डिग्री हात लाग्न भ्याएको थिएन, मलाई हतार भयो। जीवनमा पहिलोपल्ट लोकसेवाको स्पर्धामा उत्रिन काठमाडौँ खाल्डोमा हाम्फालेँ र कम्मर कसेर पढ्न थापा गाउँको पुरानो घरको छिडीमा डेरा जमाएँ।
मेरो सपना महानगरको काहाली लाग्दो, अभावै अभावमा परेर त्यसै दिन चकनाचुर भयो। पानीको विकल्प घाँटी मात्र भिजाएर दालमोट चिउराले छाक टार्नु अनि मैनबत्ती बालेर त्यो धमिलो प्रकाशमा अक्षर छाम्ने प्रयास गर्नुको विकल्प रहेन।
भोलिपल्ट बिहानै पानीको लाइनमा थिएँ, घरबेटी अन्टी नाकको पोरा बजाउदै आइन र पड्किन, ‘नानी, के गर्न खोज्या?’
म अल्मलिएँ। के गर्न खोजेछु, मैले भन्ने भेउ नपाउदै उनैले भनिन् ‘यत्रो मिहेनत गरेर बनाएको घर मैनबत्ती बाल्दिएर यताउता भयो र आगलागी भयो भने?’
ओहो, अन्टीले कति टाढाको सोच्न भ्याइछन्! मन अमिलो भयो, मुटुमा गाठो पर्यो। धारातिर हेरेँ, पानी सुकिसकेछ। रित्तो गेलेन हल्लाउदै कोठामा फर्केँ र हतार-हतार दाल्मोट चिउरा जोहो गर्न दगुरेँ।
यो हबिगतले जागिर खाइन्न भन्ने बुझ्न दुई दिन लागेन। साथीहरुको अनुहार पढें, केही फरक छैन। निर्क्योल निस्कियो, कन्सल्टेन्सी र ल्याङग्वेज सेन्टर धाउने। घरखेत गरेर दोस्रो पटक झोला बोरेर एयरपोर्ट जाँदा लाग्या थियो, अब केही गर्छे छोरीले। तर यो के? सबै वरिपरि देख्छु- रोइ’रा छन्। दायाँ बायाँ, अगाडि पछाडि।
म त खुसी नै थिएँ तर रुनु पर्ने नै रहेछ झैँ लाग्यो, रोइदिएँ। त्यसपछि एयरपोर्ट भित्रको दृष्य देखेपछि एक मिनेट पनि लागेन जीवन सम्झौता हो भन्ने भेउ पाउन। काम कलेज, काम कलेज। क्लिक क्लिक्... जिन्दगी पोस्ट लाइक सेयर। यादहरु संगाल्दै आँसु पिउँदै, बानावटी मुस्कान अनि फेरि क्लिक क्लिक...।
काठमाडौंको आकाशमा क्याथे ड्रागनले फन्को मार्यो, झल्मल्ल काठमाडौँ। मैले छोडेर जाँदा असरल्ल कालो मृत्युशैँयामा सुतेको जस्तो थियो, यहाँ लोडसेडिङ जो थियो। लक्ष्मी पूजाको रात आज झल्मल्ल रहेछ, धन्न लोडसेडिङ न भएको बेला परेछ। मनमा तर्कानाहरु आइ गइ रहे।
म आगमन बहिर निस्कदा करिब रातको एघार बज्दै थियो, सामान ट्याक्सीमा लादियो। नेपाल टेक्दै रमाएकी म, यो उज्ज्यालो ताम्झाम्ले अरु हर्षित भएको थिएँ। म बाबाको बाइकमा घर जाने निधो गरेँ, चिसो बढेको रात तर सारा झकमक्क झिलिमिली उज्यालो, कतै पन्चे बाजा, कतै परम्परागत भेषभुसा, अनि कतै उरेन्ठेउला पारामा मानिसहरु भैलो खेल्दै रहेछन्।
म चकित थिएँ। मध्यरातमा त्यो जीवन्त माहोल देखेर रातभरि सपनामा पनि सजीव, उत्साहित, अग्रगती, प्रगती पथमा लम्की रहेको धर्तीको स्वर्ग नेपालको चन्द्र सूर्य अन्कित झन्डा फहराएको देखेँ।
