कसैले पक्कै खबर गरिदिने छ कि मैले लगाएका चप्पलहरु कालीको किनारामा छन्, बस्। मैले यिनीहरुलाई यहाँ छोड्दा, कालीगण्डकीलाई झुकेर नमन गरेकी हुँ। पवित्र नदीको सम्मान गर्न मैले कहिले भुलेकी छु र!
जब म चप्पल यसो छेउ लगाएर राख्छु, उज्यालो हुन लागेको जस्तो देखिने पर बलेवा तिरको मैदान तिर हेर्छु अनि देख्छु शून्यता। यसो सुन्ने प्रयास गर्छु, कतै चराहरुको चिरबिर। तर, धेरै सुनिन्छ काली र मादीको सुसाहट। अलि माथि केही जोगीबाबाहरु बस्ने कुटीहरुमा पनि कोही जागेको पटक्कै सुनिदैन। जे होस्, एउटा शून्यता महशुस गरेकी हुँ मैले, मेरो शून्यता जस्तै।
शून्यता शून्य हुँदै भएन, त्यसैले मैले नदी पारीको चौरपट्टि हेर्न छोडिदिएँ। सुनसान नै थियो। तर मलाई डर पटक्कै लागेन। एउटा अनौठो अनुभूतिले विस्तारै कब्जा जमाएको हो त्यसपछि।
जीवन चक्र हो भन्छन् मानिसहरु। उनीहरु सोच्दछन्, यो कुमालेको चक्का जस्तै घुमी जान्छ। तर मलाई यो कुरा खासै चित्त बुझेको छैन। जिन्दगी घुमोस् या नघुमोस्, तर मेरो मन एक तमासले घुमेको हो।
यसो हेर्दै थिएँ पर किनार तिर, देखेँ छेउमा जम्मा हुन आएको पानी पनि घुमिरहेको थियो। नदीको ठूलो प्रवाहले पेलेर ल्याउँथ्यो अनि छेउको ढुंगासँग जुधेर फर्किन्थ्यो, जताबाट आयो उतै। त्यो सुनसानको केही अंशमा भए पनि मौनता भंग गरिदिने त्यही पानीको मात्रा थियो, जो हरेक पटक ढुंगासँग जोरी खोज्थ्यो अनि आफ्नै मूल प्रवाहतिर फर्किन्थ्यो।
ठिक त्यसैगरी मेरो मानसपटलमा केही स्मृतिहरु नाच्न थाले।
ठ्याक्कै याद त छैन पूरै मिति, कुरो त्यही प्लस टु पढ्दा ताकाको हो। एसएलसीको नजिता पछाडि मनको ढोका खुलेको जस्तो भएको हो मेरो। उमेर पनि बढेको महशुस गरेकी हुँ मैले त्यति बेला।
सबै रमाइलो नै थियो। सपनाले विस्तारै आफ्नो डेरा जमाएको पनि त्यही बेलादेखि हो। बिहान सबेरै हाँसेको जस्तो देखिने माछापुच्छ्रे मेरै लागि हाँसेको जस्तो लाग्थ्यो। कुना कुना छेकेर उड्ने हावाको लस्कर मलाई देखेर मेरै पछि लाएका हुन कि जस्तो लाग्थ्यो।
बिहानै उठेर खाना खाएर प्लस टु पढन जाँदा बाटोभरि मेरै खोजी गर्ने आँखाहरु छन् कि जस्तो लागेको थियो। त्यसै होइन नि, मैले बिदाइ तथा स्वागत कार्यक्रममा लोक गीत गाएको। मैले सुनाउनु थियो सबैलाई, विशेषगरी तिनीहरुलाई जसलाई मेरो आवाजको माधुर्यतामा विश्वास थिएन।
मैले सुन्ने जतिलाई भनेकी हुँ, हेर मेरो प्रयास अनि सुन मेरो आवाज। मलाई लाग्थ्यो, त्यहाँ कोही थियो जसले मेरो स्वरको मिठास लुकेर लिइरहेको थियो। जे होस्, मलाई थियो मेरो आफ्नोपनको खोजि गर्नु अनि त्यस्लाई स्थापना गर्नु। मन हलुका भएको थियो अनि खुसीले शिर उठेको थियो मेरो। म चाहन्थेँ, मेरो जीवन यस्तै गर्विलो होस्।
हो, त्यही वर्ष हो मेरो शैक्षिक उन्नयन भएको। हुन त म भाषाका विषयहरुमा जहिले पनि राम्रो गर्ने विद्यार्थी हो। गणितले मलाई कहिले पनि साथै दिएन। अंकहरु जहिले नै पट्ट्यार लाग्ने मलाई। जोड र घटाउ त उफ्फ, कुरै नगरम्। आखिर जीवन गणित जस्तो पनि त होइन नि।
मेरो त्यो विषयसँग भाका नमिलेकै बेस। मैले त्यस्को खासै प्रवाह गरिनँ। तर मेरो हाइ स्कुलमा त्यही विषयले भाका बिगारीदिएको थियो। एउटा मात्र भए त ठिकै थियो, दुई वटा पढ्नु परेपछि के होला हविगत। तर मलाई बालै थिएन।
