चैत ११ गतेदेखि सुरु भएको लकाडाउनले सजनीको व्यापार चौपट भएको थियो। राजधानीको एउटा निजी स्कुलमा पढाउने उनका श्रीमान रमेशको जागिर हुनु र नहुनुमा केही फरक थिएन।
अरुबेला पनि थोरै तलबमा धेरै काम लगाउने निजी स्कुलले लकडाउनको निहुँमा कहिले आधा तलब त कहिले त्यो पनि दुई/तीन महिनासम्म दिन मानेको थिएन। सानो छोरा पनि छोरीसँगै स्कुल जाने भएपछि दुई वर्ष अगाडि सजनीले एउटा सानो सटर भाडामा लिएर पानीपुरी बेच्न सुरु गरेकी थिइन्।
पानीपुरी बेचेर भएको आम्दानीले सटर तथा घरको भाडा तिर्न पुग्थ्यो। उनका श्रीमान् रमेशको तलबले चार जनाको परिवारलाई मुस्किलले औषधि उपचार तथा घर खर्च धान्दै आएका थिए।
वैशाख लागेसँगै रमेशको तलब पनि आधा मात्रै आउने र आफ्नो पानीपुरी व्यवसाय पनि बन्द भएपछि उनीहरुलाई भाडा तिर्न र घर खर्च चलाएन धौ धौ हुँदै गएको थियो। यतिखेरै काठमाडौं छोडेर पहाडको घरमा गएर बस्ने सोच पनि उनीहरुले नबनाएका होइनन्।
उनका बुवाले छोडेर गएको जग्गा दुई जना भाइहरुले पहिलेदेखि नै कमाउँदै आइरहेका थिए। गाउँमा पनि बस्ती पातलिएसँगै बँदेल, भालु, बाँदर, दुम्सी लगायत जंगली जनावरहरुले अन्नबाली खाइदिएर उनीहरुनै गाउँमा बस्न नसक्ने भएका थिए।
बिरामी पर्दै गएकी आमालाई सहर लगेर उपचार गराउन उनीहरुले सजनीलाई बारम्बार फोन गरिरहेका थिए। तर सजनीको हालको अवस्था बारे उनीहरु बेखबर जस्तै थिए। छोरो जन्मेपछि चार जनाको परिवारलाई एउटै कोठामा बस्न मिल्दैन भनेर घरबेटीले भनेपछि उनीहरु अर्को कोठा खोज्न बाध्य भएका थिए।
छोरीछोरी पढ्ने स्कुल नजिकै महिनाको दश हजार तिर्ने गरेर उनीहरु त्यहाँबाट सरेका थिए। चार जनाको परिवारलाई एउटै कोठा कसैले पनि भाडामा नदिने र सस्तोमा दुइटा कोठा खोज्न उनीहरु कम भौंतारिएका होइनन्। केही सीप नचलेपछि छोराछोरी र रमेशले पढाउने स्कुल नजिकै उनीहरु महंगो तिरेर बस्न बाध्य भएका थिए।
लकडाउन अगाडि सबै ठिकै चलिरहेको थियो। उनले दुई गाँस कम खाएर भएपनि महिनाको हजार रुपयाँ एउटा सहकारीमा जम्मा गर्ने गरेकी थिइन्। चैत, वैशाखको भाडा उनीहरुले जसोतसो गरेर तिरेका थिए। जेठ महिना सकिएसँगै उनीहरुसँग भाडा तिर्ने पैसा थिएन।
रमेशको तलबले खान पनि पुगिराखेको थिएन। एकदिन उनीहरुको घरमा मात्रै बत्ती आएन। राति भएपछि आउला कि भन्ने आशामा बसेका उनीहरुको घरमा राति पनि बत्ती आएन। अर्कोदिन घरबेटी दिदीले मिटर बिग्रेकोले नयाँ मिटर किन्नुपर्ने भयो, तिमीहरुसँग पैसा छ कि भनेर सोध्दै आउनुभयो।
