भोलि छोरीको साथीको जन्मदिन परेको छ। उसलाई भने आजैबाट बर्थडे विस् को चटारो सुरू भएको छ।
छोरीले भनिन् –
‘बर्थडे विस् को लागि राति १२ बजेसम्म जाग्नु छ। बिहानै चाँडै उठाइदिनु है मम्मी नत्र अनलाइन क्लास छुट्छ।’
‘बिहानै विस् गरे हुँदैन ?’ मैले सोधें।
‘हाम्रो क्लोज ग्रुप छ क्या बाबा ! क्लोज फ्रेण्डका लागि यति गर्नै पर्छ। फेरि उनीहरू पनि त मेरो वर्थ डेमा रातिसम्म जाग्छन्।’
‘छ्या ! कस्तो चलन आयो अहिलेको बच्चाहरूलाई। ज्ञानगुनका मिति थाहा हुँदैन। टोलभरिका साथीभाइहरूको जन्ममिति चाहिँ कण्ठस्थै हुन्छ।’
उसको आमाले नयाँ संस्कारप्रति गुनासो गरिन्।
‘हाम्रो जमानामा न कसैको वर्थडे मनाइयो न त राति उठेर विस् गरियो,’ उनी बरबराइन्।
मलाई वर्थडेको प्रसँग जोड्न मन लाग्यो।
‘म पनि तिम्रै जमानाकै हुँ। म त कसैको वर्थडे अहिले पनि मनाउछु र विस् पनि गर्छु,’
जिस्किने मुडमा कुरा खोलें।
‘मेरो वर्थडे त कहिल्यै मनाएनौ बूढा ?’
‘कसको वर्थडे मनाउँदा रहेछौ ?,’ प्रश्न सुरू गरिन्।
‘गोप्य मान्छेको गोप्य वर्थडे क्या !' मैले उक्साएँ।
गोप्य मान्छेको कुरा सुन्दा उनको अनुहारको रङ बदलियो। क्षणभरमै मुडअफ हुने उनको र मेरो प्रमुख विशेषता हो।
यो हाम्रो बानी बत्तीको स्वीच जस्तै लाग्छ।
एक सेकेण्डमा अन। एक सेकेण्डमा अफ।
मुडअफ भएको बेला जब बहस हुन थाल्छ। हाम्रा बच्चाहरू उठेर भाग्छन्। वर्थडेको प्रसंग निकालेर छोरी आफ्नो कोठातिर भागिन्। विषय प्रवेश छोरीले गराइन्, तीतो बहस आमा बाबुले गर्ने भए।
‘लोग्ने मान्छेको भर हुँदैन। मान्छेले त्यसै भनेका होइनन्,’ उनले बहस सुरू गरिन्।
‘मलाई आफ्नै शरीरप्रति त भर छैन। तिमी मेरो भरको कुरा गर्छौ!’ मैले पनि बहसमा भाग लिएँ।
‘बच्चा र बूढी धनगढी राखी आफू काठमाडौं एक्लै बस्नेको के भर ?’उनले मनमा शंकाको बिउ रोपिन्।
‘काठमाडौं सधैं एक्लै कति बसें र ? सात वर्षसम्म तिमीसँगै बसें। बच्चाहरूसँगै बसे। एक्लो हुँदा होस् वा परिवारसँग छँदा होस्,उसको वर्थडेलाई केही फरक पारेन,’ उनको मनमा रोपिएको बिउमा मैले पानी थपें।
‘यति सम्मको आत्मीयता ?'
‘आत्मीयता मात्र होइन सामीप्यता पनि छ।’
‘यो के सुन्दै छु आज ?’ उनी आवेगमा आइन्।
‘मेरो वास्तविकता सुन्दैछौ,’ म शान्त भएँ।
‘ममाथि यत्रो विश्वासघात ?’
‘विश्वासघात शब्दको पुच्छर ‘घात’ लाई हटाएर हेर। विश्वास शब्द फेरि बन्छ।
‘तिमीप्रति जति विश्वास छ। ऊ प्रति पनि उत्तिकै विश्वास लाग्छ।’
मैले विकासानन्दको सकारात्मक विचार राख्न खोजें।
त्यसपछि दोहोरी सुरू भयो-
‘२० औं वर्षको हाम्रो वैवाहिक जीवनमाथि खेलवाड गर्यौ तिमीले,’ उनले भनिन्।
'१४ वर्षको आत्मीय सम्बन्धलाई तिमीले पनि शंका गर्यो,’ मैले पनि भनें।
‘१४–१४ वर्षको पुरानो सम्बन्ध! पहिले किन न भनेको ?’
