मैले बोलाएँ, उस्ले सुनेन
अहँ पटक्कै सुनेन
या सुनेर नि बोल्नै चाहेन?
सायद ऊ ठान्दै थियो कि
उस्को स्तर धे…रै माथि हो
ह्या... जेसुकै होस्
बोलाइ त सकेँ दोहोर्याइ तेहर्याइ
आखिर उस्ले देवत्व नै प्राप्त गरोस्
ऊ त मेरो बाल्यकालदेखिको साथी हो।
वर्षौपछि देखेको साथीसँग बोल्ने आशामा
म आफै ऊ सवार गाडी छेउ पुग्दा
उस्ले कत्ति नचिनेझैँ गर्यो
उल्टै उस्को गाडीले हिलो पानीले छेपेर गयो
कपडाको हिलो त पखाल्दा जान्थ्यो होला
म उसलाई कहिलै नचाहिने गरी हेपेर गयो।
हिजो मसँगै एउटै थालमा खाने साथी
मेरो चोटमा आँसु खर्चिने साथी
आज खोइ केले मात्तियो?
सायद ऊ ठान्दै थियो कि
म भुसुना अनि ऊ हात्ती हो।
तर यो मनले भनिरह्यो
आखिर वर्तमान जे भएनि
ऊ हिजोको एक असल साथी हो।
हिलोले छ्यापिएको कपडा टकटकाइ
जुत्ता पुछ्ने ब्रसको खोजीमा हिड्दै गर्दा
भेटियो एउटा जुत्ता सिउने टहरो
अनि एक परिचित अनुहारजस्तो
फिस्स हाँसेजस्तो देखिएनि वास्तवमा ऊ मौन थियो
तर मैले मागेको ब्रस एकै वचनमा दियो
मेरो मनले अनुभूति गर्यो
ऊ साँच्चै कति जाती हो?
सम्झिएँ उसलाई बल्ल तल्ल
ऊ पनि मेरो बाल्यकालको साथी हो।
विगतमा उसँगका निर्दोष र ती निश्चल पल उधिन्न
म उस्को छेउ पुग्दा किन हो किन ऊ शरमले आत्तियो
सायद उस्लाई लघुताभाषले छोप्यो कि?
अनि कतै ठान्यो कि- मेरो हैसियत उस्को भन्दा माथि हो
अहँ म त्यो कदापि मान्दिनँ
सम्झाउँदै गएँ साथी भनेको साथी हो
त्यो नाता नै सबैभन्दा माथि हो।
आहा! प्रसन्न मुद्रामा देखिएको उस्को मुहार
छिनभरको भेट्मा उस्ले दर्शाएको आत्मियता
अनि उस्ले गरेको आतिथ्यता
लाग्यो मलाई उस्को कति उदार छाती हो?
अनि यो मनले तुलना गर्न थाल्यो उत्तिनैखेर
केही क्षणको अन्तरमा भेटिएका
साथीहरु र भोगेको अनुभूतिलाई सम्झी
नचिनेझैँ गरी मेरो पहिरनमा
छ्यापेर चिनो बनाएर जाने पनि साथी हो
पहिलो साथीले छोडेको चिनो मेटाएर
गुम्न लाको इज्जत जोगाइ राखिदिने पनि साथी हो।
तर
ठूलै हैसियतको भएर अपमान गर्ने साथीभन्दा
सानै औकातको भए नि सम्मान गर्ने वास्तविक साथी हो
ऊ नै सबैभन्दा माथि हो
हरेक सुख दुखमा साथ दिने ऊ
एक सच्चा महान् साथी हो।