प्लस टुमा पुगेपछि ती मेरा दुर्वासा जस्ता विषयहरुलाई मैले त्यागी दिएँ। अनि बेचैनको सास रोकिएको थियो, आनन्दले गहिरो स्वास तानेकी थिएँ मैले। जिन्दगीको कुनै मोडमा अलि प्रयास गर्न सुरु गरेको रहेछु भने पनि त्यो राम्रोसँग सफलतामा परिणत हुन थालेको जीवनको त्यही बिन्दुदेखि हो। समयले विस्तारै पाठ सिकाएको थियो, त्यस पछाडि।
मेरो मानसपटलमा अझै ताजा नै छ, त्यो बेलाको एउटा घटना। मैले खुसुक्कै थाहा पाएकी थिएँ कसैले मलाई मन पराएको कुरा। मेरै साथीले भनेकी थिइन् त्यो रहस्य। आँखा चार भएथे एक चोटि।
मनको तलाउमा ह्वात्तै बाढी आएको थियो तर मैले सम्हालेँ त्यो पटक। पछि एक दुई गरेर प्रेम पत्रहरु साटिदै गए। सफल र प्रसिद्ध हुन पर्छ भन्ने महत्त्वकांक्षाको आगोमा प्रेमको न्यायो घिउ थपेको हो उसको आत्मियताले। तर समय फेरिएसँगै त्यो आत्मियता बदलिएर गयो।
म कस्तो हुस्सु भएकी। छेउमै आएको अर्को चिसो हावाको झोक्काले मलाई झन्डै छोएको। यसो हेरेँ वारि पट्टि। कोही र केही देखिएन। शून्यता अझै गाढा भएर आए जस्तो लाग्यो। कालिगण्डकी आफ्नै मधुर लयमा बगिरहेकी थिइन्। अलिकति छामे आफ्नै हात। न्याना थिए।
फेरि हराएँ म, आफ्नै विगतमा।
जिन्दगी त चल्छ विस्तारै जस्तो लाग्थ्यो तर हैन रै'छ। छिट्टै सकिएछ प्लुस टु।
एउटा हुटहुटी थियो, धेरै पढ्ने अनि प्रसिद्ध बन्ने। मेरो मनमा जहिले पनि सेलिब्रेटी हुनको रहरले जरा गाडेको थियो। त्यो जराको गहिराइ कति थियो भने नि, म हर सपनाहरुमा आफूलाई त्यस्तो भएको पाउँथेँ। समयले गाउँबाट पीएन क्याम्पस पुर्यायो। जब रहरले सहर दगुर्याउछ, तब असज पनि सहज बन्दो रहेछ।
अहिले यसो सम्झन्छु, त्यो बेलाको खस खस। बिहानै उठ्नु, क्याम्पस जानको तयारी गर्नु अनि हतारिनु। जहिले नै उस्तै। फुर्सदिला अनि सृजनात्मक शिल्प भएका साथीहरुले केही काम गर्दै थिए। मेरो पनि सामेल हुने रहर नि।
समय उस्तै भएन कहिले पनि। खर्चिलो सहर अनि जोरजाम गरी बस्दाको अप्ठ्यारो। गाह्रो अनि अप्ठ्यारोले पेल्दो रहेछ। कहिलेकाहीँ त कस्सिने गरी ठेलमठेल साँघुरो खोंचमा पसे जस्तो भान हुन्थ्यो। सुरुमा रंगीचंगी भिमकाली पाटनको उज्यालोले सबै छोपिदिए पनि विस्तारै आफ्नै रंगमा जिन्दगी फर्कियो।
जागिर खाने निर्णय पछाडि यही थियो खास कारण। बोर्डिङ पढाउनु दिक्क लाग्दो कुरा हो। सहज त कसरी होस्? सम्झौता गरेको पारिश्रमिक अनि कर्तव्यको पहाड। घरि घरि लाग्थ्यो, यो सबै सिसिफसको जस्तै हो। उही कुरा हरेक दिन। स्यामुअल बेकेले भनेको जस्तो- सूर्यको उदय अनि अस्त, हरेक दिन।
तर जाँगर रोकिएन अनि मन पनि।
जागिर चलिरहेकै थियो, जस्तो समय दगुरिरहेको थियो। जागिर बोझिलो बन्दै थियो अनि समयले पिरोल्दै थियो। तिनै अप्ठ्यारोहरुले गर्दा होला, पढाइपट्टि त्यति ध्यान दिन सकेकी थिइनँ। कहिले सोच्दथेँ आफू भित्र एउटा कवित्व बसेको छ। यसो हेर्थेँ आफ्ना सपनाका बिस्कुन अनि थुप्रिदै गरेका समस्याका चाङहरु। तर जे होस्, मन भित्रको कविवाला हुटहुटी मरेको थिएन।
भिमकाली पाटनको ठूलो ढुंगा जस्तै थियो मन भित्रको तनाव र जलन तर रहरको फूलबारी त्यही छेउमै फुलेको थियो। त्यही फूलहरुको सुगन्ध टिपेर हो मैले हरेक कविता लेखेको, अनि कथाहरुका प्लटहरुको निर्माण गरेको। बगिरहेको सेती जस्तै सुसाइरहेका बास्नाहरुले रहरको फूलबारीमा संगीत भरेकै थिए। ती वर्षहरु फूलहरु फुले, मजाले फुले। तर, फूलबारीमा जहिले नै वसन्त नआउने रहेछ।
भन्छन् नि, जति अग्लो घर उति गहिरो जग। त्यसतै हुँदो रहेछ मान्छेको जिन्दगीमा पनि। जति धेरै अग्ला रहरहरु उति गहिरा बाध्यताहरु। सेतीको साँझपखको सुसेली सुनीबस्ने रहर नभएको त कहाँ हो र!
