‘तपाईंमाथि लागेको आरोप सत्य हो?’
‘हो, हजुर।’
‘किन गर्नु भो बलात्कार?’
अदालतको कठघरामा उभिएको छ एक पुरुष। कठघरा बाहिर छन् वकिल। र पुरुषलाई प्रश्न गरिरहेछन्। पुरुष सत्य बोलिरहेछ।
‘महाशय! किन मौन, खोइ मेरो प्रश्नको जवाफ? किन गर्नु भो बलात्कार?’ पुरुष चुप रहेको देखेर वकिल फेरि त्यही प्रश्न दोहोर्याउँछन्।
‘हजुर’ पुरुष केही धक मान्छ।
‘भन्नोस्, सत्य सत्य?’ वकिल फेरि दोहोर्याउँछ। सत्य बुझ्न सब आतुर छन्। सबका आँखा पुरुषतर्फ केन्द्रित भएका छन्। यो न्यायालय र यहाँ रहेको मास घटनाको सत्य जान्न इच्छुक छन्। सबका आँखाले यही भनिरहेछ। सत्य नबताइ पुरुषले यहाँबाट छुटकारा नपाउने देखेर यथार्थ घटना बताउन थाल्छ।
‘श्रीमान्, यो सहरको भीडमा एक दिन हामी एकअर्कामा ठोक्कियौँ। क्रमशः मित्रताको नयाँ साइनोमा परिणत भयो हाम्रो परिचय। त्यसपछि हामी बीच भेटघाट बाक्लिँदै गए। म उहाँको कुरा काट्न नसक्ने भएँ।
उहाँले जे भने पनि मान्न थालेँ। त्यसपछि हामी बीच सबै कार्य भए। जुन नराम्रो कार्य हो भन्ने सोच्दासोच्दै पनि उहाँको कुरा काट्न नसकेर मैले मानेँ। बदलामा उहाँले विभिन्न फर्माइसहरू राख्दै जानुभयो। खोइ, किन हो म उहाँका सबै फर्माइसहरू पूरा गराउँदै जान थालेँ।
त्यसपछि हामी बीच यी खेल निरन्तर जारी रहे। बदलामा मैले उहाँका माग पूरा गराइरहेँ। विस्तारै मेरो आर्थिक हैसियत बिग्रँदै जान थाल्यो। त्यसपछि म केही सचेत त भएँ तर उहाँका आवाजले मलाई हराउँथ्यो र म खोक्रिएरै भए पनि उहाँको बोलीमा लुटपुटिन्थेँ। पछिल्लो समय यो सहरमा उहाँको नाममा जग्गा किनिदिने माग आयो। मैले ठाडै नसक्ने बताएँ।
पहिला नै जमाना अनुसारको सारी थरीथरीका, फेसन अनुसारका कपडाहरू, मोबाइल, घडी, सुन पूरै शरीरभरी ढाकिने गरी माग भए। ती सब माग किनिदिँदा म विस्तारै खोक्रो हुँदै गएपछि मात्र मैले गलत गरेको आभास भएतापनि उहाँका आवाजले म चुम्बकझैँ तानिइरहेँ। घरकी श्रीमतीको नाक, कान बुच्चो भयो।
छोराछोरीको सपना रेट्दै रहेँ, उहाँको माग पूर्तिका लागि। विस्तारै मैले टाढिने बाटो खोजेँ। उहाँ नजिक्याइरहनु हुन्थ्यो। पछिल्लो समयको जग्गा किनिदिने माग ठाडै अस्वीकार गरेँ। जब म नसक्ने कुरा गर्थें। उहाँ जबरजस्ती गरेको भनेर भनौँ भनेर मेरो गला समाउने गर्नुहुन्थ्यो। त्यसपछि नै म हार्दै गइरहेको थिएँ।
जबरजस्तीको घटनाभन्दा त माग पूरा गराउनु नै आफ्नो बचावट देखेँ। जब जग्गाकै माग आयो, सिधै अस्वीकार गरेँ। मेरो औकात नपुग्ने भएकाले जे त होला भनेर म पछि हटेँ, हट्न बाध्य भएँ।’ बोल्दाबोल्दै पुरुषको गला अवरुद्ध हुन्छ।
वकिलले पानीको बोतल अघि बढाउँछन्। एक बोतल पानी एकै घुट्कोमै रित्तिन्छ। धाराप्रवाह रूपमा खसेको आवाज फेरि खस्न थाल्छ।
‘त्यो जग्गाको फर्माइस निरन्तर बढिरह्यो। मैले नसक्ने भनेँ। बदलामा जबरजस्तीको आरोप आयो। हारेँ म, र स्वीकारेँ जबरजस्तीको आरोप’ पुरुष रसाएका आँखा पुस्छ रुमालले र शिर झुकाउँछ जमिनतिर।
मौन छ कठघरा। मौन छ न्यायको यो कक्ष। सबका आँखा तृप्त छन्, केही आँखामा आँसु मिसिएका पनि छन्।
‘के सत्य हो यो कुरा?’ केही समयको मौनतालाई चिर्दै वकिल महिला उभिएको कठघरा अघि पुगेर प्रश्न गर्छन्। झस्किन्छिन् महिला। केही क्षण अकमकिएर भन्छिन्-
‘यो सब झुटो हो।’
‘झुट बोल्दै हुनुहुन्छ रे नि त तपाई। के प्रमाण छ तपाईसँग?’ वकिल पुरुषको कठघरा अघि गएर पुरुषलाई प्रश्न गर्छन्।
‘त्यो सुनको सिक्री नै प्रमाण छ। हेर्नोस्, यी मैले किनेको बिल’ पुरुष बिल वकिलको हातमा दिन्छ।
‘कहाँ किन्नु भएको त्यो सिक्री, कति परिणामको छ?’ महिलालाई सोध्न पुग्छ वकिल। महिला अकमकिन्छिन्।
‘भन्नोस् न, कहाँ किन्नुभएको?’ वकिल प्रश्न गर्छन्।
‘यो यो...’ मात्र यति आवाज निस्कन्छ।
‘भन्नोस्?’ वकिल उत्तर खोज्छन्।
‘मेरो श्रीमानले किनिदिनु भएको’ महिला डराइ डराइ भन्छिन्।
‘अनि तपाईंको श्रीमानसँग राम्रो सम्बन्ध छैन भन्या हैन र?’ वकिलले गला समाउँछन्।
‘हैन, मेरो विवाहमा दाइजो आएको’ महिला आत्मसन्तुष्टिको लामो श्वास फेर्छिन् तर उनको मुहारमा पसिना टल्किएको सबले देख्छन्।
‘श्रीमान्, कुरा स्पष्ट छ’ दुई कठघराको बीचमा उभिएर न्यायाधीशलाई अन्तिम निर्णयका लागि छोडेर वकिल सिटमा गएर बस्छन्।
न्यायाधीशको आवाज अगावै सबले थाहा पाइसक्छन् अन्तिम निर्णय।