यो कथा मलाई झुण्ड्याएर मृत्युदण्ड दिनु अघिको हो। मेरो मुद्दामा मद्धत गर्ने मेरो वकिलले कुनै दिन मलाई ठट्टामै ‘तिम्रो त एउटा कथा नै लेख्नु पर्ने हुन्छ’ भन्दै थिए।
मलाई शंका छ कि उनले बढाइ चढाइ गरेर मलाई अनावश्यक राम्रो देखाउने प्रयास गर्नेछन्। त्यसैले पनि मलाई मेरो कथा जस्तो हो, त्यस्तैगरी आफैले लेख्न मन लागेको हो।
यो कथामा कुनै थ्रील, ट्विस्ट वा त्यस्तो रहस्य केही छैन। अहिले नै भन्दिएको छु। केही आकस्मिकताहरु छन्। अनि सबभन्दा बढ्ता सत्य।
अब गइसकेपछि फेरि यहीँ संसारलाई केको कच्-कच् गर्न आएको भन्नु हुन्छ भने माफ गर्नुस्। मेरो बानी नै यस्तै छ नि, किचकिच गरिराख्ने। तर, अफकोर्स, मलाई मैले माफ माग्नु पर्ने स्थितिमा माफी नमागी जानु पर्यो भने मरेको जस्तै हुन्छ।
केरे? मरेको जस्तै, हा हा हा...। माफी नमागी मर्न पनि मन लाग्दैन। अब मर्ने कुरा त मेरो अधिनमा रहेन, थाहा पाइहाल्नु भो होला। खाली माफ माग्ने सवाल हो। सबैलाई एकपल्ट समग्रमा माफी माग्छु, आइ एम सरी। अनि केही किस्साहरु सुनाउछु। कोही कोहीसंग व्यक्तिगत माफी माग्नु पर्ने पनि त छ नि।
ठग हो यो भन्ने पनि होलान्। मरेपछि कसरी लेखिराछ भन्दै होलान। महासय, मर्नु अघि नै लेखेको हुँ। तपाईले पो पछि पढ्दै हुनुहुन्छ। झुण्डिने समयको अन्दाजी डेढ घण्टा अगाडिसम्म लेख्दै थिएँ म।
मृत्युदण्ड पाउने मान्छेको कोठा- काल्कोठरी, तपाई सोच्न सक्नु हुन्न। एउटा साँघुरो बेड, नजिकै ट्वाइलेट, एउटा मधुरो बत्ती र भुइमै टासिएको एउटा टेबल/मेचको सेट।
मलाई लाग्छ, मनोवैज्ञानिकले डिजाइन गरेको हुनु पर्छ। तपाई एक महिना यहाँ टिक्नु भयो भने तुरुन्तै विश्वास हुने छ कि मृत्यु कति दयालु बस्तु रहेछ। रबीन्द्रनाथ टैगोरको गीतान्जली पढ्नु भा छ? हो, मृत्यु जस्तो साथी अगाडि आउँदा तिमी के दिन्छौ उसको हातमा? म आफ्नो सबभन्दा प्यारो चिज दिन्छु- जीवन।
त्यस्तै अनुभव हुन्छ यहाँ। यो कोठरीमा तपाई समय बाहेक अरु केही पाउनु हुन्न र यसलाई उपयोग गर्नु भएन भने झुन्डिदा एकपल्ट मात्रै हैन, तपाई पलपल मर्नु हुन्छ। त्यसैले पनि म यो अन्तिम मिनेटसम्म लेख्दै छु। भाइ, मलाई जम्मा एकपल्ट मात्रै मर्न मन छ।
मेरो नाम रुबन जोशी, एउटा मसाज केन्द्रमा त्यस्तै त्यस्तै काम गर्छु। ओह! गर्थें। धेरै व्याकरणपटि ध्यान नदिनु होला। मलाई अब नैतिक शिक्षा पनि दिन नथाल्नु होला, म सुन्ने छैन किनभने यतिखेर जब यो तपाई पढ्दै हुनुहुन्छ, म यहाँ छैन। त्यो फाल्तु कुरा सुन्नलाई।
घटना के भयो भने, एक दिन बिहानै रातको कामबाट फर्कदै गर्दा सडकको किनारामा फ्याकेको ड्रम देखेँ जसबाट रगत चुहिरहेथ्यो। रातभरको निद्राले झुम्म परिरहेको मनलाई अचानक यो दृश्यले बिउझाइ दियो।