मास्टर्स गर्ने त रहर बोकेरै बसेकी थिएँ त्यो बेला। तर अलि मिलेन। सबै अघिल्लो तह भर्ना गर्ने तयारीमा लाग्दा म घर फर्केँ, छोडिएका सपनाहरुको पोको र उठेका रहरहरुको गुन्टा बोकेर।
फेरि हावाको अर्को सर्गसँगै उडेछ मेरो कपाल। हातले जोड गरेर तान्न मन लागेन। कपालको रौँहरु म जस्तै स्वतन्त्र अनि स्वप्निल छन्। मैले घरबाट हिड्दा नै कपाललाई उसको स्वतन्त्रता प्रदान गरेकी थिएँ। म केही कुरा बाध्न चाहन्न।
सबै स्वतन्त्र हुन्, जस्तो चलिरहेको बतास र बगिरहेकी गंगा। जति चिसो बतास चल्दै गरे पनि मन चिसो पट्टक्कै भएको छैन। वरिपरि उही चकमन्नता छ, सुनसान छ। आफू बसीरहेका चप्पलहरु कुनै प्रतिक्रिया जनाउदैनन्। यसो हेर्छु, गंगा आफ्नै सुरमा बगेकी छन् जस्तो म आफ्नै गहिराइमा डुबेकी छु।
घर फर्के पछाडि म अलि अलि बिचलित भएकी हुँ। समय घर्कीसकेको छ भन्थे सबै जना। अनि अप्ठ्यारो भारीहरु थपिने क्रम रोकिएको थिएन। हरेक पल म एउटा निम्न मध्यम परिवारको महत्वकांक्षी छोरीको पिंजडामा च्यापिदै गैरहेकी थिएँ। समय सहज पटक्कै भैरहेको थिएन।
कसैसँग सवाल जवाफ गर्ने कुरो रहेन तर आफू भित्रको सवालजवाफ धेरै चर्को-चर्कोसँग चलिरहेको थियो। कति बेला त लाग्थ्यो, त्यो सवाल जवाफ मेरो छेउ बस्ने कसैले सुनी रहेको छ। मेरो भ्रम।
हो, यस्तैमा मैले आफ्नो भ्रमलाई विस्तारै जित्न दिइरहेँ। अलि चर्को भ्रम परेको साँझ मैले आफ्नो कपाललाई स्वतन्त्र गराइदिएँ अनि आफू भित्र केही बोक्नै चाहिनँ। यसो सम्झेँ त्यो काल्पनिक प्रेमीलाई जो कतै मसँगै थियो र मेरो कपालको मिठो प्रसंशा गरिरहेको थियो। मानौँ, एण्ड्रेउ मार्भेलको गजबको प्रेमी जस्तै जो मेरो अंग अंगलाई प्रसंशा गर्दै हजारौँ वर्ष बिताउँछ।
बलेवाको केही माथि आजको सूर्य ढल्दै थियो जति बेला मैले हतार हतार आफ्ना पुराना चप्पलहरु लगाएँ अनि विस्तारै आँपको बगैँचा नेरबाट फुत्त निस्किएँ। यसो हेरेकी हुँ आँपको बोटलाई जो मेरो हरेक पटक त्यो बाटो हिड्दाको साँची बसेको थियो। आज पनि त्यो बोट मेरो यात्राको साँची बसेको छ।
मेरो केही गुनासो छैन।
अलि पर बलेवा तिर हेर्छु, वर आफू बसेको साइड तिर हेर्छु। सबै चकमन्न देख्छु। सबै म मात्र छु अनि उही गंगा निरन्तर एकोहोरो आवाजमा बगेकी छन्। मन अलि बलियो पार्छु र आफूलाई तयार गर्छु।
मैले केही छोड्नेछु भने यिनै मेरा यात्राका डोबहरु अनि मैले साथीहरु र परिवारका सदस्यहरुसँगका स्मृतिहरु छोडेकी छु। कसैसँग मेरो गुनासो बाँकी छैन।
मन पूरै दरो बनाइसकेकी छु। अब छोड्न बाँकी यिनै मेरो यात्राका अन्तिम सहयात्री, एक जोर चप्पलहरु छन्। बस् यिनै छोडेकी छु र मेरी आदरणीय गंगासँग समाहित हुन तयार भैसकेकी छु। भोलि बिहान झिसमिसेमा कसैले भेट्ने छ, मेरा एक जोडी चप्पलहरु।