'ओइ खत्री' मलाई सृष्टी गोलेले झस्काइदी। यसो टेबुलमा हेरेँ, चिकेन रामेन, सुशी प्लेट, रित्तो बोत्तल टेबुलमा असरल्ल छन्। हातको स्मोकिङ भेप चिस्सि सकेको छ। मेरो आँखाको भाका पनि पढी भ्याइ सकिछ उस्ले।
सामान्यतया उस्लाई निराश देखेको थिइनँ, तर ऊ आज मलिन देखिइ। आशिस, शोबित दाइ र सुशान्त, रोशन, स्वागत भाइको निधारमा मेरा हातहरुले लर्काइदिएको सप्तरंगी टीका झन् झन् मेरा आँखा वरिपरि घुम्न थाले।
मैले उसैलाई आफ्नो दाइभाइ देख्न थालेँ। 'चिल यार' उस्ले दुबै हात मेरो काँधमा राखी ‘लेट्स सेलिब्रेट।’ मलाई दाइभाइले थप्थपाए झैँ लाग्यो। पोहर सालको त्यो तिहार, आहा! आँखै अगाडि नाच्न थाल्यो। फेरि त्यो दिनको रमझम।
घडीको सुइ बाह्रको नेटो काटेर ओरालो झर्दै थियो, बा सान्दिदी (फुपू) सँग गफ गरी रहनु भएको थियो। बाको टीका थिएन, फुपूको आफन्तमा दुख पर्याथ्यो। निधारमा लर्काएर सप्तरङ्गी टीका भाका बजिरहेको थियो उफरमा।
दाइहरु मुखामुख गर्न थाल्नु भयो। ‘नानी तिम्ले जापानबाट ल्याएको कोसेली खै त!’ शोबित दाइले मतिर इशारा गर्नु भयो अनि मैले बा तिर।
‘ओके छ त!’ बाले जिम बिम जम्बो खोल्नु भो। केही बेरमा माहोल तात्यो। दाइहरु टिकटकको मुडमा पुग्नु भयो र म्युजिक चेन्ज। राजकुमारी सुमिता क्यामेरामा अटाउन मानिन, दाइहरु कर गर्दै हुनुहुन्थ्यो, भाइहरु ब्याकग्राउन्डसम्म आउने भए।
गल्फती सुनेर बाले अलि ठूलो स्वरले भन्नु भयो ‘पख, यतिको माहोलमा म पनि फिट हुन्छु होला।’ अनि पाँच टेक खाएर तयार भयो त्यो समयको भाइरल 'बाला बाला।'
रमझम् त्यतिमा मात्र समेटिएन, सिड्नीमा बहिनी सुजान र मामाहरुको निधार सजाउन गाउँ पुग्नु भएको ममीसम्मै फैलियो। समय अभावमा पुग्न नसकेको ठाउँमा आफै पुगे जस्तो भयो।
बाक्लो धुवाँ छोडेर मेरो आँसु छेक्ने असफल प्रयास गर्दै थिइ गोले तर उस्कै आँखा बगेर चिउडोबाट झर्दै थियो। अझै जोर जोरले तान्दै उडाइरहेकी थिइ। उस्को हातबाट मैले थुतेँ भेप र उस्को आँसु छेक्ने असफल प्रयास थालेँ।
टोकियोमा यो याकिनिकु रेस्टुरेन्टले हाम्रो सुख दुख दुबै देखेको छ, लाग्दो हो कति रुन्छ यो रुन्चीहरु। हुन त सकेसम्म रमाउन खोजेकै हो। न समुन्द्र किनार न मेट्रो रेल न ठूला सहरले मेटाउन सक्यो रातो माटोको बास्ना।
सबै भुलेपनि चाडबाड आयो कि हत्पताएर मन उड्छ। जति सम्झाउन खोज्यो, झन् त्यही कोही युवा बस्न मन नरुचाएर झोली तुम्बा कस्दै भाग्ने देशमा पुगेर बयली खेल्न थाल्छ।