केही नसोची मैले ड्रमको बिर्को खोलेर हेरेँ। लास थियो। लासभन्दा पहिले त मैले कुनै घाइते मान्छे सोचेँ अनि त्यसलाई निकालेर फुटपाथमा सुताएँ। चिसो भैसकेको, तर पनि मुटु चलेको अनि स्वास फेरेको जाँच गरी हेरेँ। डेड।
मोबाइल फोनले पुलिसलाई खबर गरेँ। सडक सुनसान थियो। पुलिस आयो र सर्वप्रथम मलाई हत्कडी लगायो।
‘मलाई? किन?’ मैले सोधेँ, ‘मैले त यो व्यक्तिको मद्धत गर्न खोज्दै थिएँ।'
‘हो, हामी पनि तिमीलाई मद्धत गर्न खोज्दै छौँ' एउटा पुलिसले भन्यो। म नराम्ररी फसेँ भन्ने कुरा तत्काल बुझिहालेँ। नेपाली दुतावासले एउटा वकिलको व्यवस्था गरिदिएछ। त्यस्को लागि धन्यवाद छ है। ती वकिलको केही चलेन, अन्त्यमा मलाई मृत्युदण्डको सजाय सुनाइयो। यो कथा त्यसकै बारेमा हो।
त्यो दिन, मलाई झुण्ड्याइएको दिन। दिन पनि भएको थिएन। थाहा छैन किन हो, फाँसी दिने काम सबेरै बिहानै गरिन्छ। तीन दिन अघि मात्रै जल्लादले घाँटीको नाप लिएर गयो, लुगा सिलाउनेले कलरको नाप लिए जस्तै।
मेरो मनमा भने शून्यको चाप बढ्दै थियो। मैले स्वीकार गरिसकेको थिएँ। वकिल रबर्टले भरमग्दूर प्रयास गरेकै हुन् तर मैले नै चाहिनँ कानुनको अड्भाङ्गे सर्तहरु पूरा गर्न जो मेरो नैतिकताको विरुद्ध हुन्थ्यो। यो म सुनाउने छु विस्तार मै।
जल्लाद मोरो के भन्छ, ‘मलाई तिम्रो कथा सुनाउने कष्ट नगर ल?’ थाहा छैन किन त्यस्तो भन्यो वा सबैलाई त्यस्तै भन्ने हो कि। अचम्म के भने मलाई भने सबैलाई आफ्नो कहानी सुनाउने कुर कुर भैराख्ने। मैले पनि ‘सो ह्वाट’ को इशारामा कुम उचालेँ।
‘जल्लाद जी,’ मैले तै पनि बोलेँ ‘अलिकति सानै होस् तर ठूलो नहोस् है, मलाई धेरै छट्पटाउने रहर छैन।' अनि लामै हाँसो हाँसे।
जल्लादले विस्फारित नेत्र ले मलाई हेर्यो, रिसाएको हो कि वा आफै रुन लागेको हो कि। मलाई भने भनिसकेपछि हैट नभनेको भए हुने रहेछ जस्तो लाग्यो।
त्यो दिन बिहान मैले हतार हतार गरेर यो कहानी सक्नु पर्यो। त्यसैले यसमा न व्याकरण मिल्ने वाला छ न कथाको बहाव नै। तर आशा छ कुरो भने बुझ्नु हुन्छ नै। मलाई लिन त्यो बिहान जेलर साब आफै आउनु भयो।
अलिक दिनदेखि उनी म प्रति नरम भैराखेका थिये। अब मरिहाल्ने मान्छेसँग त्यस्तो गरी को नै रिसाउछ र? वकिल रबर्टले मेरो केस लड्दै गर्दा म एक दिन अदालतबाट फर्केपछि उनकै कोठामा बोलाएर अन्धाधुन्द पिट्ने पनि उनी नै हुन्।
खासगरी मैले हिरो पल्टेर त्यो लाइन भन्न नहुने हो। सरकारी वकिलले मलाई उराल्दै थिए। सोधे ‘समलिंगी हैनौ तर यौनकर्मी हौ? त्यसो भए यहाँ आएर हाम्रा चेलीबेटी वा श्रीमतीहरुलाई बिगार्दै छौ?’
