आज विसं २११० साल, माघ २६ गते। अर्थात्, मेरो ५२ औं जन्मदिन। नेपालमै बनेको माटो सुहाउँदो सामाजिक सञ्जाल ‘फेसरिड’ मार्फत जन्मदिनको शुभकामना आउने क्रममा कुनै विश्राम लागेको थिएन।
अरूको लागि जन्मदिन बढ्दो उमेरको खुसियालीको पर्व हुन सक्ला तर मेरा लागि यो मृत्युशैया तर्फ जाँदै गरेको बसले अझैँ एक गियर बढाएभन्दा फरक अरु केही थिएन। दुःख मनाउनकै खातिर आज अफिस नजाने निर्णय गरेँ।
यतिकैमा फोन आएको संकेत गर्दै नेपालका नामी वरिष्ठ गायक अशोक दर्जीको आवाजमा रहेको ‘तिमी र म खै कता छौं, देशले त कोल्टे फेरिसकेछ’ बोलको मर्मस्पर्सी गीत गुनगुनाउन थाल्यो।
करिब १० सेकेन्डपछि फोनलाई आवाजबाटै अटोरिसिभ हुन आदेश दिएँ। तपाईं छक्क नपर्नु होला, यो नेपालकै सिजी ग्रुपले बनाएको विश्वस्तरीय ११ जी इन्टरनेट सपोर्ट गर्ने नयाँ प्रविधिको आधुनिक मोबाइल हो।
‘भाइ, जन्मदिनको २ फाइल शुभकामना छ है तलाई।’
मैले हाँस्दै ‘धन्यवाद’ दिएँ।
काठमाडौं जिल्ला अदालतका माननीय न्यायाधीश श्रीमान राजन कार्कीको फोन आएको रहेछ, जो कलेज पढ्दाताकादेखि नै मेरा हितैषी मित्र पनि थिए। बीचको केही समय नेपालमा फरक वैकल्पिक राजनीति गर्छु भनेर नयाँ पार्टी पनि खोलेका थिए तर पछि उनीहरूको आवश्यकता नै परेन।
उनी आफै पनि ठट्टा गर्दै भन्थे ‘हामीले गर्छौं भनेको काम अरुहरुले नै पूरा गर्दिए, हामीले त काम देखाउनै पाएनौं। हाहाहा…’
१ घण्टा १५ मिनेट कुरा भएपछि उनले मलाई काठमाडौं आउनका निमित्त निम्तो दिए। झन्डै २० वर्ष भइसकेको थियो काठमाडौँ नगएको। सबै काम प्रदेश राजधानीबाट नै हुने भएकाले, देशको संघीय राजधानी जानु पर्ने कुनै काम परेको थिएन। घरघरमा सिंहदरबार भन्छन् नि, हो ठ्याक्कै त्यस्तै।
आफूले संघर्ष गरेको त्यो काठमाडौं सहर बिरानो लाग्यो। काठमाडौँका अस्तव्यस्त सडकमा झन् अस्तव्यस्त तरिकाले बितेको आफ्नो नाजुक जीवनलाई आज यति पछि सम्झिदाँ मरन्च्यासे मको दया लागेर आयो। खै के भयो थाहा छैन, दाहिने हातले मोबाइल उठायो र दिउँसो एक बजेको लागि काठमाडौंको लागि टिकेट बुक गर्यो।
१२:३० मा म विराटनगर अन्तर्राष्ट्रिय विमानस्थलको डोमेस्टिक टर्मिनलमा पुगेँ। पुगेको १५ मिनेटपछि मेरो लगेज चेक इन भयो र म नेपाल एयरलाइन्सको अति सुविधा सम्पन्न र सुरक्षित जहाजमा गएर बसेँ।
झण्डै २० मिनेटमा म काठमाडौंमा अवस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएँ। ढिला गर्न मन लागेन। रोबर्ट चालक रहेको आधुनिक ट्याक्सी लिएर म कोटेश्वरका लागि हुइकिएँ। छक्क लागिरहेको थियो, काठमाडौंमा कतै जाम थिएन। यथार्थमा थिएँ तर पनि खै सपना झैँ भान भइरहेको थियो। सायद समृद्ध नेपाल सुखी नेपाली यसैलाई भनिन्छ होला।
यति बेला म कोटेश्वरको आकाशे पुल नजिकै रहेको स्ट्रिट कफी शपलाई रोडपारि पारेर उभिएको छु। जति समृद्ध भएपनि मान्छेको मन न हो, अझै नेपाली मन, कफी सप देखेपछि कफीको तलतल लागिहाल्यो। आजकाल आकाशे पुल आफैमा एउटा इतिहास भएर उभिएको छ। सायद सबवेको सुविधाले होला, आकाशे पुल चढ्नु पर्ने कुनै बाध्यता नै थिएन।
रोड काटेर म सिटी टावर अगाडिको फुटपाथमा पुग्छु। २० वर्षमा राजधानी साँच्चै परिवर्तन भएछ। मोटरसाइकलभन्दा अलिक धेर मान्छेहरु साइकल चढ्न थालेछन्। अगाडि देखिएको २ लेनको निलो सडक साइकल लेन रहेछ। रिङरोडको बीचमा हरियाली पार्क बनाइएको रछ, कति स्वच्छ वातावरण!