'सत्य, नरुनी है त!' गोलेले कसम खाइ र ख्वाइ टोपली। टोकियो एयरपोर्टसम्मै कसमले काम गरेको थियो। जब गोलेले झोली तुम्बा घिच्याउन थाली, मैले हिक्का रोक्न सकिनँ। हामी धेरै बेर अँगालिएर रोइ रह्यौँ।
समयले पर्खेन, ऊ रुदै जहाज चढि। म पनि त्यही पाराले फर्कें। अब त त्यो याकिनिकु,रामेन, सुशीहरु पनि ननिको लाग्छ। साथी थिइ, त्यो पनि फर्की, झन् संसार अन्धाकार लाग्न थाल्यो।
‘शाहिस्ना दिदी! तपाई छुट्टीमा हो?’
‘अँ हो, तिमी को हो?’ मैले सोधेँ।
‘म तपाईकोमा आउँदै छु, भेटेर कुरा गरौँला है।’
त्यो फोनको स्वरले मलाई कता-कता चिमोटे झैं लाग्यो। नभन्दै ऊ आइ। '[ओहो दिदी, यसरी हुन्छ! खाना म बनाउछु।' ऊ खाना बनाउन थाली, कपडा सफा गरिदिइ।
'दिदी अब घुम्न जानुपर्छ, टिकटक बनाउने रमाइलो गर्ने, साँझको खाना याकिनिकुमा खाने।'
हैन, यो केटी को हो! किन मलाई यस्तो माया गरी रा'छ! एकदुई पल्ट सोधी पनि हेरेँ।
‘ह्या दि, टेन्सन नलिनु न, एक बारको जिन्दगीमा रमाइलो गर्ने हो’ ऊ हौसिदै थिइ। मेरो मनले भन्यो, जे भए पनि अर्को राम्रो र रमाइलो साथी पाएँ मैले।
स्वर पनि ठ्याक्कै गोलेकै जस्तो। हामी दिनभरि घुम्यौँ, बेलुका त्यसैगरी याकिनिकुमा खाना खायौँ। फरक मात्र, नयाँ साथी थिइ। अरु सबै उस्तै, आँसु पनि दुबैको आयो तर गोलेसँग झैँ धित मर्ने गरी रुन सकिनँ।
आज भाइटीका, काम भइदिएको भए पनि हुने नि! मन निराश भयो। घर सम्झ्यो, आँसु मात्र आउछ। यसपाला दाइहरु महामारीले गर्दा आउनुहुन्न। हुन त पोहर जस्तो रौनकता हुने छैन यसपालि। महामारीले आक्रान्त जो पारेको छ।
भाइले, बा-ममीले पक्का कल गर्लान्। दु:ख देखाउन पनि भएन। मुटुमा गाठो कसेर मनलाई दह्रो पारेँ। एउटा कुनामा गोलेको एउटा झोला त्यतिकै पल्टि'रा थियो। ‘मेरो समान धेरै भयो, कोही मान्छे पाइस् भने पठाइदे है’ खत्री भन्थी।
उस्को त्यो झोला देखेर आँखा जलमग्न भयो। के झैँ लाग्यो, खोलेर हेरेँ। ल, मैले पठाएको समान त सबै यहीँ छ त। छ्या पसिना गनाएको थोत्रो टि-सर्ट पनि छोडिछे। थुक्क नौटन्की, मैले पठाउन दिएको मेरो समान फालेर गैछे। म रिसले आगो हुन्छु। समान सबै त्यही झोलामा ठुस्न थाल्छु।
ला! भाइको कल आयो, हत्त न पत्त आँसु पुछेर रिसिभ गरेँ! वाउ, भाइटीकाको सुरसार भैसकेछ। अरे! यो के? भाइहरु त त्यही नारुतो वाला टि-सर्टमा छन् त! जुत्ता त्यही छ, ठ्याक्कै सेम। बाबाको अगाडि हेरेँ, त्यहाँ जम्बो रेड लेबल नै छ मैले पठाउन दिएको। हैन, कतै अघि मैले झोलामा देखेको अरु कुनै चिज पो होकी!