मलाई झनक्क रिस उठ्यो जुन हत्तपत्त हुँदैन थियो। मलाई महिलाहरुलाई बस्तुको रुपमा हेर्ने समाज प्रति घृणा छ। ओके, मेरो क्लाइन्टहरु महिला हुन् भनेर मात्रै त्यसो भनेको हैन। मैले उनीहरुलाई कति भित्रैबाट पढेको छु, बुझेको छु। उनीहरु यी घासपात जस्ता पुरुषहरुभन्दा कति माथिल्लो स्तरको सोचाइ राख्छन्, त्यो मलाई थाहा छ।
महिलाहरु कुनै थोत्रो कार वा साइकल जस्तो हैनन् जो ती वकिलले भने जस्तो बिगार्न सकिने। मेरो वकिल के के इशारा गर्दै थिए, मैले भन्दिएँ कि ‘मेसिन हो र अरुले बिगार्न बनाउन सक्ने? अब कोही तपाईहरुसँग खुसी छैनन् भने आए पनि होलान।'
म सायद अरु पनि बोल्थेँ होला तर मेरो वकिलले हताश भएर औँलो ठड्याए र म चुप लागेँ। तर यो कुरो मभन्दा अगाडि नै जेलमा पुगिसकेको रे छ।
मलाई सिधैँ जेलरको कोठामा पुर्याए। यस्तो राम धुलाइ दियो मलाई त्यो जेलरले, मैरो हात हत्कडीमा नभएको भए उसको पनि अंगभंग हुन्थ्यो होला। आफ्नी सुरक्षाको लागि मार्सलआर्ट सिकेको छु हजुर, कंग्फूको ब्ल्याक बेल्ट हुँ। तर मैले उसलाई प्रहार गरिरहन दिएँ, ऐया पनि भनिनँ। अन्त्यमा उसले भन्यो ‘मलाई त साला मेरै श्रीमती पनि जान्छे जस्तो लाग्छ तिमी कहाँ।'
‘तिनी के गहुँ गोरी मझ्युला कद कि गालामा कोठी आएकी हुन्?’ मैले पनि ठट्टा नै गर्नलाई बोलेँ। कुटाइ खाएर मलाई झन्डै झन्डै एउटा सन्तुष्टी पो भैरहेथ्यो।
जेलरले फेरि घुरेर हेर्यो, हैट जोक पनि सही ठाउँमा परेन कि के हो।
‘कुन गालामा? दायाँ कि बायाँ?’ सोध्यो उसले।
मलाई पो अब आपत पर्यो, जोक फेरि गलत ठाउँमा परेछ।
‘ठट्टा गरेको बुझ्नु हुन्न?’ मैले भनेँ।
‘जल्लादसंग गर अब यस्तो ठट्टा' जेलरले भन्यो।
तपाईहरुले सुनीहाल्नु भो, जल्लादसँगको ठट्टा पनि खासै सही ठाउँमा परेन। अब गन्थन छाडौँ।
मान्छे म अलि अप्ठ्यारो। कसम खान्छु म, आफैलाई मन पर्दिनँ म। जे गर्न पर्छ भन्ठान्छु अन्तिममा गएर त्यो गर्दिनँ। सबभन्दा नराम्रो कुरा त म कसैलाई प्रेम गर्दिनँ। प्रेम, अर्थात् लम्बा चौडा। यो जन्मले नपुगेर अर्को जन्म र अझ जन्म-जन्मसम्म लम्बेतान भैरहने प्रेम। मलाई छोटो मिठो प्रेम मन पर्छ। मानौँ एकै रातको लागि मात्रै। अझ समय पुग्दैन भने एक घण्टालाई पनि स्वागत छ। अब बुझ्नु भो?
