'अल्छे तिघ्रो स्वादे जिब्रो' भने झैँ ऊ काम गर्न अल्छी, खान सधैँ मिठो खोज्ने तर बोल्न भने खप्पिस थियो।
गाउँघरमा खेतिपाती गर्नको दु:खले सहर छिर्यो। ऊ जस्ता बसि बसि खान खोज्नेका लागि सहर झनै कठिन। ऊ बिचल्लीमा पर्यो। अन्ततः उसले माग्ने काम रोज्यो।
उमेर, वैँश, हट्टाकट्टा, लक्का जवान, कसैले उसलाई पत्याएनन्।
सबैले भन्थे- 'गरी खानु नि, यस्तो मान्छे पनि के माग्न बसेको!'
अरुको कुरा सुनेर ऊ खिस्स हाँस्थ्यो।
उसँगै बसेकाको अरु माग्नेहरु मध्ये कसैको हात थिएन, कसैको खुट्टा थिएन। ऊ बाहेक अरु सबैको कमाइ राम्रै हुन्थ्यो।
'हात खुट्टा नभए पो' दिनदिनै अरुले भन्ने गरेका यस्ता शब्दले उसलाई घोच्न थाल्यो। आफ्नै हात खुट्टा उसलाई भारी हुँदै गयो।
एकदिन उसले जानि जानि नै आफ्नो एउटा हात गुमायो। माग्नका लागि योग्यता पूरा गर्न खोज्यो। यसपछि कसै कसैले ऊ माथि पनि दया देखाउन थाले। तर उसले सोचे जस्तो अझै भएन।
फेरि पनि मान्छेहरु भन्ने गर्थें- 'एउटा हात नभएर के भो त? एउटा हात नहुँदा पनि कति मान्छेले गरी खाएका छन। यत्रो ज्यान छ।'
आफ्नो दु:ख अझै पनि सस्तो भएपछि उसले राजिखुसी फेरि आफ्नो एउटा खुट्टा गुमायो। अब भने अरु माग्ने झैँ ऊ पनि अरुको नजरमा पर्न थाल्यो। उसको कमाइ पहिलाभन्दा केही बढेर गयो।
उसँगैका अरु माग्नेहरु मध्ये कसैका दुईवटै हात थिएनन्। कसैका दुईवटै खुट्टा थिएनन्। उनीहरुको भन्दा उसको कमाइ कमै हुन्थ्यो।
फेरि पनि मान्छेहरुले भन्ने गर्थे- 'यस्तो राम्रो बोल्न जानेको रहेछौ। हात-खुट्टा नभए पनि हट्टाकट्टा ज्यान छ। आफूले सक्ने केही काम गर। अरुको लागि उदाहरणीय बनेर देखाउ।'
मान्छेहरुले उसको माग्ने योग्यता माथि केही न केही खोट देखाइ नै रहे। तर उसले हार मानेन। ऊ आफू माग्ने कामका लागि पूर्ण रुपमा योग्य हुन चाहन्थ्यो।
तेस्रो पटकमा उसले आफ्नो दोश्रो हात पनि हाँसी हाँसी गुमायो। आफ्नो योग्यता माथि थप योग्यता थप्दै गयो। उसको दैनिक कमाइ अझ बढेर गयो। ऊ त्यहाँ भएका माग्नेहरु मध्ये सबैभन्दा बढी कमाउने व्यक्ति भयो।
सबै कुरा ठिकठाकसँग चलिरहेको थियो। ऊ पनि सन्तुष्ट नै थियो। तर एक दिन कसैले त्यहाँ दुवै हात र दुवै खुट्टा नभएको एक व्यक्तिलाई ल्याएर राखी दियो।
अब भने सबैको पहिले नजर त्यो नयाँ माग्नेमा जान थाल्यो। यस कुराले उसलाई साह्रै पीडा भएर आयो। तर उसले पटक्कै हार मानेन। बचेको एउटा खुट्टा पनि गुमाउन राजी भयो।
यसपछिका दिनहरुमा ऊ र अर्को माग्ने बीच कडा टक्कर चल्न थाल्यो। ऊ बोल्नमा सिपालु, एक दिन ऊ एउटा युट्युबरको नजरमा पर्यो। उसको भिडिओ लाखौंले हेरे।
ऊ कहाँ युट्युबरहरुको बजार नै लाग्न थाल्यो। ऊ एकाएक चर्चित हुँदै गयो। उसका लागि लाखौं सहयोग जुट्यो। उसको उपचारमा धेरैले चासो देखाए। उसको नाममा एउटा समिति नै बन्यो।
एकदिन उसका हात र खुट्टा जोड्न लाने भन्दै मान्छेहरु लिन आए तर ऊ त्यहाँ थिएन।
अधिल्लो रात नै त्यहाँबाट फरार भैसकेको थियो। अहिले ऊ अर्को ठाउँमा बसेर यसैगरी आफ्नो आँसु बेचिरहेको छ।
(लेखक मनोविद हुन्।)