चाहन्थेँ, यो असत्य घटनामा आधारित् कथा होस्। कास्।
एकाबिहानै दुतावासबाट फोन आयो- तुरुन्तै इन्डोनेसियाको बाली जानु पर्ने भयो। ती कर्मचारीले भने कि एउटा नेपालीलाई हत्याको आरोपमा समातेको छ। कानुनी सहयोग गर्नु पर्यो।
केश अलि जटिल हुन सक्छ। अस्ट्रेलिया पर्थबाट बाली टाढा छैन। मैले पनि तुरुन्तै हुन्छ भनिदिएँ। श्रीमती लिसासँगै जानु हुन्थ्यो तर उनी उनको स्कुलका पुराना साथीहरुसँग भर्खरै त्यहाँ घुमेर गएर फर्केकी हुनाले जान चाहिनन्।
लिसासँग मैले प्रेम् विवाह गरेको हुँ। यहाँ विद्यार्थी भएर आउदादेखि कै प्रेम हो। नेपालमा बाबा आमालाई मन परेको त थिएन। जे होस्, कथाको मूल् विषय यो हैन।
पूर्पक्षको लागि जमानत नहुने गरी त्यो व्यक्तिलाई जेलमा लगिसकेको रहेछ। एयरपोर्टबाट सिधै म बालीको जेलमा पुगेँ। बालीको उष्ण गर्मी अनि त्यस्तै भीडभाड पर्यटकहरुको। म पनि आएको छु पटक पटक। तर यसपालिको भ्रमण अलि फरक हुने नै भयो।
इन्डोनेसियाको जेल व्यवस्था कहाली लाग्दो छ। एउटा सानो कोठामा २० जना बन्दी कोचिदिएको हुन्छ। वकिलसँग कुरा गर्ने मौका समेत राम्ररी पाउदैनन् ती कैदीहरु। भाग्गेवश मैले एउटा कोठा एक घन्टालाई बूक गर्न पाएँ।
तुरुन्तै एउटा करिब ५ फुट १० इन्च जति अग्लो खाइलाग्दो ज्यान भएको अन्दाजी ३५ वर्ष जतिको मान्छे प्रवेश गर्यो। उस्लाई म आउने कुरा थाहा भैसकेको रहेछ। ‘नमस्ते हजुर’ भनेर अगाडिको मेचमा थपक्क बस्यो। ‘रुबन जोशी म’ भन्यो उस्ले।
मैले पनि हात मिलाएर भनेँ, ‘म तपाईको वकिल, रमेश। रबर्ट पनि भन्छन्। अंग्रेजी देशमा सजिलो होस् भनेर।’
‘बुझेँ’ भन्यो उस्ले।
‘राजदुतावासको सहयोगमा म आएको छु। अनि सन्चै हुनुहुन्छ?’ सोधिहालेँ। नसोधेको भए हुन्थ्यो जस्तो लाग्यो।
ऊ फिस्स हाँस्यो ‘जति सन्चो हुन सकिन्छ, त्यति त छु।’ त्यसपछि भने ऊ दिल खोलेर हाँस्यो। मलाई असमन्जस्यमा पार्ने गरी नै।
मान्छे ऊ करिब करिब ह्यान्डसम नै हो। दारी पालेको थियो। दुतावासले पठाएको फोटोमा पनि थियो दारी तर अहिले निकै लामो भएको थियो। सायद काट्न नपाएर होला।
उस्को बारेमा मलाई अरु कुनै कुरा पनि थाहा थिएन। त्यसैले मैले आफ्नो कम्प्युटर झिकेर कुरा सुरु गरिहालेँ। केवल १ घन्टाको समय दिइएको थियो।
‘रुबन जी, भन्नुस् के भएको हो’ म टाइप गर्न तयार भएँ।
‘मान्छे मारेको आरोप छ’ उस्ले भन्यो।
‘थाहा पाएँ’ मैले सुस्तरी बोलेँ, ‘सबै कुरा भन्नुस् कसरी तपाईलाई आरोप लाग्न पुग्यो?’
‘कामबाट बिहान सबेरै होस्टेल फर्कदा रगत चुहिरहेको ड्रम देखेँ। हठात् मैले ड्रम खोलेर हेरेँ। लाश थियो’ यति भनेर ऊ चुप लाग्यो। मलाई लाग्यो ऊ रुन खोज्दै छ तर ऊ मुस्कुराइ नै रहेथ्यो।
‘अनि?’ मैले सोधेँ।
‘त्यसपछिको घटना सबैलाई थाहै छ, मैले पुलिसलाई फोन गरिदिएँ तर आखिर मलाई नै उल्टो आरोप लाग्यो।’
विस्मयको साथ उस्लाई हेरेँ, कति सजिलै उस्को कुरा टुंगायो उस्ले।
‘ओके’ मैले बोलेँ।
‘काम सकेर बिहान घर आउदै हुनुहुन्थ्यो? के काम गर्नु हुन्छ?’
‘घर हैन, मेरो घर छैन यहाँ। अथवा कही पनि। यो होस्टेल हो। मलाई कामबाटै बस्न दिएको। काम सुन्न चाहनु हुन्छ?’