अस्ट्रेलियामा थिएँ दुइ वर्ष जति, टिक्न मुस्किल भयो। एउटा मनोवैज्ञानिक भै खाएको मान्छे थियो। उसले मलाई सेक्स सम्बन्धी अब्सेसिभ डिसर्डर छ भन्दियो। छोटो प्रेमलाई सेक्स मात्रै भनेर बुझ्ने लाल बुझक्कडहरु धेरै छन् दुनियाँमा। तपाईलाई के लाग्छ? जेहोस्, त्यताबाट यता आएँ। अनि एउटा उखानलाई चरितार्थ पारेँ- अजिंगरको आहारा दैवले जुटाउँछ। त्यो दैवको नाम थियो अब्दुल।
त्योभन्दा पहिले यता त्यता कति हण्डर खाएँ, त्यो कुरा अहिले म गर्न गैरहेको छैन। बोर मात्रै हुन्छ। ‘हेभन्ली मसाज एण्ड मोर' भन्ने उसको मसाज केन्द्रमा अनुबन्धित भएँ। अब काम नसोध्नु होला, फेरि जवाफ सुन्नु हुनेछ। त्यसो त म झूटो बोल्न नसक्ने हैन। तर अब किन पो झूट बोल्नु पर्यो र? मरेपछिको सत्यले मलाई हानी गर्ने वाला छैन, हा हा हा हा...।
ल भैहाल्यो काम को फेहेरिस्त वर्णन गरिहालूँ। मसाज केन्द्र भन्ने बित्तिकै यो त केटाहरुको लागि होला भनेर सोच्ने तपाई मात्रै होइन। सडकबाटै तातिएर छिर्ने केटाहरु भित्र आएर हिस्स परेर जान्थे। रिसेप्सनमा बस्ने भने एउटी राम्री केटी थिइ. रुजाली। उसैलाई हेरेर चित्त बुझाएर हाँस्दै फर्कन्थेँ। साइनबोर्डमा प्रष्टै थियो, यो महिलाको लागि मात्रै हो भनेर।
दिनभरी मालिस गर्थेँ, विभिन्न थरिका महिलाहरु हुन्थे मेरा क्लाइन्ट। यो कुनै व्यायाम वा थेराप्युटिक मालिस थिएन, बास्नात्मक वा सेन्स्युअल मालिस थियो। अधिकांश महिलाहरु त्यसैमा तृप्त हुन्थे। त्यसपछि कुनै एक्स्पेक्टेसन हुँदैन थियो। तर झन्डै दिनदिनै जसो कोही न कोही महिलाहरुलाई त्योभन्दा बढ्ता चाहिन्थ्यो। अब यसलाई सविस्तार अरु वर्णन नगरुँ, हलेदो भनेपछि किन कोटयाइ रहनु पर्यो?
तपाईहरुले लोग्ने मान्छेहरु महिलाको कोठीमा गएका अनुभव त टन्नै सुन्नु भनेको होला। यो थिममा कविले कविता र लेखकले मोटा मोटा उपन्यास लेखेका छन्, दार्शनिकहरुले दर्शन छाटेका छन्। पुरुषहरुको ‘पूरा नभएका आवश्यकताहरु’ मा सबैको सहानुभूति छ। तर महिलाहरु को? उम्म्म्म्म। मेरो एउटा मेरो मुख्य अनुभव सुन्नुहुन्छ भने अर्को कुनै दिन भनूँला, यो पनि (म फाँसीको फन्दाबाट बचेँ भने) हाम्रो समाजको लुकेको पेट वा ‘अण्डर बेली’ खोतल्न मलाई एकदम मन पर्छ।
आजको कुरा अर्कै छ।
त्यस्तै मामुली रात थियो त्यो। हुन त म कुनै पनि रातलाई मामुली भन्ने पक्षमा छैन किनभने मैले भनि हालेँ, झन्डै झन्डै प्रत्येक रात मसँग नयाँ प्रेमिका हुने गर्छन्। ओके, कुनै कुनै रात ती प्रेमिका दोहोरिन्छन्। ठिक छ। यो प्रेम खरिद बिक्री हुने खालको प्रेम हो, पटक पटक किन्न पाइन्छ। तर मेरो मान्यता के छ भने मेरो रात यदि तपाई किन्नु हुन्छ भने बस त्यो रात म सम्पूर्ण रुपले हजुरको होइदिन्छु।
यो भन्नलाई मात्रै हैन, हजुरले पछि बुझ्नु होला कि त्यो रातसँग जुडेको कुनै पनि क्षण इमान्दारीपूर्वक हजुरको बफादार नै रहन्छु। तपाई मेरो प्रेम कथा लेख्नै चाहनु हुन्छ भने त्यो कुनै लैला-मज्नु वा रोमियो-जुलियटको भन्दा फरक नहोला। केवल यस्ता कथाहरु २/३ हजार वटा लेख्न तयार हुनु होला। अरु के भनूँ?