अरुबेला जुनसुकै अवस्थामा पनि ५ गतेभित्र भाडा तिरिसक्नु पर्ने घरबेटीको नियमलाई त्यो घरमा भाडामा बस्ने सजनी लगायत कसैले पनि तोडेका थिएनन्। यसपालि भने असारको पन्ध्र गते भइसकेको थियो। भाडा तिर्न नसकेर उनीहरु आफै लज्जित भएका थिए।
काठमाडौंमा तीन ठाउँमा जग्गा किनेको छुँ भनेर सुनाउने घरबेटी दिदीले यसरी भाडा माग्न आउनुहोला जस्तो उनीहरुले ठानेका थिएनन्। सरकारले भनेजस्तै एक महिनाको भाडा छुट गरिहाल्छन् कि भन्ने आशा पनि उनीहरुमा जीवितै थियो। तर उनीहरुले सोचे जस्तो केही भएन।
त्यो रात सजनी र रमेशलाई केही गरे निद्रा परेन। अर्को दिन बिहानै सजनीले रमेशले उनलाई बिहेको दिनमा लगाइदिएको औंठी ल्याएर रमेशका हातमा राखिन्। उनका आँखा आँसुले भरिएका थिए। उनी केही बोल्न नसकेर भान्छामा पसिन्। रमेश पनि घरको यस्तो अवस्थाबारे बेखवब थिएनन्। उनले चुपचाप गएर औंठी बेचरे आएको १५ हजार रुपयाँ सजनीको हातमा राखे।
बत्ती, पानी, इन्टरनेट गरेर झण्डै बाह्र हजार रुपयाँ लिएर उनी घरबेटीलाई दिन माथि उक्लिइन् र्। ‘ए पैसा ल्यायौ’ भन्दै हाँस्दै सजनीले दिएको पैसा समाउँदै घरबेटी दिदीले कोठाभित्र पसेर ढोका ढप्काइन्। फरक्क फर्केर कोठामा आएर सजनी रुन थालिन्।
आज भाडा तिर्न औंठी बेचियो, अर्को महिना भाडा तिर्न के पो गर्ने होला भन्दै उनी गहिरो सोचमा परिन्। जसो तसो उनीहरुले असारदेखि भदौसम्म ३ महिना बिताए। रमेशको आधा तलबले उनीहरुले आधा पेट नै खाना खाइरहेका थिए। तरकारी किन्न जाँदा बाटोमा चिनेका साथीहरुले लकडाउनमा पनि कस्तो नमोटाएको सजनी भनेर सोध्दा उनी नाजवाफ हुन्थिन्।
भाडा नदिएको ३ महिना भइसकेको थियो। घरबेटी आमने सामने हुँदा उनीहरु आफूलाई ठूलै दोषी जस्तो ठानिरहेका थिए। चोरले लुकेर हिंडेजस्तै उनीहरुलाई पनि घरबेटीले कहिल्यै नदेखुन् भन्ने भइरहेको थियो। तर सबै कुरा आफूले सोचेजस्तो कहाँ हुँदो रहेछ।
एकदिन घरबेटी दिदी आएर झ्यालबाट बोलाइन्। डरै डरले सजनीले पर्दा खोलिन्। अरुबेला के कस्तो छ भन्ने घरबेटी दिदीले यतिबेला केही सोधिनन्। ‘श्रीमान बाहिर गएको एक हप्ता भइसक्यो, पानी, बत्तीको बिल नतिरेको पनि २ महिना भइसक्यो, अब त भाडा तिर्ने बेला भएन र?’ उनले सिधैँ सोधिन्।
गत वर्षको जाडोमा मात्रै घाम तापिरहेको बेला घरबेटी दिदीले जेठी छोरीको बिहेमा दाइजो दिन भन्दै तेस्रो ठाउँमा ४ आना जग्गा किनेको सुनाएकी थिइन्। घरभाडाले घर खर्च चल्ने हुँदा सरकारी अफिसमा काम गर्ने हाकिम श्रीमानको तलब कहिले पनि घरमा ल्याउनु नपरेको उनले गर्व गर्दै सुनाएकी थिइन्।