मेरो मथिंगल हल्लिन्छ। छोटो मिठो गरेर छुट्टिन खोज्छु। भाइ बोलिरहेछ, उस्को कुरोको चुरो त्यही सामानको छ। ऊ अझै हेल्लो हाइ गरिरहेछ, म भने गूड्बाइ गरेर घरमा बिदा माग्छु। फेरि फटाफट झोला खोतल्छु, सामान सबै उही छ, याहीँ छ। कसो-कसो एउटा चीट्करो (कागजको एक टुक्रा) फेला पर्यो। हत्त न पत्त पढ्न थालें।
‘खत्री! मेरो मुटु, के गर्ने साथ दिन्छुभन्दा पनि नसकिने रहेछ। दु:ख धेरै धेरै साटियो। रमाउन सिकेँ अलिकति, तिमीबाट आत्मविस्वास बढ्यो। तिमीसँगै बिताएका स्वर्णिम पलहरुलाई एक एक गरेर यो मुटुको पानाहरुमा ’शेभ’ गरेर राख्ने छु। जिन्दगी रह्यो भने अवश्य भेट्ने छौँ।
जहाँसम्म तिमीले पठाएका सामानको कुरो छ, तिम्रो बा, मेरा बा हैनन र! अनि तिम्रा भाइहरु मेरा। म आफ्नो बाबा र भाइहरुको लागि आफै लगिदिन्छु यी समानहरु र मेरो एउटा भेस्ट छोडेको छु। मेरो सम्झना आयो भने यो समानहरु हेर्नु, तिमीले मलाई तिमीसँगै पाउने छौ। ल हेर आँसु बगाकी।’
नभन्दै मेरो आँसु बहिसकेको थियो, झन् हिक्क हिक्क हुन लाग्यो। अगाडि पढ्दै गएँ। लेखिएको थियो, ‘खत्री! तिमीलाई बोर होला, तिम्रो बारेमा सबै मैले मेरो बहिनी सपनालाई भनेको छु। ऊ नागोयामा बस्छे, समय मिलाएर तिमीलाई भेट्न सहयोग गर्न आउछे। उस्लाई तिमी मलाई जत्तिकै विश्वास गर्न सक्छौ। केही पल भएपनि तिम्रो मुहारबाट मुस्कान नखसोस, सि यू।’
मेरो आँखाबाट मुल फुटिसकेको छ। म हतार हतार उस्को टि-सर्ट उन्छु। आहा! कति राम्रो, कस्तो मिठो बास्ना। मलाई उस्लाई अंगालेको जस्तै लाग्छ। उही भन्थी खत्री! कहिले कहिले त, तँ बहुलाउछेस्। साँच्चै हो कि क्या हो, मेरो आज दिमागले ठेगान छोड्दै छ। म नाच्न थाल्छु। मलाई गीतको ताल र बाजाको धुन चाहिदैन।
म एक रफ्तार नाची रहन्छु, आँसु बहेजस्तै अविरल। कसैले मेरो ढोका ढक्ढकाइ रहेछ। म बेवास्ता गर्छु। ढोका उस्तै ढक्ढकाइ रहेछ, मेरो नाचको ताल र आँखाको भाका जस्तै। मलाई रिसको पारो चढ्छ। आगो भयर ढोका खोल्छु। ढोकामा सपना मुस्कुराइ रहेकी छ।