एउटी केटी थिइ सामी। बाली अस्ट्रेलिया नजिक भएकोले हाम्रामा आउनेहरु प्रायः त्यतैका हुन्थे। ऊ पनि अस्ट्रेलियन नै थिइ। प्रत्येकपल्ट बाली घुम्न आउँदा म कहाँ आएर मात्रै जान्थी। यसपल्ट उसले साथी लिएर आइ। 'यसपालि मलाई हैन, मेरो साथी लिसालाई खुसी बनाइदेउ' सामीले भनी र हास्न थाली। लिसालाई छोडेर ऊ गैहाली।
मलाई गलत नठान्नु होला, वास्तवमा म वा म जस्तोकोमा आउने महिलाहरु एकदमै बिरलै हुन्छन्। यस्तो नसोच्नु होला कि बाटोमा हिडेका जो कोही महिलाहरुलाई यस्तो अनुभव लिने मन हुन्छ।
कहिलेकाहीँ यो पापी मन जे पनि सोच्छ, मनोवैज्ञानिकको भनाइ अनुसार यो कुनै गलत आवेग होइन। बाटोमा वा बसमा यात्रा गरिरहँदा कुनै आकर्षक महिला देखिए भने ओह, आज बेलुका तिनी नै मेरो ग्राहक भैदिए कस्तो हुन्थ्यो जस्तो पनि लाग्छ। पापी मन कसको अधिनमा छ र?
तर यथार्थ के हो भने हजारौँमा एक मात्रै त्यस्ता साहसी महिला होलान् जो आफ्नो अतृप्त कामना पूरा गर्न हामी कहाँ आउने सानो खतरा मोल्छन्। बाली फेरि पर्यटकीय स्थल, प्रायः सबै देशका मान्छेहरु भेटिन्छन् कुनै पनि बखत। प्रायः सबै देशका, सबै जातिका, सबै भाषाका र सबै राजनैतिक धारका महिलाहरुसँग समय बिताउने मौका पाएको छु।
लिसा अस्ट्रेलिया कि। सुरुमा तिनी एकदमै हड्बडाएकी थिइन्। म व्यवसायिक यौनकर्मी, अलि अलि रिलेटेड मनोविज्ञान मैले पनि जानेको छु। जो कोही महिला मेरोमा त्यतिकै आउदैनन्।
सोच्नुस् तपाईहरु, के तपाई आफै पनि पुरुष वा महिला यौनकर्मीकोमा जाने आँट गर्नु हुन्छ? चाहे त्यो भित्री बासना जतिसुकै जलिरहेको किन नहोस। हो, हामी यस्तो इच्छा दबाएरै राख्छौं। सायद यही ठिक हो पनि कि। अब यो प्रश्न म जस्तोलाई उचित छैन। मेरो जवाफ के हुन्छ तपाईलाई थाहै छ।
सारा परिबन्द मिलाएर, खर्च जुटाएर, क-कसलाई कसरी ढाट्न पर्ने हो सबै कथा मिलाएर, अन्त्यमा मेरो सामु खडा कोही छ भने मैले बुझ्नु पर्छ कि उनी बिल्कुल तयार छिन् यो एडभेन्चरको लागि। भलै तर्सेको जस्तो डराएको जस्तो, अनिर्णित जस्तो किन नदेखिउन्।
धरै होसपूर्वक पेश आउँछु म पनि। सायद हुनु पर्नेभन्दा बढी नै कोमलताको साथ्। कोमलताले कहिले हानी गर्दैन। मलाई थाहा छ, विशेषगरी पहिलोपल्ट आउने महिलाहरुको केसमा, कि उनीहरुको मनमा महाभारत युद्ध जत्तिकै द्वन्द चलिरहेको हुन सक्छ।
साथीहरु, मानव मनोविज्ञानमा सेक्स जत्तिको प्राथमिकता प्रेमले पनि पाउदैन होला। म ती महिलाहरुको भित्र चलिरहेको जुहारी प्रष्टै सुन्छु, आँखामा देख्छु। गरुँ कि नगरुँ भन्ने तानातान अन्तिम मिनेटसम्म मनमा भैरहेको देखेको छु। सामी पनि त्यस्तै थिइ पहिलो पल्ट आउँदा।