तर आज भने उनले उल्टै तपाईहरु यसपालि घर नजाने भनेर प्रश्न गरिन्। सजनीलाई उनको प्रश्नले उकुसमुकुस बनायो। एक छाक खान धौ धौ परिरहेका बेला कोरोनाको त्राससँगै महंगो भाडा तिरेर ३ दिन लगाएर कसरी घर जाने? उनले सोच्नै सकिनन्।
आज त घरमा पैसा छैन, पर्सीसम्म भाडा दिउँला भनेर उनले घरबेटीलाई भन्न त भनी हालिन् तर पर्सी पनि कहाँबाट ल्याएर दिनेहोला? उनी ठूलै चिन्तामा परिन्। नजिकै बसेकी छोरीले यो सबै सुनिरहेकी थिइन्। घरबेटी गएपछि उनले ‘ममी, म राम्रोसँग पढ्छु, अनि धेरै पैसा कमाएर आफ्नै घर बनाउँला है’ हजुर चिन्ता नलिनुस् भनिन्। सजनीले छोरीलाई अंगालो हालेर रुन थालिन्।
उनले बाहिर गएका श्रीमान आएपछि भाडा माग्न आएको कुरा सुनाइन्। निजी स्कुलका शिक्षकलाई अरु बेला त नदेखेझै गरी हिंड्ने आफन्त, इष्टमित्रहरुले यतिबेला के ऋण देलान्? रमेश तनावमा देखिए। त्यो रात पनि सजनीलाई छटपटि भइरह्यो। तीन महिनाको भाडा मात्रै ३० हजार, कसरी तिर्ने होला? उनलाई फिटिक्कै निद्रा परेन।
कानमा सानो झुम्का, एउटा औंठी र तिलहरी त रमेशले उनलाई बिहेमा लगाइदिएका थिए। कति मायाले उनले तिनलाई नलाइ-नलाइ लुकाएर राखेकी थिइन्। बिहान हुने बित्तिकै उनले लुकाएर गाँठो पारी राखेको तिलहरी ल्याएर भारी मनले श्रीमानको हातमा राखिन्।
फेरि पनि चुपचाप रमेशले तिलहरी बेचेर आएको १८ हजार रुपयाँ सजनीका हातमा राखे। सहकारीमा जम्मा भएको पैसा पनि टाकटुक पारेर ३० हजार बनाइ उनी भाडा दिन भन्दै घरबेटी बस्ने चौथो तलामा उक्लिइन्।
आफ्ना आफन्त, साथीभाइ, चिनेजानेका धेरैले उनीहरुका घरबेटीले एक महिनाको भाडा नलिएको उनले सुनेकी थिइन्। यसपाली त दसैँको बेला भएकोले घरबेटीले केही राहत देलान् कि भन्ने झिनो आशा उनमा बाँकी थियो। यदि एक महिनाको मात्रै पनि भाडा माफ भयो भने त्यो पैसाले केटाकेटीलाई दसैँमा एकछाक मासु, तिहारमा सेलरोटी गरी एक महिनाको खर्च चल्थ्यो कि भन्ने उनले सिंढी चढ्दै सोच्न भ्याइसकेकी थिइन्।
उनले चार तला माथि पुगेर घण्टी बजाइन्। छिनमै घरबेटी दिदी ढोकामा आइन्। ‘ए तिमी, भाडा लिएर आयौ?’ उनले हाँस्दै हात अगाडि बढाइन्।
‘हजुरहरुलाई पैसा नभएर गाह्रो भएको मलाई थाहा थिएन, हाम्रो त चलिराखेको छ’ भन्दै सजनीले उनको हातमा पैसा राखिदिइन्। घरबेटी दिदीले गन्नु त पर्दैन होला नि भन्दै भित्र पसेर ढ्याप्पै ढोका ढप्काइन्।
हजारौं भाडा उठ्ने ४ तले घर, ३ ठाउँमा जमिन, लाखौं बैंक व्यालेन्स भएका घरबेटीको व्यवहारले सजनी सोचमग्न भइन्।