‘चाहेको भन्दा पनि जरूरी भएरै सोधेको’ मैले भनेँ। लाग्यो कि यो व्यक्तिबाट कानुनी तथ्य निकाल्न सजिलो छैन। म त उसकै पक्षबाट लड्दै थिएँ। तैपनि कतिपय केशमा आरोपितहरु उनीहरुकै वकिललाई पनि मद्धत गर्दैनन्।
‘नरिसाउनुस वकिल साहेब, यहाँ फस्ने रहर मलाई पनि छैन। मेरो काम अलि फरक छ। म एउटा मसाज पार्लरमा काम गर्छु अनि कतिपय दिनहरुमा यौनकर्मीको काम पनि गर्छु। रिलेटेड काम हो। '
‘ह्वाट?’ अनपेक्षित जवाफ सुनेर म झन्डै तर्सिएँ।
‘त्यसै भएर मैले भनेको हजुरलाई।'
कम्प्युटर बन्द गरेर मैले उस्लाई हेरेँ। अलि अलि व्यंग्यात्मक पाराले ओठको एउटा कुनाबाट मुस्काइ रहेथ्यो।
अफिसमा गएर मैले यो केशलाई १ घण्टाले नपुग्ने बताएँ। अनेक अनुरोधपछि मैले अर्को १ घण्टा पाएँ र यो समयमा त्यसै खेर फाल्न चाहन्न थिएँ।
रुबनले सारांशमा उसको दिनचर्या बतायो। उसको दैनिकी चाखलाग्दो थियो तर मलाई उसको आरोपको विषयमा बढी बुझ्नु थियो। २ घण्टामा पनि त्यति कुराहरु खुल्न त सकेनन् तर छिटै नै अदालतको पहिलो सुनुवाइ भएकोले मैले हतार जस्तै गर्नु पर्यो। पहिलो सुनुवाइमा रुबनलाई चार्ज लगाउने छन् सरकारी पक्षका वकिलहरुले। अनि सायद सजायको पनि माग गर्ने छन्।
त्यस्तै भयो। अदालतको दिन म उसको वकिल भएर उपस्थित भएँ। म आत्तिरहेको थिएँ, पहिला पनि बालीमा केश नलडेको हैन तर यो बढी नै कम्लिकेटेड थियो।
सरकारी वकिलले दायाँ बायाँ गरेन, सिधै ‘जघन्य हत्या’ को आरोप ठोक्यो र सजाय मृत्युदण्डको माग गर्यो। इन्डोनेसियामा मृत्युदण्ड भनेको एकदम साधारण। अदालतको पहिलो दिन नै मैले महशुस गरेँ कि न्यायाधिशहरु पनि झन्डै झन्डै हत्या गरेको प्रमाणभन्दा नगरेको प्रमाण खोज्न बढी आतुर थिए।
तपाईहरुलाई थाहै होला कि अदालतको न्यायको सिद्धान्तले दोषको प्रमाण माग्छ न कि निर्दोशीताको।
रुबनले सबभन्दा पहिले लाश भेट्नु नै ऊ हत्यारा भएको प्रमाण वकिलहरुले दिन थाले। मेरो प्रतिवादपछि कुरा अगाडि बढ्यो तर यसरी अगाडि बढ्यो-
सरकारी वकिलले रुबनलाई उसको कामको बारेमा सोध्यो र उसले पनि मलाई बताएजस्तै बताइदियो। दोभाषेको मार्फत कुराकानी गर्नु परेकोले समय पनि धेरै लाग्थ्यो।
‘देख्नु भयो श्रीमान?’ वकिल बोल्यो। ‘अर्थात सुन्नुभयो? अब यस्तो अनैतिक काम गर्नेले कसरी हत्या गर्न सक्दैन?’
‘के तपाई समलिंगी हुनुहुन्छ?’ अर्को वकिलले सोध्यो।
‘लोग्नेमान्छे रे अनि यौनकर्मी?’