'सुनाउने मौका मिलेन। आज साइत जुरेको छ बल्ल।
‘१४ वर्षको अफेयर रहेछ। डेटिङ सेटिङ निकै भयो होला नि ?'
मान्छे पुरानो भए पनि नयाँ शब्दहरू डेटिङ ,अफेयर जस्ताको बारेमा जानकारी छ उनलाई।
‘डेटिङ भन्न मिल्दैन। भेट्न प्रायः जान्थें।’
‘यो सम्बन्धलाई के नाम दिऊँ। अवैध सम्बन्ध ?’
‘अवैध भन्न मिल्दैन। उससँग मेरो वैध सम्बन्ध छ। तिमीले चाह्यो भने देखाउन सक्छु।’
‘कोर्ट म्यारिज सर्टिफिकेट होला नि । हेर्नु छैन मलाई ।’
‘तिमीले जे सम्झे पनि हुन्छ।’
‘उसको परिवारलाई यो कुरा थाहा छ ?’
‘किन थाहा नहुनु। उसको परिवारलाई मेरो बारेमा पनि थाहा छ कि म विवाहित पुरूष हुँ। घरमा श्रीमती र दुई बच्चा छन्। तै पनि उसले मलाई आफ्नै परिवारको सदस्य मान्दछ।’
‘कति उमेर कि हो ?’
‘तिमी भन्दा कान्छी नै हो।’
‘यो समाजमा कसैको घर बिगार्ने सबै कान्छी ( सौता) नै हुन्,’ उनी कड्किइन्।
‘मेरो मतलब त्यो थिएन। ऊ म भन्दा ७ वर्ष सानी हो।’बुझाउने कोशिस गरें।
‘कहाँ कि हो त्यो कान्छी ?’
‘ललितपुर मै घर छ उसको।’
‘कहाँबाट सुरू भयो त्यो अफेयर?'
‘कीर्तिपुर क्याम्पस पढ्दादेखि नै चिने उसलाई,’मैले छोटकरीमा सुनाएँ-
‘क्याम्पसको पढाइ सकिँदै थियो। म बेरोजगारीले भत्किरहेको थिएँ। पुस्तकालयमा पत्रिका पढिरहँदा पहिलो भेट भयो। उसलाई बुझ्न धेरै समय लाग्यो। मेरो अनेकौ प्रयास बावजुद अन्ततः उनको मन पग्लियो। उनले मलाई स्वीकार गरिन्।
कस्तो संयोग परेछ ! स्वीकार गरेको दोस्रो दिन अर्थात पुस ३ गते उसको वर्थडे रहेछ ।’
‘हरे शिव ! यो सब के सुन्नु पर्यो ?'
‘सुन्न अझ धेरै बाँकी छ ।’
‘कुरा यहाँसम्म पुगेको रहेछ। आजसम्म उसैकै वर्थडे मनाए त होला नि ?’
‘हो। उसको वर्थडे कै कुरा गर्या मैले।’
‘मेरो लागि एउटा केक पनि नल्याउनेले क्याफेतिरै मनाए होला क्यारे! वर्थडे ?’
‘क्याफेमै किन ? ठूलो स्टेजमै मनाइन्थ्यो नि ।’
‘कुनै समारोहजस्तै क्याटरिङको व्यवस्थासहित हुन्थ्यो नि वर्थडे पार्टी।’
‘त्यत्रो खर्च कसले व्यहोर्थ्यो ?’
‘उसले आफैं व्यहोर्थ्यो। ऊ हामी भन्दा खानदानी परिवारको हो।’
‘मलाई एउटा सानो गिफ्ट नदिनेले, उसलाई महँगो गिफ्ट दिन्थ्यो होला नि ?’
‘गिफ्ट ! 'म मुस्कुराएँ।
उसलाई गिफ्ट लिन मन पर्दैन।
‘बरु उसले २०७० सालमा उसको २७ औं जन्मदिन मनाइरहँदा मलाई स्पेसल गिफ्ट दिएकी थिई। फ्रेमिङमा सजिएको त्यो स्पेसल गिफ्ट अहिलेसम्म जतनले राखेको छु।’
कोठामा एक छिन सन्नाटा छायो।
‘यति गोप्य कुरा खोली सकेपछि, मैले एउटा अर्को गोप्य कुरा भन्नैपर्छ। तिमीले पनि सुन्नै पर्छ। सुन्ने हिम्मत गर्नुपर्छ।'
लामो सुस्केरा हाल्दै सुनाएँ-
‘गत वर्ष उसका दुइटा जुम्ल्याहा बच्चा थपिए। एउटा बच्चा धनगढीमा हुर्किंदैछ। म पनि धनगढीमै भएकोले उसको हेरचाह गर्ने जिम्मेवारी थपिएको छ।
यो गोप्य कुराको लागि मलाई माफ गर।’
उनी आगो भइन्।
मुखबाट तातो ज्वाला फ्याँकिन्-
‘माफी दिन सक्दिनँ। मेरो जीवनसँग यत्रो खेलवाड। कि त उसलाई छोड, कि त मलाई छोड,अदालत पुग्न नपरोस् मलाई।’
आगोको ज्वालाले मलाई पोल्यो। मैले विन्ती गरें-
‘यो उमेरमा न तिमीलाई छोड्न सक्छु। न त उसलाई छोड्न सक्छु। बुझ्ने कोशिस गर।यो मेरो बाध्यता हो।'
‘पुरूषहरूले आफ्नै श्रीमतीमाथि सौता थप्नुपर्ने यो कस्तो बाध्यता ?’
