कविता
सम्बन्धहरु सडक जस्तै हुन्छन्
लामा लामा अनि मजबुत
जसको कुनै अन्त्य हुँदैन
जो हत्तपत्त मेटिदैनन्
कोरिएपछि एक पटक
रहि रहन्छन् कालान्तरसम्म!
सडकहरु प्रायः चिल्ला हुन्छन्
पक्की अनि फराकिला हुन्छन्
सडकहरु आफैमा सुरक्षित हुन्छन्
आफ्नोभन्दा बढी आफ्नाहरुको लागि!
कति सडक साँघुरा पनि हुन्छन्
तर तिनको धर्म कहिल्यै साँघुरो हुँदैन
कति सडक बाङ्गाटिङ्ग्गा हुन्छन्
तर तिनको गन्तव्य कहिल्यै बाङ्गो हुँदैन
भर्खर कोरिएका सडकहरु
स्वभाविक रुपमा कच्ची हुन्छन्
तर सडकको कर्म कहिले कच्ची हुँदैन
सडकहरु अधर्मी हुँदैनन्
कति सडकहरुलाई कहालीलाग्दो सकस हुन्छ
कतै बाढीपहिरो
कतै गहिरो भिर
फेरि पनि सडकहरु निरीह हुँदैनन्
कहिल्यै निष्पृह हुँदैनन्
मर्मत सम्भारपछि
झनै मजबुत हुन्छन् सडकहरु!
सडकका आफ्नै नियम हुन्छन्
सडकका पनि आफ्नै सिमाना हुन्छन्
नियम र अनुशासनमा चल्ने
हरकोहीलाई दगुरिरहन दिन्छन् सडकहरू
आफ्नो छातिमाथि
निरन्तर निरन्तर- निश्चिन्तर, गन्तव्यमा पुर्याइदिन्छन् सडकहरु
सबै सबैलाई!
सडकहरु आफै कसैको दुर्घटना चाहदैनन्
सडकहरु कसैसँग धरौटी माग्दैनन्
कसैसँग फिरौती माग्दैनन्
न त कसैप्रति कुदृष्टि नै राख्छन्
नाफाघाटाको क्यालकुलेटर हुँदैन सडकहरुसँग
आफू लाख पटक दुख्न तयार हुन्छन्
तर आफूमाथि कुल्चिकुल्ची दगुर्नेहरुलाई पनि
दुखाउने कुनै योजना हुँदैन सडकहरुसँग
सडकहरुसँग सकुनी बुद्धि हुँदैन नि!
तर कहिलेकाहीं
विवश हुन्छन् सम्बन्धहरु
राम-राम भन्नको निम्ति
जसरी कल्भर्ट भत्काउन उद्धत
बहुलट्टी चालकलाई
काँध थापेर बस्न असमर्थ हुन्छन् सडकहरु
कति शन्के मगजवालाहरु
सडककै डिलबाट सकाइदिन्छन् आफूलाई
सडकलाई नै दोषी देखाएर
झुटा दस्ताबेजहरुमा
साक्षी बस्न सिवाय
के नै गर्न सक्छन् र सडकहरू!
के नै गर्न सक्छन् र सम्बन्धहरु!
जोडिनेहरु जोडिदै जान्छन्
छोडिनेहरु छोडिदै जान्छन्
आवेश र उत्तेजनामा-
आफ्नो पहिचान बदल्न सक्दैनन् सडकहरु
आफ्नो परिभाषा बदल्न सक्दैनन् सम्बन्धहरु
हो, सम्बन्धहरु सडक जस्तै हुन्छन्।