भएँ। जस्तोसुकै परिस्थितिमा पनि ऊ आएपछि एकपटक भए पनि म उसको घरमा जानुपर्ने थियो। यति बेला पो चेत खुल्यो मेरो। उसले के सोच्यो होला। उसका छर–छिमेकीले के सोचे होलान्?
बल्ल झल्यास्स ब्युँझिए झैं भएँ म। मैले गल्ती गरेको महसुस गरेँ।
'बिरामी भएर आउन सकिनँ,' पहिलेकै रेडिमेड उत्तरले काम चलाएँ मैले त्यतिबेला।
'सर बाबुलाई ट्युसन पढाउनु भा'रैछ। फी कति भयो होला? अब त बुझाउन पर्यो भनेर। के गर्ने मास्टरी जागिरे, दालभातको जोहो नि हुँदैन होला है। ट्युसन-स्युसन गरेर घरखर्च धान्नुभा होला।'
यो सुनेर मेरा कन्सिरीका रौं ताते। तोरी फूल देखिने गरी चड्कन लगाएर पठाइदिउँ जस्तो लागेको थियो। के गर्ने नैतिकताले दिएन।
हात नउठे पनि के कम मुखभरीको जवाफ फर्काइदिएँ, 'आजकल त मैले मासु बेचेर पेट पाल्ने गरेको छु। अहिले मेरो पढाउने काम समाजसेवामा पर्छ। उताको कमाइले चाहिँ घर परिवार चलाको छु हजुर।'
मैले एकटकले उसको अनुहारमा हेरेर भन्दा उसले घोसेमुन्टो लगायो। पक्कै पनि उसले मलाई पहिल्यै कुनै बेला सत्तोसराप गरेको सम्झेको हुनुपर्छ। मलाई शिर उठाएर हेर्नै सकेन। कालो-निलो भएर जुरुक्क उठेर हिँड्यो।
(प्रकाश कुमार सिग्देल स्यांजाको विद्यालयमा शिक्षक छन्)