उनले यो प्रश्न सौता थप्ने पुरूषहरूलाई सोधिन् ।
मैले आफ्नो बाध्यता सुनाएँ –
‘तिमी मेरो सहारा हौ। ऊ मेरो भरोसा हो। तिमीले मलाई माया दियौ। उसले पनि माया दिई। तिमीले भान्सामा चुलो बाल्यौ। उसले चुलो बाल्न सहयोग गरी।तिमीले मसँग नाता जोड्यौ। मैले ऊ सँग नाता जोडें। ‘तिमीसँग जिउने कसम खाएँ। ऊ सँग पनि कसम खाएकै छु।’
उनी मुर्मुरिँदै ढोकामा लात हानिन्। झ्यालका सीसाहरू थरर कापें। कापेंकै स्वरमा भनिन्-
‘मलाई अब केही सुन्नु छैन। उसको परिवारलाई भेट्छु, आफैं कुरा गर्छु ।’
सम्झाउनुबाहेक अरू विकल्प थिएन।
मैले सम्झाउन कोशिस गरें-
‘उसको परिवारलाई भेटेर के गर्छौ। धेरै ठूलो परिवार छ। सात जना त घरमूली नै छन् । चौवालिस जना सदस्यहरू भएको घरमा कसलाई भेट्ने भेउ पाउँदैनौ। फेरि घरमूलीहरू उच्च खानदानीका छन्। ६ जना त नेपाल सरकारको विभिन्न मन्त्रालयका प्रतिनिधिहरू हुन्।’
म अझ थप्दै गएँ-
‘यस पालिको वर्थडेमा तिमीलाई लैजान मन थियो। सबैसँग चिनजान गराउन मन थियो। तर बीचमा कोरोना आइपुगिन्। कोरोनामय समयमा उसको वर्थडे नमनाउने रे।’
श्रीमतीको कान रातो भैसकेको थियो। रिसको सीमा भत्किनै लागेको थियो। भत्किँदै उनी चिच्च्याइन्-
‘उसको वर्थडे सुन्दा सुन्दा कान पाकिसक्यो ।’
बुझ्ने गरी सीधा–सीधा भन्नु न कसको वर्थडे ?’
रिसको सीमा भत्किन नदिन मैले फ्याट्ट भनें –
‘उसको वर्थडे भनेको मेरो अफिसको वर्थडे।'
उनले बुझ्ने गरी मैले स्पष्टिकरण दिएँ –
‘पुस ३ गते राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको वार्षिक दिवस भन्नु नै मेरो अफिसको वर्थडे हो।
सात सदस्यीय बोर्ड सदस्यहरू घरमूलिका प्रतीक हुन्। ४४ जना सदस्यहरू भनेका कार्यालयमा कार्यरत कर्मचारीहरू हुन् जसमध्ये म पनि पर्छु। गत वर्ष यस प्रयोगशाला नयाँ दुई वटा शाखाहरू थपिए। जुम्ल्याहा बच्चाहरू यिनै हुन्। मेरो गोजीमा रहेको कार्यालयको परिचय–पत्र नै ऊसँगको वैधानिक प्रमाण हो। २०७० सालमा उत्कृष्ट कर्मचारी पुरस्कार पाएको थिएँ। फ्रेममा रहेको प्रमाणपत्र मेरो लागि स्पेसल गिफ्ट हो। जागिर खाँदा सुरूमा सपथ ग्रहण गर्नु पनि कसम खानु हो। अब त चित्त बुझ्यो?’
उनको मुडको स्वीच अन भयो। वातावरण उज्यालो भयो। उनी अक्क न वक्क भइन्। म फिस्स हाँसें।
अन्तमा उनले वर्थडे विस् गरिन् -
'राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको प्रगति होस्। '
( लेखक राष्ट्रिय विधि विज्ञान प्रयोगशाला,धनगढी शाखाका निमित्त कार्यालय प्रमुख हुन् ।)