प्रिय कमरेड!
सुन्यौँ, देश रोइरहेको छ
तिमीले त बिर्सियौ होला
गरिबका दिन आउछन् भन्दै
रगतमा पौठेजोरी खेलेको
अनि आमा... अब सपुतले
देश बनाउछन् भनेको।
तर मेरी आमा
आजपनि
त्यही पानी चुहिने घरको बार्दलीमा बसेर
ती दिनहरू
र उनको सपुत आउने बाटो कुरिरहेकी छिन्
जसरी बुद्धका आँखाहरू रसाएका छन्
त्यसरी
मेरी आमाका आँखाहरू पनि रसाएका छन्।
थाहा छ तिमीलाई
सुस्ता र कालापानीले
माटोको सुगन्ध कोसेली पठाउदा
तिमी कुर्सीमा उङ्दै थियौ
दैलेखमा मन्दिर भित्र
रगतको होली खेलिदा
तिमी सत्ताको
अंक गणित मिलाउदै थियौ
जो तिम्रो भविष्यको राजमार्ग थियो।
हिजो धिपधिप बत्तीको उज्यालोमा
शान्ति खोज्दै हिड्ने तिमी
वर्तमानमा रातो झण्डासँगै
रक्त क्रान्तिले दरबारमा बसेर
भ्रम र अत्याचारको खेती गरी
बनाइरहेछौ ब्वासाहरुको साम्राज्य
जो प्रत्येक पल तिम्रो इशारामा
उद्धत छ मेरो देशलाई
लछार्न अनि लुछ्न।
प्रिय कमरेड!
त्यसैले अब म
एक कर्मठ मान्छे खोजिरहेछु
जसले रसाएका बुद्धका आँखा पुछोस्
हाम्रा भविष्यको लागि
सँगै सँगै हातमा हात मिलाउदै
इमान अनि शान्तिको नयाँ नक्सा कोरोस्।