विराटनगरभन्दा धेरै विकसित भएछ यो राजधानी त। गत वर्ष मात्रै कामको शिलशिलामा सिंगापुर पुगेको थिएँ। तर त्यो पुरानो सिंगापुरभन्दा नयाँ आधुनिक काठमाडौं सफा, शान्त, स्वच्छ लाग्यो। यहाँका जनप्रतिनिधिलाई मैले मनमनै धन्यवाद दिएँ।
कफी शप अगाडि पुगेर मैले हट मिल्क शेक अर्डर गरेँ। कुनै समय यही आकाशे पुल मुनि मुढामा बसेर बुढी आमाले पकाएको चिया खाएको सम्झिएँ। चियाको स्वाद त याद छैन तर ती बुढी आमाले हतारमा सामान बाँध्दै ‘बाबु चाँडो खानुस्, अब महानगर प्रहरीले लखेट्छ’ भनेको अझै याद आइरहेको छ।
कफी सर्भ गर्न एक गोरो केटो आइपुग्छ। मैले यो नेपाली त हुँदै हैन भन्ने अड्कल काटेँ। ढिला नगरी सोधिहालेँ, ‘हेल्लो, ह्वेरे आर यू फ्रम?’
‘क्यालिफोर्निया, अमेरिका।’
कुनै बेलाको विश्व शक्तिको रूपमा एकछत्र राज गरेको अमेरिका, जसका नागरिकलाई रोजगारी दिन पाउँदा एकछिन भएपनि गर्वले मेरो छाती फुकेर गमक्क पर्यो।
यतिकैमा एउटा बुलेट ट्रेन मेरो अगाडि आएर रोकिन्छ। जीवनमा पहिलो पल्ट नेपालको यो सुन्दर भूमिमा बुलेट ट्रेन देखेँ। म टोलाउँदै देशको समृद्धि हेरिरहेँ।
मेरो टोलाइलाई देखेर छेउमा बसेका बुढा मान्छे भन्दै थिए, ‘यो त बडो गज्जबको हुँदो रहेछ बाबु, आवाज नै निकाल्दैन।’
पछि कुराकानी हुँदै गर्दा थाहा भयो, ती बुढा व्यक्ति त विश्व प्रसिद्ध नेपाली ब्राण्डेड रक्सी ‘आयो गोर्खे’ का मालिक रहेछन्। उनले आफ्नो परिचयमा आफ्नो नाम केशवप्रसाद ओली (केपी ओली) बताएका थिए।
‘व्यापारीले त राजनीति पो गर्नुपर्छ त हजुर, यो त नेपालको पुरानो परम्परा हैन र?’ मैले उनको मन चोर्न खोजेँ।
उनले मुस्कुराउँदै भने ‘पहिला म लिम्पियाधुरा क्षेत्र नं ०५ लाई प्रतिनिधित्व गर्दै संघीय संसदमा थिएँ, त्यति बेला राजनीतिमा व्यापारीको प्रभावलाई नजिकबाट बुझेँ।’
उनी भन्दै थिए ‘व्यापारीले त राजनीति बिगार्छन् नि बाबु, चुनावको बेला पैसा खनाइदिन्छन् अनि कहाँबाट होस् स्वच्छ प्रतिस्पर्धा?’
कफीको अन्तिम सर्को तान्दै गर्दा उनले भने ‘म अब कहिल्यै राजनीति गर्दिनँ।’
म खासै राजनीति त बुझ्दिनँ तर मेरो विचारमा जुन राजनीति देखिन्छ, त्यो असली राजनीति हुनै सक्दैन र हैन पनि। तर फेरि जुन राजनीति देखिँदैन, त्यो चाहिँ असली राजनीति हो।
राजनीतिकै कुरा सोच्दै थिएँ, उताबाट एक व्यक्ति कुद्दै आएको देखें। अन्दाजी ५० का हाराहारीका ती अर्धवैशे युवालाई चिन्न मलाई गाह्रो परेन। उनी थिए नेपालका पूर्व प्रधानमन्त्री पुरुषोत्तम थारु। नजिक आएर उनले मलाई समय सोधेँ। मैले ३:३० भएको उनलाई जानकारी दिएँ।
‘हजुर टाढै, अलिक हतारमा हुनुहुन्छ जस्तै छ नि?’ मैले उनलाई औपचारिकता स्वरूप नमस्कार टक्राउँदै प्रश्न तेर्स्याएँ।
हँसिलो मुद्रामा नमस्कार फर्काउँदै उनले भने ‘हजुर काममा जान लाग्या, आज अलिक ढिला भएँ’ गोजीबाट हात निकाल्दै उनले भने ‘आज कारबाहीमा पारिने भइयो।’
यतिकैमा उनको ट्रेन आइपुग्छ अनि नमस्कार गरेर उनी मबाट बिदा हुन्छन्।
नेपालीले समयको महत्त्व बुझेको देख्दा अलिक आश्चर्य चकित थिएँ। तथापि नेपालका नेताहरु प्रति धेरैपछि मनैबाट सम्मानको भावना नआइरहन सकेन।
विष्णुमती नदीमा संचालित डुंगाको मज्जा लिने उद्देश्यले चक्रपथ परिक्रमा गर्ने ट्रेन चढ्न मात्र के लागेको थिएँ, यतिकैमा पछाडिबाट आवाज आउँछ ‘तपाई मसँग हिँड्नुस्, तपाईलाई म लिन आएको।’
‘म किन जाने? तपाई को हो?’
‘तपाई जान्ने बाठो भएर अगाडि आउनु भएछ, मसँग खुरुक्क हिँड्नुस’ आवाज अघिको भन्दा अलिक ठूलो हुन्छ।
‘देशमा द्वन्द सकिएको यतिका वर्ष भइसक्यो, अझै पनि त्यही पुरानै शैली’ म पनि अलिक कड्किदै बोलेँ ‘पहिलो चरणमा तपाई आफ्नो परिचय दिनुस्।’
‘म २०७७ साल।’
म काल्पनिक सपनाबाट एक्कासी झल्यास्स बिउँझिएँ। धेरैपछिको मिठो सपना थियो यो। सपनामा नै सही, नेपाल समृद्ध भएछ।