‘हैन, म समलिंगी हैन’ रुबनले जवाफ दियो।
‘अर्थात्’ वकिलले टेढो मुस्कान छेड्यो र भन्यो, ‘तपाई यहाँ आएर हाम्रा चेलीबेटी वा श्रीमतीलाई बिगार्दै हुनुहुन्छ। के थाहा न तपाईको वा मेरै वा न्यायाधिश साहेब कै…' वकिलले कुम उचाल्यो र न्यायाधिश तर्फ हेर्यो।
‘मैले कसैलाई कसरी बिगार्ने? अब कोही तपाईहरुसँग खुसी छैनन् भने आए पनि होलान्' रुबनले अप्रत्याशित रुपले बोल्यो।
न्यायाधिशले कागतीको रस खाए जस्तो अनुहार लगायो। मैले रुबनलाई हत्तपत्त नबोल्न इशारा गरेँ। उसलाई थाहा हुनु पर्ने हो, एउटा गलत शब्दले उसलाई फाँसीको तख्तामा पुर्याउँछ। तर न्यायाधिश सम्हालिए, सरकारी वकिललाई अनावश्यक प्रश्न नगर्न चेतावनी दिए र निधारमा चम्किरहेको पसिना पुछे।
त्यो दिनको अन्त्यमा खासै केही नया कुरा भएन तर सजायको मागमा अलिकति परिवर्तन भयो।
यदि ऊ दोषी ठहरिए मृत्युदण्ड त पक्कै हुनेछ तर उसले दुइटा मध्ये एक छान्न पाउनेछ: फाँसीबाट वा फाइरिङ स्क्वाडको गोली खाएर।
मलाई अर्को दिन अस्ट्रेलिया फर्किनु थियो। लिसा सधैँ रिसाउथी कि म कति बेफुर्सदी हुने अनि सधै ऊसँग टाढा रहेर काम गर्नु पर्ने भनेर। एकपल्ट त सिधै भनिदिइ कि यस्तै हो भने सँगै बस्न सम्भव छैन।
तर उसले त्यो मनबाट भनेकी हैन भनेर मलाई थाहा थियो। अन्तरजातीय मात्रै हैन अन्तर्राष्ट्रिय विवाह थियो हाम्रो। हाम्रा दुवै पट्टिका परिवारलाई चित्त नबुझे पनि हामी दुई आफ्नै संसारमा प्रेम मग्न थियौँ।
म रुबनको जेल भोलिपल्ट गएँ, एक हप्तामा मात्रै आउछु भनेर भन्नलाई। सबै डाटा लिएर गएपछि यो बालीको गर्मीमा लिसाबाट टाढा रहेर घोत्लिनुभन्दा पर्थ मै काम गर्न सक्थेँ, लिसा सँगै बसेर।
रुबन आयो तर अनुहार र आँखा वरिपरि नीलडाम लिएर।
‘के भो?’ मैले आत्तिएर सोधेँ। जेलमा येसरी कुटपीट गरेको मैले बाली मै पनि सुनेको थिइनँ।
‘अदालतको कुरा यहाँ आइपुगी सकेछ’ उसले भन्यो।
जेलरलाई मैले करिब करिब गाली नै गरेँ तर हजारौँ अपराधीसँग दैनिक डिल गर्ने मान्छे नकाब जस्तो भावहीन अनुहार लिएर बस्यो।
‘मेरो समस्या त हल हुने भो जस्तो नै छ हैन त?’ रुबन हाँस्न थाल्यो। ‘दुइटा मध्ये एउटा छान्न पाउने भए नि त!’ उसले ठहाकै लगायो।
‘बच्चा जस्तो कुरा नगर्नुस् ' मैले भनेँ ‘त्यो समय चाँडै आउन सक्छ मिस्टर।’
‘आओस् '
‘किन, बाच्न मन लाग्दैन?’ सोधेँ मैले।
‘तपाईले मन लागेको कुरा सबै पाउनु भएको छ?’
‘कम से कम बाच्न त पाएको छु।’
थाहा हुँदा हुँदै कि यो जवाफ सबभन्दा क्रुर व्यंग्य थियो मैले भनेँ, ‘तपाई पनि कोशिश गर्न सक्नु हुन्छ।'
‘गरेथेँ’ रुबनले भन्यो, ‘पटक पटक गरेथेँ।’
अनि केहीबेर टोलाएर उसले भन्यो, ‘मलाई अब तिमी भन्नुस्। तपाई मेरो दाइ नै त होला नि उमेरमा।'
यो छोटो भेटमा रुबनले मलाई छुट्टै प्रभाव पारिसकेथ्यो। केही कानुन पढ्नु भएको छ भने थाहै होला कि जब तपाईले केश लडिदिनु पर्ने मान्छे तपाईलाई भाइ वा बहिनी वा कुनै प्रेमी जस्तो लाग्न लाग्यो भने बुझ्नुहोस्, तपाईको भावनात्मक कमजोरीले तपाईको व्यवसायिकतामा धावा बोल्दै छ। दिल कठोर गरेर मात्रै केश जितिन्छ।
एक महिनामा अर्को मिति थियो अदालतमा। इन्डोनेसियाको कानुनी प्रक्रिया अचम्मको नै छ। कुनै कुनै मुद्दा फैसला हुन र सजाय कार्यन्वयन हुन टाइम लाग्दैन। यदि कुनै बलियो तर्क वा प्रमाण भेटिएन भने केही महिनामा नै ऊ गोली वा तख्ता रोज्न बाध्य हुनेछ। लागू पदार्थको केश वा यस्तै केशहरु छिटो छिटो फैसला हुने गर्छन्।
हुन सक्ने जति तयारी गरेर म फेरि गएँ एक महिनामा। रुबनको दारी एकपल्ट काटेर फेरि लामो भए जस्तो थियो। अनि निकै दुब्लाएछ पनि।
‘बोर हुने बाहेक यहाँ केही काम छैन’ रुबनले भन्यो।
‘दुई दिनमा फेरि ठुलै चहल पहल होला नि ' मैले भनेँ। किनभने त्यो दिन अदालतको अर्को तारिख थियो।
मलाई रुबनसँग अरु एक दुई कुरा गर्ने इछ्या थियो। कुनै कानुनी कुराभन्दा पनि आफ्नै चाखले।
‘त्यसोभए रुबन तिमी के हजारौँ महिलाहरुसँग सम्पर्क राख्यौ? तिमीलाई के अलि नैतिकता वा अरु भावले सताएन कहिलै?’
