त्यो बेला गाउँमा बिजुली थिएन। अँध्यारोमा कसैकसैले पिलपिले लाइट बोकेर हिँड्थे। कोही भने यत्तिकै पनि हिँड्थे। गाउँका धेरैजसो बयलगाडा त गाउँ नजिकै कदमको रुखनेर खलियानमा राखिछोडिएका हुन्थे। तर कहिलेकाहीँ किसान मजदुरहरुले काम गर्दा गर्दै नभ्याएर केही बयलगाडाहरु सडक छेउमै राखेका हुन्थे।
यत्तिकै हिँड्नेहरु यदाकदा बाटोमा अड्याइ राखेका तिनै बयलगाडामा ठोक्किन पुग्थे। ठोक्किनेहरु कसैले बयलगाडालाई सराप्थे, कसैले बयलगाडाका श्रमिकलाई सराप्थे। त्यसरी ठोक्किने, खेदो खन्ने र सराप्नेमा माथ्लो घरका काका मुख्य थिए।
काकाले बयलगाडा श्रमिकहरुलाई पनि अँध्यारो कोठामा बसेर तथानाम गाली गर्थे। बयलगाडा मन नपराउने केही गाउँलेहरुलाई हात लिएर परिवर्तन खोज्ने गाउँलेका विरुद्ध विषवमन गर्थे। बयलगाडाले गाउँको कायापलट गर्न सकिन्न भन्ने उनको हठ थियो।
यद्यपि उनको हठको प्रवाह नगरेर गाउँका श्रमिक, किसानले परिवर्तनको छनक ल्याइसकेका थिए। वास्तवमै ती बयलगाडा हाँक्नेहरुमा अदम्य आँट थियो। समृद्ध र उज्यालो गाउँको फराकिलो चाहना थियो।
कर्ममा विश्वास र मनमा सङ्लो इमानदारिता थियो। उनीहरुमा रत्तिभर पनि छल, कपट, दम्भ र अहंकार थिएन। साँच्चै ती बयलगाडा चलाउनेहरुले आफ्नो विश्वासलाई डगमगिन दिएनन्।
एक दिन गाउँलेले बयलगाडामा गिटी, बालुवा बोकी पुल, स्कुल, बाटो बनाउने सल्लाह गरे। परिवर्तन, स्वतन्त्रता र विकासको हजारौँ माइलको यात्रा एक ठाउँ बसेर गफ गर्दैमा हुँदैन, हिंड्नु पर्छ भने र हिंड्न पनि सुरु गरे। काकाले यो यात्रामा सक्ने जति भाँजो हाल्न खोजे तर परिवर्तनका नयाँ घामलाई रोक्न काकाले सकेनन् र चोर बाटो प्रयोग गर्दै लाज पचाएर यात्रामा मिसिन आए।
काका पहाडबाट झरेका हुन्। मान्छे पुराना भएपनि गाउँमा उनी आधुनिक रवाफ जमाउन चाहन्थे। कुरा गर्दा उनका जुँगा पनि उत्तिकै चल्थे। केटाकेटीहरुले उनका कुराभन्दा पनि जुँगाका लय र ताल हेर्थे र हाँस्दै भाग्थे।
उनी साँच्चै अचम्म लाग्दा मान्छे थिए। जे देख्थे, विज्ञ जस्तैगरी त्यसैको बयान गरिहाल्थे। धेरै पढेका त थिएनन्, तैपनि कहिलेकाहीँ सहरबाट सामान पोको पारी ल्याएका बासी पत्रिका कनिकुथी पढ्थे। उनले नजानेको विषय केही थिएन।
गाउँका ज्योतिष, वैज्ञानिक, डाक्टर, पुरातत्वविद्, सबै उनी थिए। भनौँ उनी पानी विद्वान र बेसारविज्ञ थिए। आकाशका तारा देखाउँदै एउटा एउटा नाम दिन्थे। भूगर्भका कुरा गर्थे, सौर्य मण्डलका अद्भूत कुरा गर्थे।
गाउँका कतिपय मानिसहरु उनका कुरा पत्याउँदै उनले न्वारान गरेका ताराहरु हेर्दै रल्ल परेर बस्थे। कतिपयले विश्वास गर्दैनथे र यस्ता हावादारी कुरा नगर्न सल्लाह दिन्थे। अरुले दिएका अर्ती, उपदेश र सल्लाहको उनलाई केही मतलब नै थिएन।
परिस्थितिका नाममा फेरि गाउँलेका बयलगाडालाई गिटी, बालुवा र इटा बोक्न रोकियो। काम गरेर खाने मान्छे भोकभोकै हुन थाले। श्रमिक, किसानले यसको बाधकका रुपमा गाउँका जिम्माललाई ठाने।
अब बयलगाडाहरुलाई गिटी, बालुवा बोकेर मात्र पुग्ने भएन। ती बयलगाडालाई गाउँका जिम्माल फाल्न झन्डा, पर्चा पम्पलेट बोक्न प्रयोग गर्नुपर्ने अवस्था आयो। यस अघि पनि गाउँलेले बयलगाडाकै माध्यमबाट धेरै मुखियाहरुलाई घोडाबाट खसालेका थिए।
काकाले गाउँलेको यो महान् अभियानलाई साह्रै अपमान गरे। जिम्माल फाल्न जान खोज्ने मान्छेलाई छिड्की लगाएर रोक्न थाले। आफैले गाउँको नेतृत्व लिन च्याँखे दाउ थापे। गाउँको नेतृत्व पाए बाइस्कोपमा देखेजस्तै झिलिमिली बनाउने भाते सपना बाँड्न थाले।