तर म जो कसैलाई पनि अन्तिम मिनेटसम्म पनि नाइँ भन्ने इच्छालाई एकदमै मौका दिन्छु। झन्डै झन्डै त्यसो भन्न उत्साहित नै गर्छु। अब्दुलसँग कुरा मिल्दैन मेरो यस विषयमा। उसलाई सायद पैसासँग सम्बन्ध छ।
सोच्नुहोस, यदि तपाई यस्तोमा आइहाल्नु भो तर फर्केर जाँदा जिन्दगीकै ठूलो अफसोस बोकेर जानु हुन्छ भने मलाई पनि आफूले पाप गरे जस्तो लाग्छ। म यो चाहन्न। म चाहन्छु तपाई फर्केर जाँदा पनि खुसी भएर जानुहोस् र मसँग बिताएको क्षणलाई भूलको दर्जामा नराख्नुस्।
सामी गइसकेपछि लिसा एक्लै भइन् मसँग। ठिंग उभिइन मसाज टेबलको छेउमा। मसाजको काम यहाँ हुने हो र त्योभन्दा बढी चाहिए अर्को छुट्टै बिल्डिङ वा होटेलमा जानु पर्थ्यो। मैले अघि वर्णन गरे जस्तो द्वन्द उनको आँखा र अनुहारमा यति प्रष्ट देखिन्थ्यो कि भर्खरै पुछेर टल्काएको ऐनामा दृश्य हेरे जस्तो।
‘हजुरलाई अप्ठ्यारो छ भने आजको सट्टा अर्को दिन सार्न सकिन्छ, म पैसा फिर्ता गर्न लगाउँला' मैले भनेँ।
उनी बोलिनन्। एक टक लगाएर मलाई हेरी रहिन्। उनका आँखाहरु अति सुन्दर, नीलो गहिरो समुद्र जस्तो। झिमझिम गर्दै एकोहोरो हेर्दै रहिन्।
‘अथवा हजुरले माइन्ड चेन्ज गर्न सक्नु हुन्छ। म बुझ्छु कसै-कसैलाई यो निर्णय सानो हैन' मैले भनेँ।
‘कसै कसैलाई मात्रै?’ सोधिन् उनले। मलाई लाग्छ कुनै व्यंगको हिसाबले हैन।
‘ओह, म के जानु' मैले भनेँ।
‘मसाजलाई तयारी गरूँ कि नाइँ?’
आँखामा झन्डै झन्डै आँसु जस्तो देखियो। तपाई सोच्नु भयो होला कि यो काम कम से कम रुँदै गर्ने काम त हैन। तर यहाँनेर धोखा खानु भयो। डाँको छोडेर रुनेहरु पनि हुन्छन्। मसाज कोठा झन्डै आवाज प्रुफ भए पनि रुजालीले पछि व्यंग्य गर्थी ‘मलाई मात्रै त हैन रेछ तिमीले रुवाउने।'
हे भगवान, रुजाली एउटी अचम्मकै केटी थिइ। ऊ आफै अर्को मसाज केन्द्रमा काम गर्थी अनि त्यस्तै काम पनि गर्थी। पछि त्यो कामबाट बिरक्तिएर यहाँ आइ, अब्दुलले पैसा तिरेर त्यताबाट छुटाएर ल्याएको रे।
कुनै कुनै त्यस्ता मसाज केन्द्रहरु दुर्दान्त हुन्छन्। उसलाई मैले कहिले पनि अर्को नजरले हेरेको छैन। मलाई जरुरी पनि छैन, अफकोर्स। अहिले ऊ ‘क्लीन’ छे। रिसेप्सनमा काम गर्छे।
‘रुजालीलाई बिहे गरेर बस्छौ भने म तिमीलाई यहाँबाट जान दिन्छु' अब्दुल भन्थ्यो। तर त्यो बिहे गर्ने, जनमभर नछुट्ने कसम खाने, संगै जिउने संगै मर्ने आदि फाल्तु कुरा मेरो बाटोमा पर्दैन थियो। अफकोर्स, रुजालीको माया वा चिन्ता भने लाग्थ्यो, किन ऊ म जस्तोको पछि लागेकी छ भनेर।
जे होस्। लिसाले लुगा फुकाल्न थालिन्। ‘राजी छु। रबले जस्तो गरी माया गर्ने भए।’
फेरि तपाईहरु छक्क नपर्नु होला। उनलाई अब रबले गरे जस्तो माया गर्नु पर्यो रे। म कहाँ आउँदा अर्को केटाको नाम लिने भनेर म रिसाउन्न। भन्नु होला कि रबको जस्तो माया खोज्न रबकोमा नै गए भैहाल्यो नि। तर होस गर्नुस्, उनले मलाई त्यस रातको लागि किनेकी छिन् र म उनले जे हुनु भन्छिन्, त्यही हुन्छु।