रुबनले खुलेरै सबै कुरा बतायो। ऊ अस्ट्रेलियाबाट भिसाको समस्याले गर्दा बाली पुगेको रहेछ। उसलाई एकपटक मनोवैज्ञानिकले यौन सम्बन्धमा ‘अब्सेसिभ’ भएको हुन सक्ने भनेका रहेछन्। बालीमा यो काम पाएपछि उसलाई आफ्नो ‘आफ्नै प्रकृति अनुसारको काम ' भएकोले सन्तुष्ट भएर बसेको बतायो।
‘ठिक छ। तर के कहिलै माया प्रेममा परेनौ?’
‘मैले मौका दिएनँ।'
‘कोही फेला परेनन्? किन तिमीले नेपालै गएर बस्ने निर्णय गरेनौ?’
रुबनले फेरि टेढो हाँसो हाँस्यो।
‘यो सोध्ने धेरै थिए। मलाई लाग्छ, प्रेम एउटा ओभररेटेड कुरा हो। विशेषगरी यो जनम-जनम वाला प्रेम। यो जरुरी छैन। कम से कम मलाई।’
‘पहिलो पल्ट देख्दै छु तिमी जस्तो मान्छे' मैले भनेँ।
‘नाइँ म प्रेम गर्छु। प्रायः प्रत्येक रात अलग अलगसँग। तर दिल लगाएर गर्छु। हाहहाहा...' ऊ फेरि हाँस्यो। झन्डै बौलाहा जस्तै।
‘नेपालमा मेरा कोही छैनन्। भन्ने हो भने मेरो काहीँ पनि कोही छैन। स्वतन्त्र छु, त्यसैले आनन्दी छु।’ भन्न त भन्यो उसले, तर उसको आनन्दको भण्डार अब सिद्धिएको उसलाई थाहा थियो थिएन।
अदालतको दोस्रो तारिखमा पनि मैले खासै केही प्रमाण जुटाउन सकिनँ। त्यसो त पुलिस वा सरकारी वकिलले पनि कुनै त्यस्तो अकाट्य प्रमाण ल्याउन सकेनन्। सामान्यतया भन्ने हो भने रुबनलाई दोषी प्रमाणीत गर्न हुने थिएन तर यो अदालत सामान्य पनि थिएन।
त्यसपछि पनि अरु केही तारिखहरु भए तर केश रुबनको भाग्यको उल्टो तिर बढ्दै थियो। एकदिन बेलुका म फेरि जेलमा गएँ। अब खाली एउटै उपाय थियो।
‘रुबन, तिमीलाई अलिबाइ भनेको थाहा छ?’ मैले सोधेँ।
‘कोशिश नगर्नुस त्यता तिर' चीसो हुँदै भन्यो उसले।
‘अन्तिम उपाय हो। तिमीले लाश भेटेको भन्दा अघिल्लो रातमै त्यो व्यक्तिको हत्या भएको पोस्ट्मार्टमले देखाएको छ। यदि तिमीले त्यो रातको अलिबाइ दिन सक्यौ भने बच्ने मौका छ। के तिमी कुनै केटी वा महिलासँग थियौ त्यो रात?’
‘मेरो पनि एउटा कसम छ। डाक्टरहरुको हिप्पोक्रेटिक ओथ जस्तै। वकिलहरुको पनि होला नि?’
उसको यो प्रश्नले मलाई झसंग बनाइ दियो। कानुनको रक्षा गर्ने भन्ने व्यवसायीको कुनै त्यस्तो ओथ वा कसम छैन। सायद यो पेशामा जानी जानी झुठो बोल्नु पर्ने हुनाले कुनै त्यस्तो किरिया खानै मिल्दैन!
‘छैन हाम्रो पेशामा ' मैले कुनै नाटक बिना भनेँ।
‘खैर मेरो पेशामा छ। मेरो व्यक्तिगत। यदि त्यो रात मसँग कुनै महिला रहेछिन् भने पनि मैले उनको रहस्य कुनै हालतमा पनि खोल्ने छैन। यसको अर्थ बुझ्नु हुन्छ? मैले भनिदिएँ भने अदालतले उनलाई बोलाउनेछ र सबै को अगाडि केरकार गर्ने छ। यी दुर्दान्त वकिलहरुले गाह्रो प्रश्न गर्ने छन्- अदालतको बहस पोर्न सिनेमाको डाइलग जस्तो हुनेछ। कस्तो असर पर्ला ती महिलामा?’