सर्वत्र आफ्नो अस्तित्व मात्र खोज्ने, आफ्ना कुराले नजित्ने ठाउँमा जाँदै नजाने र गाउँका आफू प्रतिकूल बैठक, सभाहरुलाई बहिष्कार गर्दै जान थाले। उनका बोली, वचन र व्यवहारले गाउँले पनि वाक्कदिक्क भएका थिए। यस विषयमा कोही बोल्दै बोल्दैनथे। कोही भने अन्धभक्त बनेर प्रभु वन्दना गर्नेहरु पनि भेटिए।
केही समयपछि गाउँमा विकासको काम सुरु भयो। वर्षौँदेखिको गाउँको अस्थिरता हटाई गाउँको मुहार फेर्न कम्मर कसेर सबै लागे। कसैले बयलगाडा लिएर ढुंगा, इटा, बालुवा झार्न लागे, कोही भने मुखिया फेर्न झन्डा बोकेर हिंडे।
अहँ, त्यतिबेला काका आउँदै आएनन्। गाउँलेले साँच्चै परिवर्तन ल्याउन खोजेको कुरा उनले रत्तिभर पनि पत्याएनन्। कुम्भकर्णझैँ एउटा अँध्यारो कोठामा सुतिरहे। केही समयपछि गाउँलेको परिवर्तनको उद्घोषबाट उनी झस्ल्यास्स ब्युँझिए।
बयलगाडे अभियान सफल नै हुने भयो भन्ने उनलाई लाग्यो। फेरि लाज पचाएर मिसिन आइपुगे। उनले अब बयलगाडा खोज्न थाले। कसैको मक्किएको बयलगाडा भेटाए। सिंगारपटार गरे। अगाडि पछाडि नेपालको झन्डा गाडे। आफू पनि सिंगारिएर बसे र मागेको बयलगाडालाई आफ्नै हो भन्न पनि भ्याए। यही उन्मादमा उनका फुलिसकेका जुँगा पनि काला भए।
त्यही मक्किएको गाडामा बसेर भाषण गर्न थाले, उखानटुक्का सुनाउन थाले। गाउँका साँधसिमाना र सुरक्षाका विषयमा एक कदम अघि बढेर कुरा गरे। वल्लापल्ला गाउँले कहिलेकाहीँ गाडा लिएर हिंड्न दिँदैनथे। नाकाबन्दी लगाउँथे। त्यतिबेला उनी साँच्चै गाउँवादी देखिए। गाउँका माउवादीले पनि विश्वास गरे।
उनै काका बनावटी मेलमिलापका बलिया सूत्रधार जस्ता देखिए। केही समय सपनाको खेती गरे। बयलगाडामा बसेर पानीजहाजका कुरा गरे, गाउँमा बग्ने हावाबाट बिजुली निकाली अँध्यारो हटाइदिने र ग्याँसका घैँटो बोकेर हिंड्न नपर्ने गफ दिए अनि मुखियाको कुर्ची पड्काई हाले।
गाउँमा महामारी आयो, उनी आफैँ डाक्टर र वैद्य बने। उनको उपचार विधि कच्चा वैद्यको मात्रा यमपुरीको यात्राजस्तै भयो। उनको व्यवसाय टिकेन। महामारीलाई नदेखे जस्तो गरे। कनिकुथी निकालेको गाउँको चुच्चे नक्साको व्यवसाय पनि हरायो।
उनका कुरा उनका घरकाले नै पत्याउन छाडे। परिवारकै सदस्यसँग बोलचाल पनि नहुँदा चिठीपत्रको सहारा लिन पुगे। उनका कारणले गाउँ नै लज्जित हुन थाल्यो। बयलगाडाले ल्याएको परिवर्तनलाई आत्मसात पनि गरेनन् उनले।
गाउँमा सबैलाई हुल्लडबाज र सडक छाप देख्न थाले। भेला, बैठक भन्ने शब्दसँग डराउन थाले। बेला बेला आफन्त, दाजुभाइलाई तर्साउन खोजे र गाउँकै विलासमयी महारानी कहाँ धाइरहे।
अहिलेसम्म पनि उनी आएपछि गाउँको अवस्थामा कुनै सुधार आएको छैन, गाउँलेको अवस्था झनझन नाजुक बन्दै गएको छ। रोग, भोक, शोक, भ्रष्टाचार, बेरोजगारी र अव्यवस्थाले गाउँ थिलोथिलो भएको छ। काका गाउँको समृद्धिका खातिर टिकटकतिर लागेका छन्।
गाउँतिर सुनिँदैछ, हिमालको उचाइ नापेका काकाले बयलगाडालाई भीरतर्फ लैजान खोज्दैछन् रे। अप्ठ्यारा खोंच, नदी र भासहरुमा धकेल्न खोज्दैछन् रे। दुर्घटना हुनुपूर्व नै उनको हातबाट बयलगाडा खोसेर गाउँलाई बचाउनु पर्छ है नत्र भने उनले गाउँलाई नै केक बनाएर खान सक्छन्।
गाउँलेले बडा अफसोचका साथ मलाई पत्र पठाएर सबैमा सन्देश प्रवाह गर्न भनेका छन् ‘अर्काको बयलगाडा मागी लगेका काकालाई अब पनि बयलगाडाको सारथी बन्ने नैतिक अधिकार छैन।’
यहाँहरुले कुनै टारतिर गाउँलेको बयलगाडा देख्नु भएको छ भने ढिला नगरी खबर गर्नुहोला है!