तिमी जस्तै महलमा चढ्थेँ हूँला,
तिमी जस्तै मर्सिडिजमा गुड्थेँ हूँला।
बजारमा सोकेस भित्रका समान जस्तै
बिरामीको मोलतौल गर्थेँ हूँला,
टन्नै नाफा कमाउथेँ हूँला,
तर मैले गरिनँ।
पैसा भए विशिष्ट उपचार,
नभए तिरस्कार गर्न सक्थेँ हूँला,
तर बिरामीलाई त्यसो पनि गरिनँ।
मैले गर्नै सकिनँ, कदापी सकिनँ।
त्यसैले भन्छन्
माहौल बिगार्ने मै हो रे,
म डाक्टर होइन रे।
म त,
बिरामीको सफल शल्यक्रियामा रमाएर
फेसबुक र इन्स्टाग्राममा खुसी बाड्ने गर्छु।
तिमी भने नयाँ गाडीको उदघाट्नले
सोसियल मिडिया रङ्गाउने गर्छौ।
म भने बिरामी जाच्न गाउँ गाउँ,
ढेडो र गुन्द्रुक खाँदै हिँड्ने गर्छु,
तिमी भने रेस्टुराँका परिकारहरु
पोष्ट्याएर मलाई लोभ्याउन खोज्छौ।
खै कसरी भनूँ ,
तिम्रो र मेरो सोचाइ बिल्कुलै अलग छ।
सेवामा तिमी लगानी उठाउन खोज्छौ,
म भने लगानी सेवाका लागि गर्ने गर्छु।
त्यसैले भन्छन्,
माहौल बिगार्ने मै हो रे,
म डाक्टर होइन रे।
उपचारमा गरिब र धनी कहिल्यै चिनिनँ
पैसाले पुगेन कहिल्यै भनिनँ।
पैसै कमाउन भनेर कहिल्यै डाक्टरी पढिनँ,
बिरामी उपचारमा व्यापार कहिल्यै जानिनँ।
दोकान खोले जस्तो अस्पताल कहिल्यै खोलिनँ।
अरुको पैसाको तामझाम देखेर
कहिल्यै दुःखी भइनँ।
म त,
'सेवा नै धर्म' को मन्त्र जपेर,
कहिल्यै थाकिनँ।
तिमी भने, नेता कै पछि दौडी रह्यौ,
छलाङ मारी रह्यौ।
म भने काम मै पौडी रहेँ, रमाइ रहेँ।
बिरामीको हसिलो अनुहार खोजी रहेँ।
त्यही हाँसोले म बाँची रहेँ।
तिमी सोध्छौ, म रोइ रहेको छु?
तिमीलाई के थाहा म भित्र
अट्टाहास खुसी छाइ रहेको छ।
म त,
सेवाको सेतो कोट लगाएर,
अस्पतालको महलमा बसेर,
सेवाले नै टन्न अघाइ रहेको छु।
त्यसैले भन्छन्
माहौल बिगार्ने मै हो रे,
म डाक्टर होइन रे।