‘तर तिमी छुट्न सक्ने छौ। '
‘प्राथमिकता हो आ-आफ्नो’ रुबन टसको मस भएन।
उसले मलाई कुनै दिन उसले काम गर्ने ठाउँ बताएको थियो। सामान्यतया उसको स्वीकृती नलीकन त्यहाँ जान नहुने हो तर रुबनले यस्मा कुनै हालतमा स्वीकृति दिदैन थियो।
केही घण्टामा म ‘हेभन्ली मसाज एण्ड मोर’ को गेट अगाडि पुगेँ। निकै ताम्धामको सुविधाजनक रिसोर्ट जस्तो रहेछ। काउण्टरको केटीसँग बोल्न खोज्दै थिएँ, उसले नै पहिले बोली।
‘गलत ठाउँमा आउनु भयो। पुरुषको लागि होइन यो।’
‘होइन, म अर्कै कामले आएको। जोशीको कामले, रुबन जोशी। कोसँग कुरा गर्न सक्छु म? म उसको वकिल हुँ।'
त्यो केटी एक्कासी रुन थाली।
‘उसले त्यस्तो काम गर्नै सक्दैन। हे भगवान, कसरी फस्यो ऊ! कृपया उसलाई बचाउनुहोस' सुक्क सुक्क गर्दै भनी, ‘म अब्दुललाई बोलाउछु।'
अब्दुल त्यहाँको बोस रहेछ। ‘मूर्ख केटा रुबन। कस्तोसँग फस्यो' उसले भन्यो। तर अलिबाइ फेला पार्ने कुरामा उसले मलाई मद्धत गर्न नसक्ने प्रष्ट बतायो।
‘यस्मा म तपाईको मद्धत गर्न सक्दिनँ। म बरु जति पनि खर्च गर्न सक्छु त्यस्को लागि। मेरो भाइ जस्तै गरी बस्थ्यो यहाँ' अब्दुलले आँखाबाट झर्न लागेको आँसु पुछ्यो र मलाई बिदा गर्यो।
म फेरि एकपल्ट रुबनलाई भेट्न गएँ। तैपनि एकपल्ट मेरो कुरा मानिहाल्छ कि भनेर। तर उ मान्न त के सुन्न पनि तयार भएन।
‘यसको अर्थ बुझ्छौ तिमी?’ मैले कड्केर सोधें।
‘म त्यति लाटो पनि छैन' उसले सजिलै भन्यो, ‘दुइटा मध्ये एउटा हा हा...'
‘बाची रहेउ भने तिम्रो मस्ती पनि जारी रहला' मैले सानो दाउ फालें। अनि मैले खासै भन्न नहुने हो तर त्यो रिसेप्सनको केटीको कुरा ल्याएँ, तै उसको मन फर्किन्छा कि भनेर।
‘हे भगवान, रूजालीलाई भेट्नु भयो? ठिक छ, मलाई कम्जोर बनाउन प्रयास गर्दै हुनुहुन्छ। हेरुम्' ऊ ढुङ्गा जस्तै हुन छोडेन।
‘होस् गर्नुस् वकिल साहेब, तपाई आफ्नो कानुनी नैतिकताभन्दा बाहिर खुट्टा राख्दै हुनुहुन्छ' उसले टाउको हल्लाउदै भन्यो।
‘यो भगवान थेगो मात्रै हो है। मलाई खासै चाहिदैन यो भगवानको लफडा पनि।'
मलाई भने एक किसिमले अचम्म लाग्दै थियो, एउटा मामुली पुरुष यौनकर्मी नैतिकताको ठुलै धाक लाउदैछ।
‘जिन्दगीभन्दा ठूलो त तिम्रो त्यो कसम हैन होला। तिमी के प्रत्येक स्त्री जो तिमीसँग समय बिताएका छन्, उसलाई माया गर्छौ? वा गर्न सक्छौ? एक महिनामा तिमी को-कोसँग बितायौ, तिमीलाई सम्झना त छैन होला।'
‘सम्झेर साद्धे छैन पनि। तर म जतिखेर उनीहरुसँग हुन्छु, उनीहरुकै हुन्छु र संसारमा माया कसम जे-जे हुनु पर्ने हो, त्यो रातलाई त्यही हुन्छ।'
‘त्यो रात अब सिद्धिसक्यो नि भाइ।'
‘मेरो लागि प्रत्येक रात सधैँको लागि रहन्छ। मैले एकपल्ट प्रेम गरेपछि चाहे त्यो एक घण्टालाई नै मात्रै किन नहोस्, ऊ सधैँको लागि मेरो प्रेमिका। म सधैँ उनीहरु प्रति बफादार रहन्छु, आफ्नै किसिमले।'
यहाँ नेर भने मलाई झनक्क रिस पनि उठ्यो। एक चड्कन ‘बफा’ यसको गालामा बजाइदिउ जस्तो लाग्यो। तर मुद्दा उसको, ज्यान उसको, जीवन उसको, जिजीविसा पनि उसकै हुनु पर्ने हो।
तैपनि मैले रुबनलाई त्यो हत्या भएको रातको मिति दिएँ। उसले सम्झेर भनिदिए मात्रै पनि हाम्रो टिमले बाँकी काम गरी हाल्थ्यो। उसले त्यो हेर्यो अनि आफ्नो डायरीको पानाहरु चेक गर्यो। अनि विस्मयको साथ मलाई हेर्यो र भन्यो, ‘सायद कोही थिएन त्यो रात। लौ अब तपाईको काम सायद सकियो। अस्ट्रेलिया फर्किनुस्, दुतावासलाई धन्यवाद भन्दिनुस्। आफ्नो परिवारसँग समय बिताउनुस्। मेरो केश अब जित्न सकिदैन।'
परिवारको कुरा सम्झाएकोले मैले अन्तिम अस्त्रको रुपमा मेरो श्रीमती लिसा र मेरो फोटो उसलाई देखाएँ। ‘हेर जीवन रह्यो भने यस्तै गरी घरजम गरेर पनि बसौला नि?’
