कविता
हरेक बिहान
अनिदो भएरै जाग्छ सहर
र रातभरि पोतिएको
विद्रुपताको गाढा रंग
छलछली पखालेर सान्त्वनाको शीतल पानीले
नदीकै क्रिस्टल क्लियर तरलतामा
हेरिरहन्छ आफ्नो अनुहार।
सेक्नु छ
पहेलपूर सूर्यको न्यानो स्पर्शले
रातभरको ऐठनले चिसिएको मुटु
पुछ्नु छ
सिर्सिर हावाको सप्कोले
अनुहारमा पोतिएको नमिठो मलिनता
र जोगाइ राख्नु छ
रहरको जिजीविषा।
हरेक बिहान
उदाइरहेछ आशाको उज्यालो सूर्य
कंक्रिटको जंगल छेउ छेउ भएर
बगिरहेछ गतिशीलताको लामो नदी
अपूर्व उत्साहले सल्बलाइरहेछन्
चम्किला माछाहरु पानीमा
फक्रिरहेछन् उत्साहका चहकिला फूलहरु
चिर्विराइरहेछन् स्वतन्त्र पंक्षीहरु
र त यो रोबर्टहरुको रंगमन्चमा पनि
फुल्न खोजीरहेछ प्रेम
झाँगिन खोजिरहेछ आत्मियता
अभिव्यक्त हुन खोजीरहेछ संवेदना।
मान्छेहरु
लुकामारी गरेरै सहरको व्यस्तता र विवशतासँग
भरिरहेछन् कल्पनाको उडान
खियाइरहेछन सपनाको डुंगा
बहन खोजिरहेछन् निष्फिक्री भएर
नदीको बहाव सँगै।