यसमा कुनै इगो तेर्स्याउनु पर्ने कारण छैन। रब हुन त के गाह्रो होला र, मैले कहिले अमेरिकन, कहिले ब्रिटिश, कहिले दक्षिण अफ्रिकाको मान्छेदेखि लिएर घरको पेट जनावरको रोल गर्नु परेको छ।
अब म रब को हो, किन हो, कस्तो हो, धेरै खोर्याएर सोध्दिनँ। सबै मायाहरु झन्डै झन्डै उस्तै हुन्। लिसालाई रब मन पर्ने रहेछ भने यो रातको सुखमा उसैलाई एकाकार गर्छिन्, सो व्हाट। उनको यो आनन्दमा मैले मेरो योगदान खोज्नु पर्ने केही छैन। खाली यो सुनिश्चित गर्छु कि उनलाई चरम सुख भने प्राप्त होस्।
लिसासँगको रातमा भने एउटा सैद्धान्तिक द्वन्द जस्तै भयो पनि। उसलाई उसकै रबको चिन्ताले कहिले छोडेन। रबले यस्तो गर्थ्यो, उस्तो गर्थ्यो। खालि रब भने कामको सिलसिलामा बाहिर हिडिरहने रहेछ र मेरो विचारमा केवल त्यही एउटा कारणले, सायद सामीको बहकावमा मेरोमा एकपल्ट अनुभवको लागि होला आएकी जस्तो लाग्यो।
त्यो रात रब बन्नु मेरो लागि झन्डै गाह्रो हुन गयो। रबसँगको जीवनभरको प्रेमको कुरा गर्न लागी लिसा। मलाई एकपल्ट त त्यस्तो जन्म जन्मको प्रेम हो भने किन रब जागिर सागिर छोडेर सारा समय तिम्रो बिछ्यौनामा लम्पसार परेर बस्दैन त भनेर सोधूँ जस्तो लाग्यो। तर मेरो काम कसैलाई दुखी बनाउने वा असमन्जस्यमा पार्ने हैन। मेरो रोजगारी नै अरुलाई खुसी र क्षणिक भए पनि सुखी बनाउनु हो। म चुकेको छैन कहिले पनि यसमा।
तर यसपालि एउटा कुरा मनमा गढ्यो पनि, साला त्यो रब भन्ने मान्छे गजबकै हुनु पर्छ। लिसाको कपाल चलाइदिनु, सर्टको टाँक खोलिदिनु, शरीरको कहाँ-कहाँ कसरी के-के चलाइदिनु, यावत कुराहरु नौसिखिया पाइलटलाई उसको इन्स्ट्रक्टरले सिकाए जसरी गरीदिनु पर्ने। अर्थात्, रबले गरे जस्तै। समागमको चरम बिन्दुमा पनि रबको नाम उनको ओठमा छाइरह्यो। यतिखेर आफ्नो परिश्रमको श्रेय अरुलाई गए जस्तो लाग्यो। हा हा हा...। खैर, ठट्टै हो।
यो अर्थमा पनि लिसा अरुभन्दा भिन्दै थिइ कि यो केटी आफ्नो लोग्ने वा ब्वाइफ्रेन्डसँग झगडा गरेर वा अरु किसिमले असन्तुष्ट भएर आएकी थिइन। कतिपय महिलाहरु पुरुषसँग बदला लिन भनेर पो आउंथे। अब ती पुरुषहरुलाई यो राज थाहै नभएपछि कसरी बदला भयो त भनेर मलाई लाग्थ्यो। तर कहिले कसैलाई सोधिनँ। त्यो मेरो जाने गाउँको बाटो थिएन।
जनम भर साथ् दिने भनेर सुरु गरेका जोडीको झगडाको प्रायः ठूलो कारण हुँदैनथ्यो। बिहान उठेपछि कन्डम कसले फाल्ने भन्ने समस्याले छिटै विकराल रुप लिन सक्थ्यो। तपाई अहिल्यै गूगल गरेर हेर्नुस्, विभिन्न फोरममा समेत यो प्रश्न सोधिएको हुन्छ। खैर, अरु ठूलै समस्याहरु पनि सुन्थेँ म जुनको हल मेरो दिमागमा तत्काल आउन्दैन थियो।