‘ओहो दाइ! तपाई पनि। अब यस्तो राम्री भाउजूलाई छाडेर कता म जस्तोको केश लिएर हल्ली राखेको? भोलि तुरुन्तै जानुस्, सायद भोलि फैसला हुन्छ नै होला। म जिम गर्न गएँ' जवाफ नपर्खीकन ऊ गैहाल्यो।
जिम जाने? यो मान्छे साच्चै बौलाएको हो कि भन्ने पनि भयो। बरु मानसिक रुपले बिक्षिप्त भनेर पो केश मोड्न सकिन्छ कि भन्ने पनि लाग्यो तर उसको अगाडि यो अस्त्र काम गर्दैन भन्ने मलाई पक्का थियो। भोलि केश हारियो भने र हार्ने चान्स झन्डै शत प्रतिशत थियो पनि। एक महिना भित्रै उसलाई मृत्युदण्ड हुने पक्का जस्तै थियो। अझै जिम जाने?
अदालतमा ऊ आज दारी सारी काटेर उपस्थित भयो। मसँग त्यति कुरा पनि गरेन। उसलाई अब खासै आशा थिएन होला, मलाई जस्तै।
आधा दिन जति बहस भयो र दिउँसो फैसला दियो अदालतले।
ऊ दोषी ठहरियो र सरकारी वकिलले मागे बमोजिम सजाय तोकियो।
सजाय सुनाउने बित्तिकै रुबनलाई हत्कडीको अतिरिक्त खुट्टामा पनि नेल्कडी लगाएर लगे। एकपल्ट हात उठाएर बाई भन्यो।
‘काल्कोठरीमा आउने कष्ट नगर्नु होला' उसले चिच्याएर भन्यो। वकिलको रुपमा मलाई त्यहाँ जाने छुट थियो तर उसको अनुरोध मान्ने कि नमान्ने मैले ठम्याउनै सकिनँ।
छेउबाटै हिडेर गैरहेका एउटा न्यायाधिशले मलाई खुसुक्क भने ‘के तपाईले कुनै अलिबाइ कोशिश गर्नु भएन? टिपिकल केश हुन्थ्यो। '
‘कोशिश गरेँ श्रीमान्’ मैले भनेँ।
‘ओह, त्यसो भए फैसलामा शंका रहेन' यति भनेर ती गए।
मलाई भने गरुङ्गो भारी बिसाउन नपाए जस्तो हुन थाल्यो। पैसा त मैले जिते पनि हारे पनि पाइहाल्थेँ तर आफूलाई भित्रैदेखि लागेको न्याय बोध मार्नु पर्दा दुख भैरहेथ्यो।
अबको एक महिनाको पहिलो बुधबार उसलाई मृत्युदण्ड दिइने भयो। म त्यो मितिसम्म बस्नेवाला थिइनँ। बाँकी कुराहरु मिलाएर दुई हप्तामा म पर्थ फर्केँ। लिसा अफिसबाट आइपुगेकी थिइन। मनका सारा कुराहरु ऊसँग राखेर मन हल्का गर्ने ठूलो धोको थियो।
गराजको ढोका खुल्यो र म उसको प्रतिक्षामा बसिराखेँ। अब आएर एकपल्ट म बिजी भएकोमा गन्थन त गर्छे नै। लिसा आएर ठिंग उभिइ। मैले अँगालोमा बाध्न खोजेँ तर ऊ अलि पर हटी। आज भने ठुलै हंगामा गर्ने भै कि भन्ने लाग्यो। किनभने म झन्डै ३ हप्ता गायव भएको थिएँ यस पटक। उसको हातमा एउटा पत्र थियो।
के साँच्चै डिभोर्स त दिन आटिन? साला उता केश हारियो, यता अर्को लफडा।
‘के हो यो?’ मैले सोधेँ।
‘पढ आफै' उसले भनी र नजिकैको मेचमा गएर थ्याच्च बसी।
पत्र पढ्दै जाँदा पैतालामुनिबाट जमिन खस्कदै गएको जस्तो लाग्यो।
पत्र अब्दुलले पठाएको रहेछ। त्यो मसाज वाला बोसले। सबै कुरा पढ्न जरूरी पनि थिएन। टुटेफुटेको अंग्रेजीमा लिसालाई साक्षी बस्न अनुरोध गरेको रहेछ।
सपना हो कि भनेर आफूलाई एकपल्ट नराम्रोसँग चिमोटेँ। दुख्यो। अनि एकपल्ट लिसालाई हेरेँ। प्यारी लिसा। तर के भैरहेको यस्तो? मलाई रिस उठेकै छैन। लिसा बरु थरथर काम्दै छुट्न आटेका अश्रु धारा पुछ्दै थिइ। साक्षीभन्दा पनि अपराधी जस्तो गरी खुम्चेकी थिइ।
‘माफ गर रबर्ट। मैले पहिलोपल्ट हो तिमीलाई चिट गरेको। त्यो पनि सामीको बहकाबमा' लिसाले उसको मुख दुइटै हातले ढाकी र रुन थालि।
निकै बेर रोइसकेपछि आँसु पुछी र भनी, ‘म साक्षी बस्न तयार छु। त्यसपछि तिम्रो इच्छा अनुसार गरौँला जे गरे पनि।’
हजार भोल्टको करेन्ट लागेर झंझनाएको जस्तो भैरहेको मनले तत्काल केही सोच्न सकेन।
म खासै बोलिनँ र त्यस्को प्रभाव लिसामा प्रष्टै परिरहेथ्यो। बोल्न पनि म के बोलूँ? उसलाई म व्यभिचारी भनेर गाली गरुँ कि वा मेरो क्लाइन्टको लागि साक्षी बनेकोमा धन्यावाद पो दिउँ कि।
ऊ अलग्गै बिछ्यौनामा सुती र मैले कर पनि गरिनँ। तर रातभर सोच्दै रहें कि उसले यत्रो कदम कसरी उठाइ? घर व्यवसायकै कुरामा पनि ऊ ठूलो निर्णय लिन सक्दैन थिइ। अफिसमा पनि उसलाई निर्णय लिन आँट नगर्ने भनेर भन्छन् भनेर सुनाउथी। आज कसरी उसकै जीवनमा उथल पुथल पर्ने गरी निर्णय लिइ?
