देश उकालो लाग्दा
पिठ्यूमा ३० किलो चामलको
सपना बोकेर
उनी पसिना संग-संगै आरालो लाग्दैछन्
हो, आज पनि
बिर्खे दाइ हतारमा छन्।
भारी बिसाएर एकपटक सुस्ताउने समय छैन उनीसँग
फाटेको टोपीले
पसिना पुछ्दै ओरालो झरेका उनी
घरि आकाशमा उडेका
चिलगाडी हेर्छन्
घरि आफ्ना फाटेका पैताला हेर्छन्
त घरी कमिजको खल्ति भित्र
प्लास्टिकमा निदाएको देशको नागरिकता
तर
रोकिदैन्न उनका पाइला
फेरि आज बिर्खे दाइ हतारमा छन्।
भरे घर पुग्नु छ
अँगेनाको डिलमा झोक्राइरहेकी श्रीमती,
झ्यालमा बसेर एकोहोरो बाटो
हेरिरहेकी छोरी,
आँगनमा बिस्कुन सुकाएझैँ
लडेका बुढा बा-आमालाई
एक छाक भए नि 'भात' खुवाउनु छ
हो ,
बिर्खे दाइ आज पनि हतारमा छन्।
युद्धमा २० वर्षे कलिलो छोरो गुमाए
बालापनदेखि आजसम्म आफ्नै
कति सपना गुमाए!
कति इच्छा गुमाए!
कति रहर गुमाए
आज पनि फर्किएर आखाँ अगाडिको
कर्णाली हेर्दा पानी कम
आफ्नो पसिना धेरै बगेको देख्छन्
आफ्नो रगत धेरै बगेको देख्छन्
तर
दुख भएर पनि दुख देखाउन जान्दैनन् उनी
आँसुको तलाउ बोकेर पनि रुन जान्दैनन् उनी
बस् हिडिरहेछन् यही बाटो वर्षौंदेखि
सायद अब वर्षौंसम्म
कर्णालीको तिरैतिर
हो, आज पनि
बिर्खे दाइ हतारमा छन्।