तर कन्डमवाला केसमा भने म उनीहरुलाई भनिहाल्थेँ कि लौ यो कारणले चाहिँ हाम्रो यो रात डिभोर्स नहुने भो किनकी त्यो भोलि खुसीसाथ मै फालूला। यो ठट्टा उनीहरुलाई खूब मन पर्थ्यो।
तपाईहरुले ठिक सोचिसक्नु भयो कि सबभन्दा बढी त यस्ता महिलाहरु आउथे जसको लोग्ने वा केटा साथीसँग राम्रै सम्बन्ध हुन्थ्यो तर शारीरिक प्यास भने अलि मेटिएको हुँदैन थियो। ठिकै हो। भन्थेँ ‘मेरो मान्छेले जी स्पट नै भेट्दैन’।
यता लिसाले भने यस्तो भनी, ‘मेरो जी स्पट त एकदम रहस्यमय छ।'
‘थाहा भयो। त्यो रबले मात्र भेट्छ' मैले व्यंगात्मक हाँसो हास्दै भनें। तर उसलाई लागेछ कि म केही रुष्ट भएर बोलेँ।
‘तिमीलाई डाहा लाग्यो?’ लिसा को अनुहारमा सन्तुष्टीको मुस्कान थियो। हाँस्दै होमा टाउको हल्लाएँ। अलि झुटो बोलेर उनलाई खुसी हुन्छ भने मेरो के जान्छ? उसले मलाई किनेकी थिइ, मैले उसलाई हैन।
बिहान सबेरै ऊ उठेर पछुतो गरेजस्तो गर्न थाली। यहीँ एउटा कुरा मलाई मन पर्दैन। हुन त विचरा उसले पनि जानी जानी पछुतो गर्न खोजेकी त पक्कै हैन। यदि तपाई बिहान उठेर रिग्रेट गर्दै हुनुहुन्छ भने मलाई जाँचमा फेल भएको जस्तो लाग्छ।
अब म यो समयलाई फिर्ता गर्न सक्दिनँ। यदि यो आनन्दलाई तपाई कम्प्लिकेसन दिन चाहनु हुन्छ भने म सहयोग गर्न सक्दिनँ। उसले होटेलबाटै अस्ट्रेलिया फर्किने टिकेट त्यही दिनलाई सारी। रब उसलाई एकदम मिस भैरहेथ्यो। तर जाने बेला धन्यवाद सहित गालामा चुम्बन गरेर गइ है, अर्थात् खै के हो।
मेरो आजसम्मको दर्शनलाई जरैदेखि हल्लाएर गइ ऊ। साँच्चै यो प्रेम निरपेक्ष हुन सक्छ? निशर्त हुन सक्छ? यो खाली प्रजननलाई बरकरार गर्ने प्रकृतिको मिठो षड्यन्त्र मात्रै हैन? प्रेम- प्रणय प्रेम होस् कि पारिवारिक प्रेम, डिएनएको अमर हुने महत्वाकांक्षाको साइड इफेक्ट मात्रै कसरी होइन?
दुर्भाग्यवश (वा सौभाग्यवश) लिसा मेरो अन्तिम क्लाइन्ट हुन पुगिन्। यो प्रेम भन्ने चिजको नालीबेली मेरो दृष्टिकोणबाट अरु अन्वेषित हुन पाएन। सायद ठिकै भएको होला। बाचिरहेको भए यो कुरा छिनोफानो गर्न मेरा भविष्यका ग्राहकहरुलाई लास्टै बोर गर्थें होला।
त्यही बिहान त हो नि होस्टेल फर्कदै गर्दा मेरो गेम ओभर भएको पनि। अब म त गैहालेँ, तपाईलाई यो प्रश्नको प्रमाण सहितको उत्तर मिल्यो भने मलाई जान्न मन छ। मलाई लाग्दैन कि मेरो आत्मा यो संसारमा भड्केर बसिरहेको हुन्छ। मलाई त भगवान नै पनि रुमल्लेर तपाई वरिपरि वा जताततै भैरहेका हुन्छन् भन्ने लाग्दैन। तैपनि तपाईको उत्तर मेरो सम्झनामा पठाइदिनु होला। अग्रिम धन्यबाद छ।
क्रमशः
यो पनिः
ऊ, रुबन