अब्दुलले उसलाई अफिसमा पठाएको रहेछ इमेल, कसरी पत्ता लगायो उसले पनि। तर त्यो इमेललाई लिसाले इग्नोर गर्न सक्थी। लुकेर एक रात बिताएको कोही अपरिचित नै त थियो त्यो रुबन। लिसाले त्यसरी एक रात बेइमानी गर्नुमा मेरै पनि त केही दोष होला। बितेका वर्षहरुको तीता मीठा पलहरु सिनेमा अगाडि आउने विज्ञापन झैँ मानसपटलमा आउन थाले।
एक रातलाई बेइमान भै होली तर कातर होइन रहिछे! अनि निर्दयी पनि त होइन रहिछे। आ! एक रात सुतेको कोहीको लागि आफ्नी जिन्दगी किन दाउमा राखूँ भनेर पनि त सोच्न सक्थी। जिन्दगी सेटल भैरहेकै थियो, मेरो वकिली कमाइ राम्रो थियो। मेरो साथ छोडेर जानु भनेको उसको आर्थिक जिन्दगीमा ठुलै समस्या आउनु हुन सक्थ्यो। त्यो पनि उसले खतरा मोली।
जबर्जस्ती नै होला, बिहान पनि भयो। अलि अलि मेरा पनि आँखा लागेछन्। तर उसको आँखा भने सुन्निएर कस्तो कस्तो देखिएको थियो। निकै सुन्दरी थिइ, सुन्निएका नयनले त्यो सुन्दरतालाई अझै निखार दिएको हो कि भन्ने स्याडिस्टिक भाव पनि आयो एक बाजी।
साला एकपल्ट गम्लङ्ग अँगालो हालेर जिन्दगीभरि कै चुम्बन उसको ओठमा बिसाइदिउँ कि भन्ने रहर यस्तरी उम्लेर आयो कि दुई कदम अगाडि नै बढेछु। ऊ पछाडि हटी, मैले अर्कै आशयले झम्टेँ कि भन्ने पर्यो जस्तो लाग्यो।
‘कहिले जाने?’ उसले सोधी।
‘आजै। अर्को हप्ता उसको त्यो टाइम हो' मैले भनेँ।
आँखाको कुनाबाट देखेँ कि ऊ एकपल्ट थरर कामी।
मैले लिसासँग अब कस्तो व्यवहार गर्ने भनेर म आफै कन्फ्युज्ड थिएँ। हामी अझै लोग्ने स्वास्नी हौँ कि हैनौँ कि। एक रातको बेइमानीले यति लामो सुहाग मित्रतालाई धारासायी गर्न सक्छ कि सक्दैन? म यो कसलाई सोध्ने हो।
जत्रो दुख वा समस्या परे पनि म तुरुन्तै उसको काखमा पुगेर बिसाउथेँ। अब यो पनि उसैलाई पो सोध्ने हो कि। तर ऊ भने तर्सेकी, आफैमा ठूलो गुनासो बोकाएर बसेकी टुहुरी जस्ती देखिन्थी।
एक मनले त उसको यो साक्षी बस्ने त्यागलाई मिल्काइदिउँ र रुबनलाई झुण्डिन दिउँ भन्ने भाव पनि आयो। तर त्यो भाव मेरो लागि कृतिम थियो भन्ने मैलाई थाहा थियो। तुरुन्तै फ्लाइट टिकेट बुक गरेँ दुइ जनाको लागि। बाटोमा औपचारिक बाहेक कुनै कुरा भएन र त्यो मेरो लागि अनि उसको लागि पनि सर्वथा नौलो थियो।
हतार गरेरै हामी बालीको त्यो सबभन्दा सुरक्षित जेलमा पुग्यौँ। मेरो जिन्दगीको सौदामा भए पनि रुबनको जीवन बचाइ दिन पाए एक किसिमले एउटा सन्तुष्टी नै मिल्थ्यो भन्ने मनको एक कुनामा थियो। सोचेँ, त्यो मूर्ख रुबनको के दोष थियो र लिसाको केशमा? उल्टै पैसा तिरेर गएकी थिइ। त्यसैले मलाई त्यो केटा प्रति खासै नराम्रो भाव थिएन।
जेलरलाई बोलाएर हामी कुर्सीमा बस्यौँ। जेलर आयो तर उसको अनुहारमा आतंकको जस्तै रेखाहरु कोरिन थाले।
‘साक्षी लिएर आएको छु। केश फेरि खुल्ने वाला छ' मैले भनेँ।
‘छैन' जेलर पसिना पुछ्न थाल्यो, ‘तपाईहरु उसको बडी लिन आएको हो कि भन्ठानेको।'
‘वाहियात कुरा नगर्नुस! केश उल्टिन्छ्।'
‘एक हप्ता अगाडि नै’ जेलर भन्न थाल्यो, ‘रुबनले मृत्युदण्डको मिति अगाडि सार्न रिक्वेस्ट गरेको रहेछ। उसलाई रगत मन नपर्ने भएर फाँसी रोजिसकेको थ्यो।’ जेलरले टाउको हल्लायो ‘धेरै छट्पटाएन, शान्तसँग गयो। ’
‘के?’ म चिच्याउन खोजेँ तर लिसा मेचबाट तल पछारिएकीले उसलाई उठाउन तिर लागेँ।
‘त्यो दिन बिहानै पनि जिम गरेर बसेको थियो। क्रेजी गाइ। यो चिठी छ- सायद तपाईको लागि’ जेलरले एउटा खाम लिसा तिर तेर्स्यायो।
लिसा भर्खरै बेहोसीबाट बिउझिन्जेलसम्मको जस्तो गरी हेर्दै थिइ। खाम समाउनु अघि म तिर दयनीय दृष्टि फ्याकी।
‘पिर नगर, खाम समात’ मैले भनेँ।
‘बडी लिन अब्दुल भन्ने कोही आउदैछ। के गर्ने हो?’ जेलरले सोध्यो, ‘अनि के, हेर्न चाहनु हुन्छ?’
मैले लिसा तिर हेरेँ। उसले नाइँमा टाउको हल्लाइ।
लिसालाई अँगालोमा हालेर म बाहिर निस्केँ, गर्मी र भीडले निसास्सिरहेथ्यो। तर पनि लिसासँग पहिलोपल्ट हिडे जस्तो लागिरहेथ्यो। सायद आवश्यकभन्दा बढी नै ममा लत्तो छोडेर ऊ हिड्दै थिइ।
सोच्दै थिएँ म कि रुबनको याद लिसा र मलाई कुन किसिमले फरक भएर आउँदो हो। छेउमै एउटा पार्क थियो, बेञ्चहरु टुटेफुटेका। त्यसमै बस्यौँ हामी दुई जना।
‘तिमी पढ यो' उसले खाम मलाई दिइ।
‘तिमीलाई हो त यो' म हिच्किचाएँ।
‘एउटै कुरा हो। तिमी बोलेरै पढ न त' लिसा सुन्न तयार भएर आँखा चिम्ली।
‘म्याडम लिसा' मैले पढ्न थालेँ
‘माफ गर्नुस्। खुलेरै लेख्दै छु किनभने हजुरले यदि यो पढ्दै हुनुहुन्छ भने थाहै हुन्छ कि रबर्टले हजुरलाई साक्षी बस्न ल्याइ छोड्यो। उसलाई सधैँ साथ दिनुहोला। ऊ राम्रो वकिल हो तर झन् राम्रो मान्छे, दिल अलि कमजोर भएको। मलाई थाहा छ कसरी हजुरले त्यो रात सबै उसकै कुरा गर्नु भएको थियो। एउटा नौलो अनुभव नै भयो मलाई त्यस रात।
म लामो प्रेममा विश्वास नगर्ने मान्छे, त्यो रात हजुरले हराइ दिनु भयो। हजुरको प्रेममा मैले जति गरे पनि खोट देखिनँ। तपाईहरु दुवै जना मेरो हिरो हुनुहुन्छ। रबर्ट र अब्दुलले तपाईलाई यहाँ आउन करै लगाउछन् भन्ने अनुमानले मैले आफ्नो मिति अगाडि सारेँ। जसलाई म छोटो भए पनि प्रेम गर्छु, उसलाई म मेरो कारणले १ मिनेट पनि दुख दिन चाहन्न। यो मेरो जिद्दी हो। आयम रेस्टुरेण्टको बेबेक बेटुटु खाएर मात्रै जानु होला हजुरहरु।'
अड्की अड्की पढे सबै अनि मलाई लिसाको आँखामा आँखा जुधाउने हिम्मत पनि भैरहेको थिएन।
लिसाले नै मेरो टाउको ऊ तिर सोझ्याइ। मलाई झन्डै लाज जस्तो पो लागि रहेथ्यो। मलाई यो उल्टो खालको सम्वेदनाको नाम थाहा भैरहेको थिएन।
‘मलाई छोड्छौ?’ उसले सोधी।
मैले टाउको मात्रै हल्लाएँ। कमजोर दिलको त हुँदै हुँ, दिमागले पनि काम गरिरहेको थिएन।
‘माफी दियौ?’ उसले फेरि सोधी। बल्ल थाहा पाएँ कि बलियी ऊ नै रैछ।
‘म माफी दिन्न' अनि मैले सबै यौवन र जीवनको प्रतिनिधि चुम्बन उसको थर्थराइ रहेको ओठमा हल्का छुवाइदिएँ।
‘हाम्रो छोरा भयो भने नाम मैले सोची सकेको छु’ मैले भनेँ ‘छोरी भै भने पनि मिल्छ अलिकति सुधारेर।'
लिसा मुस्कुराउन खोजी तर भावहरुले प्रष्टैसँग धोखा दियो।